लक्ष्मण गाम्नागेगोर्खापत्रकन शुभकामना !
तै रिन् तै रिन् बूढी बाख्री किन् भन्याझैॅ खस्न्याक्रममा तै तै खाडलको पिँधैमा पुगेर पुनः निर्माणको जग हाल्न्यामा हामी सबैको कल्याण हुन्याछ ।

श्री गणेशाय नमः । भू.पू.गोरखापत्रले उस्लायी गोर्खापत्र बनायाकामा अरुअरु मान्छेहरूले के ठान्या हुन् कुन्नि मइलेचाहिॅ एकभारी खुशी र उत्सव मनायॉ । गोर्खापत्रले हाम्रो देशको, हामी नेपालीको इतिहासको गौरव र प्रतिष्ठालाई उच्चो बनायाकामा कसैले पनि नानाथरीका अन्यथा बात् गर्नु मुनासिप देखिॅदैन । अझ एस्ले एस्को नाम गोर्खापत्र राख्नपन्र्या सुझाव दिन चाहन्छु । हाम्रा मुलुकको जेठो सम्चार्पत्र भयाका कारणले गर्दाहुँदीे देशको परम्परा र इतिहास्को संंरक्षण सम्वद्र्धन गर्दै लानु एस्को कर्तव्य नै भयाको कुरा सबैलाई चेतना भया ।
सबै सम्चार्पत्रहरूका हजुरबा गोर्खापत्रले अरु पनि निणर्यहरू गर्नुपर्छ । एस्कालागि गाईजात्राको शुभसाइत पार्न उपयुक्त हुन्या छ । प्रथमतः एसलायी छपायी गर्ने आधुनिक विदेशिया रङ्गीचङ्गी मिसिनको बदलीमा पुरानो भाखाको गिद्धे छापाखाना प्रयोग गर्नु उत्तम हुन्या छ । सादा जीवन् उच्च विचार् तरफ् विचार् पुर्याई अबदेखि शुद्ध नेपाली कागत्मा काला अच्छेरमा गोर्र्खापत्र छपायी गर्नु मुनासिप देखिन्छ ।
गोर्खापत्रमा आजकालका गाई खाने भाषा पढ्याका ठिटाठिटीहरूकन कौनै स्थान दिनु हुँदैन । आइमाईलाई त एस्मा छिर्नै दिनुहुॅदैन भन्ने मेरो सुझाव रह्याको छ । पुरुषहरूमा पनि लामो जुल्फी पाल्न्या, पच्छिमा अंग्रेजी सर्ट पाइन्ट लाउन्या, जनै नलाउन्या, टुप्पी काट्न्या, अभक्ष पदार्थ सेवन गन्र्याहरूलाई एस्मा स्थान दिनुहुँदैन । निधारमा श्रीखण्डको चन्दन् लगायाका, सेता कमिज धोती आदि वश्त्र धारण गर्याका एस्मा काम गन्र्याको पहिचान् हुनुपर्न्याछ । याहॉ जागिर खान्याले खालि खुट्टा वा खराऊ पहिरी पैदल आउन्याजान्या पर्न्या छ ।
गोर्खापत्रमा नानाथरीका मालसामानका पर्चार पर्सार गर्ने फोटाहरू राखी स्त्रीजातिका उत्ताउला तस्वीर छापी समाजलाई विकृति विसङ्गतितरफ् धकेल्न्या कार्य गर्न हुँदैन । राजनीति, अर्थनीति, देशीविदेशी सम्चारभन्दा नीतिकथा, आध्यात्मिक दर्शन, परलौकिक ज्ञान, भजन्, किर्तन् औ भक्ति साहित्यका रचनाहरू छाप्न्या र नेपाली मात्रलाई शान्त, सच्चरित्रवान् र पृथिवीतलमै नैतिकवान् जातिका रूप्मा विकसित गर्नाकन गोर्खापत्रको कर्तव्य हुनुपर्न्या छ ।
जसै सय बर्षभन्दा उतादेखिन् छापिॅदै आयाको गोर्खापत्रले भाषा पनि सयबर्ष उताकै छपायी गर्न्या छ, तसै हामीजस्ता परम्परावादी मानिसकन मनग्गे सुविस्ता हुन्या छ । इतिहासको अध्ययन गर्नामा रुचि राख्न्याहरूकन पनि फाइदा हुन्याछ । एउटा मुख्ये कुरा के पनि छ भने एस्ले आफ्नो अड्डाको नाम पनि बदली गरी गोर्खापत्र अड्डा वा गोर्खापत्र सम्चारखाना एस्तै केही राख्नाले गर्दाहुँदी एस्को महिमा तीनैे लोकमा अझ बढ्न्याछ ।
हिजोआज कलीका प्रभावले हाम्रो मुलुक् चारैतरफबाट खाडलमा जाकिॅदै गयाको कुरा दुनियाँलाई थाहा भयाकै छ । तै रिन् तै रिन् बूढी बाख्री किन् भन्याझैॅ खस्न्याक्रममा तै तै खाडलको पिँधैमा पुगेर पुनः निर्माणको जग हाल्न्यामा हामी सबैको कल्याण हुन्याछ । एस् पुनित कार्यमा गोर्खापत्रले जुन कदम उठायाकोे छ तेस् कदममा हामी सबैले सहयोग गरौॅ भनिकन अनुरोध गर्दै हाम्रो प्राण पियारो एस् गोर्खापत्रलाई अझै नयॉ नयॉ पौराणिक निणर्य गर्नाकन श्री वज्रङ्ग वली हनुमानले शक्ति दिउन् भन्ने कामना गर्दछु । जय श्री राम !
‘फित्कौली’ अङ्क १, २०६२
Subscribe
Login
0 Comments
Oldest


































