साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ सार्वजनिक

प्रमुख अतिथि पूर्व सांसद वरिष्ठ साहित्यकार कुन्ता शर्मा, विशिष्ट अतिथिहरु पूर्व सांसद  हर्कमान तामाङ,  मधु गुरुङ,  साहित्यकार खेम नेपाली, बेलबारी नगर प्रमुख दिलप्रसाद राई, वरिष्ठ कथाकार सरण राई तगा रमेश निरौलाले सार्वजनिक गरे । 

Nepal Telecom ad

बेलबारी, मोरङ २०८२ कार्तिक १ । बेलबारी मुकामका साहित्यकार ईरानराईको पछिल्लो कथासङ्ग्रह ‘चुडेल्नी’लाई सार्वजनिक गरिएको छ ।

प्रमुख अतिथि पूर्व सांसद वरिष्ठ साहित्यकार कुन्ता शर्मा, विशिष्ट अतिथिहरु पूर्व सांसद तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, संविधान सभा सदस्य तथा साहित्यकार मधु गुरुङ, पूर्व राष्ट्रिय सभा सदस्य तथा साहित्यकार खेम नेपाली, बेलबारी नगर प्रमुख दिलप्रसाद राई, वरिष्ठ कथाकार सरण राई एवं आयोजक अध्यक्ष रमेश निरौला तथा कृतिकार ईरानराई आदिले उक्त कृति सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुन्ता शर्माले श्रीमान् र श्रीमती एउटै कार्यालयमा कामदार भएर बराबरी खटे पनि घर पुगेपछि श्रीमतीले नै चिया–पानीको व्यवस्था गर्नुपर्ने हुन्छ । यस्तो विभेद कहिलेसम्म नारीले खप्ने, पुरुषलेचाहिँ घरको काम गर्नै नहुने, कहिलेकाहीँ श्रीमान्‌ले श्रीमतीलाई चिया–पानीको वयवस्था गर्दा हुँदैन ? यो लैङ्गिक विभेदलगायत सम्पूर्ण किसिमका विभेदहरुलाई हटाउनुपर्दछ र त्यसका लागि कृति अग्रसर रहेको बताउनुभयो । प्रमुख अतिथि शर्माले उहाँको सर्वाधिक लोकप्रिय कविता ‘पोथी बास्नु हँुदैन’ वाचन गर्नुभएको थियो ।

समीक्षक हर्कमान तामाङले कृतिले सिधा नाराका रूपमा नभएर रोचक कथाका रूपमा सामन्ती प्रथा र अन्धविश्वासका विरुद्ध कथाहरुलाई कृतिकारले अभिमुख गराएको बताउनुभयो ।

समीक्षक मिश्र बैजयन्तीले आफू अस्पतालबाट घर फर्कदै गरेको एक साँझ बक्राहा खोलामा चुडेल्नी भेटेको, चालकले गाडी अगाडि बढाउन नमाने तर नजिक पुगेपछि सधैँ रुखमुनि बस्ने मानसिक समस्याग्रस्त व्यक्ति भोक लागेपछि हरेक यात्रुलाई खानेकुरा माग्न सडक आएको भेटेको स्मरण गर्दै लैङ्गिक र सामजिक विभेदका विरुद्ध कथाहरुलाई सशक्त बनाएको बताउनुभयो ।

बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले सङ्खुवासभाको सभा खोलामा मेला लाग्ने र त्यहाँ स्नान गरेमा भगवान्‌ले शरीरलाई शुद्ध बनाइदिने जनविश्वास रहेको, आफूले पनि उक्त खोलामा स्नान गरेको, स्नानपछि शरीर चङ्गा भएको स्मरण गर्दै त्यो चङ्गापन कुनै देवीदेवताले नभई अल्काइन पानी भएकोले भएको बताए ।

कार्यक्रममा खेम नेपाली, सरण राई, दङ्लाली कान्छा र विन्दु दहाल मूकदर्शकले ‘चुडेल्नी’ कथासङ्ग्रहले लामो समयदेखि समाजमा रहेको अन्धविश्वास, विभेद, अन्याय र शोषणका विरुद्ध जनचेतना फैलाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो ।

कृतिकार ईरानराईले ‘चुडेल्नी’ शीर्षकको कथासङ्ग्रह ४८/४९ सालमै प्रकाशित गर्न चाहेको तर नसकेको हुनाले अहिले प्रकाशन गरेको तथा प्रकाशित कथाहरुले अन्धविश्वास र भ्रम हटाएर ती विषयहरुमा थप अध्ययन–अनुसन्धान गर्नका लागि बहस प्रारम्भ गरेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य मधु गुरुङ, वडाध्यक्षहरु कृष्ण गुरुङ र सुनिता चौधरी, प्राज्ञ राम खरेल, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, बेलबारी नगरकी पूर्व उपाध्यक्ष तथा साहित्यकार तारा पराजुली, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली र जिल्ला अध्यक्ष यज्ञराज सुसेली, स्रष्टा समाजका अध्यक्ष जेबी थुलुङ, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, स्वर्णिम साहित्य समाज, बराहक्षेत्रका संस्थापक अध्यक्ष प्रकाश दिप्साली, कोसी साहित्य कला प्रतिष्ठानका अध्यक्ष केशु विरही, अच्छा राई रसिक प्रतिष्ठानका अध्यक्ष केशव सुनाम, जेफाले साहित्य डबलीका संयोजक युवराज ठकुरी, रङ्गेली साहित्य समाजका सचिव चिरिञ्जीवी काफ्‌ले, साहित्यकारहरु डिल्लीराम ओझा, पूर्व मेजर प्रेम गुरूङ, बादल चाम्लिङ, रमेन्द्र कोइराला, गोपाल निर्भिक, लीलानाथ सिलवाल, शैलेन्द्र घिमिरे, भवानीप्रसाद घिमिरे हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रयाग न्यौपाने, उमेश लुइटेल, चुडामणि नेपाल अकिञ्चन, नवराज पोखरेल नवशिला, प्रिन्स प्रमोद ढकाल र चन्द्रकान्त भट्टराईले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कृतिभित्रको ‘भूत’ शीर्षकको कथामै समेटिएको ‘न त हुन्छन् चुडेल्नी’ बोलको गीत शेखर थापामगरको सङ्गीतमा गायक सञ्जीव धिमालले गाउनुभएको थियो ।

सङ्ग्रहमा किचकन्नी, चुडेल्नी, डङ्किनी, डाइनी, प्रेतात्मा, बोक्सी, बोक्सो, भूत, मुर्कुटा र राक्षसनी गरी दशओटा कथाहरु सङ्गृहीत छन् ।

कार्यक्रम सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी, मोरङको सभाकक्षमा प्रकाशकसमेत रहेको बेलबारी साहित्य समाजका अध्यक्ष रमेश निरौलाको अध्यक्षता, सचिव उमा सिजापती र कोषाध्यक्ष शिव पराजुलीको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x