फित्काैली डटकमवरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी अभिनन्दित
भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई अभिनन्दन गरेकाे छ ।
स्याङ्जा, २०८२ असाेज २० । भेषजराज साहित्य प्रतिष्ठान, वालिङ, स्याङ्जाले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलाई अभिनन्दन गरेकाे छ ।
प्रतिष्ठानले बनवासी सहस्र चन्द्र दर्शन (८४ पूजा )को दिन उहाँकै घरमा पुगी अभिनन्दन गरेको हाे ।
वि. सं. १९९७ कार्तिक २७ गते स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं. २ शङ्खरेडाँडामा जन्मनुभएका वनवासीको माछापुच्छ्रेको काख (२०२०) कवितासङ्ग्रहबाट औपचारिक साहित्यिक यात्रा प्रारम्भ गर्नुभएका वनवासीका आमाको सन्देश, शहीदको आत्मकथा, विस्कुन जस्ता कवितासङ्ग्रहहरू, कथा कथौरी, केही रमाइला कथा, छुनुमुनुलगायतका कथासङ्ग्रहहरू, असल मान्छे, अब्बल मान्छे जस्ता उत्कृष्ट बालजीवनीहरू, मुलुकभित्रै भौँतारिँदा, आकृति र अनुभूतिहरूजस्ता लेख-निबन्ध सङ्ग्रहअरू, आँधीखोले लोकसंस्कृति (२०५५) लगायतका ६ दर्जन बढी कृतिहरु प्रकाशित छन् । उहाँले सम्पादन, अनुवाद र समीक्षाका क्षेत्रमा पनि कलम चलाउनु भएको छ ।
छ दशकभन्दा लामो समय भाषा- साहित्यको सेवामा समर्पित गर्नुभएको वनवासीज्यूले ४ दर्जनभन्दा बढी पुरस्कार एवम् सम्मान प्रप्त गरिसक्नुभएको छ ।
वनवासीलाई भेषजराज साहित्य प्रतिष्ठानले २०७४ सालमा भेषजराज साहित्य सम्मानद्वारा पनि सम्मानित गरेको थियो ।
दर्जन भन्दाबढी सङ्घसंस्थामा आबद्ध वनवासीज्यूले नेपाली भाषा-साहित्यका क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय छ । प्रतिष्ठानले उहाँकाे याे पुण्य अवसरमा सिर्जनशील स्वस्थ र दीर्घ जीवनको कामना समेत गरेकाे छ ।
०००
श्याम ढुङ्गानाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































