सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मीठो व्यङ्ग्यका घोचक बान्कीहरू

यस सङ्ग्रहका धेरै निबन्धहरूमा हास्यतत्व र व्यङ्ग्यतत्वको कुशल संयोजन भएको छ । केही निबन्धमा हास्यतत्व कम व्यङ्ग्यतत्व अधिक र केही निबन्धमा हास्य तत्व कम हास्यतत्व अधिक भए पनि धेरै निबन्ध सन्तुलित छन् ।

Nepal Telecom ad

डा. लक्ष्मणप्रसाद गौतम :

नेपाली हास्यव्यङ्ग्य निबन्ध लेखनका क्षेत्रमा तिलकराज शर्मा चितवनको प्रतिनिधित्व गर्ने सशक्त हास्यव्यङ्ग्यकार हुन् भन्ने कुरा उनका हास्यव्यङ्ग्य निबन्धहरूले नै देखाउँछन् । ‘पार्टी खोल्ने धूनमा’ शीर्षकको हास्यब्यङ्ग्यात्मक निबन्धसङ्ग्रह लिएर डेढदशक अघि नै देखापरिसकेका तिलकराज शर्मा हास्यव्यङ्ग्यात्मक क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका व्यक्तित्व हुन् । सामाजिक, आर्थिक, राजनीतिक पारिस्थितिक, प्रशासनिक, पारिवारिक र वैयक्तिक क्षेत्रमा समेत देखिएका विकृति र विसङ्गतिलाई खुस्किने गरी प्रहार गर्नु र तमाम सङ्गतिहीनतालाई स्पष्ट र उदाङ्ग रुपमा देखाउनु तिलकराज शर्मा पौडेलका हास्यव्यङ्ग्यात्मक प्रवृत्ति हुन् ।

जब वास्तविकतामा विकृति आउँछ तब हास्यको जन्म हुन्छ र जब वास्तविकतामा विसङ्गति आउँछ तब व्यङ्ग्यको जन्म हुन्छ । त्यसकारण हास्यव्यङ्ग्य साहित्यको बेग्लै किसिमको रचना प्रकार हो । यसलाई साहित्यको स्वादिलो चटनी मानिन्छ । यसमा विकृति र विसङ्गतिका नायकहरूलाई बोलाएर चिमोटी चिमोटी मार्ने कला हुन्छ । त्यसकारण हास्यब्यङ्ग्य रोचक हुनाका साथै घोचक पनि हुन्छ ।

हास्यव्यङ्ग्यकार तिलकराज शर्माको दोस्रो हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह ‘दौरा सुरुवाल र टोपी आतङ्क’ एक किसिमले देवकोटाका शब्दहरू सापटी लिएर भन् हो भने “विविधताको मौजी मसला” हो । यसमा विविध विषयवस्तु भावभूमि र शीर्षकका एक्काईसओटा हास्यव्यङ्ग्यात्मक निबन्धहरू सङ्कलित छन् । २०५५ देखि २०६५ सम्मको एक दशकको अवधिमा लेखिएका यी निबन्धहरूले समाजका विविध क्षेत्र देखिएका तमाम सङ्गतिहीनतालाई बाहिर ल्याएका छन् । विकृति र विसङ्गतिको कार तत्त्व स्वयममा मान्छे हो र प्रत्येक मान्छेले आफ्नो आचरणमा सुधार ल्याउने हो भने समाज स्वतः नै सुध्रिन्छ । यही कथ्य र केन्द्रीय भावलाई यस सङ्ग्रहका निबन्ध मूलरुपमा अभिव्यञ्जित गर्न खोजेका छन् ।

‘दौरा सुरुवाल र टोपी आतङ्क’ शीर्षकको यस हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रहका निबन्धहरूलाई अन्तर्वस्तुका रुपमा हेर्दा विविधता पाइन्छ । ‘मन दुखेको छ’ शीर्षकको निबन्ध युगीन यथार्थतिर केन्द्रित देखिन्छ । कुनै राजनीतिक पृष्ठभूमि नभएका सामान्य गाउँले महिलाहरू पनि सभासद हुने प्रवृत्ति र सभासद्को सस्तोपनलाई यथार्थरुपमा प्रस्तुत गर्न यो निबन्ध सशक्त छ । ’जनै विवाद र समाधान’ मा हाम्रो समाजमा देखिएको सांस्कृतिक विचलनलाई मूल अन्तर्वस्तु बनाएर न्यायको झटारो हानिएको छ भने ’हे प्रभु । मलाई पद चाहिएन’ मा सत्ताको स्वादमा पल्केका उच्चपदस्थ व्यक्तिहरूको पदलोलुपताप्रति तीखो व्यङ्ग्य गरिएको छ । यस्तै पुस्तकको समेत शीर्षक रहेको ‘दौरा सुरुवाल र टोपी आतङ्क’ शीर्षकको हास्यव्यङ्ग्यात्मक निबन्धमा राष्ट्रियताको उपहास गर्नेहरूप्रति व्यङ्ग्य गर्दै खासरुपमा प्रशासनिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको उछित्तो काढिएको छ ।

‘सहिद बन्ने चानसै पाइएन’ मूलतः राजनीतिक विकृति र विसङ्गतिप्रति केन्द्रित छ । राष्ट्रका लागि प्राणको आहुती दिने सहिदहरूको उपेक्षा भएको दुर्घटनामा मरेकाहरूलाई समेत सहिद घोषणा गरेर लाखौ रुपैयाँ असुल्ने प्रवृतिप्रतिको विरोध यसमा देखिन्छ । सहिदलाई सस्तो बनाएकोमा लेखकको गुनासो छ । ‘पूरक बजेटमा पार्टीको प्रभाव’ पनि राजनीतिक र आर्थिक अवस्थादेखि देशको स्थितिसम्मका विषयवस्तु आएका छन् । ‘श्रीमतीको अभिनन्दन हुने रहर’ शीर्षकमा अभिनन्दन सम्मान संस्कृतिमा आएको विकृति र विसङ्गतिलाई प्रस्तुत गर्दै माफियातन्त्रले गर्दा राष्ट्रले / समाजले सम्मान गर्नुपर्ने व्यक्तित्वहरू उपेक्षित भएको र माफियातन्त्रका भ्रष्टाचारी, चोर, डाँका, फटाहाहरू सम्मानका दोसल्लाहरूले चोखिने गरेको यथार्थलाई प्रस्तुत गरी सस्तो अभिनन्दन सम्मान प्रवृत्तिप्रतिको व्यङ्ग्य प्रभावपूर्ण छ । ‘नारी स्वतन्त्रता’ मा आजको समाजमा नारी स्वतन्त्रताको दुरूपयोग र अपव्याख्या भएको कुरालाई गम्भीरतापूर्वक देखाइएको छ भने ‘मलाई के रोग लाग्यो कुन्नि ?’ मा वैयक्तिक मनोदशालाई प्रस्तुत गरिएको छ ।

यस हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रहका अधिकांश निबन्धहरू युगीन यथार्थमा केन्द्रित छन् । त्यस्तै ‘ब्यवसायको खोजीमा’ ले बेरोजगारी र युगीन यथार्थलाई अभिव्यञ्जित गरेको छ भने ‘यता कतै प्रजातन्त्रेलाई देख्नुभयो कि ?’ ले आजको मूल्यहीन राजनीतिलाई उदाङ्ग पारेर देखाएको छ । ‘लेख्न मन लागेका कुराहरू’ हास्यव्यङ्ग्यात्मकभन्दा टिप्पणीमूलक छ र यसमा वरिष्ठ निबन्धकार रामबाबु घिमिरेको ‘लेख्न नपर्ने कुराहरू’ निबन्धसङ्ग्रह भित्रका निबन्ध पढेपछिका प्रतिक्रियाहरूलाई टिप्पणीमूलक आत्मपरक शैलीमा प्रस्तुत गरिएको छ भने ‘पोखरा-अतीत र वर्तमान’ मा पनि हास्यव्यङ्ग्यात्मक भन्दा भोगाइ, अनुभूति र विवरणात्मकताको अधिक्यता पाइन्छ । यी दुवै शीर्षकका निबन्धहरूमा आत्मगत चेतना छ ।

‘अध्यक्ष हुँ म’ पनि आजका नेताहरूको पदलोलुपताप्रति साङ्केतिक व्यङ्ग्यका दृष्टिले प्रभावी छ । सङ्क्रमक सदविचारमा धेरै अन्तर्वस्तुहरू एकैचोटि आएका छन् । यसमा एकातिर युगीन चेतनालाई अभिव्यक्त गरिएको छ भने अर्कातिर राजनीतिक सामाजिक, आर्थिक आदि विविध क्षेत्रका सङ्गतिहीनतालाई अभिव्यक्त गरिएको छ ’श्रीमतीको कचकच र यसपटकको तीज’ न्यून आय भएका परिवारको स्थिति देखाउन सफल छ र यसमा आर्थिक विसङ्गतिका साथै सांस्कृतिक विचलनलाई पनि प्रस्तुत गरिएको छ । ‘म प्राज्ञ मेरो प्रज्ञा प्रतिष्ठान’ साहित्यिक क्षेत्रमा देखिएका विकराल विकृति र विसङ्गतिको यथार्थ शब्दचित्र हो । ‘विज्ञापन र म’ विज्ञापनवादी प्रवृत्तिप्रतिको व्यङ्ग्यमा केन्द्रित देखिन्छ । पत्रात्मक शैलीमा लेखिएको ‘सान्दाजुलाई पत्र’ युगीन चेतना अभिव्यक्त भएको निबन्ध हो । यसमा पनि वर्तमानको राजनीतिक विकृति र विसङ्गतिप्रति तीव्र व्यङ्ग्य गरिएको छ ।

’दौरा सुरुवाल र टोपी आतङ्क’ भित्रका अन्त्यतिरका केही निबन्धहरू आकार प्रकारका दृष्टिले केही छोटा छन् । ‘म र सुन्दरी प्रतियोगिता’ मा मनको भन्दा तनको सुन्दरताका लागि प्रतियोगिता हुने गरेको विकृतिलाई देखाइएको छ भने ‘महान् बन्ने धुनमा’ मा मान्छेभित्रका अर्को महत्त्वाकाङ्क्षी मान्छेहरूको यथार्थ चित्र उतारिएको छ । यसरी हेर्दा यस सङ्ग्रहका धेरै निबन्धहरू मान्छे र उसको समाज भित्रका कुरुपता, नग्नता, विद्रूपता, असङ्गति र जटिलताहरूलाई राम्ररी खोतल्न सक्षम छन् ।

यस सङ्ग्रहका धेरै निबन्धहरूमा हास्यतत्व र व्यङ्ग्यतत्वको कुशल संयोजन भएको छ । केही निबन्धमा हास्यतत्व कम व्यङ्ग्यतत्व अधिक र केही निबन्धमा हास्य तत्व कम हास्यतत्व अधिक भए पनि धेरै निबन्ध सन्तुलित छन् । एक दुई निबन्धमा यी दुबै तत्व नदेखिए पनि तिनमा अनुभूतिको प्रबलता छ । आत्मपरक चेतनाको तीव्रता छ । यस दृष्टिले पनि हास्यव्यङ्ग्यकार तिलकराज शर्मा भावलाई विभिन्न किसिमले खेलाउन सक्षम छन् भन्ने देखिन्छ ।

यस हास्यव्यङ्ग्यात्मक निबन्धसङ्ग्रहका स्रष्टा तिलकराज शर्मा समाजका यावत कुरीति, असङ्गति, आडम्बर, छल, छद्म, अहङ्कार, भ्रष्टाचार, नातावाद, कृपावाद, आर्थिक अनुशासनहीनता, विकृति र यावत् बिब्ल्याँटा परिस्थितिबाट आक्रान्त छन् र तिनप्रति विरोधको स्वर उराल्नु यिनको विशेषता हो । हाम्रो समाजमा विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक सांस्कृतिक, प्रशासनिक आदि प्रदूषणहरूले व्यक्ति, समाज र देशलाई प्रदूषित बनाइरहेका छन् । यस्ता प्रदूषणहरूबाट देश र समाजलाई मुक्त निबन्धकार/हास्यव्यङ्ग्यकारको अभिलाषा छ ।

निबन्धलाई हास्यव्यङ्ग्यात्मक बनाउन भाषाको सबैभन्दा बढी भूमिका हुन्छ । अत्यन्त आलङ्कारिक एवम् आनुप्रासिक भाषाशैलीको प्रयोगले यस्ता निबन्ध रोचक र घोचक समेत हुन पुगेको छ । उनको यो कृति नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा एउटा उपलब्धिपूणर् प्राप्ति हुनेछ भन्ने साक्ष्य उनका हास्यव्यङ्ग्यात्मक निबन्धहरू नै छन् ।

०००
‘दौरा सुरुवाल र टोपी आतङ्क’ (२०६५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वर्णविन्यासको मानक पुस्तक

वर्णविन्यासको मानक पुस्तक

डा.लक्ष्मणप्रसाद गौतम
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी