फित्काैली डटकमसुरभिमा आख्यान वाचन र पुरस्कार घोषणा
अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र मधुसूदनप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, दिवाकर न्यौपानेलगायतकाे उपस्थिति थियाे ।

काठमाडौँ, २०८१ पुस २० । सुरभि साहित्य प्रतिष्ठानको १६८ औँ आख्यानवाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र मधुसूदनप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा सुरभिका संरक्षक तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, दिवाकर न्यौपाने, गङ्गा पौडेल कर्माचार्य, महेन्द्र चालिसे, रामचन्द्र दाहाल र बालकृष्ण श्रेष्ठको आतिथ्य रहेको थियो ।
कार्यक्रममा सुशील आचार्य, प्रमोद प्याकुरेल, पवित्रा पौड्याल, परशुराम पराशर, महेन्द्र चालिसे, रञ्जना पराजुली लम्साल, शारदा पराजुली, दिवाकर न्यौपाने, कात्यायन, गोविन्द घिमिरे वेदमणि र मधुसूदनप्रसाद घिमिरेले कथा, लघुकथा, संस्मरण र बोधकथा वाचन गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा गोविन्द घिमिरे वेदमणिले वाचित कथाहरूको समीक्षा गर्नुभएको थियो । प्रतिष्ठानकी सहसचिव मेनका पोखरेल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।
आख्यान वाचनको कार्यक्रम सुरु हुनुपूर्व सुरभि साहित्य प्रतिष्ठानको कार्यसमितिको बैठक बसेको थियो । उक्त बैठकले सुरभि साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर आगामी २०८१ साल माघ महिनाको १९ गते शनिबार दिइने चारओटा पुरस्कारका लागि प्रतिभा चयन भई आएको पुरस्कार चयन समितिको प्रतिवेदनको अनुमोदन गरेको थियो । जसअनुसार ५१ हजार राशिको सुरभि–विजय चालिसे वाङ्मय पुरस्कार प्रा. डा. श्री दयाराम श्रेष्ठ सम्भवलाई, २५ हजार राशिको सुरभि–रमा–बद्री निबन्ध पुरस्कार वरिष्ठ निबन्धकार एवं वरिष्ठ साहित्यिक पत्रकार श्री रोचक घिमिरेलाई, २५ हजार राशिकै गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार वरिष्ठ कथाकार श्री किशोर पहाडीलाई र २५ हजार राशिकै सुरभि–बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ कथाकार श्री भागीरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
वरिष्ठ साहित्यकार श्री विजय चालिसेको संयोजकत्वमा समालोचक श्री युवराज मैनाली र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुराम पौडेल सदस्य भएको तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो ।
०००
– परशुराम परासरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest









































