संप्रस पाैडेलके मार्क ट्वेइन नेतालाई डाइपरसँग तुलना गर्थे ?
पदमा नहुँदा आफू नभएको भए देश उहिल्यै ‘कोल्याप्स’ भैसक्ने लेखिएका किताब हेर्दा मार्क ट्वेइनले इमेल गरेरै संप्रस भाइ यो आलेख लेख है भनेका हुन् भनिदिउँ कि भन्ने पनि लागेको हो । के तपाईं पत्याइदिनु हुन्छ ?

“एकै कारणले गर्दा नेता र डाइपर समय समयमा फेर्नुपर्छ ।” चुनावताका संसारभर चर्चामा रहने एक विचार हो यो । नेपालमा पनि विभिन्न चुनावमा निकै समय चर्चामै रहने गरेको छ ।
डाइपर एकपटक भरिएपछि त्यसको पुनः काम छैन, यसलाई फेर्नुपर्छ । त्यस्तै नेता पनि एकपटक जितिसकेपछि अर्को चुनावसम्म उसले कुनै माखो मार्न सक्दैन अर्थात् घोषणाअनुसारको काम गर्दैन र अर्कोले गर्ला कि भनेर फेर्नुपर्छ । हामीकहाँ स्थापित तथ्य यही भैरहेको आम मानिसको बुझाई रहेको छ । यसरी नेतालाई डाइपरसँग तुलना गर्ने व्यक्ति हुन् अमेरिकी लेखक, पत्रकार, उद्दमी, हास्यव्यङ्ग्यकार मार्क ट्वेइन (पूरा नामः सेमुअल लाङ्घोर्न क्लेमेन्स, १८३५-१९१०, अमेरिका) ।
पहिले हामी उनका विविध विचारहरू पढ्नेछौं । अनि तथ्य जाँचका बारे जान्नेछौं ।
एडभेन्चरस अफ टो सयर (१८७६), एडभेन्चरस अफ हकलबेरी फिन (१८८५), द प्रिन्स एण्ड द पपर, पुस्तकका सर्जक ट्वेइनले २८ पुस्तक लेखेका थिए । उनका प्रसिद्ध विचारहरु यस्ता छन्ः
० तपाईं सही भन्नुहुन्छ भने तपाईले कुनै पनि कुरा याद गरिराख्नुपर्ने छैन ।
० जीवनमा सफल हुनका लागि तपाईं दुई चिजको खाँचो पर्दछ, एक अनभिज्ञता र अर्को आत्मविश्वास ।
० मृत्युको डर जीवनको डरबाट शुरु हुन्छ । त्यही मानिस पूरा तरहले जिउँछ जो हर समय मृत्युको लागि तयार हुन्छ ।
० दयालुपन त्यो भाषा हो जसलाई श्रवणशक्ति बिहिनले सुन्न सक्छ र दृष्टिविहिनले देख्न सक्छ ।
० पैसा होइन, पैसाको कमी सबै समस्याको जड हो ।
० तपाईंको जीवनका सबैभन्दा महत्वपूर्ण दुई दिन होः एक तपाईँको जन्मदिन र दोस्रो तपाईंले आफू जन्मनुको उद्देश्य थाहा पाउनु भएको दिन ।
० आजको कामलाई भोलिका लागि नछोड्नोस्, के थाहा त्यो पर्सी पनि पुग्न सक्छ ।
० कहिल्यै बेवकुफ मानिससँग बहस नगर्नोस्, उसले तपाईंलाई आफ्नो स्तरसम्म तान्छ र उसको अनुभवले तपाईंलाई हराइदिन्छ ।
उनी कलेज पढाउँथे । पत्रकार पनि थिए । उनले मिसौरी नदीमा रिभरबोट पाइलटका रुपमा पनि काम गरेका थिए भनिन्छ । उनका अन्य विचारहरु यस्ता छन्ः
० हास्नु मानव जातिका लागि सबैभन्दा ठूलो आशिर्वाद हो ।
० क्रोध यस्तो तेजाब हो, जसलाई अब हालिनेभन्दा पनि यसलाई राखाएको भाँडोलाई असर गर्दछ ।
० यदि तपाईँ एक भोको कुकुरलाई उठाएर उसलाई बलियो बनाउनुहुन्छ भने उसले तपाईँलाई टोक्दैन । मानिस र कुकुरबीचको मूख्य अन्तर नै यही हो ।
० एक मानिस त्यो समयमा सबैभन्दा साँचो हुन्छ जब उसको आफ्नो झूठ पत्ता लागेको हुन्छ ।
० कुनै चिजलाई जति बढी प्रतिबन्ध लगाइन्छ त्यो उति नै लोकप्रिय हुन जान्छ ।
० असल मित्र, असल पुस्तक र एक गहकिलो अन्तरआत्मा, मेरा लागि यही आदर्श जीवन हो ।
० ईमान्दारी सबै हराएका कलामध्ये सर्वश्रेष्ठ हो ।
० हल्लाले केही साबित गर्दैन । अक्सर एक अण्डा दिनेवाला कुखुरी यति चिच्याउँछे कि मानौं उसले एउटा सानो ग्रहको जन्म दिएकी हो ।
० जब तपाईं आफूलाई बहुमतको तर्फ पाउनुहुन्छ तब सम्झनोस् कि अब रोकेर सोच्ने समय आएको छ ।
० तपाईंको महत्वाकांक्षालाई कम गर्ने मानिसहरूबाट टाढै रहनुहोस् ।
० यस्तो किन हुन्छ- हामी कोही जन्मिएकोमा खुशी र मरेकोमा दुखी हुन्छौं । जबकी त्यो व्यक्ति हामी आफैं त होइनौं ।
० मूलतः दुईथरीका मानिस हुन्छन् । एक ती जो चिज हासिल गर्छन् । अर्का ती हुन् जो चिज हासिल गरेको दाबी गर्छन् । तर पहिलो समूहमा भिड कम हुन्छ ।
खोजअनुसन्धानका क्षेत्रमा समेत उनले प्रशस्त समय खर्चिएका छन् । त्यसो त उनले एकताका निकै आर्थिक सङ्कट भोग्नुपर्यो ।
उनलाई अमेरिकी लेखक विलियम फल्कनरले “अमेरिकन साहित्यका पिता” को सम्मान दिएका थिए । मार्क र उनका दाजु आफ्ना मातापिताका ६ सन्तानमध्ये २० वर्ष नपुग्दै निधन भएका ४ बाहेकका थिए । उनका दाजु र उनी दासप्रथाका विरुद्ध अब्राहम लिङ्कन (हत्याः १८६५) का साथमा थिए । दाजुले रिपब्लिकन पार्टीमार्फत् राजनीतिक यात्रा अघि बढाएका थिए । उत्प्रेरक विचारहरूका लागि संसारभर चर्चित मार्कका ४ सन्तानमध्ये एक छोरीको बाथटबमा डुबेर निधन भयो जसको पछिल्लो साल अर्थात् पत्नीको निधन भएको ६ सालपछि उनले पनि सदाका लागि धर्ती छोडे ।
रोचक कुरा त के हो भने राजनीतिज्ञ र डाइपर एकै कारणले फेर्नुपर्छ भन्ने उनको भनाइका बारे विभिन्न मतैक्यता आए । प्रसिद्ध समाचार संस्था रोयटर्सले गरेको खोज अनुसार सन् २००९ पछि मात्रै यो भनाइ सामाजिक सञ्जालमा चर्चामा रहेको तथ्य पत्ता लाग्यो । मार्क ट्वेइनका धारणाहरूबारे आधिकारिक मानिएको विद्वत वर्गहरूको समूह अर्थात् मार्क ट्वेइन प्रोजेक्टले तयार गरेको www.twainquotes.com देखि Btitanica समेत यो विचार नभएको पाइयो ।
नेपालमा मृत्यु भैसकेका व्यक्तित्वका आत्मकथाका किताबहरू प्रकाशन हुने क्रम बढ्दो रहेको छ । सेना, प्रहरीदेखि सचिव अनि वकीलदेखि न्यायाधीशसम्म पदबाट बाहिरिएपछि आत्मकथाका किताब लेख्ने चलन बढेको छ । पदमा नहुँदा आफू नभएको भए देश उहिल्यै ‘कोल्याप्स’ भैसक्ने लेखिएका किताब हेर्दा मार्क ट्वेइनले इमेल गरेरै संप्रस भाइ यो आलेख लेख है भनेका हुन् भनिदिउँ कि भन्ने पनि लागेको हो । के तपाईं पत्याइदिनु हुन्छ ?
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest







































