सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थुकपीडा !

थुक्नुअघि विचार गर्नु छ- कहाँ थुक्ने ? कसलाई थुक्ने ? थुक्न पनि जहाँ पायो त्यहीँ र जसलाई पायो उसैलाई थुकेर हुन्छ ? के सबैका मुहार थुकदान हुन् ? थुकलाई पनि त्यति सुख छैन यहाँ ।

Nepal Telecom ad

थुक्नु प्राकृतिक कि सामाजिक क्रिया हो ? यसतर्फको बहस अर्को दिन चलाउँला । किनभने यसबारे बहस गर्ने दिनसम्म थुकका विषयमा धेरैले विद्यावारिधि गरिसकेका हुनेछन् । सायद आजसम्म पनि थुकलाई मूल विषय बनाएर गुरुगम्भीर अध्ययनमा डुबेकाहरू कति होलान् । कुन विश्वविद्यालयले थुकको केन्द्रीय तत्त्वमाथि विद्यावारिधि र महाविद्यावारिधि गराएका होलान् ? मलाई यसको कुनै प्रमाण थाहा छैन । मलाई थाहा छैन भन्दैमा अरूले पनि केही जान्दैनन् भन्ने हुन्न । मलाई थाहा नभएका कुरा अरूलाई झन् धेरै थाहा छ भन्ने लाग्छ ।

आज म यहाँ थुकलाई कोट्याएर थुकथुक गर्दै छु । शब्दमा थुकको छुकछुक कोर्दै छु । अब मलाई मानिसहरू भन्लान् कि केही विषय नपाएर थुकको विषयमा मसी किन खेर फालेको हो ? आज मैले यो विषय उठाइरहेको बेला कोही थुकको शारीरिक, सामाजिक, प्राकृतिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक समीक्षा गर्दै होलान् । थुकबारे हल्का, मध्यम र गम्भीर छलफल गर्दै गर्दा थुकमाथि थुक्नेहरू पनि धेरै जुर्मुराउने छन् भन्ने थकथक मलाई भित्रैदेखि लागिरहेको छ । यति धेरै भयग्रस्त आलोचनाको भार आउने थाहा पाउँदा पाउँदै पनि म थुकलाई केन्द्रमा राखेर थुकौलो शब्द प्रहार किन गरिरहेको छु ? यसको सक्दो स्पष्टीकरण दिनेछु यो निबन्धको पुछारसम्ममा । होइन, यो निबन्ध पनि होइन, यो थुकन्धको अन्तिम हरफसम्ममा थुकमहात्म्यलाई पुष्टि गर्ने प्रयासमा दत्तचित्त रहन्छु, आम मानव महोदय !

थुककै विषयमा किन बोल्नु पर्‍यो भन्ने सवालमा दुई चार कुरा गर्दैछु-
अहिले यस्तो लाग्छ- सबैको काम थुक्ने मात्रै हो । हिजो त्यही मान्छेलाई शिरमा बोकेर हिँड्न मन पराउँथे । आज उसको अनुहार सम्झँदा पनि मुखभरि थुक आउँछ भन्छन् । ऊ बोल्न थाल्यो भने त झन् थु थु गरेर मुखै रित्याउन खोज्छन् । हिजो जसको एक वाणी सुन्न पनि कोसौँ भोकभोकै पैदल हिँड्न तयार थिए मान्छेहरू । आज तिनको काम, तिनको माम र तिनको दाम देखेर तिनलाई थुक्नेहरू कति धेरै बढे भने माथि भित्तामा, पहाडमा, पाखामा, खोल्साखोल्सीमा पानी परेर तलका नदीहरू बढेजस्तै भए । मानौँ आज थुकको बाढी नै आएको छ । ती सबै थुकहरूलाई एकै समय र एकै स्थानमा भेला हुने अवसर जुट्यो भने त्यसको बाढीले यहाँ सबैको इज्जत बगाउनेछ । सबैको घमन्ड डुबाउनेछ । सबैको तुजुक कागजको महलझैँ भिजाउनेछ । त्यसैले चलेको रहेछ नेपाली उखान एकले थुकी सुकी ः सय थुकी नदी !

हो, हिजो महात्मा कहलिएकाहरू आज किन थुकात्माहरू भए ? यसैको बहस पैरवी गर्न सके हाम्रो देशको मार्गदर्शन पनि कता अल्झेको छ थाहा हुन्छ । हिजो जसको एक बचन सुन्न मुखमा आएको थुक पनि घुटुघुटु निलेर बस्ने जनताले आज तिनैको मुखमा थुक्न पाए यो जुनीमा महान् साहसी भएर बाँचेको महसुस गर्ने दिन किन आयो ? कसले ल्यायो या दिन ? कसरी आयो यति धेरै थुकघृणा ? आखिर थुककै विषयलाई तानेर पनि मुलुकको गति र मति नाप्न सकिने त रहेछ नि । जसका मन्तव्यहरू घोक्नेहरूले आज उसका एक एक क्रियाकलापहरूमाथि थुक्ने समय आएको बारे बेला बेला थुकलाई पनि अचम्म लाग्दो हो !

सायद, दिक्क र थुक्कको अनुप्रास मिलेर हुनसक्छ । जब कसैप्रति, कसैको कामप्रति, कसैको दामप्रति र कसैको मामप्रति उसका अनुयायीहरू नै चरम दिक्कमा पुग्छन् अनि तिनै अनुयायीहरू थुक्क… फलानो भन्दै मुखभर थुक बोकेर श्रापगीत गाउन थाल्छन् । फूलको माला बोक्न नसकेर वरिपरिका झुन्डले हातेमालो गर्ने स्वागतका दिनहरू आज थुकका छिटाले भिजेर लुक्दै बाँच्नुपर्ने ती महात्म्यहरूले आफूलाई समीक्षा गर्लान् ? आफ्नो त्यो मान र यो अपमानको अन्तरबारे कुनै बेला घोत्लेर आफ्नो कमजोरीमाथि सोचमग्न होलान् ? कि थुकसुकको बेवास्ता गर्दै अझै थुकले स्वागत गर्ने कुसमयको बाढीमा डुब्दै जालान् ? थुकमहात्म्यमा यसको छिनोफानो गर्नैपर्छ । यसको छिनोफानो नगरे थुक मुखमा बोकेर हिँडेका र कसैले थुक्छन् कि भनेर मुख लुकाएर हिँडेका दुवै पक्षलाई थुकपीडा भइरहने भयो । थुकपीडाबाट मुक्त हुन पनि थुक्ने र थुकिने बिचको सम्बन्धमा उज्यालो आउनै पर्नेछ ।

थुकमहात्म्यमा थुक के हो ? थुक केबाट बन्छ ? थुक कहाँबाट आउँछ ? थुक किन आउँछ ? थुकको स्रोत के हो ? थुकको मात्रा कति हो ? थुकको मनोविज्ञान कस्तो हुन्छ ? थुकले कहाँ पीडा दिन्छ ? र कहाँ आनन्द दिन्छ ? थुकको खास भूमिका के हो ? यी सबैको उत्तर आउने सम्भावना मबाट छैन । मलाई यति थाहा छ- आफूलाई चरम घृणा लागेका मान्छेलाई थुक्न नपाएर केही मानिस पीडित छन् । आफूले थुक्न खोजेका मानिसलाई नभेटेर केही मानिस पीडित छन् । आफूले थुक्न चाहेका मान्छे टिभीका स्क्रिनमा देखापरेको बेला टिभीमै गएर थुक्न खोज्नेहरू पनि थुक्न नपाएर पीडित छन् । कसैलाई सम्झेर बाटामौ जहाँ पायो त्यही थुकेर मुख हल्का गर्दै छन् । होइन, रिस, आवेग, घृणालाई पखाल्न थुकेर मन शान्त पार्दै छन् ।

सभा समारोहमा कसैले थुकेर बेइज्जत गर्छन् कि भनेर केही मानिसहरू थुकउत्पीडनबाट मनोवैज्ञानिक रूपमा त्रस्त छन् । थुक्न चाहेका थुक्नै पर्ने मानिसहरूलाई भेटेर होइन, मनमनले, कुराले, बातैपिच्छे थुक्क ….! थुक्क …! भन्दै भुतभुताइरहेकाहरू सबैलाई आआफ्ना स्थानमा थुकपीडाले सताएको छ । आफूलाई मनै नपर्ने मानिसलाई सम्झेर थुइकक ! थुइकक गर्दै अरुसित कुरा गर्दा थुकेर भुइँ, बाटो, स्थल फोहर पार्नेहरूको कार्यले भने तिनलाई मात्रै नभएर थुकपीडा नभएकालाई यो पीडा थपिदिन्छ । कोही सँगै बसिरहेका छन्, सँगै बाँचिरहेका छन्, सँगै आरोह अवरोहमा छन्, घरिघरि थुक्क तेरो बुद्धि ! भनेर थुकको सहाराले शत्रुता, घृणा र निकृष्टताप्रति खोतो खनिरहेका छन् । यस्तो लाग्छ- जसले जसलाई धोका दिएको छ, त्यहाँ धेरै थुकपीडा जन्मिँदो रहेछ । थुकेपछि उसको कुकृत्य हट्छ वा हट्दैन ? तर थुकको सम्बोधन गर्न छाड्दैनन् थुक भरिएका मुखौराहरू !

थुक भरिएका मुख भनेको कसैप्रति घृणाले भरिएका मुख हुन् । यी मुखहरूमा आक्रोश छ । पीडा छ । आवेग छ । क्रोध छ । विकास चाहिएको छ । निकास चाहिएको छ । मुलुक चाहिएको छ । शान्ति चाहिएको छ । भ्रान्तिहरूलाई बिदा गर्नु छ । यथास्थितिका मुख नमिलेका आमनेसामनेप्रति कटाक्ष छ । ज्यादै हेपिएका र थिचिएका मनबाट माथि उठ्न नदिनेहरूप्रति ती उत्पीडितका मुखमा जमेका थुकहरूले थुकदान खोज्दैछन् । थुकदान नबन्न कोसिस गर्नुपर्नेहरू एकपछि अर्को निकृष्टतम कदम चाल्दै छन् । झन् झन् थुकदान बन्दैछन् । जनताको सेवामा समर्पित भएर जनताको मुखले जिन्दावाद भन्नुपर्ने नामका मान्छेहरू दिनदिनै थुकदान बन्दैछन् । थुकपीडाको सजायका भागिदार बन्दैछन् । झुट र लुटका पेसामा लागेर दुनियाँका आँखामा कसिङ्गर बन्दैछन् । यस्ताहरू थुकदान नबने को बन्छन् ? लौ महोदयहरू, यी थुकदान बनेकाहरू को को हुन् ? कस्ता कस्ता हुन् ?

वास्तवमा थुकपीडाको संसार यस्ता विकृतिभन्दा बाहिर पनि धेरै छन् । थुकपीडालाई विकृति र प्रकृतिभन्दा पनि फरक ठाउँमा खोतल्न सकिन्छ ? सकिन्न । प्रकृतिभन्दा भिन्न स्थानमा जान सकिन्न । प्रकृतिकै संस्कृति, विकृति, आकृति, स्वीकृति, अस्वीकृति आदिमा थुकपीडाको संसार खडा भएको छ । यसले सामान्यदेखि विशिष्टसम्मलाई, निरक्षरदेखि साक्षरसम्मलाई, साक्षरदेखि बौद्धिक र महाबौद्धिक अनि स्वबौद्धिकसम्मलाई थुकपीडाले सताएको छ ।

कमसेकम हामी हरेक व्यक्तिले आफूलाई आफैले छामौँ, समातौँ र केलाऊँ अनि हामी थुकदान भयौँ कि भएनौँ भनेर निक्र्योल गरौँ । के हामी कसैले थुः थुः गरेर थुक्नलायक काम गरिरहेका छौँ कि वाह ! वाह ! गर्ने स्वागतका पात्र भइरहेका छौँ ? हामीसित केही क्षण मात्रै समय हुँदा यो प्रश्न आफैतिर ताकेर गरौँ । यसबाट न जनता, न नेता, न अभिनेता, न कारवाल, न पत्रकारवाल, न अलपत्रकारवाल, न लेखनदास, न महादास, न जबर्जस्त दास, न आशमान न त्रासमान आदि सबैलाई आफ्नो समीक्षा गर्न सजिलो हुन्छ । वर्ग, तह र तप्काले मनन गरौँ – कतै म थुकपीडामा त पर्ने होइन ? बरु मानिस न थुकपीडक बनोस्, न थुकपीडित बनोस् । थुक आओस्, जाओस् र सामान्य बनोस् । कसैलाई थुक्न नपरोस्, कसैले थुक्ने नबनोस् ! जिन्दगीलाई थुकपीडाबाट मुक्त गरौँ ! थुकदानबाट मुक्त पारौँ !

कहिलेकाहीँ लाग्छ- थुक्ने ठाउँ नै छैन । जता हेरे पनि सफा देखिन्छ । एकपछि अर्को होडबाजीमा बनेका सडकहरू छन् । यी सडकहरू विभिन्न देश घुमेर तिनलाई नमुना बनाएर बनाइएका छन् । यी सडकमा फोहरको गन्ध सुँघ्नसम्म पाइन्न । किनभने फोहर मन पराउने काम यहाँ कुनैले पनि गरेका छैनन् । गल्लीहरू पनि हराभरा छन् । बाटाका किनारमा फूलबारी जस्तै रङ्गीन वासनादार उद्यानहरू छन् । चाहे राजधानी होस्, चाहे मोफसल होस, चाहे उत्तर वा दक्षिण, चाहे पूर्व वा पश्चिम जताका मार्गहरू पनि राम्रा छन्, हाम्रा छन् । गाडीहरू गुडेका छन्, कसैले पनि गाडीबाट फोहर फालेका छैनन् । किनभने ती सबै सभ्य नेपालीहरू हुन् । अनुशासन, नैतिकता, शिष्टताले ढपक्क छोपेका मानिसहरू यहाँ बसोबास गर्छन् । यहाँ त्यसो भएर मात्रै अनुशासनको चँदुवा हल्लेको होइन, यहाँका ठुलाबडा भन्नेहरूले अनुशासनको खोलो बगाएका छन् । ती खोलोमा मानिसहरू थुक्ने गर्थे । ती खोलो त यति सफा भयो कि मुखमा आइसकेको थुक पनि स्वतः सुकेर जान थाल्यो । अर्को खोलो दुर्गन्धवाल छ भनेर हेर्न गएको त त्यो झन् अत्तरभन्दा धेरै मगमगाएर नाकै अर्कैको जस्तो भयो । त्यहाँ त थुकले आफैलाई थुक्न थाल्यो- यस्तो सुन्दर खोलोमा पनि थुक्न खोज्ने कस्तो मूर्ख मान्छेको मुखको थुक भएर जन्मेछु ! थुक आफैलाई पीडा भयो ।

अनि थुक्न भनेर कतै गल्लीको कुनाकाप्चातिर आँखा लगाएको त आँखाले देख्न नपाउँदै थुक सुकेर गयो । किनभने त्यहाँ त यति सफा रहेछ कि विश्व सफाइ प्रतियोगितामा भाग लिन पाए यो गल्लीले तत्काल रेकर्ड कायम गथ्र्यो । यस्तो सुन्दर ठाउँमा कहाँ छ थुक्ने ठाउँ ? यति सुन्दर चोक, यति सुन्दर सडक, यति सुन्दर बाटाघाटा, यति सुन्दर खोला, कुला, नदीनाला बनाउने मान्छे कति सुन्दर ? ती मान्छेका सोच कति सुन्दर ? त्यस्तो सोचको विकास गराउने उत्प्रेरक चिन्तन कति सुन्दर ? थुक्ने ठाउँसम्म नराखेर विकास गर्ने विकासे महान् व्यक्तित्वहरूलाई सधैँ सधैँ पुजिरहन पाए कस्तो हुँदो हो ? आहा ! यस्तो पो देश, यस्तो पो गाउँ, यस्तो पो नगर, यस्तो पो महानगर ! थुकलाई लाग्यो- यो सपना हो कि विपना ?

एक थुकुवाले भन्दै थियो-
यो सब झुट हो । यो सुन्दर सडक, खोलो, नदी नाला, विकास सब झुट हो । यदि यो सत्य भइदियो भने मैले कहाँ थुक्ने ? मलाई त थुक्न मात्रै मन लागेको छ । जहाँ जहाँ पनि थुक्न मन लागेको छ । तिनका टाउकामा जसले मलाई धोका दिए, खुब थुक्न मन लागेको छ । ती झुटका पुलिन्दाहरूलाई थुकैथुकले नुहाइदिन मन लागेको छ । म, मानौँ जनता होइन, थुकुवा भइदिन्छु र मेरा थुकदान महोदयहरूलाई थुकिदिन्छु – थुइक्क !

तर यो थुकुवालाई नै झुट साबित गराउनु पर्छ । यसलाई नजिक पनि राख्नुहुन्न । किनभने यसले यस्तो सुन्दर कामलाई पनि असुन्दर देख्यो । यसले हाम्रा महान्हरूलाई पनि तुच्छ देख्यो । यसले सबैलाई एउटै डोकोमा राखेर मोल गर्‍यो । यहाँ सबै कहाँ थुकदान छन् र ? यहाँ त कोही जिउँदा सहिद पनि छन्, कोही जिउँदा मुर्दा पनि छन् । अनि यसरी सोलोडोलो थुक्न थाल्ने हो भने थुकका छिटाहरू सही ठाउँमा मात्रै पर्छन् त ?

कम्तीमा देशलाई त नथुके हुने नि । कम्तीमा त आफ्नो इतिहासलाई नथुके हुने नि । कम्तीमा त आफ्नो अस्तित्वलाई नथुके हुने नि । कम्तीमा त आफ्नो मुखैमा पर्नेगरी आकाशमा फर्केर नथुके हुने नि । कम्तीमा थुक्नुअघि क्षण मात्रै पनि सोचेर थुके हुने नि । तर थुकलाई यति सकसक भएको छ- तत्काल थुक्नु छ, चाहे जहाँ होस्, चाहे जस्तोमा होस् । उसको लत नै थुक्नु हो । ऊ थुक्छ अनि बल्ल नथुक्ने ठाउँ रहेछ भनेर चाल पाउँछ । थुकिसकेकाले त्यो सफा पनि गर्दैन, बरु लरक्क आफै ठाउँ सरेर नथुकेको अभिनय गर्छ । भित्र मनले त्यो अभिनयलाई झुट भनिरहन्छ र त्यो थुकुवालाई थोरै थकथक चाहिँ लाग्छ । हो, थुक्न गाह्रो छ । थुक्नु जटिल काम हो ।

त्यसैले थुक्नुअघि विचार गर्नु छ- कहाँ थुक्ने ? कसलाई थुक्ने ? थुक्न पनि जहाँ पायो त्यहीँ र जसलाई पायो उसैलाई थुकेर हुन्छ ? के सबैका मुहार थुकदान हुन् ? थुकलाई पनि त्यति सुख छैन यहाँ । बरु थुकपीडाको बयानले ककसलाई छिटा लाग्यो होला ?

०००
धादिङ, हाल कीर्तिपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुराको छुरा !

कुराको छुरा !

डा.हरिप्रसाद सिलवाल
हावा !

हावा !

डा.हरिप्रसाद सिलवाल
सल्लाहकारको साउती !

सल्लाहकारको साउती !

डा.हरिप्रसाद सिलवाल
साहित्य होस् त यस्तो पो !

साहित्य होस् त यस्तो...

डा.हरिप्रसाद सिलवाल
भूतको भिनाजुको ‘भीमसेनपाती’

भूतको भिनाजुको ‘भीमसेनपाती’

डा.हरिप्रसाद सिलवाल
लिच्चड लेखक !

लिच्चड लेखक !

डा.हरिप्रसाद सिलवाल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०