साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीनपुस्ते अनुसन्धान

‘भेरै ! तेरो हजुरबा र मैले नकाम गरेका रहेछौँ । थाहा छ मैले दिएको पिण्ड त्यतिबेलादेखि नै तेरो हजुरबाले पाएका रहेनछन् ।’

Nepal Telecom ad

हिजो बिहान भैरवबहादुर नामका एक युवकलाई समातेर ल्याइयो । उजुरी थियो कि उसले भड्खालो दलका आशबहादुरको फोटो जलाएछ र भड्खालो दलको झण्डा पनि च्यातेछ । हिरासतमा ल्याइपुर्याएपछि मैले नै उसको वयान लिन शुरु गरेँ । युवक मुसुक्क मुसकुरायो र वयान शुरु गर्यो ।

‘मेरो नाम भैरवबहादुर । म तीस वर्षको भएँ । आगामी चुनावका लागि नेता आशबहादुर र उनको दलले बोलाएकाले कतारबाट यहाँ आएको सात दिन भयो । विगत पाँच दिनदेखि नेता आशबहादुरको चुनावी सभामा हिँडेको छु ।’
‘चुनावकै लागि कतारदेखि आएछौ त कस्तो मोह हो ?’
‘उनको दलको हामी झोले । उनी बाजेको पालादेखिका नेता । बाजेकै पालादेखि सेवा गरेकाले आउनुपर्छ भन्ने लागेर आइयो ।’

‘अनि चुनावका लागि आउने उनैको फोटो जलाउने बुद्धि कसरी आयो ?’
‘भन्न अलिकति समय लाग्छ होला । पाँचओटा खसी गैरी गाउँमा ढाल्ने योजना रहेछ । हिजो साँझतिर भने- हेर बाबु सबै खसी काटेर साध्ये लाग्दैन । दुई खसी खोज तीन बाख्रा । काटेर मिसमास पारिदिनुपर्‍यो ।’

‘खसीमा बाख्रा मिसाएका कुरा अरूले थाहा पाए भने नि ।’ मैले डराउँदै सोधेँ ।
‘यस्तो भोजभतेर चलेको कति वर्ष भयो ? कसैले जिउँदा खसी बोका र मरेका खसी बोकाको स्वाद खुट्याएका छन् ? बाख्रामा खसी कि खसीमा बाख्रा कसैको जिब्रोले खुट्याएको छ ? किन चिन्ता गरेको ? दुई चार घ्याम्पा राष्ट्रिय झोलको व्यवस्था गरौँला नि । त्यसले सबैलाई ठीक पर्छ ।’ नेताजीले भने । राति अबेरसम्ममा ती सबै ठीक पारेर सुत्न घरमा जाँदा राती एक बजेको थियो ।

आँखा के लागेका थिए पत्नीको गर्भमा राज गरिरहेको शिशु चिच्यायो ।
‘ए बाउ ! तिमीले यो ठाउँलाई सभ्य र विकसित बन्न नदिने भयौ । हेर अझै पनि काम नलाग्नेलाई नेता बनाएर हिँडेका । म यहाँ जन्मिन चाहन्न । बरू मलाई पनि तिम्रै कतारतिर लैजाऊ ।’ म झसङ्ग भएँ । अनि हतार हतार पत्नीको भुँडीतिर कान थापेँ । अझै पनि शिशु बोलिरहेजस्तो लाग्यो ।

मेरो लागि शिशुको माग खतरनाक मात्र थिएन पितृइच्छा विपरित पनि थियो । आशबहादुरको दलमा मेरो हजुरबाको पालादेखिकै लगानी छ । मोही पारेर कुलायनलाई धूप दिने बेलामा हजुरबाले त्यस दलको नेतालाई पनि धूप दिनुहुन्थ्यो । बाबाले पनि त्यसै गर्नुभयो । बाबाको श्राद्धमा पिण्ड दिँदा पनि आशबहादुरकै दलको नेता र दलको झण्डा सँगै राखेर दिने चलन छ । अहिले आएर गर्भस्थ शिशुले विद्रोहको भाषा बोल्दा कसरी मान्ने ? म धर्म शङ्कटमा परेँ । भित्तामा सजिएको स्वर्गीय पिताजीको तस्विर झिकेँ र सुमसुम्याउँदै भने- हे बाबा हजुर हजुरको इच्छा पूरा गरूँ कि नजन्मिएको शिशुको ?

बाबाको तस्वीरसँग गुनगुन गर्दा गर्दै निदाएछु । बाबा चिच्याउनुभयो ‘भेरै ! तेरो हजुरबा र मैले नकाम गरेका रहेछौँ । थाहा छ मैले दिएको पिण्ड त्यतिबेलादेखि नै तेरो हजुरबाले पाएका रहेनछन् ।’
‘कसले पाएछ त बाबा ?’
‘त्यही नेताले स्वाहा ।’
‘मैले हजुरलाई दिएको पिण्ड नि ।’
‘त्यो पनि त्यही नेताले स्वाहा ।’
‘हैन चित्र गुप्तले कुनै निशाफ दिएनन् बाबा ?’ मैले सोधेँ ।

‘के दिने ? उल्टै हकारेर भन्छन् तैँले त्यस्ता नराधमलाई पूजा गरिस् जसको कारण तेरो छोराले अहिले दुख पाइरहेको छ । अब तेरो छोरो पनि त्यसै गर्दैछ अब तेरा नाति पनाति सबैले दुख पाउँछन् । गतिलो अगुवा नछान्ने अनि दुख पाइयो भनेर चिन्ता गर्ने ? चित्रगुप्त भन्छन्- छोरा । बुद्धि बिग्रिएकाले न हाम्रो वरत्र सुध्रियो न त परत्र नै । अगतिमा छौँ बाबु ।’ बाबाले रुँदै भन्नुभयो । म झल्याँस्स बिउँझिएँ । बाबाको तस्वीर च्यापेर पो सुतेको रहेछु ।

उठेपछि मैले नेताका तस्वीर झिकेँ । पार्टी सदस्यताको प्रमाणपत्र झिकेँ र आगो सल्काएँ । तपाईँहरू पुगेर मलाई समात्नुभयो ।’ युवकले हाँस्दै भन्यो ।

‘ठीक छ मलाई त समात्नुहोस् तर भरे साँझ तपाईँ पनि आफ्ना पितृदेवसँग सोध्नुहोला आफूले गरेका काम ठीक छ कि छैन ।’ युवकले चुनौती दियो । उसका कुरा सुनेर म पनि छाँगोबाट खसेजस्तो भएँ । मैले तुरुन्तै हवल्दारलाई बोलाएँ र भनेँ ‘ए हल्साव ! भैरवलाई छोडिदिनुहोस् । हाम्ले भन्दा यसले धेरै अनुसन्धान गरिसकेको रहेछ ।’

‘कस्तो अनुसन्धान साव ?’ हवल्दारले सोधे ।
‘तीन पुस्ते अनुसन्धान । मैले भनेँ । उसले त पितृ र आफ्नो मोक्षको लागि पो त्यस्तो कर्म गरेको रहेछ । म के गर्न सक्छु ? सोचिरहेको छु । यसमा तपाईँको केही सुझाव छ कि ? अस्तु ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x