केशव दुवाडीबोक्रेवाद जिन्दावाद
बोक्रा ब्युटिफुल भएपछि गुदी विष्णुमतीको पुल भए पनि के मतलब ? कुरै गर्ने हो भने संसारका सबै वादलाई फ्लप खुवाउने यै बोक्रेवाद त हो नि ।

सृष्टिको सबेरैदेखि सर्वव्यापी हुन सफल बोक्रेवाद संसारको सबै वाद भन्दा जहिले पनि एक फडको अगाडि निर्धक्कसँग टुइँ टुइँ हिडिरहेको हुन्छ । धर्तिमा झर्ने बिीत्तकै बोक्राले बेरिएको मान्छे सास फेर्न बिर्सिएर ब्रम्हनालमा बिराजमान हुँदा पनि बेरिएकै हुन्छ । बरु कालले छाडि दिन सक्छ तर बोक्रेवादले छाड्दैन । जादुले त मान्छेलाई मूर्ख मात्रै बनाउँछ तर बोक्रेवादको चमत्कारले त मान्छेलाई आँखा सहितको अन्धो, खुट्टा सहितको लंगडो र टाउको सहितको मुर्कुट्टो बनाइदिन्छ । बोक्रेवाादको बैशाखी नटेकिकन मान्छे सफलताको शिखर चढ्न नसक्ने भैसकेको छ । बोक्रेवादका पुच्छर नसमाई चुनाबको वैतरणी तर्न नसकिने भैसक्यो । गुदि कुहिएर गलिसकेको भए पनि बोक्रा आकर्षक छ भने माल सद्दे । मेरा एकजना बेदान्ताचार्य वैरागी बाहुन मित्रले भनेको वेदको सार नै बोक्रा हो अरे ! ‘खम् ब्रम्ह’ अर्थात् बोक्रा (शून्य) नै ब्रम्ह हो अरे ! वेदको सार बोक्रा होकि बाहुनको बुद्धि बोक्रा हो त्यो छुट्याउने काम तपाईहरूलाई जिम्मा लगाई लागेँ मचाहि आफनै बोक्रे गन्थन तिर ।
आज समाजका सबै क्षेत्रमा बोक्रेवाद बहाली भएको पाउन सकिन्छ । आर्थिक, सामाजिक, राजनीतिक, साहित्यिक, साँस्कृतिक हरेक क्षेत्रमा बोक्रेवाद शानसँग सैसला खेलिरहेको पाउन सकिन्छ । नाङ्गाहरूको लाज छोपने मात्र होइन बाङ्गाहरूको काज छोप्ने पनि यही बोक्रेवाद भएकोले बोक्रेवादलाई सबैले सहर्ष स्वीकार गरिरहेको पाउन सकिन्छ । विज्ञापनको बोक्राओढाइदिएपछि खरानी पनि पाउडर बन्न पुग्छ । फीँज नआउने साबुन पनि कपडामा लगाउनासाथ सरर फीज आउँछ ।
धनको ढुटो पनि चामलको पिठो हुन्छ । गनाए पनि मीठो हुन्छ । क्यान्सरको गुँड भए पनि ‘सफलतको प्रतीक’ हुन्छ र ‘साहसीको एक मात्र चाहना’ बन्न पुग्छ । गुह्ये गल्लीमा ‘निहुर मुन्टे न’ भएर लडने चिज भए पनि जाडोको एक मात्र चाहना त्यै हो क्यारे । तपाई जहाँ भए पनि त्यो त्यही हुन्छ ।
यौन शिक्षाको बोक्रा ओढाइ दिनोस् त तपाईको साहित्य छाडा भए पनि श्लील हुन्छ । शब्दको बोक्रे जालमा बेर्दिनोस त भावना र रस नभए पनि कविता हुन्छ । छाडा र नाङ्गै भए पनि बाहिर सबैले धारेहात लाएर विरोध गर्ने त हो नि भित्र भित्र सबैले पढिहाल्छन् क्यार । लुकेर गरे पछि कुकर्म पनि सुकर्म हुन्छ । ‘नदेखेको चोर बाउ बराबर’, होइन त ?
अल्छीले जति ज्योतिषीले पनि जान्दैन । आदर्शको प्रवचन छाँट्नोस त पाटे अल्छी भए पनि महायोगी,स्त्रीलम्पट भए पनि आबाल ब्रम्हचारी,पातकी भए पनि साधु,बोक्रे बाबाहरूले बंगलामा बेला बेलामा बबण्डर मच्चाएको कुरा सुन्नु भएकै होला ।
प्रजातन्त्रको बोक्रे जामा जमाइ दिनोस् त ‘दण्ड शासन’ भए पनि ‘कानुनी राज’ हुन्छ । निरंकुश भए पनि प्रजातान्त्रिक काज हुन्छ । लट्ठी हुनेको भैसी भए पनि शोषणरहीत समाज हुन्छ । धाँदलीप्रसादलाई धाईआमा बनाएर आए पनि जननिर्वाचित होइन्छ । हिटलरको हलो जोते पनि मानव अधिकारको मसिहा बन्न पाइन्छ । यो बोक्रे राजनीतिक काइदा, नेतालाई दुबै हातमा फाइदा,नपत्याए बोक्रे भाषण र खोक्रे नारालाई भर्याड बनाएर सत्ताको सिँढी चढ्नेहरूलाई सुटुक्क सोधनोस् त बिजुलीपानीले बेसुर भएको बेला पर्यो भने रिट्ठो नबिराइकन भन्ने छन् । प्रमाणपत्र भए पछि नाम लेख्न नजाने पनि हाकिमको दाबेदार, यहाँको नभएर छिमेकीकहाँबाट ल्याए पनि हुन्छ, अडको पडको फुकाउने छिमेकी त हो नि । धन्य छिमेकी मित्रराष्ट्र जहाँ सियोदेखि सर्टिफिकेटसम्म पाइन्छ ।
जलपको जमानामा सिलबरलाई चाँदी बनाइदिए पनि हुन्छ, पित्तललाई सुन बनाइ दिए पनि हुन्छ । राति चुकुल पनि नभएको छिँडिमा सुकुल ओछ्याएर सुकला भए पनि केही छैन, ठर्रालाई अम्मल बनाएर बोराको कम्मल ओढे पनि केही छैन, तर दिउँसो बोक्रा सुकिलो छ भने तपाई महलको महाजन । बोक्रा ब्युटिफुल भएपछि गुदी विष्णुमतीको पुल भए पनि के मतलब ? कुरै गर्ने हो भने संसारका सबै वादलाई फ्लप खुवाउने यै बोक्रेवाद त हो नि । ल त छातीमा हात राखेर भन्नोस् त होकि होइन ? धन्दा नभए पनि चन्दा यही बोक्रेवादले पाइरहेको हुन्छ । अरु भोकै भए पनि बोक्रेवाद अघाइरहेको हुन्छ । यस्तो सर्वव्यापी सर्वगुण सम्पन्न सान्दारवादलाई आत्मसात गर्नु समयको जोडदार माग भएकाले सबैले गर्बकासाथ भनौँ बोक्रेबाद जिन्दाबाद ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































