साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली हास्यव्यङ्ग्यकारहरूको परिचय कोश ‘हास्यव्यङ्ग्यकार नालीबेली’ प्रकाशित

५१६ पृष्ठमा बिस्तारित ‘हास्यव्यङ्ग्यकार नालीबेली’ मा नेपाली हास्यव्यङ्ग्यकारहरूको वैयक्तिक परिचयका साथ हरेक लेखकको एक एकवटा हास्यव्यङ्ग्य रचना पनि समावेश गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार २ । ‘हास्यव्यङ्ग्यकार नालीबेली’ नामबाट नेपाली हास्यव्यङ्ग्यकारहरूको विवरण समावेश भएको बृहत् परिचय कोश प्रकाशित भएको छ ।

भारत प्रवासका नेपालीभाषी हास्यव्यङ्ग्यकारहरूको समेत २७१ जनाको विवरण समेटेर प्रकाशित भएको यो कोशको सङ्कलन र सम्पादन सिस्नुपानी नेपालमा सक्रिय माणिकरत्न शाक्यले गरेका हुन् ।

५१६ पृष्ठमा बिस्तारित ‘हास्यव्यङ्ग्यकार नालीबेली’ मा हास्यव्यङ्ग्यकारको वैयक्तिक परिचयका साथ हरेक लेखकको एक एकवटा हास्यव्यङ्ग्य रचना पनि समावेश गरिएको छ ।

कम्तिमा एउटा हास्यव्यङ्ग्य कृति प्रकाशित भएका लेखकहरूको विवरण र रचना यस कोशमा समावेश छ । कृतिमा मोतिराम भट्टको ‘गफास्टक’ (वि.सं. १९४४) देखि सुमनराज ताम्राकारको ‘इतिश्री उवाच’ (२०८१) सम्मको परिचय एवम् रचना सङ्कलित गरिएको छ ।

नेपाली हास्यव्यङ्ग्यमा विशिष्ट गोगदान दिएर कीर्तिशेष भइसकेका भैरव अर्याल, केशवराज पिँडाली, वासुदेव शर्मा, श्याम गोतामे, अच्छा राई ‘रसिक’, कृष्णप्रसाद चापागाईं, विष्णु नवीन, गोपालराज पन्त, दाताराम शर्मा, भीमनिधि तिवारी, भीमप्रसाद लामिछाने, मोहनराज शर्मा, घटोत्कच शर्मा, रुद्र खरेल, लक्ष्मण लोहनी, लिलाध्वज थापा लगायत दर्जनौँ हास्यव्यङ्ग्यकारको परिचयात्मक विवरण यस कोशमा परेको छ ।

त्यसै गरि अहिले पनि सक्रिय रहेका विशिष्ट हास्यव्यङ्ग्यकारहरू मुकुन्द आचार्य, रामकुमार पाँडे, नरेन्द्रराज पौडेल, चट्याङ मास्टर, होम सुवेदी, विश्व शाक्य, कोमलप्रसाद पोखरेल, विमल निभा, चूडामणि खनाल, चोलेश्वर शर्मा, माधवप्रसाद पोखरेल, मुन पौडेल, विष्णु प्रभात, चूडामणि वशिष्ट, डम्बर घिमिरे, नवराज कार्की, भाउपन्थी, हरि वंदी, नरनाथ लुइँटेल, लक्ष्मण गाम्नागे, मनोज गजुरेल, हरि खनाल लगायतको विवरण कोशमा समावेश गरिएको छ ।

कोशमा विवरण समेटिएका महिला हास्यव्यङ्ग्यकारहरूमा सुधा त्रिपाठी, सुमी लोहनी, हरिकला उप्रेती, गायत्री परिराेशनी, दिलमाया लगायत रहेका छन् भने प्रवासी नेपाली हास्यव्यङ्ग्यकारहरूमा अर्जुन निरौला, कृष्ण प्रधान, मिङ लिवाङ, राजनारायण प्रधान, सानुभाइ शर्मा, वीरू वाङदेल, मनबहादुर गुरूङ, हीरा क्षेत्री, सुदर्शन अम्बोटे, ज्ञान सुतार लगायतको विवरण सङ्कलित छ ।

कोशमा लेखकहरूको सङ्क्षिप्त व्यक्तिवृत्तका साथै सबैको तस्वीर समावेश गरिएको छ भने हरेक लेखकको परिचय प्रस्तुत गरि सम्बन्धित लेखकको एउटा हास्यव्यङ्ग्य रचना समेत प्रस्तुत गरिएकाले पुस्तक ५ सय पृष्ठ पुगेको देखिन्छ ।

नेपाली हास्यव्यङ्ग्यकारहरूको पूर्ण परिचय एकै ठाउँमा नभइरहेको अवस्थामा आफूले यो कोश तयार गर्नेतर्फ चासो लिएको बताएका छन् यसका सङ्कलक तथा सम्पादक माणिकरत्न शाक्यले । शाक्य भन्छन्‌– यो कार्य सम्पन्न गर्न मलाई पूरा २ वर्ष लाग्यो ।

यस अधि २०५६ सालमा ५० जना हास्यव्यङ्ग्यकारहरूको व्यक्तिवृत बटुलेर माणिकरत्न शाक्यकै सङ्कलन तथा सम्पादनमा सिस्नुपानी नेपालद्वारा ‘हास्यव्यङ्ग्यकार नालीबेली’ प्रकाशित भएको थियो । त्यसैको बृहत् संस्करणका रूपमा अहिले प्रकाशित यस कोशलाई लिन सकिन्छ ।

भुँडीपुराण प्रकाशनबाट हालै प्रकाशित यस ‘हास्यव्यङ्ग्यकार नालीबेली’को मूल्य रु. १०५०। रहेको छ ।

०००
फित्कौली डेस्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x