फित्काैली डटकमएसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सम्मानित
श्री गणेश मा.वि. २०५४ सेरोफेरोका अध्यक्ष अनिलदेव नकर्मीले सभापतित्व गर्नु भएको कार्यक्रममा आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाउँनु भयाे ।

काठमाडौं, २०८२ असार २१ । श्री गणेश मा.वि. चपलीद्वारा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्कसहित सफलता प्राप्त गर्ने ७६ जना विद्यार्थीहरू र ३५ जना शिक्षक कर्मचारीहरुलाई “श्री गणेश मा.वि. २०५४ सेरोफेरो” पूर्व विद्यार्थी समूहको आयोजनामा एक भव्य कार्यक्रमका बीच सम्मान गरिएको छ।
श्री गणेश मा.वि. २०५४ सेरोफेरोका अध्यक्ष अनिलदेव नकर्मीले सभापतित्व गर्नु भएको कार्यक्रममा आगामी दिनमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “हामी विद्यालयसँगको सम्बन्ध जीवनभरको हो। हाम्रा सहपाठी साथीहरूले यसरी एक ठाउँमा भेला भई विद्यालय र विद्यार्थीको हौसला बढाउने काम गर्नु निकै प्रेरणादायी छ।”
उक्त कार्यक्रममा पूर्व प्रधानाध्यापक भीमशेन खत्री प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुँदै कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “शिक्षा जीवनको मेरुदण्ड हो, यही विद्यालयबाट शिक्षाको आधार लिएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका छन्, जुन गर्वको विषय हो। यस्ता सम्मानले विद्यार्थीहरूलाई अझ प्रेरित बनाउने विश्वास लिएको छु।”
कार्यक्रममा श्री गणेश मा. वि. २०५४ सेरोफेरोका सहपाठी साथै बुनपा– ४ का वडा अध्यक्ष श्रीराम केसी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने शिक्षक र असल परिणाम ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्नु सकारात्मक अभ्यास हो। हामी सबै पूर्व विद्यार्थीहरू एक भएर विद्यालयलाई योगदान दिने यस्ता कार्यक्रममा सहभागी हुन पाउँदा म अत्यन्तै खुशी छु।”
कार्यक्रममा एसईई परीक्षा उत्तीर्ण गरेका ७६ जना विद्यार्थीहरूलाई खादा र सम्मान–पत्र प्रदान गरिनुका साथै उनीहरूका अभिभावकहरू तथा सहभागी शिक्षक/शिक्षिकालाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालयका वर्तमान शिक्षकहरू, विभिन्न समयमा अध्यापन गराइसकेका शिक्षक/शिक्षिकाहरू, अभिभावक, स्थानीय प्रतिनिधिहरू, पूर्व विद्यार्थीहरू, समाजसेवीहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका समापनमा आयोजक समूहले सम्पूर्ण सहभागी महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको थियो।
०००
साधुराम खड्काद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest










































