सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म दाम्लो बाँध्छु

तरुनीहरूले आफ्ना सर्प लठारिएकै बाटेका चुन्डाहरूलाई तह लगाएर बाँध्नु काइदा हो भने तारानाथले नेकटाई बाँधेर पत्तुनको गोजीमा देब्रे हात घुसारेर दाहिने हातले थ्रिकासल चुरोट च्याप्तै फुसफुस धुवाँ उडाउनु पनि सभ्यता, सफाइ र काइदा नै हो ।

Nepal Telecom ad

डा. तारानाथ शर्मा :

कट्टर भारतेहरू जतिसुकै ‘कण्ठलँगौट’ भनेर खित्का छाडून, चार वर्षअघिका तारानाथज्यू जतिसुकै ‘दाम्लो’ भनेर घिनाऊन्, यस नेकटाईको महत्त्व रानीबनमा डढेलो सल्केकै र अस्तिताक ’फ्लु’ दुगुरेकै दोबरिई नै रहेछ । टोकियोका बासिन्दालाई चिटिक्क परेको बेलामा हेर्नुहोस्, नभए एउटा अर्जेन्टाइनालीलाई किलिक्क परेको बेलामा हेर्नुहोस्, रसियाका रात्गालेलाई हेर्नुहोस् वा कोरियाका पहेंल्गालेलाई, जर्मनीका कपासगालेलाई, वा घानाका अगुल्टेलाई सबैले यस नेकटाईलाई आपनी प्यारीलाई भन्दा बढ्ता माया गरेको र मन पराएको पाउनुहुनेछ ।

अस्तिको मात्तै कुरो हो; म बजार घुम्न भनेर निस्केको थिएँ । एउटी चिनाजानी भएकी तरुनीसँग झ्वाट्ट भेट भयो । प्याच्च भनिहालिन्, “के उदेक । तपाईंको गलामा टाई ।” बाटाघाटा जहाँ भेटे पनि उनी त्यसरी मसित नबोल्ने हुनाले लौ ठूलो मौका पाएँ भनेर जवाफ दिन ओठहरू उघार्दै मात्तै थिएँ तुरुन्तै राहु घुइँचाले किच्न लागेकाले हाम्रो विछोड भइहाल्यो ।

अलिक पर पुगेको थिएँ, हरिबाबुसँग भेट भयो । मुसुमुसु मुसुमुसु आश्चर्य र खिसीको हाँसो हाँस्तै आफ्नो हात मेरोसित मिलाउन अघि बढाउँदै उहाँले भन्नुभयो, “हलो मिस्टर शर्मा। आज मलाई चिन्नुहुन्छ के त ।” हैन, यो नेकटाई बाँध्दैमा साथीभाइहरूलाई पनि नचिन्न सक्ने भर्‍याङमा चढेर अग्लिन पाइँदो रहेछ, त्यसैले हो क्यारे आजभोलि मलाई टाई बाध्न असाध्यै रहर लागेर आउँछ । उच्च समाजमा इज्जत पाइन्छ, पसलहरूमा केही किन्न जाँदा अर्कै सम्मान पाइन्छ र गल्लीमा कुकुर दगुरेकै दगुर्दा पनि खरायो र हरिणका जस्ता चोखा र सुक्सुकाउँदा आँखा भएका तरुनीहरू मल्याकमिलिक र झल्याकझिलिक गर्दै आङ तान्छन् भने, दुनियाँलाई हाँक दिएर भन्छु, “म दाम्लो बाँध्छु, बाँध्छु ।”

नेकटाई नलगाई पतलुन-कोट, जुत्ता-मोजा डटेर हिँडे पनि कसैले यसो टेढो आँखाले हेर्ने होइन । हुन पनि कि त लाउँदै नलाउनु, लाएपछि पच्चिने लुगा सबै लाउनु । पत्लुन खुकुलो भो, वैज्ञानिक भो, चिटिक्क भो, वाड्लाइस सजिलो भो; कमेज उस्तै छरितो र हलुको भो, तर सँगैमा टाईलाई चाहिँ किन बोक्सीको पटुका वा सिस्नुको डालो ठामेर छिछि र दुर्दुर गर्नु । नेकटाईले कमेजको कलरलाई कोटको उचाईभन्दा उँभो उकालेर केशको तेलबाट आउने मैलो कोटमा लाग्न नदिने मात्तै होइन जाडामा घाँटीलाई टिमिक्क बाँधेर किक्लिक्क पार्ने काम पनि गर्दछ । गाईबस्तुलाई बाँध्ने दाम्लो कीलामा अड्याएझैँ हामीले बाँध्ने दाम्लाले पनि कीलामा अल्झाएर हामीलाई शारीरिक होस् वा नैतिक बन्धनमा बाँध्ने भए त म यस नेकटाईलाई हुरुक्क भए पनि, सत्ते होला, हेर्ने थिइनँ, तर हाम्रो दाम्लो बन्धन होइन, छेको होइन, बार होइन । यो त बरू इज्जत उधार्ने साँचो हो, रहस्य लुकाउने डाल हो. ढाँटको सहारा हो र चिटिक्क पर्दाको कसी हो ।

मलाई श्रीमान् भुस्तिघ्रेज्यूले हप्काएथे, “आफू किन्न सक्तैन र अर्काले लगाएको देखिसहँदैन । आहारिसे मरिजा, देखासिकी गरिखा ।“ ए भुस्तिधे भाजु । करौडौं जनताको रगत घुट्टी पिउँदै गोटाएर के फुटानी गछौं । दुनियाँमा सोको हातले घिउ आउँदैन, बाङ्गो हात चाहिन्छ । तिमी सोकका छैनौ, बाङ्गा छौ । त्यसैले सोडा गरिबलाई हेपीहेपी डुक्रन्छौ । तिमीलाई हाँक दिएर भन्छ- “तिमीले तीन कौडी आजसम्म आफ्नू हातले काम गरेर कमाएका छैनौ । करोडौं ज्यामीहरूको पसिना लुटेर धाक पिट्तै, फुटानीको थोत्रो बाल ठटाउँदै तिमी जति डुक्र म भने तिम्रो चाहिँ टाईमा त खालि रगतका टाटैटाटा देख्छु । मेहेनती काम गर काम, अनि टाई टन्कार; कसले नाई भनेको छ र ? तर मेरो मुख चाहिँ थुन्न सक्तैनौँ, मेरो कलमको तीखो टुंडो बोध्याउन तिम्रा बाबुको पनि पित्ताम चल्दैन ।

कसैकसैको भनाइ के छ भने हजारौँ गरिबहरू खान नपाएर प्याकप्याक परिरहेका र लाउन नपाएर आच्छुआच्छु गरिरहेका हुनाले हामीले टाई बधिर ठाँटिनु ठीक होइन । म भन्छु- “दुनियाँमा होचीअर्धेली तारानाथ शर्माले नेकटाई नबाँध्दा हट्ने भए नेकटाई त के म जम्मै लुगा फुकालेर लङ्गौटी मात्तै लगाएर हिँड्न पनि आजै तयार छु । तर दाइ । असमानता कहाँ हट्छ र ? गंगटाले अँठ्याएऊँ हाम्रो संसारलाई यसले च्याप्प अँठचाएको छ, उछिट्टिदैन । हुनपनि असमानता, शोषण र परतन्त्रताको पारालाई हुत्त्याएर नयाँ, नौलो र उज्यालो साम्यवाद ल्याउने कुरो सानो कहाँ हो र ? यस्तो व्यवस्था बदल्ने काममा त कोसिस गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ । एउटाले जग्गा बाँडेर, अर्काले लुगा बाँडेर र अझ अर्काले चवन्नीहरू माग्नेहरूलाई बाँडेर असमानता हट्ने भए हामीमध्ये कुनै पनि तीन जना साथीहरूले उहिल्यै नेपालमा तह मिलाइसक्ने थियौँ ।”

‘बूढो लाग्यो बूढीतिर स्यालले कुखुरा बोक्यो’, भनेकै पो हुन गएछ । अँ, त यो ‘कण्ठलँगौटी’ को इतिहास पनि रमाइला घटनाहरूले थङ्थिलिएको छ । नक्कली केश भिर्ने चलन हैजा फैलेकै जब सारा युरोपमा फिँजारिएथ्यो त्यसै ताक त्यस्ता केशमा लगाएको तेलले लुगा मैलिएला भनेर साना नानीहरूलाई राल र सिँगानबाट लुगा जोगाउन लगाइदिएकै राले लगाउने गर्ने । आजभोलिका नेकटाई, पुतलीटाई र अमेरिकाली टाई जन्माउने बाबु पनि त्यही राले हो । समयको दगुराइसँगसँगै ‘खुकुरीभन्दा कर्द लाग्ने बाबुभन्दा छोरो जान्ने’ भनेझैँ रालेभन्दा आजको नेकटाई रहरलाग्दो, रमाइलो र छरितो छ । त्यसैले होला रालेले युरोप र केही अमेरिकासम्म दक्खल गर्न सकेथ्यो भने नेकटाईले आज पृथ्वीग्रह जम्मैमा आफ्नो अकण्टक साम्राज्य फैलाएको छ र म ता हिजोआज कहाँसम्म घोत्लिन लागेको छु भने उट्टै नै उड्ने रस्सियाली स्पुत्निकले अन्तरिक्षको यात्रा गर्न जाने पृथ्वीका भातखराउहरूमार्फत यस नेकटाईको न्यानो रोगको बीउ मङ्गल, शुक्र र बृहस्पति ग्रहहरूमा पनि छरेर फर्कला । उदेकै पो मान्ने कुरो के छ र ?

नभन्दै हिजोजाज क्लासमा, बफेमा, सहरमा, छात्रावासमा, वनभातमा, घरभातमा यो तारानाथ जहाँ जान्छ त्यही प्रशंसा पाउँछ, तारिफ पाउँछ । कुरो केही होइन नि, उही नेकटाईले गर्दा । खुकुलो घाँटी लिएर हिँडेका दिन मुटु मिलेका साथी र भुतुक्क होइटोपल्ने संगिनीहरू पनि ठुस्स परेर परक्क मुन्टो बटार्छन् । यो दुई-तीन रुपियाँ पर्ने दसधर्के दाम्लामा के मोहनी छ, के चटक छ जसले उच्च भनाउँदाहरूको वर्गका तन्नेरीहरूको बुद्धिमा बिर्को लगाइदिन्छ र तरुनीहरूको आँखा तिर्मिर्‍याइदिन्छ । जुन दिन टाई बाँधेर बाहिर निक्लन्छ सारा संसार मेरो दास बन्दछ । पसलमा जान्छु, चिजहरूको दाम अर्कै हुन्छ, सिनेमामा जान्छु, उस्तै मान्छे त बोल्न पनि डराउँछ । चियादोकानेलाई भोनि पैसा दिए पनि हुन्छ, ऊ मेरो पूरा पत्यार गर्छ । चोर्न, छल्न र ढाँट्न सिपालु चोट्टाहरू सुट-टाईमा राग्रिएर हिँड्छन् भनेको घाईघुइँ सुन्ये, तर बल्ल पत्यार लाग्न थाल्यो। ए, कुरो त बरालिएछ पो, माफ पाऊँ ।

अस्तिको कुरो, बुज्नुभो । एल्फिन्स्टोनमा ‘वाइबाकी छोरी च्यान्टी पोइल गई’ भन्ने हास्यचित्र हेर्न भनेर गएको थिएँ । निक्कै घुइँचो रहेछ । टिकट काट्न लाइन लाग्नुपर्‍यो । एक छिनपछि एकपछि अर्को गर्दै दुईदुई भलाद्मीहरू आएर लाइनका सबैलाई नियाल्दै अन्तमा मलाई आएर दस र पाँचका नोटहरू दिँदै उनीहरूको निम्ति पनि टिकट काटिदिने अनुरोध पाँच मिनेटको फरक पारेर पालैपालो गरे । नेकटाईले गर्दा चिन्दै नचिनेकाहरूले त्यत्रो पैसा अरूलाई नपत्याई मेरै हातमा छोडेर अर्कोतिर गए । हेर्नोस्, नेकटाईको कड़ो महत्त्व रहेछ ।

यस समाजमा नेकटाईलाई डरले थुथुर हुँदै पूजा गर्छन्, सम्मान गर्छन्, भक्तिसाथ व्यवहार गर्छन् भने मलाई त यसै समाजमा बस्नुपरेको छ, अरूतिरको खर्च जोगाएर पनि म त टाई नै बाँच्छु । अलपत्रिएको केशलाई तेल लगाउनु र सँगालेर कोर्नु सभ्यता हो भने मैलिएको लुगालाई धोएर इस्वी लगाउनु सफाइ हो भने र तरुनीहरूले आफ्ना सर्प लठारिएकै बाटेका चुन्डाहरूलाई तह लगाएर बाँध्नु काइदा हो भने तारानाथले नेकटाई बाँधेर पत्तुनको गोजीमा देब्रे हात घुसारेर दाहिने हातले थ्रिकासल चुरोट च्याप्तै फुसफुस धुवाँ उडाउनु पनि सभ्यता, सफाइ र काइदा नै हो ।

यस दुनियाँमा जाँड, जुवा र जारी छाप्छाप्ती छ, तरुनी र महको बेपार बराबर चल्दो छ, रगत र पसिना लुटिँदो छ, न्याय कक्रिँदो छ र अन्याय फर्किदो छ, भोक र ‘फ्लु’ लुतो शरीरमा सरेकै पृथ्वीमा सर्दा छन् तर आजको तारानाथ हिजोको नानी तारानाथ र उसका पछौटेहरूलाई दुवै हात जोल्ठ्यएर अनुरोध गर्दै सोध्छ- “यो सबै कुव्यवस्थाहरूको दलाल पूँजीवाद हो कि नेकटाई, पुरानो विकसित नचाहिंदो संस्कृति हो कि नयाँ फेसन र स्टाइल ??”

नेकटाई त हिमालको हिउँभन्दा कञ्चन, सेतीखोलाको पानीभन्दा सेतो, फेवातालको पानीभन्दा सलो, पुतलीको पखेटाभन्दा छिर्केमिर्के, ऐँसेलुभन्दा गुलियो र शैलकी बालाभन्दा चोखो बस्त्र हो । त्यसैले लौ साथी हो, टन्कारो आपनाआपना घाँटीलाई र व्यवस्था बदल्न पो अधि सरी । हैँसे ॥

०००
नमस्ते (२०२६)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
म दाम्लो बाँध्दिनँ

म दाम्लो बाँध्दिनँ

डा. तारानाथ शर्मा
डाढो

डाढो

डा. तारानाथ शर्मा
गलबन्दीका भैरव अर्याल

गलबन्दीका भैरव अर्याल

डा. तारानाथ शर्मा
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा