साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्ध्याको ४६९ औँ नियमित शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्य सन्ध्याका परिकल्पनाकार, वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ कार्तिक १ । गुगलमिटका माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४६९ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’को आयोजना गरियो ।

कार्यक्रममा असोज २५ गते शनिबार आयोजना गरिएको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण विशेष समारोहको समीक्षासमेत गरिएको थियो यो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा साहित्य सन्ध्याका परिकल्पनाकार, वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, वासुदेव अधिकारी, राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी अध्यक्ष नर्मदेश्वरी सत्याल, डा.कृष्ण सुवेदी, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, डा.गोविन्दप्रसाद आचार्य, महेशराज खरेल, गोपाल बराल, रामदेव पाण्डेय, त्रिलोचन आचार्यलगायतको उपस्थिति रहेको थियो ।

दुई सत्रमा आयोजना गरिएको उक्त विशेष समारोहमा पहिलो सत्रमा वरिष्ठ साहित्यकार एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य सन्ध्यासँगको सहकार्यमा स्थापना गर्नुभएको रु.पचास हजार राशिको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ पहिलोपटक यही २०८२ असोज २५ गते शनिबार अपराह्‌न १ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरिएको र उक्त विशेष समारोहमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गरिएकोमा उक्त विशेष समारोहको समीक्षा गरियो ।

उक्त विशेष समारोहको समीक्षा गर्नुहुँदै पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम राम्रो, प्रभावकारी र भव्य भएको; यो पुरस्कार समालोचना, कविता, निबन्ध र दर्शन विधामा पालैपालो प्रदान गरिने र यस वर्ष समालोचनातर्फ अर्पण गरिएको छ । अर्को वर्षदेखि गोविन्द भट्टको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुने विद्वान् व्यक्तित्वसँग लिखित रूपमा सामग्री माग्ने र चारैओटा विधामा पुरस्कार तथा सम्मान अर्पण गरिसकेपछि पुस्तकाकार रूपमा छाप्ने व्यवस्था गरिनु उपयुक्त हुन्छ । त्यसरी लिखित सामग्री तयार पार्ने विद्वानलाई रु.पाँच हजार पारिश्रमिक पनि प्रदान गर्ने व्यवस्था गरौँ र सोको व्यवस्था पनि म गर्छु भन्नेसमेतको सुझाव दिनुभयो । उपस्थित प्रा.डा.हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, वासुदेव अधिकारीले समारोहको उपस्थिति र उपस्थित सङ्ख्या पनि राम्रो रहेको, उच्च गरिमामय व्यक्तित्वका नाममा स्थापित पुरस्कार त्यस्तै उच्च गरिमामय व्यक्तित्वलाई प्रदान गरिएको, कार्यक्रम थोरै लामो भने भएको, कार्यक्रममा उपस्थित हुने सबै अग्रज व्यक्तित्वको नामोल्लेख नगर्दा पनि हुने, गोविन्द भट्ट कीर्तिशेष हुनुभएको चौध वर्षपछि पुरस्कारका माध्यमबाट सम्झना गरिएको र यो पुरस्कार अर्पण गर्ने समग्र व्यवस्थापन गर्दा साहित्य सन्ध्याको गरिमा पनि अझ बढेको, पुरस्कारको राशि पनि राम्रै रहेको, सम्मानित व्यक्तित्व प्रा.डा.वासुदेव त्रिपाठीले आफ्नो कार्यकालमा प्रगतिशील खेमालाई बढी नै माया गरेर धेरै प्राध्यापकहरूलाई नेपाली केन्द्रीय विभागमा तान्नु पनि भएको, कार्यक्रम थोरै बढी लामो हुँदा वरिष्ठ व्यक्तित्वहरूलाई खाजाको भने अलि राम्रो व्यवस्था गरिनु आवश्यक हुने, युवा सहभागिता बढाउने प्रयत्न आवश्यकसमेतका सुझावसहित समीक्षा गरिदिनुभयो । प्रा.डा.जीवेन्द्र देव गिरीले आफू त्यस दिन बनेपामा भएको अर्को समारोहमा जानुपर्ने अवस्थाले उपस्थित हुननसके पनि बलियो र दृढ वैचारिक दृष्टिकोण भएका गोविन्द भट्टका नाममा पुरस्कार स्थापना हुनु उहाँका प्रतिको सम्मान हो र त्यस्ता उचाइयुक्त व्यक्तित्वका नाममा स्थापित पुरस्कार पहिलोपटक प्रा.डा.वासुदेव त्रिपाठीज्यूलाई अर्पण हुँदा उहाँको पनि गरिमा बढेको, उपयुक्त पात्रको छनोट भएको धारणा राख्नुभयो ।

साहित्य सन्ध्याका अध्यक्ष, राम विनय, उपाध्यक्ष रमेश पोखरेल, सचिव जयन्ती स्पन्दन, कोषाध्यक्ष गोपालकुमार मैनाली र सदस्य प्रशान्त खरेल उपस्थित हुनुभएकाले उहाँहरूले प्राप्त सबै सुझावलाई कार्यान्वयन गर्ने र देखिएका केही कमीकमजोरीलाई सुधार्दै गुणस्तरीय कार्यक्रम व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो र १ बजेको सन्ध्याको नियमित कार्यक्रमको समय भएका कारण अध्यक्षले पहिलो सत्रको समापन गर्नुभएको थियो ।

पहिलो सत्रकै निरन्तरतामा थालिएको दोस्रो सत्रको समारोहमा गङ्गाप्रसाद उप्रेती, प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.कृष्णप्रसाद घिमिरे (नेपालगन्जबाट), प्रा.डा.हेमनाथ पौडेल, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, राम विनय, जयन्ती स्पन्दन, प्रशान्त खरेल, गोपालकुमार मैनाली, गायत्री चापागाईँ, डम्बर पहाडी (इलामबाट), ओमप्रसाद कोइराला, डा.कृष्ण सुवेदी, कुमार नेपाल, नर्मदेश्वरी सत्याल, महेशराज खरेल, डा.गोविन्दप्रसाद आचार्य, रामदेव पाण्डेय, त्रिलोचन आचार्य, गोपाल बराल, रमेश पोखरेलले आआफ्ना कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि समीक्षा गर्नुहुँदै प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले आजको यो विशेष समारोहमा पूर्वको इलामदेखि पश्चिमको नेपालगन्जसम्मबाट स्रष्टाको सहभागिता रहेको छ र यो विशेष समारोह प्रविधिमैत्री तबरले दसैँ र तिहारको बिचमा अर्थात् तिहारको मुखमा आज हामी सम्पन्न गर्नलागिरहेका छौँ । दसैँको ठिक अगाडि जेनजीको नामबाट विनाशकारी, विध्वंसकारी आन्दोलन हुनु र हालैको बाढी पहिरोका कारण देश फेरि एकपटक शोकमा पुग्नुपरेको वाताारणका कारण चाडबाड खुसियालीयुक्त र उत्साहबर्धक रहेका छैनन् । आजको यो विशेष समारोहमा उन्नाइसजनाका स्रष्टाका बिसओटा कविता, गीत, एलाक बाचन भएका छन् । द्रुतविलम्बित छन्दको ओमप्रसाद कोइरालाको कविताबाट थालनी भएको र यस कविताले मान्छेलाई कोमल हुन, सत्कर्म गर्न र नृशंस एवम् क्रूरताको अन्त्यको आग्रह गरिएको छ । यसैगरी हरेक स्रष्टाका प्रत्येक सिर्जनामाथि एक एक गरी अत्यन्त मसिनो ढङ्गले सिर्जनाको वैचारिक पक्ष, कलामूल्य, सन्देश आदि पक्षमा विशद टिप्पणी गरिदिनुभएको थियो ।

प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले आजको यो विशेष समारोहमा मुलुकको सामाजिक परिस्थितिलाई स्रष्टाले अवलम्बन गरी अभिव्यक्ति प्रदान गरिएको छ त्यसैले पनि साहित्य सन्ध्याका गोष्ठीहरू कार्यशाला हुन् भन्ने कुरा आजको गोष्ठीमा वाचित रचनाहरूले पनि प्रमाणित गरेका छन् । आजका सबै सबै सहभागीलाई हार्दिक धन्यवाद पनि दिन्छु । आज वाचित सिर्जनामाथि टिप्पणीकार प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले अत्यन्त सुन्दर मूल्याङ्कन, विश्लेषण र निर्देशन गर्नुभएको छ । यतिखेर मानवीय षडयन्त्रले र प्राकृतिक प्रकोपले हामीलाई पिरोलेको छ । मानवीय षडयन्त्रले निम्त्याएको सन्त्रासका रूपमा जेनजी आन्दोलन देखा पर्यो र देखावटी रूपमा सुधार तथा रूपान्तरण भनिएको भए पनि यसभित्रको घुसपैठले विध्वंस मच्चाएको पक्षलाई आजका स्रष्टाका सिर्जनाले यथार्थपरक तथा मार्मिक रूपमा उजागर गरेका छन् र सचेतताको सन्देश सम्प्रेषण गरेका छन् ।

अन्तर्राष्ट्रिय युद्धको सिकारसमेत हामी नै भयौँ र हाम्रा होनहार युवा विपिन जोशीको मृत्युको पीडा हामी व्यहोरिरहेका छौँ । साना राष्ट्रले भोगेका र भोगिरहेका युद्धका पीडाजन्य समस्यालाई स्रष्टाका सिर्जनाले उजागर गरेका छन् । साना राष्ट्रले भोग्ने भूराजनीतिक समस्या, त्यसले पार्ने नकारात्मक प्रभाव तथा दिने पीडा पनि सुन्दरढङ्गले सिर्जनामा आएका छन् । चार दशकभन्दा लामो समयदेखिको निरन्तरता वा अविच्छिन्नता नै साहित्य सन्ध्याका विशेषता हो । प्राज्ञिक र सिर्जनात्मक तहबाट साहित्य सन्ध्याले समग्र नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान गरिरहेको छ । यद्यपि सन्ध्याको पूर्वाधार विकासमा भने भरपर्दो सहयोग प्राप्त हुननसकेको हुँदा कसरी र कस्तो खालको, कोसँगको समन्वयद्वारा यस्ता निःस्वार्थ संस्थाको पूर्वाधार विकासमा सहयोग प्राप्त हुनसक्छ भन्ने विषयमा छलफल गरौँ र सकेको सहयोग पनि गरौँ । शोककै घडीमा आएका हाम्रा चाडहरू तिहार, छठ, नयाँवर्षलगायतका सबैको हार्दिक शुभकामना पनि दिन्छु । आजको यो विशेष समारोहमा पूरै समय अर्थात् साढे तीन घण्टा बसेर पुरस्कार अर्पण गरिएको अघिल्लो विशेष समारोहको समीक्षा पनि मसिनो गरी गरियो भने समग्र रचना तथा तिनमाथिको टिप्पणसिमेत सुन्दा आजको यो समारोह सार्थक भएको मलाई अनुभूत भएको छ, गौरवबोध भएको छ भन्नुभयो ।

सभाध्यक्ष राम विनयले साहित्य सन्ध्या भनेको एक प्रकारको कार्यशाला हो । २०३९ पुस २ गते बुधवार नेपाल ल क्याम्पसबाट साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानको अगुवाइ गरिरहेको यो संस्थाले नयाँ र पुराना स्रष्टालाई एकै ठाउमा भेला गराई कार्यशालाको स्वरूप प्रदान गरिरहेको छ तर पछिल्ला दिनमा नयाँ स्रष्टाको सहभागिता अलि कमजोर भइरहेको पनि छ । हामी हरेक महिनामा कुनै न कुनै महत्त्वपूर्ण विषयमा बहस गर्ने, छलफल गर्ने र सामाजिक विकृति तथा शासकीय विसङ्गतिका विरुद्धमा आबाज बुलन्द गर्ने कार्य गरिरहेका छौँ । हाम्रा आबाज शासनसत्ताले सहज सुन्ने प्रवृत्ति नदेखिए पनि हाम्रो अभियान निरन्तर रहिरहेको छ । आजको यो विशेष समारोहमा भने ‘शुभकामना विशेष कविगोष्ठी’का साथै हामीले गएको असोज २५ गते आयोजना गरेको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण’ विशेष समारोहको विशद समीक्षासमेत गरेका छौँ ।

सञ्चारमाध्यमको दुरुपयोग र भ्रमका माध्यमबाट जेनजीलाई मोहोरा बनाएर मुलुकमा विध्वंस मच्चाइएको छ । आवरणमा सुधार तथा रूपान्तरणको उद्देश्य रहेको देखाइए पनि ध्वंस चाहिँ उद्देश्य थियो भन्ने पुष्टि भएको र हुने क्रम पनि जारी नै छ । हामी स्रष्टाले सिर्जनाका माध्यमबाट सत्यका पक्षमा र न्यायका पक्षमा उभिनु आवश्यक छ । आजको यो विशेष समारोह प्रविधिमैत्री रहेको हुँदा कविहरू पनि आफ्नै घरबाट हाम्रो निमन्त्रणा स्वीकार गरेर जाडिनुभएको छ त्यसैले म प्रमुख अतिथि, अतिथिलगायत सबै सबैलाई हार्दिक आभार व्यक्त गर्दछु, धन्यवाद दिन्छु । फेरि अर्को महिनाको समारोहमा कुनै न कुनै विशेष विषयमा बहस गर्ने तथा कविगोष्ठी गरिने भएकाले त्यसमा पनि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै समारोहको समापन गर्नुभयो ।

०००
रमेश पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x