साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

पुरस्कृत व्यक्तित्व मोहन दुवालले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट आफू पुरस्कृत हुन पाउँदा साहित्यिक पत्रकारितामा थप जिम्मेवारी बनाएको महसुस भएको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ असार ३१ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो ।

कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। उहाँले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ डोट्याली भाषाको साहित्यिक पत्रिका ‘गुगुल्डी’ मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ।

यसैक्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूलमर्म समावेशीकरण भएकाले साहित्यिक पत्रकारितालाई पनि बहुभाषिक बनाउन जोड दिँदै प्रज्ञा-प्रतिष्ठानले यस क्षेत्रलाई प्रोत्साहित गर्ने गरी पुरस्कार र सहयोगको व्यवस्था गरेको बताउनुभयो। प्राज्ञ पनि साहित्यिक पत्रकारिताकै उपज भएको उल्लेख गर्दै बदलिँदो समयानुकूल प्रविधि मैत्री हुँदै अघि बढ्नुपर्ने चुनौती साहित्यिक पत्रकारितामा रहेको ओैँल्याउनुभयो। यसले सम्पूर्ण भाषासेवी र सर्जकलाई बौद्धिक खुराक प्रदान गर्दछ। प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माण गर्न साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कुरा कुलपति राईले बताउनुभएको हो।

पुरस्कृत व्यक्तित्व मोहन दुवालले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट आफू पुरस्कृत हुन पाउँदा साहित्यिक पत्रकारितामा थप जिम्मेवारी बनाएको महसुस भएको बताउनुभयो । उहाँले आफ्नो जीवन नै साहित्यिक पत्रकारिता भएकाले यसमै आफ्नो इगो रहेको उल्लेख गर्नुभयो । साहित्यिक पत्रकारिताका क्षेत्रमा राज्यका निकायबाट हुने गरेका विभेदका बारेमा चर्चा गर्दै प्रज्ञा-प्रतिष्ठानले ढिलै भएपनि सम्झिएकोमा विशेष आभार व्यक्त गर्नुभयो।

अर्का पुरस्कृत व्यक्तित्व ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत वीरबहादुर चन्दले डोट्याली भाषा नेपाली भाषाको पनि आमा मानिएकाले ‘गुगुल्डी’ प्रकाशित गरेर भाषा साहित्यमा सेवा गरेको चर्चा गर्दै मातृभाषाको जगेर्नामा आफू लागिरहने बताउनुभयो ।

विशेष अतिथि, वरिष्ठ साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहालले नेपालका सम्पूर्ण भाषाहरूको संरक्षण गरे मात्रै साहित्य र संस्कृति समृद्ध बन्ने बताउनुभयो। उहाँले लेखक, साहित्यकार र पत्रकार लोकतान्त्रिक र अग्रगामी हुने कुरामा आफू आश्वस्त रहेको बताउँदै प्रज्ञा-प्रतिष्ठानले नयाँ नयाँ खोजअनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले विशेष योगदान पुर्याएका साहित्यिक पत्रकारलाई मात्रै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दिने कार्यविधिअनुरूप प्रतिभाको छनौट गरेको बताउनुभयो। उहाँले मोहन दुवाल र वीरबहादुर चन्द दीर्घसेवी साहित्यिक पत्रकार मात्रै होइनन्,यस क्षेत्रका इतिहास भएको उल्लेख गर्नुभयो । साथै साहित्यिक पत्रिका सहयोग कोषको मूलधन बढाउने प्रतिबद्धता धन्यवाद मन्तव्यमा बताउनुभयो।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य गद्य विभाग प्रमुख अमर न्यौपानेले संस्कृत भाषामा गुरुकुल भए जस्तै प्रत्येक मातृभाषामा पनि गुरुकुल आवश्यक रहेको बताउनुभयो। उहाँले प्रत्येक भाषाबाट साहित्यिक पत्रकारिता भएमा त्यो बाँच्ने र समृद्ध हुने बताउँदै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गर्दा प्रतिष्ठानले विशिष्ट प्रतिभाको चयन गरेको कुरा आफ्नो स्वागत मनतव्यमा बताउनुभयो । कार्यक्रमको उद्घोषण प्रज्ञासभा सदस्य चेतनाथ धमलाले गर्नुभएकाे थियो।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x