फित्काैली डटकमप्रज्ञा प्रतिष्ठानमा ‘मातृभाषा साहित्यको २१ औँ शृड्खला’ सम्पन्न
कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खलाले समग्र मातृभाषाको विकासमा योगदान पुर्याएको बताउनु भएको थियो ।

काठमाडाैं, नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित ‘मातृभाषा साहित्यको २१औँ शृड्खला’मा लोकबहादुर बायुङ राईले लिखित ‘बायुङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचना र साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो। उहाँले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारेको उक्त कार्यपत्रमाथि चर्चा गर्दै भाषिक र सांस्कृतिक औपनिवेशिकका कारण नेपालका मातृभाषाहरू माथि थिचोमिचो भएको बताउनु भएको थियो ।
उहाँले यसका विरुद्ध अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाउनुपर्ने बताउनु भएको थियो । विविध जातजाति, प्राकृतिक र सांस्कृतिक ग्रन्थका दस्तावेज सङ्कलन गरेर हडसनले ४९४ गाडा अर्थात् एकपानी जहाज ऐतिहासिक दस्तावेज लगेका थिए भनिन्छ ।यसमा ३८१ वटा संस्कृतका पाण्डुलिपि भएको कुरा उल्लेख हुँदै आएको छ। यसको वास्तविकता अध्ययन गर्न ‘हडसन कलेक्सन’ सम्म पुग्नुपर्ने बताउनु भएको थियो ।
स्वागत मन्तव्य तथा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खलाले समग्र मातृभाषाको विकासमा योगदान पुर्याएको बताउनु भएको थियो ।
कार्यक्रम समापनका क्रममा सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले हरेकपटक राज्यको नयाँ संरचना बन्दा जनजातिको इतिहास, सभ्यता, थातथलो र संस्कृतिमाथि अतिक्रमण हुँदै आएको र यस उपनिवेशलाई उजागर गर्दै आफ्नो पहिचानलाई जोगाउनुपर्ने बताउनुभएको थियो ।
उहाँले वायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारे लोकबहादुर वायुङ राईले कार्यपत्र प्रस्तुत गरेर आफ्नो र समग्र मातृभाषाका समुदायका लागि महत्त्वपूर्ण काम गरेको बताउनु भयो ।
कार्यपत्र प्रस्तोता राईले वायुङको भूगोल र जनसङ्ख्या, तथ्याङ्कमा वायुङ भाषा, वायुङ संस्था, पूर्व कार्यको समीक्षा, वायुङ वर्ण, पाठयक्रम, वायुङ राई भाषाका कृति र कृतिकार, वायुङ स्रष्टा र चुनौतीबारे उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा मुगाल भाषाका कवि सोनाम यङ्की, वाम्बुले राईभाषाका कवि सोनाम सज्जन किराती र थारुभाषाका कवि सन्तोषी चौधरीले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि प्रताप नाछिरिङ,डा. सोम धिमाल र शोभा सुनुवारले आआफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।
०००
-प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































