साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रामचन्द्र कुशवाहाका आधा दर्जन बज्जिका कृति लोकार्पित

बज्जिका भाषामा कुनै कृतिकारको एकैसाथ आधा दर्जन कृति लोकार्पण गरिएको यो पहिलो घटना हो ।

Nepal Telecom ad

रौतहट । बज्जिका साहित्य समाज सर्लाहीका संस्थापक अध्यक्ष रामचन्द्र महतो कुशवाहाको आधा दर्जन कृतिको एकसाथ लोकार्पण गरिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका ५ रामवनस्थित सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा शनिवार पाँच ओटा नाटक र एउटा खण्डकाव्यको एकसाथ लोकार्पण गरिएको हो ।

बज्जिका भाषामा कुनै कृतिकारको एकैसाथ आधा दर्जन कृति लोकार्पण गरिएको यो पहिलो घटना हो ।
भावशिरोमणि उपाधिले विभूषित साहित्यकार कुशवाहाको ‘कुल खन्दान’ (कुल खानदान), ‘नहिराके कुत्तो प्यारा’ (माइतीको कुकुरै प्यारो), ‘घर परिवार’, ‘पिया परदेश’ (पति परदेश) र ‘अपन समाज’ (आफ्नो समाज) नाट्यकृति र ‘सरस्वती’ खण्डकाव्यको संयुक्त लोकार्पण गरिएको हो ।

गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादव, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाशप्रसाद गुप्ता, बज्जिका शिरोमणि सञ्जय साह मित्र, कृतिकार कुशवाहा, बज्जिका सेवीहरू बिन्दा साहनी, किशुनदयाल श्रीकृष्ण र शिवचन्द्र साहले एकसाथ छ कृतिलाई सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख देवेन्द्रकुमार यादवले गोडैता नगरपालिकाद्वारा निकट भविष्यमा बज्जिका महोत्सवको आयोजना गरिने घोषणा गरेका छन् । नगर प्रमुख यादवले मातृभाषाको सेवा गर्नेहरुलाई कर्मयोगीको संज्ञा दिँदै साहित्यकारहरुले काम गरेर नै सबैलाई जवाफ दिने गरेको बताएका छन् ।

नगर प्रमुख यादवलाई अभियान नेपाल सामुदायिक विकास केन्द्र रामवनको तर्फबाट सम्मान गरिएको छ ।

कार्यक्रममा बज्जिका साहित्यकार सञ्जय साह मित्रले बज्जिका भाषाको इतिहास र वर्तमानलाई चिनाउँदै साहित्यकार कुशवाहाको योगदानबारे स्पष्ट पारेका छन् ।

यसै गरी अनिता–शिव प्रतिष्ठान रौतहटका संरक्षक शिवचन्द्र साह, बज्जिका साहित्यकार बिन्दा साहनी तथा बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले बज्जिका भाषाको विकासका साथै साहित्यको बारेमा प्रकाश पार्दै कवितावाचन गरेका छन् ।

यसै गरी मनमोहन सिंह मनोहर, अमरिश भगत, चन्द्रशेखर रस्तोगी, पृथ्वीनारायण महतो, मुकेश मिश्र, विपिनबिहारी सिंह, चन्द्रकिशोर गुप्ता, अमरियादेवी ठाकुर, शैलियादेवी ठाकुरले कृतिकार कुशवाहालाई बधाई दिँदै समसामयिक विषयमा कविता तथा गीत प्रस्तुत गरेका छन् ।

विश्व कविता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा कृतिकार कुशवाहाले नाटक तथा खण्डकाव्यको रचनाको गर्भ, विषयवस्तु तथा उद्देश्यबारे प्रकाश पारेका छन् ।

कृतिकार कुशवाहाले साहित्य सिर्जनामा लागेर मानिसले अमरत्व प्राप्त गर्न सक्ने बताउँदै हरेक शिक्षितलाई साहित्यमार्फत मातृभाषाको सेवा गर्न आह्वान गरेका छन् ।

कार्यक्रममा साहित्यानुरागी, शिक्षक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सर्लाही, रौतहट र धनुषा जिल्लाका विभिन्न भागबाट कार्यक्रममा उपस्थित सबै बज्जिकासेवी तथा साहित्यानुरागीलाई प्रधान शिक्षक रामप्रकाश महतोले गमछा ओढाएर सम्मान गरेका छन् ।

०००
सञ्जय साह मित्रकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x