नरनाथ लुइँटेलविसङ्गतिको लेथ्नु काड्ने हास्यव्यङ्ग्य अभियान
हास्यव्यङ्ग्य अभिव्यञ्जना मन पराउने, यसको सम्बर्धन र विकास चाहने, बौद्धिक र मानसिक मनोरञ्जनका पक्षपाती तपाइँ जहाँ हुनुहुन्छ अब त्यहीँबाट फित्कौलीलाई फेरि पनि माया, सद्भाव र सहयोगको हात बढाउन सक्नुहुन्छ ।

हाँस्नु र हँसाउनु हामी सबैको कर्तव्य र अधिकार दुवै हो
हास्यव्यङ्ग्यका प्रिय पाठक एवम भिजिटर मित्रहरू, यहाँहरू सबैलाई फित्कौलीको खित्कौलीमय नमस्कार । शिष्ट हास्यव्यङ्ग्यको विशिष्ट पत्रिकाका रूपमा २०६२ साल भदौदेखि प्रकाशन आरम्भ गरिएको सम्पूर्ण हास्यव्यङ्ग्य पत्रिका ४० अङ्कसम्म प्रकाशित भएर रोकिएको थियो । पूर्ण व्यवसायिक नभएका कारण रुचि राख्ने पाठकको माग बमोजिम यसलाई ठूलो सङ्ख्यामा प्रकाशित गरी व्यापक बिक्री वितरणको लागि हाम्रो आफ्नै सञ्जाल र संयन्त्र थिएन, न त पर्याप्त आर्थिक आधार नै थियो ।
फित्कौलीले आरम्भ गरेको यो अभियान नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धि र सम्बर्धन गर्ने उद्धेश्यमा केन्द्रित छ । विसङ्गति र बिब्ल्याँटाहरूमाथि शिष्ट ढङ्गले असहमति र अस्वीकृति जनाउँदै सङ्गतिको आग्रह प्रस्तुत गर्ने विशिष्ट अभिव्यक्तिकला नै हास्यव्यङ्ग्य हो भन्ने फित्कौलीको मान्यतालाई फित्कौलीका पाठकहरूले बढी मन पराउनु भएको जानकारी हामीलाई थियो । यिनै उद्धेश्य र मान्यतामा टिकेर फित्कौलीको हास्यव्यङ्ग्य अभियानलाई हामी निरन्तरता दिन चाहन्थ्यौँ । तर छपाइ प्रविधिमा बढिरहेको महँगीले हामीलाई अत्याउन थालेपछि फित्कौलीको मुद्रित प्रकाशन रोकेर अरु विकल्पको खोजीतर्फ हामी लाग्यौँ ।
फित्कौलीकाे मुद्रण रोकिँदा नरोकिँदै इन्टरनेटको पहुँच र वेभ प्रविधि नेपालमा प्रवेश गरिसकेको थियो । स्वदेश एवम् विदेशका पाठकहरूको व्यापक रुचि र मागलाई पूरा गर्ने अनेक विकल्पहरू मध्ये वेभसाइट एक मात्र विकल्प हो भन्ने हामीलाई लाग्यो । यो निष्कर्षले नै फित्कौली झण्डै आठ वर्ष अघिदेखि वेभसाइटमा झण्डै ८ हजार सामग्री सहित नेपाली हास्यव्यङ्ग्यको डिजिटल सङ्ग्रहका रूपमा उपस्थित भइरहेको थियो ।
वेभसाइटमा उपस्थित फित्कौली डटकम अब नेपालभित्रका सीमित पाठकहरूको घेरा नाघेर भूमण्डलका कुनाकुनामा पुगेका लाखौँ नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूको समेत पहुँचमा पुग्यो । यो हाम्रा लागि अत्यन्त सुखद र अविष्मरणीय पक्ष हुँदै हो । विश्वको जुनकुनै कुनामा पुगेका नेपालीभाषी मित्रहरूले यसलाई अत्यन्त माया गर्दै आउनु भएको छ । नेपाली हास्यव्यङ्ग्यप्रेमीहरूले नेपाली भाषामा हास्यव्यङ्ग्यको एउटा व्यवस्थित डिजिटल सङ्ग्रहका रूपमा विस्तारित भएको यो साधारण साइट हास्यव्यङ्ग्य कला साहित्यका पाठक, लेखक, अन्वेषक, विश्लेषक सबैका लागि उपयोगी, सहयोगी र मनोरञ्जक बनेको थाहा पाउँदा हामी गौरवान्वित भएका छौँ ।
देश र विदेशी भूमिमा रहेका हास्यव्यङ्ग्यप्रेमी शुभेच्छुक, शुभचिन्तक मित्रहरूको अमूल्य सुझाव र सल्लाह अनुसार अब चाहिँ यसलाई सुव्यवस्थित र व्यवसायिक अनलाइन पत्रिकाका रूपमा प्रस्तुत गर्दै निरन्तरता दिने निस्कर्षमा हामी आइपुगेका छौँ । जसरी पनि यसलाई निरन्तरता दिने हाम्रो हुटहुटीले र हास्यव्यङ्ग्यप्रेमी तपाइँ पाठकहरूको स्नेह, सद्भाव एवम् सहयोगकै कारण नेपाली हास्यव्यङ्ग्यको श्रीवृद्धिमा फित्कौली समर्पित हुन सकेको हो भन्न पाउँदा हामी खुसीले आल्हादित छौँ ।
पुसको पहिलो हप्तादेखि वेभको दुनियामा नयाँ कलेवरमा देख्न थालिएको फित्कौली डटकम निर्माणाधिन अवस्थामा नै थियो । पुसको अन्तिम सातासम्म आइपुग्दा एकातिर साइट नवनिर्माणको अन्तिम चरण पूरा गर्यौँ भने अर्कोतिर यसलाई पूर्ण वैधानिकता दिन राज्यका आधिकारिक निकायसम्म पुगि दर्ता प्रक्रियाको झन्झटिलो कार्य पनि सम्पन्न गरिसकेका छौँ । अब फित्कौली अनलाइन मिडियाद्वारा सञ्चालित नेपाली हास्यव्यङ्ग्य अनलाइन पत्रिका फित्कौली डटकम www.fitkauli.com वैधानिक र आधिकारिक साइटका रूपमा प्रस्तुत भएको छ ।
प्रिय पाठक एवम् भिजिटर मित्रहरू, फित्कौली डटकम अहिले वेभको लेटेस्ट प्रविधिलाई आत्मसात् गरी नयाँ भर्सन, नयाँ कायाकलेवरमा तपाइँहरू समक्ष उपिस्थत छ । नयाँ रङ्गरुपमा उपस्थित फित्कौली यहाँहरूसँग फेरि पनि हार्दिक आग्रह गर्दछ- हास्यव्यङ्ग्य अभिव्यञ्जना मन पराउने, यसको सम्बर्धन र विकास चाहने, बौद्धिक र मानसिक मनोरञ्जनका पक्षपाती तपाइँ जहाँ हुनुहुन्छ अब त्यहीँबाट फित्कौलीलाई फेरि पनि माया, सद्भाव र सहयोगको हात बढाउन सक्नुहुन्छ ।
फित्कौली डटकम तपाइँसँग हार्दिक आग्रह गर्दछ :
१. यसमा अपलोड भएका सामग्री हार्दिकतापूर्वक पढिदिन र टिप्पणी गरिदिन,
२. आफू र आफ्ना नजिकका मित्रहरूलाई फित्कौली डटकमका बारेमा जानकारी दिन,
३. के कसो गर्दा यसको समग्र संरचना (वेभ डिजाइन) अझ प्रभावपूर्ण हुन्छ सल्लाह र सुझाव दिन,
४. वेभ साइटमा अपलोड गरिएका सामग्रीहरू बारे आफ्ना सुन्दर प्रतिक्रिया दिन,
५. आफ्ना र आफूलाई मन परेका हास्यव्यङ्ग्य रचना सामग्रीहरू सामाजिक सञ्जालहरूमा सम्प्रेषण गरिदिन र अरूलाई पनि सम्प्रेषणका लागि प्रोत्साहित गरिदिन,
६. आफू सम्बद्ध रहेको व्यवसाय/संस्था/प्रतिष्ठान आदिका सन्देश, सूचना तथा विज्ञापन उपलब्ध गराइदिन,
७. फित्कौली डटकम सुव्यवस्थित ढङ्गले सञ्चालनार्थ आवश्यक खर्चको जोहोका लागि मन फुकाएर यथासक्य आर्थिक सहयोग प्रदान गर्न ।
हाँस्नु र हँसाउनु हामी सबैको कर्तव्य र अधिकार दुवै हो । हामी हाँस्न चाहन्छौँ, हँसाउन चाहन्छौँ । यही मूल उद्धेश्यका साथ नेपाली हास्यव्यङ्ग्यको अभ्युत्थानका लागि हामी तन्मयका साथ लागेका छौँ । तपाइँहरूको साथ, सहयोग र सद्भावले नै हास्यव्यङ्ग्य अभियान अभ्युत्थानको हाम्रो आगामि यात्रा अघि बढ्ने छ । सबै क्षेत्रमा सुसङ्गति कायम होस् भनेर विसङ्गतिको लेथ्नु काड्ने हास्यव्यङ्यीय फित्कौली अभियानमा मन खोलेर सहभागी होउँ । आफू पनि हाँसौँ, अरुलाई पनि हँसाऔँ ।
नरनाथ लुइटेल
प्रधान सम्पादक
माघ ४, २०७८
Subscribe
Login
0 Comments
Oldest



































