फित्काैली डटकमसुरभिको १७ औँ साधारण सभा र पुरस्कार प्रदान
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्य रहनु भएकाे थियाे ।

काठमाडौं, २०८२ साउन १७ । सुरभि साहित्य प्रतिष्ठानको १७ औँ साधारण सभा तथा १७५ औँ आख्यानवाचन कार्यक्रममा चार जना कथाकारहरूलाई पुरस्कारले सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ र नरेन्द्रराज पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो । विशेष अतिथिहरूमा प्रतिष्ठानका संरक्षकद्वय युवराज मैनाली र गोविन्द घिमिरे वेदमणि रहनुभएको थियो भने अन्य अतिथिहरूमा विमल अर्याल, विनोद चापागाईं र ठाकुर शर्मा रहनुभएको थियो ।
यस कार्यक्रममा नवराज रिजाललाई सुरभि अच्युतराम चालिसे लघुकथा पुरस्कार, शारदा पराजुलीलाई सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार, दिवाकर न्यौपानेलाई सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार र गोपीराम भण्डारीलाई सुलेख आख्यान प्रतिभा पुरस्कारले सम्मान गरिएको थियो । प्रत्येक पुरस्कारको राशी रु.१००००।– रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपककुरमार रिसालले यस्ता कार्यक्रमले नगरपालिकाको नाम उच्च बनाएको भन्दै यस्तै कार्यक्रम गरी नेपालभरिका व्यक्तिहरू यो नगरपालिकामा आउने वातावरण बनाउने कार्यका लागि नगरपालिकाले सहयोग गर्ने कुरा बताउनुभयो । वहाँले पुरस्कार प्राप्त व्यक्तिहरूलाई बधाईसमेत दिनुभयो ।
त्यस्तै अर्का वक्ता युवराज मैनालीले सुरभिको संरक्षक भएका नाताले सुरभिलाई केही सुझाव दिँदै प्रतिभा चयनमा यस पटकको समितिले सराहनीय काम गरेको बताउनुभयो । विशेष अतिथि गोविन्द घिमिरे वेदमणिले सुरभि साहित्य प्रतिष्ठानले हरेक क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउनु हुँदै पुरस्कारका लागि प्रतिभा छनौट गर्दाका समयमा भएका गाराअप्ठ्यारा कुराहरू बताउँदै विशिष्ट व्यक्तिको नाममा विशेष कवितागोष्ठी गर्ने योजना बनाएको बारेमा खुसी व्यक्त गर्नुभयो । मन्तव्य दिने अन्य व्यक्तिहरू नरेन्द्रराज पौडेल र ठाकुर शर्माले पुरस्कृत व्यक्तिहरूलाई बधाई दिँदै आख्यानको क्षेत्रमा सुरभिले एक्लै गतिलो कार्य गरेको समेत बताउनु भयो ।
कार्यक्रममा पुरस्कृत तीन जनाले कथावाचन गर्नुभयो भने नवराज रिजालले पुरस्कृत व्यक्तित्वहरूको तर्फबाट मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहसचिव मेनका पोखरेल आचार्यले दिनुभएको थियो भने सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।
यो कार्यक्रमभन्दा पहिले साढे एघार बजेदेखि १७ औँ साधारण सभा भएको थियो । साधारण सभामा अध्यक्षको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन माथि छलफल भएको थियो ।
०००
परशुराम पराशरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































