फित्काैली डटकमडा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण
राजधानीमा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल,प्राडा भागवत ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’,अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले उक्त कृति लोकार्पण गरे ।

काठमाडौं, २०८२ मङ्सिर २७। डा.चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पित भएको छ ।
नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा प्रेमनारायण अर्याल,प्राडा भागवत ढकाल, श्रीओम श्रेष्ठ ‘रोदन’,अम्बिका केसी र निबन्धकार डा.योगी लगायतले उक्त कृति लोकार्पण गरे ।
कृतिमाथि परिचर्चा प्रा.डा. ढकालले गरे । उनले उक्त कृति गीताको आदर्शलाई पछ्याएर लेखिएको बताए । जीवन, जगत र समाज उपयोगी कृतिले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिए । उनले भने-‘ज्ञान,विज्ञान र चेतना समेटिएर कृति आएको छ । जीवन र दर्शनलाई जोडेर लेखिएको कृति आएको छ।’
अर्का वक्ता पोखरा विश्वविद्यालयका प्रा.डा. अर्यालले डा.योगीसँगको पुरानो सम्बन्धको चर्चा गर्दै पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा डा. योगीलाई प्रवचन गर्न लगेको स्मरण गरे ।
कृतिकार डा.योगीले अध्यात्म र दर्शनको बारेमा बोल्दै कृतिको रचना गर्भबारे बताए । उनले आफू मातृभूमिको सेवक भएको भन्दै स्वान्त सुखायको निम्ति लेख्ने गरेको बताए । उनले अगाडि भने – ‘म ॐकारको साधनामा छु । लेखक भएँ भइनँ थाहा छैन् ।’
प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी र भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य राखे ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजिकरण शान्तिमाया गिरीले गरेकी थिइन्। कार्यक्रममा शंकर भारतीले स्वागत मन्तव्य व्यक्त गरे।
०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest




































