साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नानीबाबा अधिकारीको ‘मायामा माया’ मुक्तकसङ्ग्रह लोकार्पित

जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, रामकाजी कोने लगायत मञ्चासिन व्यक्तित्वहरुले उक्त मुक्तक कृति लोकार्पण गरे ।

Nepal Telecom ad

ललितपुर, २०८१ चैत १४। मुक्तककार नानीबाबा अधिकारीको पहिलो मुक्तकसंग्रह ‘मायामा माया’ लोकार्पित भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जाउलाखेलमा बिहिबार आयोजित एक कार्यक्रममा उक्त मुक्तकसंग्रहको लोकार्पण भएको हो ।

गीतकार तथा वरिष्ठ चलचित्रकर्मी यादव खरेल, श्रीओम श्रेष्ठ ‘रोदन’, रामकाजी कोने लगायत मञ्चासिन व्यक्तित्वहरुले उक्त मुक्तक कृति लोकार्पण गरे ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि खरेलले अक्षरको कर्म गर्ने एक मुक्तककारको कृति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए । उनले छ आयाममा बाँडिएका मुक्तकहरुले पाठकको मन खिच्ने बताए । पछिल्लो समयमा मुक्तकमा प्रगति भएको चर्चा गर्दै उनले अभियन्ताहरु धन्यवादको पात्र भएको बताए ।

नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक, पूर्व अध्यक्ष एवं वरिष्ठ कवि विधान आचार्य, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, मुक्तककारका पिता मुक्तिनाथ खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

मुक्तककार अधिकारीले स्कूल पढ्दा गुरुले वाचन गरेको कविता सुनेर साहित्यमा प्रवेश गरेको भन्दै सुनेका,देखेका र भोगेका कुराहरुले लेख्न प्रेरित गरेको जानकारी दिइन् । कवि साहित्यकार विधान आचार्यले घच्घचाएर कृति निकाल्न सफल भएको उनको भनाई थियो ।

समालोचक डा.शान्तिमाया गिरीले मुक्तकहरु उमेर, समय र अनुभवको त्रिवेणी रहेको बताइन् । कुल चार सय पचास थान मुक्तक समावेश भएको उक्त कृतिमा प्रायस मुक्तकहरु श्रृङ्गारिक रहेको भन्दै मायाको विषयमा सबै मुक्तक केन्द्रित भएको जानकारी दिइन्। उनले गहिरो प्रेम, विश्वास, सुख सम्बृद्धिलाई प्राथमिकता दिएको बताइन् । नारीको बारेमा पुरुषको प्रेमिल तारिफ मुक्तकमा भएको भन्दै पठनीय मुक्तकसंग्रह भएको टिप्पणी गरिन् ।

कार्यक्रमका सभापति एवं नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले एउटै विषयमा चार सय पचास थान मुक्तक लेखेर प्रकाशन गर्ने आँटको निम्ति मुक्तककारलाई धन्यवाद दिए । उनले नेपाल मुक्तक प्रतिष्ठानले पोखरामा मुक्तकको कार्यशाला गोष्ठी गरेको स्मरण गर्दै त्यसको साक्षी आफू पनि रहेको बताए । उनले मुक्तक अभियानमा नेपाल मुक्तक प्रतिष्ठानको भूमिकाको चर्चा समेत गरे ।

समाजका सचिव प्रकाश घायलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समाजका कार्यसमिति सदस्य माधव बिंडारी चेतनपथले गरेका थिए ।

०००
– प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x