फित्काैली डटकमपत्रकारितामा भैरव अर्यालको विशिष्ट योगदानको स्मरण
राजधानीमा गरेको कार्यक्रममा वक्ताहरूले छोटो अवधिमै अर्यालले साहित्य तथा पत्रकारितामा दिएको योगदान अतुलनीय रहेको बताएका हुन् ।

काठमाडौ, २०८२ असोज १२ । स्रष्टाहरूले नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले दिएको विशिष्ट योगदानको राज्यले कदर गर्न नसकेको बताएका छन् ।
कल्पतरु प्रज्ञा प्रतिष्ठान तथा कल्पतरु द्वैमासिकले राजधानीमा गरेको कार्यक्रममा वक्ताहरूले छोटो अवधिमै अर्यालले साहित्य तथा पत्रकारितामा दिएको योगदान अतुलनीय रहेको बताएका हुन् ।
नेपाली साहित्यको हास्यव्यङ्ग्य विधाका अतिरिक्त कविता तर्फ पनि अर्याल अत्यन्त सशक्त देखिएको स्रष्टाहरूको भनाइ छ ।
सामाजिक तथा राजनीतिक विसङ्गति र विकृति विरुद्ध अर्यालले दशकौं अघि लेखेका लेखहरू अहिले पनि उत्तिकै सान्दर्भिक भएको उनीहरूको ठहर छ ।
अर्यालका कृतिहरू अन्तर्राष्ट्रिय स्तरका भएकाले त्यसलाई उल्था गरी विश्व साहित्यको पहुँचमा पुर्याउनु पर्ने आवश्यकता उनीहरूले औँल्याएका छन् ।
कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ कल्पतरु प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा कल्पतरु द्वैमासिकका प्रधान सम्पादक
नवराज पुडासैनी ‘ज्योत्सना’ सहित साहित्यकारहरू बद्री अर्याल, वसन्त रिजाल, विमल अर्याल, डाक्टर सुवास प्याकुरेल, निर्मल अर्याल, राजन पुडासैनी लगायतले नेपाली साहित्य तथा पत्रकारितामा भैरव अर्यालले दिएको योगदानको विविध कोणबाट समीक्षा गरेका थिए ।
सोही अवसरमा गत भदौ २३ र २४ को जेन्जी आन्दोलनको क्रममा मृत्युवरण गरेकाहरूको शोकमा एक मिनेट मौन धारण गरिएको थियो भने अर्यालको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको १ सय १५ औं अंकको लोर्कापण गरिएको थियो ।
विक्रम संवत १९९३ असोज ५ गते जन्मिएका अर्यालको निधन ४० वर्षको कलिलो उमेरमा २०३३ साल असोज १९ मा भएको थियो । भैरव अर्यालका जय भुँडी, दश अवतर, गलबन्दी, उपवन, इति श्री, काउकुती लगायतका कृतिहरू नेपाली साहित्यमा कालजयी मानिन्छन् ।
०००
निर्मल अर्यालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































