
सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य देउसी भाग-२ (पूर्ण भिडियाे)
प्रज्ञा प्रतिष्ठानकाे प्रेक्षाालयमा साढे २ घन्टा बिताएर बाहिर निस्केका धेरैलाई लाग्यो- सिस्नुपानी देउसीले विकृति र विसङ्गतिका नायक खलनायकहरूलाई ठाउँको ठाउँ झ्याम्की झयाम् सिस्नु हानेकै हो ।

सिस्नुपानी नेपालले संस्थाको स्थापनासँगै २०५५ सालदेखि तिहारका अवसरमा आयोजना गर्दै आएको हास्यव्यङ्ग्य देउसी कार्यक्रम यसवर्ष पनि कार्तिक ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको ठूलो प्रेक्षालयमा घनिभूत दर्शक र स्रोताबीच प्रस्तुत गरेको छ ।
कार्यक्रममा नेपालको राजनीतिक, सामाजिक, न्यायिक, प्रशासनिक, सांस्कृतिक, सञ्चार, शैक्षिक र बौद्धिक क्षेत्रमा संलग्न महानुभावहरूको व्यापक समुपस्थितिमा साढे दुई घन्टा लगातार सिस्नु पानीले सिस्नु हानिरह्यो । सहभागीहरू निरन्तर हाँसिरहे, आपार आनन्दको अनुभूति गरिरहे ।
यतिसम्म कि नेपालको वर्तमान राजनीतिमा अहम् भूमिका निर्वाह गरिरहेका राजनीतिक व्यक्तित्वहरू जो कार्यक्रममै सहभागी थिए, उनीहरू र उनीहरू सम्बद्ध रहेको दलको नकारात्मक भूमिकालाई देउसीमा कुनै न कुनै रुपले प्रहार गरिएको थियो- त्यसलाई पनि मजा मानेर सुनिरहे, हेरिरहे ।
नेपाल प्रज्ञाप्रतिष्ठान र सिस्नुपानी नेपालको संयुक्त प्रस्तुति रहेको कार्यक्रमको आरम्भमा निमित्त कुलपति डा.जगमान गुरुङले स्वागत मन्तव्यको क्रममा सिस्नु नामक वनस्पति मानव स्वास्थ्यका निम्ति थेरापी र औषधिको काम गर्ने बताउनु भएको थियो । सिस्नुपानीले हाम्रो राजनीतिक, आर्थिक अथवा समग्र जीवनमा देखिएका विसङ्गत बिरामीमाथि थेरापीको काम गर्ने हुँदा कार्यक्रममा प्रस्तुत हुने प्रहारबाट नडराउन, बरु सच्याउन तयार हुनुपर्ने तर्फ डा. गुरुङले सचेत गराउनु भएको थियो ।
हेर्दा परम्परागत जस्तो लाग्ने देउसी कार्यक्रम मूलतः २ चरणमा संयोजित थियो । पहिलो चरणमा सिस्नुपानी नेपालका उपाध्यक्ष तथा व्यङ्ग्य कवि अर्जुन पराजुलीका केही कविता, ३८ जना तबला वादकहरूको समूहद्वारा तवला वादन, मिथिलाका प्रसिद्ध कलाकार डा. विपिन मिश्रको शङ्ख-डमरू-दुन्दुभी, हास्यकलाकारत्रय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मनोज गजुरेलको संयुक्त प्रहशनात्मक पस्तुति थियो ।
राजनीतिक विसङ्गति खासगरी निर्वाचन र निर्वाचित जनप्रतिनिधिका अकर्मण्यतामाथि रोचक र घोचक कविता एवम् प्रहशनलाई दर्शक र श्रोता अत्यधिक मन पराएका थिए । नक्कली हरिवंशको भूमिकामा देखिएका मनोज गजुरेलले आफू सक्कली हरिवंश रहेको र यस पालीको चुनावमा २ करोडको अफर आएको हुँदा उसैको प्रचार लाग्न मदनकृष्णलाई फकाइरहेकै बेला सक्कली हरिवंशको उपस्थिति हुन्छ ।
त्यसपछि मात्र आफूसँग कुरा गरिरहेको त नक्कली हरिवंश रहेछ भन्ने थाहा हुन्छ । तर नक्कली हरिवंशले सक्कली हरिवंशलाई चुनौती दिँदै राजनेताको आशिरवादले आफूलाई नै सक्कली सावित गर्ने कुरा गरे गजबको राजनीतिक व्यङ्ग्य प्रस्तुत गरिएको थियो । उहाँहरूलाई चक्र दवाडी र माणिकरत्न शाक्यले शाक्यले साथ दिनु भएको थियो । यस प्रहसनात्मक प्रस्तुतिले नेपाली राजनीतिमा देखिएको चरम विसङ्गतिलाई प्रभावपूर्ण चित्रण गरेको स्पष्ट हुन्छ ।
कार्यक्रमको अर्को चरणमा सिस्नुपानी नेपालको हास्यव्यङ्ग्य देउसी प्रस्तुत गरिएको थियो । नेपाली राजनीतिमा देखिएका विसङ्गतिहरूलाई केन्द्रमा राखेर तयार गरिएको देउसी गीतलाई स्रोता तथा दर्शकले औधी रुचाएका थिए । देउसी गीतमा नजिकै आएको निर्वाचन, उमेद्वार छनोट, अन्तरदलीय खिचातानीदेखि, दलभित्रैका गुटउपगुटीय कार्यकलापलाई व्याङ्ग्यात्मक ढङ्गले अभिव्यञ्जित गरिएको थियो ।
दुई तिहाईबाट फुइँतिहाइ हुँदै भुइँतिहाइ हुन पुगेको सरकार, दलीय गठबन्धन र निर्वाचन चिन्ह साटासाट, जित्नकै निम्ति निर्वाचन क्षेत्र बदल्दै हिन्ने, दलहरूमा बूढाखाडाकै रजाइँ, राजनीतिक निष्ठामा विचलन, सिद्धान्त त्याग, पदप्राप्तिका निम्ति जे गर्न पनि तयार हुने नेताप्रवृत्ति, लुट, भ्रष्टाचार, कमिशन, राजाको विरोध गर्नेहरू नै अहिले राजसी ठाँटमा देखिएका, न्यायिक क्षेत्रमै भएका विकृत क्रियाकलाप लगाय विकृति र विसङ्गतिलाई देउसी गीतले समेटेको थियो । बीचमा समानुपातिक प्रकृयालाई व्यङ्ग्य गर्दै श्रीमतिपातिक स्वास्थानी समेत समावेश गरिएको थियो । प्रज्ञा प्रतिष्ठानकाे प्रेक्षाालयमा साढे २ घन्टा बिताएर बाहिर निस्केका धेरैलाई लाग्यो- सिस्नुपानी देउसीले विकृति र विसङ्गतिका नायक खलनायकहरूलाई ठाउँको ठाउँ झ्यामकी झयाम सिस्नु हानेकै हो ।
देशका यी तमाम विसङ्गतिबाट देशले त्राण पाउनुपर्ने भावुक अभिव्यक्तिका साथ देउसी गीतको बिसौनीमा यसरी गाइयो-
बरू लेख्नै छाडौँला….
कलमले मकै गोडौँला…
धारे हात कसैलाई नि लाउन नपरोस्
यस्तो देउसी फेरि फेरि गाउन नपरोस् ।
विगत २५ वर्षदेखि हास्यव्यङ्ग्य देउसी प्रस्तुत गर्दै आएको सिस्नुपानी नेपालले देउसीगीतमा समसामयिक सन्दर्भ र विषवस्तुतर्फ परिवर्तन गर्दै आए पनि प्रस्तुतिमा कुनै फरकपन ल्याएको छैन । एउटै लय, एउटै ढाँचा एकै प्रकारको प्रस्तुति सिस्नुपानीले किन गरिरहेको होला ? ढाँचा, लय र प्रस्तुतिमा सामयिक परिवर्तन ल्याउँदै विविधता दिने प्रयत्न गरे सुनमा सुगन्ध हुने थियो भन्ने टिप्पणी केही स्रोता तथा दर्शकहरूले गरेका थिए ।
सिस्नुपानी देउसी भाग १ को प्रस्तुतिमा संलग्न कलाकारहरूः
लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, टंक आचार्य, धीरेन्द्र प्रेमर्षि, मनोज गजुरेल, नरनाथ लुइँटेल, देवी घिमिरे, शिशिर योगी, बीबी अनुरागी, चक्र दवाडी, हरिकला उप्रेती, रुपा झा, माणिकरत्न शाक्य, थरेन्द्र बराल, रेजिना आप्गाइँ, रुपा न्यौपाने, सविता बराल आदि ।
सिस्नुपानी देउसी भाग २ को प्रस्तुतिमा संलग्न कलाकारहरूः
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दवाडी, माणिकरत्न शाक्य, डा. विपिन मिश्र लगायत ३८ जना तवलावादक ।
०००
प्रस्तुति : फित्कौली डटकम
(प्रस्तुत छ- सिस्नुपानी देउसीको (भाग २) पूर्ण भिडियो)
Subscribe
Login
0 Comments
Oldest