कविराज घिमिरेभन्छिन् मुमा गरिबका दिन यी हटाऊ
जो छन् खराब जन ती सब पार शुद्ध पाएर सङ्गत भला ठग बन्छ बुद्ध के हुन्न गर्न सकिए ? परिबुद्धि लाऊ भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।

कविराज घिमिरे :
गर्नू सदैव हित कर्म सबै खुसी हून्
वाणी मिठासपनका मनभित्र आउन्
सद्भावबाट पिरलो जति छन् सुताऊ
भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।।१
सिद्धान्तले पनि यही भनिदिन्छ खास
कर्तव्य बोध नभई सब छन् निराश
गर्दैन शासक भलाइ गमेर आऊ
भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।।२
आँधी तुफान पनि बन्नुपरे बनेर
चट्टानझैँ असजिलो सँगले रहेर
सत्कर्म खातिर सधैँ मन यो लगाऊ
भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।।३
बाँचेर अर्थ जनियोस् र विवेक आओस्
पाका र बाल जनमा पिरती पलाओस्
रोगीहरू सकलका ठिक पार घाउ
भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।।४
प्राणी समस्त जति छन् पशुपङ्ख सृष्टि
दुर्भेद्य जीवन बनेर रहून् समष्टि
ऐया भनेर नभनुन् उपकार जाऊ
भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।।५
जो छन् खराब जन ती सब पार शुद्ध
पाएर सङ्गत भला ठग बन्छ बुद्ध
के हुन्न गर्न सकिए ? परिबुद्धि लाऊ
भन्छिन् मुमा गरिबका दिन यी हटाऊ ।।६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































