जोतारे धाइवाप्रायोजक हङ्गामा
माया र आत्मीयताको नाम दिएरै भए पनि औंठी, ब्रासलेट र सिक्री भिडाउँदै सोफा अनि पलङको लस्कर कन्यादान गर्नुअघि नै ज्वाइँको घरमा भित्र्याइदिइहाल्ने हतारले उनीहरूलाई पिरोल्छ ।

विज्ञापनको बाछिटाले नछोएको कुनै कुरा छैन । जताजता विज्ञापन, उतैउतै प्रायोजक बन्ने र बनाउने होडबाजी । द्रव्य देख्दा महादेवको तेस्रो नेत्र उघ्रिए जस्तै विज्ञापन दिने र लिनेमा सबैका आँखा गोमन सर्पकै भाँतीमा फनफनाउँछन् । विज्ञापन शब्द सुन्दा जति सजिलो, यसको रसपान उत्तिकै स्वादिलो हुन्छ । यसैले पाँच रुपैयाँको चटपटेदेखि पचपन्न हजारको ल्यापटप बेच्नेसम्मको काम पार लगाउन सबैजना विज्ञापनकै जोखाना हेर्छन् । फरक यति हो, कोही सडकमै चिच्याउँछन्, कोही पोस्टर र पत्रिका-रेडियोमा बीउ छर्छन् ।
पत्रिकातिर विज्ञापन छाप्ने चलन त पुरानै हो, रेडियो-टीभीमा विज्ञापन दिएर कुनै कार्यक्रमको प्रायोजन गरी प्रायोजक बन्ने लहरै चलेको पाइन्छ । चलचित्र, टेलिसिरियल र समाचारमै छ्यापछ्यापती प्रायोजकहरूले लम्बेतान लीला देखाउँछन् । फलस्वरूप अलमल्ल पर्ने पालो दर्शक-स्रोताको हुन्छ— सिरियल र समाचारको बीचमा प्रायोजनका ती सामग्री आएका हुन कि ती विज्ञापनको बीचमा सिरियल र समाचार बजिरहेका हुन् !? अरु त अरु, समाचार पढ्ने क्रममा समाचारवाचक/वाचिकालाई खोकी लाग्यो भने पनि तिनले ‘यो खोकीको प्रायोजक फलानो कफ सिरप’ नभन्लान् भन्ने बेर हुन्न । दिन-दिनभरि ‘अब पालो विज्ञापन एक विश्रामको’ भन्ने रटान लगाउँदा-लगाउँदा बेलुका घर पुगेपछि जीवनसाथीले आशायुक्त भावले कर्के नजर लगाउँदा समेत ‘एकैछिनको विश्रामपछि हाजिर हुनेछु’ भन्दै घुर्ने बानी नबस्ला भन्न सकिन्न ।
प्रायोजक बन्ने र बनाउने कतै रहर त कतै आवश्यकता । यसको रामरमिता पनि बडो गजबकै हुन्छ । निकुञ्ज क्षेत्रमा चोरी सिकारहरूको बिगबिगी के हुन्छ र, जुनसुकै अड्डातिर यसो नियाल्ने हो भने भुँडीवाल हाकिमदेखि जुल्फीवाल कारिन्दासम्म एक-अर्कालाई खाजाको प्रायोजक बनाउने सुरमा दाँत तिखार्दै धुइरिरहेका हुन्छन् । ‘स्पोन्सर’ पाएर त्यो दिनको जलपान निःशुल्क ग्रहण गरेपछि वर्षौं ग्यास्टिकले थिलथिलिएको पेट पनि जाती भएभैmँ हुन्छ तिनलाई । प्रायोजक खोज्ने बानी लागेका कतिपय चुरोटेहरूको त झन् कुरै अर्को, प्रायोजक बन्ने कोही नभेटिए बगलमै कसैले उडाएको धुवाँको अनुदान लिएरै भए पनि तलतलको विष मारुँला जस्तो गर्छन् ।
सञ्चार माध्यमको इन्धनको रूपमा रहेको विज्ञापनले सर्वसाधारणका दैनिक जीवनलाई प्रभावित त पारेकै छ । सरकार पनि यसबाट अछुतो छैन । थरीथरी दाताहरूले प्रायोजन नगरिदिने हो भने उसको बजेटको खुत्रुके रित्तै हुन्छ । आफ्नो मुख भरिलो पार्न दातृ लोकको मुख नताकी माड नलाग्ने प्रायोजनको यस्तो राष्ट्रिय प्रणाली झन्-झन् सुदृढ बन्दैछ । प्रायोजकबिना एक पाइला टसमस नहुने यस्तो अर्थव्यवस्थामा हामी मामुली जनको झन् के हालत होला, के बखानिरहनुपर्ला र ?
फिल्मी कलाकारहरूको पनि कुरै त्यस्तै ! निर्माताको बजेटअनुसार ढालिने क्रममा लस्सादार जेलले जसोतसो सम्मिएको जुल्फी ढल्काउँदै र दुई त्यान्द्रो हनबेर्नुले जेनतेन लाज ढाक्दै निर्देशकको एक्सन र कट्को इशारामा बुरुकबुरुक उफ्रिँदा तिनको जिन्दगी नै प्रायोजनको ढलोटमा बसिसक्छ । तब त फिल्मकै जादुगरी कथाअनुसार कथाले मागेको भनेजस्तो गरी आज फलानोसँग नाम जोडेर चर्चामा आयो, भोलि ढिस्कानोसँग अफेयरको हल्लामा हुँडलिएर मक्ख पर्यो । फिल्मी रमझममा दौँडिदा निर्माता र निर्देशकको छनोट र प्राथमिकताअनुसार प्रायोजन गरिनबाट आफू कहिले छुट्ने त कहिले सँगालिने भएकाले विवाद र बदनामीको कुरा तिनका लागि मामुली हुनजान्छ ।
प्रायोजक र प्रायोजकको लहरो जतिजति तान्दै गयो, समाजको विभिन्न पाटोको पर्दाफास हुँदैजान्छ । जस्तो कि छोरीबेटी पराइ घरमा पठाउने क्रममा दाइजो दिएर प्रायोजक बन्ने लहरै चल्नेगर्छ । अझ दाइजो थपघटको विषयलाई लिएर केटा पक्ष र केटी पक्षबीच कतिपय घटनामा बार्गेनिङ नै चल्ने गरेको पाउँदा त व्यापारिक गरिमायुक्त यस्तो उच्चतम पारिवारिक प्रायोजन परिपाटी अरु केमा होला भनेर मन पुलकित हुन्छ । अचेल दाइजो प्रथा हटाउने भन्दै निरुत्साहित र उन्मुलन नै गर्न भनी एकातिर सचेत वर्गको होस्टेहैँसे आफ्नै गतिमा चलेको छ । तर छोरीको प्रायोजक बन्ने गर्वमा ठाँटिएका बाबुआमाको मन के मान्थ्यो र ! माया र आत्मीयताको नाम दिएरै भए पनि औंठी, ब्रासलेट र सिक्री भिडाउँदै सोफा अनि पलङको लस्कर कन्यादान गर्नुअघि नै ज्वाइँको घरमा भित्र्याइदिइहाल्ने हतारले उनीहरूलाई पिरोल्छ ।
मायालु भेट्ने व्यग्रतामा हातमा गुलाफ सिउरिएर यो जक्सन र त्यो पार्क धाउने आधुनिक प्रेमीहरूले कुनै दिन त्यो गुलाफ किन्नमा कोही प्रायोजक खोज्न थाले भने अचम्म नमाने हुन्छ । बेलै यस्तो छ, हरेक कुरामा नाफा, किफायती र शुभ लाभको खोजीमा आँखा नबिछ्याए कोही अर्कैले उछिनिसक्छ आफूलाई । आफ्नो हुतीले नभ्याएपछि, हैसियत फिस्टे भएपछि प्रायोजकको जोरजाम गरेरै भए पनि काम पार लगाउने ध्याउन्नमा नलागी हुन्न । बिहान उठेर दाँत माझेदेखि बेलुका सुत्ने बेला एक चक्की औषधि निल्ने काममा समेत प्रायोजक फेला परे ‘हे प्रभु यो जिन्दगी नै अर्कै हुनेथ्यो’ भन्ने सोचमा हाम्रो दिमागले परेड खेल्न थालिसक्यो । हुँदाहुँदा सिङ्गो जीवन नै कसैद्वारा प्रायोजन गरिएको चाहिएको छ हामीलाई । आफूले त बस्, टन्टैसाफ भएर स्वाँस्वाँ श्वास मात्र फेरे पुगोस् ! कसैले नाफामुखी पाराले चटक्क मिलाइदिएर बाँचिदिएको होस् आफ्नो चोला । धन्न प्रायोजक !!
dhaibaji@gmail.com
Subscribe
Login
0 Comments
Oldest







































