कविराज घिमिरेबुढ्यौली काव्य (शृङ्खला- ८)
बच्चाको अघि नम्र भाव नभई कड्केर बोल्दाहुँदि, त्यस्तै सिक्तछ बोल्छ सो तरहले गर्ने छ जानेजति, गाली गर्नु वृथा छ मान्यजनभै भावी पिँढी सामुमा, झर्किन्छन् बिनसित्ति वृद्ध जनभै त्याग्दै मिठा भावना ॥

कविराज घिमिरे :
ज्येष्ठहरू कस्तो नबन्ने
खेल्छन् तास जुवा लुकीकन कतै बर्बाद पार्छन् धन
यो कस्तो लत हो समाजबिचको गिर्दो अनौठोपन
पत्नीले भर पर्नु कोसँग यहाँ निस्कन्छ ढाँट्दै पति
यस्ता वृद्ध भए समाल्छ कसले भित्रिन्छ है दुर्गति ॥६१
हल्लिन्छन् रनभुल्ल भै कतिजना धोकेर रक्सी तल
बाटोमै छ लडेर स्वान जतिले दिन्छन् मुखैमा जल
छिः छिः छिः नर हो कि त्यो पशु बन्यो लाचार के लेख्नु खै
यस्ता वृद्ध कुनै नबाँच अब ता के बाँच्दछौ भार भै ॥६२
कोही तान्छ चुरोट मस्तसँगले फोक्सो कलेजो गयो
धम्कीको छ व्यथा प्रश्वास नहुने स्याँस्याँ गरी तड्पियो
खोकी लाग्छ असाध्य रात दिन नै टीबी भयो निश्चित
बेलैमा नगरेर होस पछिता मान्नैपर्यो विस्मित ॥६३
खैनी पानपराग झट्ट गुटखा साथी बनायौ तर
खाँदामा तन हुन्छ जीणर् सबको होला छिटै अर्बुद
खाँदैनन् घरमा गए सबजना होटेलको स्वाद भो
रोगैरोग थपेर बस्न नहुने प्रारम्भमै देखियो ॥६४
आमा सम्झ समस्त हे पुरुष हो नारी भनी मर्दछौ
पत्नीदेखि सिवाय हुन्न नबुझी सम्भोग के गर्दछौ
अर्काको घर बास स्वास्थ्य सहजै बिग्रन्छ बुझ्ने गर
हेर्दै छौ पर स्त्रीहरू यदिभने पोल्ने छ सोच्ने गर ॥६५
मान्छेमा पशुझैँ विवेक नरहे पाका ठिटा जो जन
अर्थै हुन्न विवेक गर्छ जसले होला उही उत्तम
गुम्दा धैर्य समाप्त हुन्छ सहजै सोचेर गर्ने गर
जे जे छन् व्यवहार वैभव हुने गम्दै उकालो चढ ॥६६
हेपिन्छन् महिला यिनै पुरुषका अस्तित्वमा बेरिँदा
रन्किन्छन् अनि चाप थेग्न नसकी के हुन्छ पो रन्किँदा
वृद्धा वृद्ध तमाम संयमितभै बस्ता हुने हो निको
जस्तो पाठ पढाउँछौँ पछि सबै गर्छन् त्यसैको सिको ॥६७
बच्चाको अघि नम्र भाव नभई कड्केर बोल्दाहुँदि
त्यस्तै सिक्तछ बोल्छ सो तरहले गर्ने छ जानेजति
गाली गर्नु वृथा छ मान्यजनभै भावी पिँढी सामुमा
झर्किन्छन् बिनसित्ति वृद्ध जनभै त्याग्दै मिठा भावना ॥६८
०००
भक्तपुर
बुढ्यौली काव्यबाट
Subscribe
Login
0 Comments
Oldest






































