फित्काैली डटकमसाहित्य, संगीत र कलाक्षेत्रका आठ स्रष्टालालाई जनमत सम्मान
२०८१ सालको ‘दीपा–जनमत सम्मान’ नियात्राकार तथा लेखक निर्मोही व्यासलाई प्रदान गरिएको छ। त्यसैगरी ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ लेखक ज्ञानेन्द्र विवशलाई अर्पण गरिएको छ। विवश यात्रा–लेखक, कलाकार तथा कलासमीक्षकसमेत हुनुहुन्छ।

काठमाडौं, २०८२ मङ्सिर २८ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सवको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्दै दीपा-जनमत सम्मान निर्मोही व्यास (बारा) ,‘गणेश खिलकुमारी दुवाल–जनमत सम्मान’, श्याम तमोट (भोजपुर), ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला (ताप्लेजुङ), ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश (खोटाङ) ,‘कमला सैँजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ (ललितपुर), ‘जनमत–राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य (खोटाङ), ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल (काठमाडौँ) र ‘जनमत–केदार-सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारी (काठमाडौँ) लगायतका ८ जनालाई अर्पण गर्नुभएको थियो।
प्रमुख अतिथि राईले सम्मानले स्रष्टा सामाजिक रूपमा अनुमोदित हुने चर्चा गर्दै जनमत साहित्यिक पत्रकारिताको एक महत्त्वपूर्ण विरासत भएको बताउनु भएको थियोे । विशेष अतिथि मल्ल के सुन्दरले जेनजी विद्रोह के हो? भन्दै राईलाई प्रश्न गर्नुभएको थियो ।त्यसको जवाफमा ‘जेनजी विद्रोहले पुरानो संस्कृतिको विनिर्माण गर्दै नयाँ युगको थालनी’ गरेकाले इतिहासमा यसको विशेष महत्त्व रहने बताउनुभएको थियोे ।त्यसैले प्रश्नै प्रश्नले भरिएको सङ्घीय गणतान्त्रिक व्यवस्थाभित्र सांस्कृतिक पुनर्जागरणको युग आएको बताउँदै सबै मातृभाषाहरूलाई राज्यले समान व्यवहार गर्नुपर्ने उहाँले धारणा राख्नुभएको थियोे ।
विशिष्ट अतिथि सङ्घीय प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले आफ्नो गीति रचना प्रस्तुत गर्दै जनमतले साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गर्नुभएको थियो ।
विशेष अतिथि पूर्व सांसद तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले जनमत साहित्यिक क्षेत्रको जिउँदो धरोहर भएको उल्लेख गर्दै जनमतले चारदशक लामो इतिहासमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्धको लडाइँ लडेको प्रसङ्ग कोट्याउँदै साहित्यिक क्षेत्रमा युगबोधको भूमिका निर्वाह गरेको बताउनुभएको थियोे।उहाँले कुनै पनि शास्त्रीय रुढीबादीविरुद्ध उभिएको प्रगतिवादी सांस्कृतिक अभियान ‘राल्फा’को प्रसङ्ग झिक्दै कुलपति राईलाई जेनजी विद्रोह केहो ? यो विद्रोह प्रगतिवादी हो कि विनिर्माणवादी हो ? अब हामी बाँचेको युगको पहिचान के हुने हो ?यस बारे प्राज्ञिक व्यक्तित्वहरूले निरुपण गर्नुपर्ने भन्दै कुलपति राईलाई एक प्रश्न गर्नुभएको थियो ?
सभाध्यक्ष तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष एवम् जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जनमतले भाषिक, सांस्कृतिक र वर्गीय क्षेत्रमा कुनै विभेद, अाग्रह र पूर्वाग्रह नगर्ने बताउँदै सबै पक्षका स्रष्टालाई समेटेर एकसाथ अघि बढ्ने बताउनु भएको थियोे।उहाँले गन्धा राजनीतिका कारण देश जलेर जीर्ण हुँदा पनि कैयन् नेताहरू सचेत हुन नसकेकामा दु:ख व्यक्त गर्दै “देश जलेको” शीर्षकमा कविता वाचन गर्नुभएको थियो ।
विशेष अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष तथा दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित प्रतिभाको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो।
सम्मानित व्यक्तित्व नियात्राविद् निर्मोही व्यास र खेमराज निरौलाको मनतव्यका साथै जनवादी गायक श्याम तमोटले गीत प्रस्तुत गर्नुभएको थियो। स्वागत मन्तव्य संस्थाका सचिव सिर्जना दुवालले गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण जनमत बाटिकाका संयोजक राजु सरकारले गर्नुभएको थियो ।
जनमत वाङ्मय प्रतिष्ठानले दुई चरणमा आफ्नो वार्षिकोत्सव यसै वर्षदेखि मनाउन लागेको बताउनु भएको थियोे । त्यसैअनुसार ४२ओैँ वार्षिकोत्सवको प्रथम चरण २०८२ मङ्सिर २७ गते शनिवार नेपाल प्रज्ञा-प्रतिष्ठानको पारिजात कक्षमा सम्पन्न गरेको थियो । दोस्रो चरणको कार्यक्रम भने २०८२ चैत्र २८ गते बनेपामा आयोजना गर्ने कुरा संस्थाका अध्यक्ष मोहन दुवालले बताउनु भएको थियो ।
०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































