फित्काैली डटकमनेपाली शिक्षा परिषद् मा ‘अमृत महोत्सव वर्ष’ मनाइयो
नेपाली भाषाको उन्नयन र श्रीवृद्धिको पवित्र उद्देश्य लिएर भाषासेवी गोपाल पाण्डे असीमको सत्प्रयासमा स्थापित नेपाली शिक्षा परिषद्ले आफ्नो ७५अौं वार्षिकोत्सव ‘अमृत महोत्सव वर्ष’का रूपमा मनाउन सफल भएको छ ।

काठमाडाैं, २०८२ साउन ३१ । वि.सं. २००८ सालमा नेपाली भाषाको उन्नयन र श्रीवृद्धिको पवित्र उद्देश्य लिएर भाषासेवी गोपाल पाण्डे असीमको सत्प्रयासमा स्थापित नेपाली शिक्षा परिषद्ले आफ्नो ७५अौं वार्षिकोत्सव ‘अमृत महोत्सव वर्ष’का रूपमा मनाउन सफल भएको छ ।
नेपाली शिक्षा सदन सोहखुट्टे, ठमेलको सभाहलमा सम्पन्न यो कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष रमा शर्माले गर्नुभयो । परिषद् का सचिव दिव्यचन्द्र आचार्यद्वारा सहजीकरण गरिएको यस कार्यक्रमका प्रमुख आमन्त्रित नेपाल सरकारको पूर्व मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मी हुनुहुन्थ्यो ।
विशेष आमन्त्रितमा नेपाली सङ्गीत परिषद्का निर्देशक सन्तोष शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । कार्यक्रममा परिषद्का संस्थापक गोपाल पाण्डे असीमको ११३ अौं जन्मजयन्ती तथा गोपाल पाण्डे असीम पुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न भएको थियो ।
कविवर रमेश खकुरेल, कोषराज न्यौपाने, मुकुन्द शर्मा चालिसे, प्रह्लाद पोखरेल, बमबहादुर जिताली, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, कृष्ण सुवेदी निराकार, इन्दिरा शर्मा, ललिता दोषी, मदनराज थापा, खोलाघरे साहिंलो, सावित्रा खरेल लगायत चार कोरीजति स्रष्टाहरूको उपस्थिति रहेको सभालाई किरण थापाले स्वागत सम्बोधन गर्नुभएको थियो ।
डा. बमबहादुर थापाले सुन्दर कविता प्रस्तुत गर्नुभएपछि शङ्करप्रसाद पाण्डेले गोपाल पाण्डे असीमबारे परिचयात्मक मन्तव्य दिनुभयो । प्रह्लाद पोखरेलले असीमबारे “कर्मवादी असीम” कविता प्रस्तुत गर्नुभयो ।
यस वर्षको गोपाल पाण्डे असीम पुरस्कार प्राप्त गर्ने लक्ष्मी उप्रेतीको विशद् परिचय कुमारप्रसाद कोइरालाले दिनुभएपछि इन्दिरा शर्माले लक्ष्मी उप्रेतीको सम्मानपत्र वाचन गर्नुभयो ।
लक्ष्मी उप्रेतीलाई सम्मानपत्रसहित रु ५० हजार पुरस्कार अर्पण गरेपछि खेम बोहरालाई वर्ष २०८१ मा भानु माध्यमिक विद्यालयबाट नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरेकामा “गोपाल पाण्डे असीम उत्कृष्ट नेपाली पुरस्कार” अर्पण गरियो । पुरस्कृत स्रष्टा लक्ष्मी उप्रेतीले गोपाल पाण्डे असीमको भाषा उन्नयनको अथक प्रयास बारे र नेपाली शिक्षा परिषद्को स्थापना, योगदानबारे चर्चा गर्दै आभार मन्तव्य दिनुभयो ।
नेपाली सङ्गीत परिषद्का निर्देशक सन्तोष शर्माले र गङ्गाप्रसाद उप्रेतीले सारगर्भित मन्तव्य र शुभकामना दिनुभयो भने कमलमणि दीक्षितकी छोरी,अङ्गूरबाबा जोशीकी बुहारी रूपा जोशीद्वारा पनि बधाइ तथा शुभकामना मन्तव्य दिइएकाे भएको थियो ।
प्रमुख आमन्त्रित मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपाली शिक्षा परिषद् र गोपाल पाण्डे असीमका देनको स्मरण र बधाइ अर्पण गर्नुभयो ।
अध्यक्ष रमा शर्माले सबैलाई हार्दिक धन्यवाद दिनुभयो, आगामी भाद्र ७ गतेका स्रष्टाहरूको सामुहिक जयन्ती, मोती जयन्ती एवं समस्यापूर्ति कविताका लागि निमन्त्रणा दिनुभयो । नेपाली शिक्षा परिषद्का गतिविधि चर्चा, भवनको सज्जाबारे र अन्य सरसहयोग भएकामा सहृदयहरूप्रति धन्यवादसमेत दिँदै सभा समापन गर्नुभएकाे थियो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































