साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रायोजक हङ्गामा

माया र आत्मीयताको नाम दिएरै भए पनि औंठी, ब्रासलेट र सिक्री भिडाउँदै सोफा अनि पलङको लस्कर कन्यादान गर्नुअघि नै ज्वाइँको घरमा भित्र्याइदिइहाल्ने हतारले उनीहरूलाई पिरोल्छ ।

Nepal Telecom ad

विज्ञापनको बाछिटाले नछोएको कुनै कुरा छैन । जताजता विज्ञापन, उतैउतै प्रायोजक बन्ने र बनाउने होडबाजी । द्रव्य देख्दा महादेवको तेस्रो नेत्र उघ्रिए जस्तै विज्ञापन दिने र लिनेमा सबैका आँखा गोमन सर्पकै भाँतीमा फनफनाउँछन् । विज्ञापन शब्द सुन्दा जति सजिलो, यसको रसपान उत्तिकै स्वादिलो हुन्छ । यसैले पाँच रुपैयाँको चटपटेदेखि पचपन्न हजारको ल्यापटप बेच्नेसम्मको काम पार लगाउन सबैजना विज्ञापनकै जोखाना हेर्छन् । फरक यति हो, कोही सडकमै चिच्याउँछन्, कोही पोस्टर र पत्रिका-रेडियोमा बीउ छर्छन् ।

पत्रिकातिर विज्ञापन छाप्ने चलन त पुरानै हो, रेडियो-टीभीमा विज्ञापन दिएर कुनै कार्यक्रमको प्रायोजन गरी प्रायोजक बन्ने लहरै चलेको पाइन्छ । चलचित्र, टेलिसिरियल र समाचारमै छ्यापछ्यापती प्रायोजकहरूले लम्बेतान लीला देखाउँछन् । फलस्वरूप अलमल्ल पर्ने पालो दर्शक-स्रोताको हुन्छ— सिरियल र समाचारको बीचमा प्रायोजनका ती सामग्री आएका हुन कि ती विज्ञापनको बीचमा सिरियल र समाचार बजिरहेका हुन् !? अरु त अरु, समाचार पढ्ने क्रममा समाचारवाचक/वाचिकालाई खोकी लाग्यो भने पनि तिनले ‘यो खोकीको प्रायोजक फलानो कफ सिरप’ नभन्लान् भन्ने बेर हुन्न । दिन-दिनभरि ‘अब पालो विज्ञापन एक विश्रामको’ भन्ने रटान लगाउँदा-लगाउँदा बेलुका घर पुगेपछि जीवनसाथीले आशायुक्त भावले कर्के नजर लगाउँदा समेत ‘एकैछिनको विश्रामपछि हाजिर हुनेछु’ भन्दै घुर्ने बानी नबस्ला भन्न सकिन्न ।

प्रायोजक बन्ने र बनाउने कतै रहर त कतै आवश्यकता । यसको रामरमिता पनि बडो गजबकै हुन्छ । निकुञ्ज क्षेत्रमा चोरी सिकारहरूको बिगबिगी के हुन्छ र, जुनसुकै अड्डातिर यसो नियाल्ने हो भने भुँडीवाल हाकिमदेखि जुल्फीवाल कारिन्दासम्म एक-अर्कालाई खाजाको प्रायोजक बनाउने सुरमा दाँत तिखार्दै धुइरिरहेका हुन्छन् । ‘स्पोन्सर’ पाएर त्यो दिनको जलपान निःशुल्क ग्रहण गरेपछि वर्षौं ग्यास्टिकले थिलथिलिएको पेट पनि जाती भएभैmँ हुन्छ तिनलाई । प्रायोजक खोज्ने बानी लागेका कतिपय चुरोटेहरूको त झन् कुरै अर्को, प्रायोजक बन्ने कोही नभेटिए बगलमै कसैले उडाएको धुवाँको अनुदान लिएरै भए पनि तलतलको विष मारुँला जस्तो गर्छन् ।

सञ्चार माध्यमको इन्धनको रूपमा रहेको विज्ञापनले सर्वसाधारणका दैनिक जीवनलाई प्रभावित त पारेकै छ । सरकार पनि यसबाट अछुतो छैन । थरीथरी दाताहरूले प्रायोजन नगरिदिने हो भने उसको बजेटको खुत्रुके रित्तै हुन्छ । आफ्नो मुख भरिलो पार्न दातृ लोकको मुख नताकी माड नलाग्ने प्रायोजनको यस्तो राष्ट्रिय प्रणाली झन्-झन् सुदृढ बन्दैछ । प्रायोजकबिना एक पाइला टसमस नहुने यस्तो अर्थव्यवस्थामा हामी मामुली जनको झन् के हालत होला, के बखानिरहनुपर्ला र ?

फिल्मी कलाकारहरूको पनि कुरै त्यस्तै ! निर्माताको बजेटअनुसार ढालिने क्रममा लस्सादार जेलले जसोतसो सम्मिएको जुल्फी ढल्काउँदै र दुई त्यान्द्रो हनबेर्नुले जेनतेन लाज ढाक्दै निर्देशकको एक्सन र कट्को इशारामा बुरुकबुरुक उफ्रिँदा तिनको जिन्दगी नै प्रायोजनको ढलोटमा बसिसक्छ । तब त फिल्मकै जादुगरी कथाअनुसार कथाले मागेको भनेजस्तो गरी आज फलानोसँग नाम जोडेर चर्चामा आयो, भोलि ढिस्कानोसँग अफेयरको हल्लामा हुँडलिएर मक्ख पर्‍यो । फिल्मी रमझममा दौँडिदा निर्माता र निर्देशकको छनोट र प्राथमिकताअनुसार प्रायोजन गरिनबाट आफू कहिले छुट्ने त कहिले सँगालिने भएकाले विवाद र बदनामीको कुरा तिनका लागि मामुली हुनजान्छ ।

प्रायोजक र प्रायोजकको लहरो जतिजति तान्दै गयो, समाजको विभिन्न पाटोको पर्दाफास हुँदैजान्छ । जस्तो कि छोरीबेटी पराइ घरमा पठाउने क्रममा दाइजो दिएर प्रायोजक बन्ने लहरै चल्नेगर्छ । अझ दाइजो थपघटको विषयलाई लिएर केटा पक्ष र केटी पक्षबीच कतिपय घटनामा बार्गेनिङ नै चल्ने गरेको पाउँदा त व्यापारिक गरिमायुक्त यस्तो उच्चतम पारिवारिक प्रायोजन परिपाटी अरु केमा होला भनेर मन पुलकित हुन्छ । अचेल दाइजो प्रथा हटाउने भन्दै निरुत्साहित र उन्मुलन नै गर्न भनी एकातिर सचेत वर्गको होस्टेहैँसे आफ्नै गतिमा चलेको छ । तर छोरीको प्रायोजक बन्ने गर्वमा ठाँटिएका बाबुआमाको मन के मान्थ्यो र ! माया र आत्मीयताको नाम दिएरै भए पनि औंठी, ब्रासलेट र सिक्री भिडाउँदै सोफा अनि पलङको लस्कर कन्यादान गर्नुअघि नै ज्वाइँको घरमा भित्र्याइदिइहाल्ने हतारले उनीहरूलाई पिरोल्छ ।

मायालु भेट्ने व्यग्रतामा हातमा गुलाफ सिउरिएर यो जक्सन र त्यो पार्क धाउने आधुनिक प्रेमीहरूले कुनै दिन त्यो गुलाफ किन्नमा कोही प्रायोजक खोज्न थाले भने अचम्म नमाने हुन्छ । बेलै यस्तो छ, हरेक कुरामा नाफा, किफायती र शुभ लाभको खोजीमा आँखा नबिछ्याए कोही अर्कैले उछिनिसक्छ आफूलाई । आफ्नो हुतीले नभ्याएपछि, हैसियत फिस्टे भएपछि प्रायोजकको जोरजाम गरेरै भए पनि काम पार लगाउने ध्याउन्नमा नलागी हुन्न । बिहान उठेर दाँत माझेदेखि बेलुका सुत्ने बेला एक चक्की औषधि निल्ने काममा समेत प्रायोजक फेला परे ‘हे प्रभु यो जिन्दगी नै अर्कै हुनेथ्यो’ भन्ने सोचमा हाम्रो दिमागले परेड खेल्न थालिसक्यो । हुँदाहुँदा सिङ्गो जीवन नै कसैद्वारा प्रायोजन गरिएको चाहिएको छ हामीलाई । आफूले त बस्, टन्टैसाफ भएर स्वाँस्वाँ श्वास मात्र फेरे पुगोस् ! कसैले नाफामुखी पाराले चटक्क मिलाइदिएर बाँचिदिएको होस् आफ्नो चोला । धन्न प्रायोजक !!

dhaibaji@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मैं बनूँ कलाकार

मैं बनूँ कलाकार

जोतारे धाइवा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x