साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अङ्कुर’ काे विमोचनसँगै ‘त्रियासी साहित्य साँझ’ सम्पन्न

कविकी ममतामयी माता पार्वती अर्यालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासी रहनुभएको थियो ।

Nepal Telecom ad

स्याङ्जा, त्रियासी, २०८२ असोज २८ । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृतिको रूपमा ५६ वटा कविताको सङ्ग्रह ‘अङ्कुर’ को विमोचन तथा विमर्श एवम ‘त्रियासी साहित्य साँझ- २०८२’ सम्पन्न भएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भसँगै स्वर्गीय त्रिभुवन अर्यालको ११औँ वार्षिक पुण्यतिथिको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संयोजन तथा प्रतिभा जागरण केन्द्र, वालिङ- १, त्रियासी, स्याङ्जाको आयोजनामा स्याङ्जाको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने साहित्यिक कार्यक्रमको रूपमा आयोजना गरिएको ‘अङ्कुर’ कविता कृति विमोचन तथा विमर्श एवम ‘त्रियासी साहित्य साँझ- २०८२’ मङ्गलबार वालिङ, त्रियासीस्थित त्रियासी कृषि उपज सहकारीको प्राङ्गणमा सम्पन्न गरिएको थियो ।

कविकी ममतामयी माता पार्वती अर्यालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार व्यक्तित्व देवीप्रसाद वनवासी रहनुभएको थियो । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा मोहन रेग्मी र वालिङ नगरपालिकाका नगर उप प्रमुख कविता तिवारीको समुपस्थिति रहेको समारोहमा कविकी ममतामयी माता, प्रमुख आमन्त्रित व्यक्तित्व, वक्ताद्वय दीपक लम्साल र विष्णु सुवेदी गैह्रेसँगै कवि स्वयंद्वारा ‘अङ्कुर’ कविता कृतिको विमोचन गरिएपश्चात् कविता कृति र कवि राधिका अर्याल (राधा) को कविता लेखनमाथि केन्द्रित रहेर वक्ताद्वय विष्णु सुवेदी गैह्रे र दीपक लम्सालद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियो ।

बुवा त्रिभुवन अर्याल र आमा पार्वती अर्यालको कोखबाट काठमाडौँमा जन्मिएर स्याङ्जामा हुर्किबढेकी कवि राधिका अर्याल (राधा) ले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक र टोरोन्टो मेट्रोपोलीटियन युनिभर्सिटीबाट नर्सिङ विषयमा स्नातकोत्तर गरेकी छिन् । यसअगाडि नै नर्सिङशास्त्र र शिक्षाशास्त्रमा स्नातक गरिसकेकी र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा २१ वर्ष सेवा पुरा गरेकी अर्याल हाल ओन्टारियो, क्यानडामा नर्सिङ व्यवस्थापकको रूपमा कार्यरत रहेर सिर्जना कर्ममा क्रियाशील छिन् ।

राधिका अर्याल (राधा) को ‘अङ्कुर’ कवितासङ्ग्रह पहिलो साहित्यिक कृति हो । कवि स्वयंद्वारा प्रकाशित र मिलन समीरद्वारा भाषिक सम्पादन गरिएको ‘अङ्कुर’ मा विभिन्न समसामयिक विषय, प्रसङ्ग र सन्दर्भसँग सम्बन्धित ५६ वटा कविताहरु समावेश गरिएको छ ।

सानै उमेरदेखि नै साहित्य, व्यवहारिक शिक्षा र समाजसेवामा रुचि राख्ने अर्यालका थुप्रै सूचनामुलक लेख रचनाहरु स्वदेश तथा विदेशबाट प्रकाशित हुँदै आएका पत्र- पत्रिकामा समावेश भएका छन् । उनी विभिन्न समयमा भएका साहित्यिक प्रतियोगिता तथा काव्य गोष्ठीहरुमा पुरस्कृत तथा सम्मानित भइसकेकी छिन् ।

किशोर अर्यालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो भने धन्यवाद मन्तव्य शार्दूल अर्यालद्वारा गरिएको थियो ।

‘त्रियासी साहित्य साँझ- २०८२’ नाम दिइएको कार्यक्रमको दोस्रो चरणमा स्याङ्जाली सशक्त स्रष्टाहरु प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, वसन्त खनाल, शम्भु अर्याल, पूजा रेग्मी, लेखनाथ काफ्ले, शोभाकान्त रेग्मी, ढालबहादुर के.सी., खगेन्द्रजंग थापा, पारिश्वर न्यौपाने, राधिका अर्याल, चण्डिकाप्रसाद भट्टराई, सागर काफ्ले, सरस्वती अर्याल काफ्ले, डालकुमारी रेग्मी, दमकुमारी बगाले लगायतद्वारा आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व देवीप्रसाद वनवासीलाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने विशिष्ट आमन्त्रित व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

०००
मिलन समीरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x