विश्व विनोदखादा, माला र अबिर टोलाएको बेला
तपाई भुईंमान्छेबाट आकाशको मान्छे बनिसक्नुभएको छ जसले हाम्रो फोन उठाउन छाडिसक्नु भयो । चुनावअघि तपाईंले गर्ने नमस्कारको शैली र अहिलेको शैली नै फरक परिसकेको छ ।

तपाईको निधार नै ठूलो टुँडिखेल जस्तो बनाएर सबैले रातो रंगको अबिर धसिदिएका थिए । भिडको सबैभन्दा बलवान मानिसले तपाईलाई काँधमा राखेर उफ्रेको थियो । विजय र्यालीको जयजकारले त्यो पहाड, यो पहाड, वरिपरिका मैदान सबै गुन्जिएका थिए । सडकमा गाडी केही बेर टक्क अडिएका थिए । जित्नेहरू सडकमा आएका थिए भने पराजित हुनेहरू कुना बसेर कान थुन्दै थिए ।
जनताको अपेक्षा सगरमाथा भन्दा पनि माथि चुलिएको यो बेला तपाई चुनाव जित्नेहरूसँग जनताका आकांक्षाहरू करौडौं छन् । चुनावी घोषणा पत्रमा लेखिएका आदर्शका महानबाणीहरूले तपाईको बिजयको प्रमाण पत्रलाई खिज्याउने त हैनन् होला ? कहिलेकाहीँ तपाईंको काँधमा ओढाइएको खादाले तपाईंलाई जिम्मेवारी बोध गराउन पर्ने हो तर त्यो खादा लगाएर जाँड पार्टीमा नै गएपछि तपाईंको जिम्मेवारी भट्टी पसलसम्म पुगेको हो र ? यिनै राम रमितामा रमाउन तपाईंलाई जनताले जिम्मेवारी सुम्पिएका होलान् र ?
बोटमा रमाउने फूलहरूलाई टिपेर माला बनाइएको छ अनि मजाले हजुरलाई सजाइएको छ । आहा ! भगवानलाई चढाइने ती फूलहरू वास्तविक जिउँदो भगवानलाई चढाउन पाए कस्तो हुने थियो होला है ? के तपाई जिउँदो भगवान बन्ने ल्याकत राख्नुहुन्छ ? धर्तीको उत्कृष्ट मनुवा बनेर मानवजातीको सेवामा सतप्रतिशत लाग्नुहोला र ? मलाई त लाग्दैन किनकी थोरै भने पनि यहाँले चुनाव जित्नको लागि ती दलित बस्तिमा भोज लगाउनु भएको छ, कतिलाई डिजेल, पेट्रोल दिनुभएको छ भने कतिलाई केही न केही आश्वासन दिनु भएको छ । तपाई ईतरका मानिसको पनि मज्जाले तथ्याङ्क राख्नु नै भएको होला यसले तपाईंलाई विभेदको कुरा तपाईं कुर्सीमा पदासिन हुँदैमा सिकायो होला ।
तपाईंको निधारमा लगाइएको अबिरले ट्राफिक लाईट जस्तै रोक भन्ने संकेत दिन पाए कस्तो होला ? जसले सांकेतिक हिसाबले पनि भ्रष्टाचार रोक भन्ने व्यवहार नै दिलाओस् । गलत चेष्टालाई रोक्न सक्ने संकेत दिलाओस् त्यो रातो अविरले । तर मलाई कत्ति विश्वास नै लाग्दैन किनकी तपाईंको अस्वाभाविक रहनसहन नै हामीलाई अचम्म लाग्न थालेको छ । चुनाव जितेको भोलिपल्ट नै तपाई भुईंमान्छेबाट आकाशको मान्छे बनिसक्नुभएको छ जसले हाम्रो फोन उठाउन छाडिसक्नु भयो । चुनावअघि तपाईंले गर्ने नमस्कारको शैली र अहिलेको शैली नै फरक परिसकेको छ ।
तपाईंले लगाएका माला, अविर र खादाको संयुक्त गठबन्धनको एक बैठक बसेको रहेछ जहाँ तिनीहरू निकै टोलाएको देखिन्छन् । नेताज्यू, के माला, अबिर र खादाको मूल्य कति होला ? जनताको अपेक्षाको मूल्य कति होला ? एक पटक हिसाब गर्नुस् न ल ! तारेमाम् !
०००
लमजुङ
Subscribe
Login
0 Comments
Oldest








































