सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कन्याकेटी खोज्दा

सौभाग्यवश माहुर ख्वाउने मौका आयो । हत्त न पत्त घुम्टो खोलेर माहुरको हात लगेको त दुलही खितितित्त हाँस्यो । ‘दुलही हाँस्यो’ भन्नासाथ तपाईंहरूले बुझिहाल्नुभयो होला- दुलही बनेको मान्छे त रहेछ - दाजुको ससुरालीको गोठालो ! हेर्नोस्, म बूढालाई कसरी भूसको थैलोमा सुताएछन् !

Nepal Telecom ad

भैरव अर्याल :

’किन चाउरिस् मरीच ?’ भन्दा ‘आफ्नै पीरले’ भन्थ्यो रे, तर मलाई जति पीर त्यो जाबो मरीचको गेडालाई के पर्यो होला र ? हुन त, मनको बह कसैलाई नकह’ भन्छन् तर आफूलाई आशा लाग्छ सबैसित बह पोख्न पाए कतै माखेसाङ्लो लागिहाल्थ्यो कि ? त्यसैले गथासो गर्न लागेको । न, कागेभेडाको भुत्लाझैं जुँघा पाकिसके, तर एउटी कन्याकेटीको लगनगाँठो समात्न भने मैले अहिलेसम्म पाएको छैन ।

म भोजपुरमा जन्मेको, कीर्तिपुरमा हुर्केको, जनकपुरमा पढेको र हाल कान्तिपुरमा बसेको, अब मलाई पाखे, काँठे, मधिसे वा सहरिया जे भन्नुपर्छ तपाईं नै जान्नोस् । वास्तवमा मेरो कुनै खासपन छैन, तासको जोकर जता गए पनि ठिक्क ्र तर यही ठिक्कले आफूलाई पारिसक्यो दिक्क । कतै पाखे डोके भनिदिन्छन् त कतै काँठे कछाड, कतै मधिसे माउते भन्छन् त कतै सहरिया स्वाँङी । सबैतिर मिल्छु भन्दाभन्दै यताबाट पनि घुच्चा उताबाट पनि घुच्चा ख्वाएर मलाई बालीमा नमिलेको डूम गराइदिन्छन्, अनि केटी पाउने कहाँ ?

बालकैमा बाबु बसाइँ नसरिदिएको भए बोली फुट्न नपाउँदै म डोली चढिसक्थें हुँला । पहाडतिरको चटाकी चलन थाहा छँदै छ नि, मेरै दाज्यूले पनि मकैका थाङ्ग्रा र परालका कुन्यू देखेपछि उतातिर कसले ओल्टाईपल्टाई केटो हेरिरहन्छ र चिनाटिपनसम्म हेर्ने हुन्, त्यही पनि ज्योतिषी बालाई बोलाएर पेटभरि घुमर्के रोटी ख्वाइदियो भने राहुकेतु ठ्यामठुम । तर अब त न मेरा मकैका थाङ्ग्रा छन्, न परालका कुन्यू, पहाडतिरका केटी पाउने त कुरै छैन ।

मधेसतिर खोजूँ न त भने हाम्री आमा भन्छिन्- “उतातिरका केटी काम गर्न सक्तैनन् । पेट बोक्ने मात्रै भएर के गर्न डोको बोक्ने बुहारी चाहिन्छ ।” यदि उनले मन्जुर गरिहालिन् भने पनि तराईवालेरूले मलाई मस्याङको दाल खाने पर्वत भनी तीन कौडीमा गन्दैनन् । अघिदेखि नै यस्तै बिहापात र आवतजावत बराबर चलिरहेको भए आज आएर यो मधिसे र यो पहाडिया भन्ने खिसिट्युरी किन भइरहन्थ्यो । त्यसैले मधिसेको छोरी बिहा गर्ने पनि कुरै छैन ।

सहरतिरको छन् के कुरा गर्नु ? अर्काले लाएको पनि खाएको पनि यहाँ खिसी चल्छ । झन् अचेल त सहरमा राष्ट्रियताको भावना उग्र रूपले बढ्दै छ । त्यसैले अरू कुराबाट त परै जाओस्, बोलीचालीले जात छुट्टयाउने प्रथा पनि चलिसकेको छ । नेपाली बोल्नेजतिलाई ’खय’, नेवारी बोल्नेजतिलाई ’फाकन’ र मैथिली बोल्नेजतिलाई ’माउते ’ भनी आधुनिक ढङ्गले मान्छेको वर्गीकरण यता हुन थालेको छ । त्यसैले एउटा कोठा माग्न जाँदा त यो ’खय’ हो कि ’फाकन’ हो कि ’माउते’ हो भन्ने सवाल पहिल्यै उठ्छ भने केटी माग्न जाने त कुरै छाडिदिऊँ । यहाँ नेपाली मात्र भएर पुग्दो रहेनछ, नेपालभित्र पनि पाखे, काँठे, मधिसे वा सहरिया आफू के हो पक्का प्रमाणपत्र चाहिँदो रहेछ ।

त्यसैले आफूलाई चल्दोमिल्दो काँठे नै हो । किनभने भन्नलाई ’काँठ कछाड’ भने पनि काँठे बडो कूटनैतिक हुन्छ । पहाडियासित व्यवहार गर्नुपयो भने कछाड बाँधेर बस्छ र ’हामी एक कप चियाको निम्ति कोपरा बेच्ने सहरिया स्वाँङी होइनौं’ भन्छ, सहरियासित व्यवहार गर्नुपन्यो भने ’हामी एक हल गोरुको निम्ति छोरो बेच्ने पाखे डोके होइनौं’ भनी पहाडियालाई पखाल्न थाल्छ । यसरी दुवैतिर दुरुस्त बन्न खोज्दाखोज्दै उसले आफ्नो एक किसिमको बेग्लै विशेषता कायम गरेको हुन्छ, त्यसैले मैले कन्याकेटी खोज्न थालेको हुँ काँठैतिर ।

बल्लबल्ल पोहोरका वर्ष बूढानीलकण्ठका बुढाथोकीसित केटीको कुरो मिलेको थियो, तर केटीको कुरो त मिल्यो, खड्कलाको कुरो मिलेन । बाको मत थियो- खड्कला पाँच धार्नीको चाहिन्छ, ऊ भन्ने तीन धार्नीसिवाय मेरो केही लाग्दैन । आखिरमा त्यत्ति नै भए पनि चित्त बुझाउने सुर त थियो नै हाम्रो, तर के गर्नु भाग्यमानी केटीको बाउले भोलिपल्टै अर्को केटो भेट्टाएछ, दुई धार्नीले भए पनि चित्त बुझाउने । अनि ऊ के लाटो थियो र फेरि हामीकहाँ आओस् ?

कोपुन्डोलका कार्कीसित भने गर्दुवा, सम्धीभेट, दोसल्ला इत्यादि सबै थोकको कुरो मिलेको हो, तर फसाद पार्यो, जातैले । ऊ रहेछ सातपतरीको झर्रो कार्की क्षत्री, म थिएँ अधिकारी जैसीको खड्किनीपट्टिको नातिको विवाहिता पट्टिको भानिज । यदि मसँग धनमान हुँदो हो त बीसौं शताब्दीमा जातभातको के कुरो उठ्थ्यो ? एउटा गतिलो गाई दान गरिदियो भने पण्डित बाजेले शास्त्र जोरिदिइहाल्थे, तर गरिब हुनाले जति नालीबेली लगाउँदा पनि जातको होचो अर्घेली देखिइहाल्यो । भात त हाम्रो चल्छ रे, तर दाल चल्दैन रे । दाल नचले सधैं गोलभिंडा साँधेर भात खाउँला, देऊ न त कन्या भनेको, उनले पटक्क मानेनन् । मानून् पनि कसरी । जातभात मिलाएर दिउँला भनी २५ वर्षसम्म साँचिराखेको उनकी जेठी छोरी सारङ्गी बजाउने गन्धर्व जातिसित पोइल गइछ, एउटी त बिग्री बिग्री, अर्की पनि बिजातलाई कसरी दिऊन् । बिचरालाई जात मिल्दो ज्वाइँको गोडाको पानी खाने धोको छँदै थियो ।

त्यसपछि गएको माघमा एउटी निकै पढेकी र बढेकी कन्याकेटी मिलेकी थिइन्, सिमालेमा सिंखडाकी छोरी । पढेकी केटी भएपछि आउने बित्तिकै आफ्ना सबै घरधन्दा समात्छे भनी हाम्री आमाले कुरो सुन्नेबित्तिकै तीन पटक मजेरीमा नाचेर मन्जुरी दिइन् । सम्धीभेटमा सुनको सिक्री दिन्छ रे भनेपछि बाले पनि भन्नुभयो- “गर न त गर, घरान असलै हो ।” नीला ओठ र चायैचाया जगेका गाला भए पनि मैले ठानें- पढेकी र बढेकी कन्या उसै पाइन्छ र ? पुर्पुरोमा लेखिएको हुनुपर्छ । हात परेको गुमाएपछि सान गरेर फेरि कहाँ पाउनु ? त्यसैले कामकुरो उही दिन छिनियो । मान्छे पनि प्रगतिशीलै रहेछन् । जातभातको कुरा टाकटुक भइहाल्यो । पढेकी आधुनिक श्रीमतीज्यू आउने हुनाले मैले पनि घरमा निकै सजिसजाउ गरें । पूजाभाँडा बेचेर काँटाचम्चा जोरेँ। आमाको सन्दुस चिरेर टेबुल, मेच बनाएँ । आधुनिक केटीहरू कुकुरका छाउरा खेलाउन खोज्छन् भनेर ब्याउने गाई बेचेर एउटा बेलाइती कुकुरसमेत किनिदिएँ । झिँगाको बोसो झिकेर हैजाका ओखती बेच्ने हाम्रा दाजुजस्ता किरन्टोकीले पनि घरबारी बन्धक राखेर ऋण गरी बिहाको सरजाम जुटाए । त्यस बेला मेरो घरको चुरीफुरी देखेको भए जरसाहेब पनि मलाई ’मेरो छोरी टक्य्राऊँ कि ?’ भनी हात जोड्न आउँथे होलान् ।

जे होस्, बिहाको दिन भयो, सजधजका साथ बरियाँत गयो । तर के भनूँ, आफ्नो आङ कन्याएर आफ्नै छारो नउडाउनू भन्छन् । कन्यादानको साइतैमा दुलही छटपटाएर लडिन् । के भो कसो भो भन्दाभन्दै कन्याले त जग्गेमै अर्की कन्या जन्माइन् बा ! कस्ता अचम्म !! जन्तीहरू हात ठटाएर हाँस्न थालेका थिए, आफू मूर्च्छा परिहालेँ, त्यसपछि के भो कसो भो म भन्न सक्तिनँ ।

कहिले जातभात मिल्दैन, कहिले ठाउँठहर मिल्दैन, कहिले दाइजो गोडधुवा मिल्दैन । हन्डर खाँदाखाँदा बल्ल पाएको कन्याकेटीको पनि त्यो दशा ! साँच्ची मेरो पुर्पुरोमा स्वास्नी लेखेकै रहेनछ कि भन्ने पनि मलाई लाग्यो तैपनि मर्दको हिम्मत, केटी खोज्नचाहिँ छोडिनँ । झन् धुइँधुइँती खोज्न थालें ।

नैकापका नेउपानेकी छोरीको कुरा चल्यो । म पनि एक दिन झुक्क्याएर केटी हेर्न गएँ । नेउपानेको घरमा कुखुराका चल्लाजस्तै एक डोका छोरीहरू रहेछन् । पिँढीमा गएर निकैबेर विचार गर्दा पनि आफूलाई दिन्छु भनेकी केटी कुनचाहिँ हो ठम्याउन नसकेर जिल्ल पर्दै थिएँ, एउटी सोह्र सत्र वर्षकी ठिटी भित्रबाट निस्किन् र सोधिन्- “कसलाई खोजेको बूढाबा !“ म छानाबाट खसेझैं गरी आत्तिएँ । केटी त केटोलाई ’बूढाबा’ पो भन्छे ए ! के म साँच्चै बूढो भइसकेँ त ! रनक्क रिस उठेकोले जुरुक्क उठेर आफ्ना चाउरिएका गाला, फुलेका दाह्री सुमसुम्याउँदै घरतिर आएँ । मलाई लाग्यो अब त दुई- चार दिनभित्रैमा बिहा गर्न नपाए म मरिहाल्छु कि ? केटीले भनेको ‘बूढाबा’ भन्ने शब्द मेरो मगजमा फनफनाइरहन थाल्यो । चिटचिट पसिना आउन थाल्यो । रातरातभर म सोच्न थालेँ- साहूको ऋण तिर्न नसके पनि एउटी कन्याकेटी भित्र्याएर पितृ ऋण नतिरी कसरी गर्नु ? यस लोकमा एक घुट्को चिया खान नपाए पनि परलोकमा एक घुट्को तर्पन दिने एउटा छोरो त चाहिन्थ्यो ।

त्यसैले एक दिन बिहान सबेरै उठेर दाजुको ससुरालमा गएँ र भाउजूसित भनें- “कि तीन दिनभित्र बिहा गरिदिन्छौ भने गरिदेओ, नत्र म दलिनमा कुन्डेर मर्छु ।” मेरो तगडा अल्टिमेटम सुनेर वल्लापल्ला घरका सबैलाई दया लागेछ । “नगर्नोस् वा नगर्नोस्, हामी भरे नै तपाईंलाई बिहा गरिदिन्छौँ” भन्दै एउटी तरुनी र राम्री केटी उनीहरूले देखाए ।

बचेखुचेको जायजेथा धितो राखी ऋण लिएर सर्जाम पनि उहीँ तयार गरियो । ग्रहशान्ति भयो, सबैले खाए । अलिअलि गर्दागर्दै बिहा पनि हुन थाल्यो । कन्यादान गरुन्जेल पनि कुन बेला घुम्टो उघारेर दुलहीको त्यो पहिले हेरेको चन्द्रमाजस्तो अनुहार देख्न पाइएला भनी चौचौ भइरहेको थियो, सौभाग्यवश माहुर ख्वाउने मौका आयो । हत्त न पत्त घुम्टो खोलेर माहुरको हात लगेको त दुलही खितितित्त हाँस्यो । ‘दुलही हाँस्यो’ भन्नासाथ तपाईंहरूले बुझिहाल्नुभयो होला- दुलही बनेको मान्छे त रहेछ – दाजुको ससुरालीको गोठालो ! हेर्नोस्, म बूढालाई कसरी भूसको थैलोमा सुताएछन् !

त्यहाँदेखि कन्याकेटीको कुरो कतै उठेको छैन । तैपनि आस चाहिँ छ- हुरुक्क हुने बेलासम्म कसो एउटी कन्याकेटीको लगनगाँठो समात्न नपाइएला !

०००
‘काउकुती’ निबन्धसङ्ग्रह (२०१९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
आलु

आलु

भैरव अर्याल
गलबन्दी

गलबन्दी

भैरव अर्याल
चन्द्रलोक कसको ?

चन्द्रलोक कसको ?

भैरव अर्याल
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी