फित्काैली डटकमरमेश समर्थनको छैठौँ कृति ‘बदनाम आँचल’ सार्वजनिक
प्रमुख अतिथि ऋषिराम भुसालले चार सय मुक्तक समेटिएको यस कृतिले पाठकलाई क्षणिक मनोरञ्जन मात्र नभई गहिरो अनुभूति प्रदान गर्ने क्षमता राखेको उल्लेख गर्दै लेखकले सार्वकालिक रचनात्मकतामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

बुटवल, २०८२ साउन ३१ । साहित्यिक क्षेत्रमा विशेष छाप छोड्न सफल मुक्तककार रमेश समर्थनको छैठौं कृति ‘बदनाम आँचल’ शनिबार बुटवलमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
समारोहका प्रमुख अतिथि ऋषिराम भुसालले “अनुप्रास मात्र मिलाएर मुक्तक बन्दैन, यसको सौन्दर्य बुझ्नु र सैद्धान्तिक पृष्ठभूमि जान्नु आवश्यक हुन्छ, जुन कुरा रमेशमा स्पष्ट देखिन्छ,”। चार सय मुक्तक समेटिएको यस कृतिले पाठकलाई क्षणिक मनोरञ्जन मात्र नभई गहिरो अनुभूति प्रदान गर्ने क्षमता राखेको उल्लेख गर्दै लेखकले सार्वकालिक रचनात्मकतामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमकम अध्यक्ष डा. पराजुलीले समर्थनका मुक्तकले नेपाली समाजको विद्रुप यथार्थप्रति प्रकाश पार्दै देश धनी भए पनि गरिबी र अन्यायको शिकार बनेको अवस्थाप्रति मुक्तककार प्रस्तुत भएको बताए । उनले , “इमानीहरूको आवाज दबेको छ, बेइमानहरूको हुँकारले समाज चलिरहेको छ, इन्साफ समेत पैसामा तौलिने अवस्था आएको छ।” यस अवस्थालाई समर्थनले प्रहार गरेको बताए । डा. पराजुलीले मुक्तकलाई समाजको यथार्थ उद्घाटन गर्ने शक्तिशाली साहित्यिक साधनको रूपमा मूल्याङ्कन गरेका थिए ।
समीक्षक रुद्र ज्ञवालीले कृतिको समीक्षा गर्दै नेपाली मुक्तकको वर्तमान प्रवृत्ति, शैली र सम्भावनाबारे विस्तृत टिप्पणी प्रस्तुत गरे । उनले मुक्तकलाई केवल ‘रूवाई शैली’मा सीमित गर्नु उपयुक्त नभई मिश्रित शैलीमा प्रस्तुत गर्ने परिपाटीले नेपाली मुक्तकलाई नयाँ विशिष्टता दिएको बताए । ज्ञवालीका अनुसार, मुक्तक हैकमवादी प्रवृत्तिको विपक्षमा र पीडितको पक्षमा उभिने सशक्त विधा हो, र रमेश समर्थनले यसको मर्म र कलालाई गहिरो रूपमा आत्मसात गरेका छन् ।
समारोहका अन्य वक्ताहरूले रमेश समर्थनलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनात्मक यात्राले नेपाली मुक्तक साहित्यलाई दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
टिप्पणीपरक शुभकामना मन्तव्य दिनेहरूमा बूँद राना, ऋषिराम भुसाल, मुरारि पराजुली, कपिल लामिछाने, वनमाली निराकार, विजय सागर, डिल्ली भट्टराई, कृष्णप्रसाद काेइराला, सरु ज्ञवाली लगायत थिए । कार्यक्रममा अन्य दश जना स्रष्टाहरूले रचना वाचन गरे ।
मोहन मरासिनीले सञ्चालन गरेको कार्यक्रममा लेखकीय गर्भका प्रसंग उठान गर्दै कार्यक्रम सहभागीप्रति कृतिका लेखक रमेश समर्थनले धन्यवाद ज्ञापन गरेका थिए।
लाेकार्पित कृतिमा फित्काैलीका सम्पादक नरनाथ लुइँटेलले प्रकाशक्याैली मन्तव्य र डा. मुरारि पराजुलीले विश्लेषणात्मक भूमिका लेखेका छन् ।
४०१ वटा मुक्तकहरू सङ्कलित ‘बदनाम आँचल’लाई नेपाली हास्यव्यङ्ग्यकाे सम्वर्द्धन अभियानमा सक्रिय फित्काैली अनलाइन मिडिया तथा फित्काैली डटकमले प्रकाशनमा ल्याएकाे हाे ।
०००
Subscribe
Login
0 Comments
Oldest










































