साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रेष्ठद्वयका तीन वटा कृति एकैसाथ लोकार्पित

साहित्यिक पत्रकार संघले 'जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी' र 'पूर्ण बहादुर श्रेष्ठ 'व्यथित'का गद्य रचनाहरू' तथा 'नशा नशामा' गीतको लोकार्पण गर्‍यो ।

Nepal Telecom ad

काठमाडौं , २०८२ माघ १० । साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’ तथा ‘नशा नशामा’ गीतको लोकार्पण गर्‍यो ।

‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थ र ‘नशा नशामा’ गीतका लेखक नरेन्द्रबहादुर श्रेष्ठ हुनुहुन्छ । ‘नशा नशामा’ गीतमा स्वर/संगीत चर्चित सङ्गीतकार नरहरि प्रेमीको रहेको छ ।

संघले हिजो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा दुबै कृतिहरू र गीतको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ लगायत मन्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको थियो ।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्ण बहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू’को समीक्षा गर्नु भयो भने अर्का वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थको समीक्षा गर्नु भयो ।

यसैगरी कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष चर्चित कलाकार दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्वबारे प्रकाश पार्दै आआफ्नो शुभकामना मन्तव्य राख्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले आफ्ना बुबा र काकालाई कृति मार्फत् चिनाउन सकेकोमा प्रशंसा गर्दै लोकार्पित दुई कृतिमा एउटा विशुद्ध साहित्यिक भएको र अर्को ऐतिहासिक अभिलेख भएको बताउँदै जुद्धबहादुर श्रेष्ठ भनेपछि उद्योग र उद्योग भनेपछि जुद्धबहादुर श्रेष्ठ भनेर चिनिने कुरा पनि बताउनु भयो ।

यसैगरी वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’का गद्य रचनाहरू कृतिबारे आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ नाम कतै उल्लेख नभएको प्रसङ्गमा नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो बुबाद्वारा रचित रचनाहरू सङ्कलन गरी कृतिका रूपमा ल्याइदिएकोमा धन्यवाद दिनु भयो भयो ।

उहाँले बुबाको बिंडो थाम्न नरेन्द्रबहादुर श्रेष्ठ सफल रहेको कुरा पनि उल्लेख गर्नु भयो । नेपाली साहित्यका प्रख्यात व्यक्तित्व पूर्णबहादुर श्रेष्ठको उपनामबाट प्रेरित भएर पनि केदारमान व्यथितले आफ्नो उपनाम व्यथित राखेको हो कि ! जुन अनुसन्धानको विषय हुनसक्छ भनेर पनि बताउनु भयो ।

यसैगरी ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ कृतिबारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य राख्दै जुद्धबहादुर श्रेष्ठको व्यक्तित्व र क्रियाकलापका बारेमा बोल्दै लेखकका आफ्नै काका रहेका जुद्धबहादुर श्रेष्ठले सङ्कलन गरेका ऐतिहासिक दस्तावेज र अभिलेखलाई जोगाएर कृतिका रूपमा समाज समक्ष राख्न सफल भएको र आफ्नो बुबा पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ को निधन भएको केही महिनामा जन्मिएका नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो पिताका गद्य रचनाहरू सङ्कलन गरी प्रकाशन गरेर कृति मार्फत् बुबालाई चिनाउने काम गरेको बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष राधेश्याम लेकालीले ५४ वर्षदेखि नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताको उन्नयन र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको साहित्यिक पत्रकार संघको चर्चा गर्दै लोकार्पित दुबै कृतिका बारेमा आफ्नो मन्तव्य राख्नु भयो ।

कार्यक्रममा दिनेश डिसी, श्रीओम श्रेष्ठ रोदन तथा कुशकुमार जोशीले लेखक नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्व माथि संक्षेपमा प्रकाश पार्दै शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लेखक नरेन्द्रबहादुर श्रेष्ठले आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै बुबा नचिनेको बा का बारेमा लेखेको बताउँदै आमाको संस्कारले नरेन्द्रबहादुर श्रेष्ठ बन्न सकेकोमा गर्व लागेको बताउनु भयो । श्रेष्ठले जीवनका आरोह अवरोहका बारेमा चर्चा गर्दै २०६२ सालमा आमालाई पनि गुमाउनु परेको प्रसङ्ग उठाउँदै आमाको ऋण तिर्न आमाको प्रतिमा आफैँले बनाएको बताउनु भयो ।

कवि मुरारी सिग्देलले सहजीकरण तथा सन्चालन गर्नु भएको सो कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचित ‘नशा नशामा’ गीतलाई चर्चित गायक नरहरि प्रेमीले गाउनु भएको थियो ।

कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र श्रीमती निरू श्रेष्ठलाई अभिनन्दन पनि गरिएको थियो । नरेन्द्रबहादुर श्रेष्ठकी नातिनी निश्चिता श्रेष्ठद्वारा मञ्चासिन व्यक्तित्वहरूलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको थियोे भने मञ्चासिन व्यक्तित्वहरूलाई साहित्यिक पत्रकार संघका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियोे ।

कार्यक्रममा केही समयअघि मात्र दिवङ्गत हुनु भएका साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष, “उन्नयन” साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक लेखक अच्युतरमण अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

कार्यक्रमको अन्तमा लेखक नरेन्द्रबहादुर श्रेष्ठका सुपुत्र निश्चल श्रेष्ठले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

०००
मुरारि सिग्देलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x