फित्काैली डटकमस्रष्टा समाज गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण
गण्डकी प्रदेश समिति घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार रिता पहारी न्यौपानेको संयोजकत्वमा नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा भएको छ ।

पोखरा, २०८१ पुस २० । नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
कास्कीको पोखरास्थित लेकसाइटमा भव्य कार्यक्रमका विच समाजको गण्डकी प्रदेश समिति घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । शनिबार आयोजित कार्यक्रममा साहित्यकार रिता पहारी न्यौपानेको संयोजकत्वमा नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा भएको छ ।
उक्त समितिमा हरिदेवी कोइराला,पदमराज ढकाल, कुलप्रसाद बास्तोला, सरस्वती श्रेष्ठ सरु, दुर्गा शाह बाबा र कृष्णप्रसाद पौडेल सदस्य रहेका छन् ।
सोही कार्यक्रममा नेपाल संगीत- नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त,नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, रिता पहारी न्यौपाने, हरिदेवी कोइराला, पवन आलोक, नवराज लम्साल, सूर्य खडका अधिकारी, विधान आचार्य, डा.दीनबन्धु शर्मा लगायतले ‘चरीको घर’,बालकवितासंग्रह तथा ‘बेरीतका रीतहरु’ निबन्धसङ्ग्रहको लोकार्पण गरे ।
‘चरीको घर’ चर्चित गायिका हरिदेवी कोइराला र ‘बेरीतका रीतहरु’ रिता पहारी न्यौपानेका कृति हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले पानसमा द्वीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेको उक्त कार्यक्रममा बोल्दै उनले स्रष्टा समाजको नव गठित गण्डकी प्रदेश समिति र स्रष्टा कोइराला एवं पहारीलाई बधाई दिए। उनी साहित्यकार स्व.हेमराज पहारीलाई सम्झँदै नोष्टाल्जिक भए ।
‘जति बालसाहित्य लेखिनुपर्ने हो त्यति लेख्न नसकिएको अवस्थामा चर्चित गायिका हरिदेवी कोइरालाको बालसाहित्यमा कृति आउनु सुखद हो ।’ भन्दै स्व.पहारीकै पदचापमा रिता पहारी न्यौपाने हिंड्नु साहित्यमा खुशीको कुरा भएको बताइन् । नेपाल स्रष्टा समाज साहित्यकारहरुको साझा चौतारीको रुपमा आएको भन्दै साहित्यको उन्नयन र विकासमा समाजको योगदानको प्रशंसा गरेकी थिइन् ।
लोकार्पित कृति ‘चरीको घर’को बारेमा साहित्यकार लक्ष्मण थापाले टिप्पणी गर्दै ‘चरीको घरमा हरिको कलम’को रुपमा कोइरालाको चर्चा गरे । ‘कृति सरल, सहज र बोधगम्य छ । बालमैत्री कृतिलाई शिक्षिका र आमाले लेखेको बालबालिकाको मनोविज्ञान बुझेर लेखिएको छ ।’- उनले भने ।
अर्काे कृति ‘बेरीतका रीतहरु’माथि चर्चा गर्दै डा. दीनबन्धु शर्माले भाषाको साहित्यिक आत्मा अभिव्यक्तिको रुपमा निबन्ध आएको बताउँदै कृतिभित्र भोगाइका अनुभूतिहरु आफुले पाएको विचार व्यक्त गरे । ‘प्रायले नलेखेको विषयमा निबन्धहरु आएका छन्। निबन्धहरु भावनात्मक उचाईले भरिएका छन् । निबन्धहरु संस्मरणात्मक रहेका छन् । साहित्य र चेतनालाई गहन रुपमा जोडिएर आएका छन् । उनले भने सामाजिक विकृतिमा सुधारको आग्रह सहित निबन्धहरु लेखिएका छन्’।
अर्का समीक्षक विधान आचार्यले मानबीय सम्बन्धको पुलिन्दाको रुपमा निबन्धसंग्रहलाई आफुले पाएको बताए । ‘मानिसका अन्तरबैयक्तिक सम्बन्धमा निबन्धहरुले जोड दिएका छन् ।’ आचार्यले दृश्यात्मकताले भरिएका निबन्धले रितालाई निबन्ध बिधामा बलियो हस्ताक्षरको उभ्याउने विचार व्यक्त गरे ।
कार्यक्रमका सभाध्यक्ष एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले अक्षरलाई माध्यम बनाएर अघि वढ्नेहरु धन्यवादका पात्र भएको बताउँदै पोखरामा भव्य कार्यक्रमका बीच नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समिति गठन हुनु समाजप्रति पोखरेली साहित्यकारहरुको अपार समर्थन छ भन्ने कुराको प्रमाण भएको बताए । कृतिकारहरुलाई बधाई दिंदै उनले नेपाल स्रष्टा समाजको गतिविधिहरु समेत संक्षिप्तमा प्रकाश पारे ।
यसअघि चर्चित लोकगायिका हरिदेवी कोइरालाले लोकार्पित चरिको घरबाट बालकविता सुनाउँदै आफ्नो विचार व्यक्त गरिन् । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्य खड्का अधिकारी, कवि तिर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, नवराज लम्साल, पवन आलोक, दुर्गाबहादर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
बेरितका रीतहरुकी स्रष्टा रिता पहारी न्यौपानेले उपस्थित सबैलाई आफ्नो मन्तव्य सहित धन्यवाद ज्ञापन गरिन् ।
नेपाल स्रष्टा समाजका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु सहित गण्डकी प्रदेशका साहित्यकारहरुको भव्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा समाजका केन्द्रीय सचिव प्रकाश घायलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पद्मराज ढकालले गरेका थिए ।
०००
– प्रदीप सापकाेटाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest










































