साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण

नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्र समर्पण गरियाे ।

Nepal Telecom ad

काठमाडौँ । प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।

शनिबार राजधानीमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठद्वारा गीतकार खरेललाई सम्मानपत्र समर्पण गरियाे ।

खरेललाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ परिवारका सदस्य लगायतले समर्पण गरे ।
प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गर्नु भयाे । उहाँले प्रधानका कथाहरूको पुनर्मूल्याङ्कन गरिनुपर्नेमा जोड दिंदै, “मेरो विचारमा अब नयाँ दृष्टिकोणका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनुपर्छ ।” भन्नु भयाे ।

गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्वको बारेमा चर्चा गर्दै, “गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गर्नु भयाे । घिमिरेले एक कुशल उद्घोषक समेत रहेका खरेल नेपाली गीत सिर्जनाका महाविद्यालय नै भएको बताउनु भयाे ।

प्रधानसँग व्यतित गरेका शैलेन्द्र साकारले अविस्मरणीय पलहरु जानकारी दिंदै पुरस्कृत सर्जकलाई बधाइ दिनु भयाे । उहाँले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजु (परशु प्रधान)का कथाहरूलाई गीतिकथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो ।”

गीतकार दिनेश अधिकारीले अग्रज गीतकार खरेलको चर्चा गर्नु भयाे । । खरेललाई हिउँदको खोलाको संज्ञा दिँदै शान्त रुपमा निरन्तर गीत सिर्जनाकर्ममा खरेल लागिपरेको बताउनु भयाे । आज नेपाली गीतलाई यो उचाइमा पुर्‍याउने श्रेय खरेलकै रहेको उल्लेख गर्नु भयाे ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताउनु भयाे । “हामीलाई यो अवस्थामा ल्याइपुर्‍याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ । पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।”

कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गरे । परशु प्रधान आफ्ना गुरु पनि भएको उनले उल्लेख गर्नु भयाे । उहाँले कल्पना प्रधानले समेत नेपाली बालसाहित्यमा महत्वपूर्ण योगदान गरेको बताउनु भयाे ।

समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेर भन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गर्नु भयाे । “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन । जसले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन् । परशु दाइले धेरै काम गर्नुभएको छ । उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो । यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो ।”

उहाँले ७ सय भन्दा बढी कालजयी आधुनिक गीत स्रोतालाई सुम्पिएका गीतकार खरेल नेपाली संगीतका उज्ज्वल नक्षत्र भएको बताउनु भयाे ।

समाजका सदस्य डा.शान्तिमाया गिरीले धन्यवाद व्यक्त गरिएकाे कार्यक्रमको सहजीकरण समाजका सदस्य प्रदीप सापकोटाले गर्नु भएकाे थियाे ।

०००
प्रदीप सापकोटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x