मुज्तवा हुसैनरङ नम्बर !
जुन फोन नम्बरमा श्रवण गर्नका लागि मायालु, मीठो बोली र मीठो सपना पाइन्छ- मेरा लागि त्यही नै सही नम्बर हो । तपाईंलाई धेरैधेरै बधाई तथा धन्यवाद् श्रीमान रङ नम्बर ! ओह्, माफ गर्नुस् ‘राइट नम्बर’ ।”

मुज्तवा हुसेन :
केही दिनअघि एकजना महानुभाव भन्दै हुनुहुन्थ्यो- “हाम्रो टेलिफोन विभाग के कारणले नाफामा गएको छ थाहा छ ? अब हेर्नुस्, यहाँ तीन वटा फोन गर्नुस्, बल्लतल्ल एउटा सही फोन लाग्छ ।”
अर्थात् टेलिफोन विभागको दुईतिहाइ मुनाफ ‘रङ नम्बर’ ले नै हुने गर्छ । यदि रङ नम्बर नलाग्ने हो भने यो टेलिफोन विभाग नै टाट पल्टिन सक्छ । मरणाशन्न अवस्थामा पुग्न सक्छ ।
गएको हप्ताको मात्र कुरो हो, म अखबार पढ्दै थिएँ । त्यत्तिकैमा फोनको घण्टी बज्यो । फोन उठाएको मात्रै थिएँ, उताबाट आवाज आयो- “हेलो, म अलि हतारमा छु । तुरुन्त कागजकलम निकाल्नुस् त ! एकदम छिटो… तुरुन्त । निकाल्नुभयो ?”
मैले भनेँ- “निकालिसकेँ ।”
“त्यसो भए लेख्नुस् त, चामल पाँच बोरा । गहुँ छ बोरा । चनाको दाल २० किलो । चिनी १० किलो । बेसार आधा किलो । सुन्नुस् त, अघिल्लो पटकको बेसार राम्रो थिएन । यस पटक राम्रो हुनुपर्छ ।”
मैले पनि भनेँ- “मलाई राम्ररी थाहा छ- बेसार राम्रो थिएन । तर यस पटक राम्रो बेसार पठाउनुहोला ।”
उताबाट आवाज आयो- “के भन्नुभयो ? मैले पठाउनुपर्ने रे ! म त तपाईंले पठाउनुहोला भनेर लेखाउँदै छु ।”
मैले भनेँ- “मैले कहाँबाट पठाउने ? म कहाँ त अहिले एक छाकलाई मात्र टर्ने चामल छ । तपाईं बोराको कुरा गर्दै हुनुहुन्छ ! बेलुकी एक ठाउँमा भोजमा जानु छ । त्यसैले रातिको खाना त्यतै हुन्छ मेरो ।”
उताबाट आवाज आयो- “हेलो । के, त्यसो भए यो दीपक डिपार्टमेन्ट स्टोर होइन ?”
मैले भनेँ, “हजुर ।”
फेरि आवाज आयो- “त्यसो भए अघि नै म गलत नम्बरबाट बोल्दैछु भनेर किन नभन्नुभएको ? मैले कागजकलम निकाल्नुस् भन्दैमा तपाईंले कागजकलम किन निकाल्नुभयो ?”
“तपाईंले मलाई अनपढ, गवार सम्झिनुहोला भनेर मात्रै निकालेको हुँ । म लेखक हुँ मित्र । १०-१२ वटा किताब लेखिसकेको छु । भन्नुस् त, किताब लेख्नु मजाक त हैन नि !”
यत्तिकैमा फोनको लाइन उताबाट काटियो । एक मिनेट पनि नबित्दै फेरि फोनको घण्टी बज्यो । मैले फोन उठाएँ । फेरि त्यही आवाज आयो- “हेलो ! तपाईं कहाँबाट बोल्दै हुनुहुन्छ ?”
मैले भनेँ- “मित्र, म त मुखबाट बोलिरहेको छु । तपाई चैं कहाँबाट बोलिरहनुभएको छ कुन्नि ?”
फोनमा सोधियो- “के यो दीपक डिपार्टमेन्ट स्टोर होइन ?”
मैले अब रमाइलो गर्ने उद्देश्यले भनेँ- “हजुर यसलाई तपाईंले दीपक डिपार्टमेन्ट स्टोर नै सम्झिनु भए हुन्छ ।”
उताबाट आवाज आयो- “यार, तिम्रो नम्बर एउटा बेवकुफ मान्छेसँग मिलेर हैरान पार्यो । भन्छ म लेखक हुँ । कागजकलम लिएर फोनमा नै बसिरहन्छ ! खैर जान देऊ । म अलि हतारमा छु । कागजकलम फटाफट निकाल्नुस् त…निकाल्नुभयो ?”
मैले भनेँ- “मैले निकालेर लेखी पनि सकेँ । चामल पाँच बोरा, गहुँ छ बोरा, चनाको दाल २० किलो, चिनी १० किलो, बेसार आधा किलो । बेसार राम्रो चाहियो हैन तपाईंलाई ?”
फोनमा एकैछिन कुनै आवाज आएन । त्यसपछि प्रश्न आयो- “के फेरि रङ नम्बर पर्यो ?”
मैले भनेँ- “यस पटक रङ नम्बर परेकोमा माफी नमागे पनि मलाई बेवकुफ भनेकोमा माफी माग्नैपर्छ ।”
मरेको आवाजमा उसले भन्यो- “सरी लेखकजी, मैले तपाईंको लेखनमा बाधा पुर्याएँ ।”
यस्तायस्ता टेलिफोन कलहरू म कहाँ प्रायः आइरहन्छन् । कोहीकोही त यति हतारिएका हुन्छन् कि तिनीहरूले आफ्नो कुरामात्रै राख्छन् । एकदिन यस्तै हतारिएको मानिसको फोन आयो- “हेलो । म सुरेन्द्र बोल्दै छु । साहेबनीलाई भन्नु ठीक ६ बजे रिगल सिनेमा हलको अगाडिको रेलिङमा भेट्नु ।”
अब हेर्नुस्, एकजनाले मलाई बेवकुफ सम्झ्यो- अर्कोले नोकर । मैले रङ्ग नम्बर भन्नुपूर्व नै बिजी सुरेन्द्रले फोन राखिदियो ।
साँझपख मलाई रिगल सिनेमा हलतिरै जानुपर्ने थियो । सोचेँ, त्यो मिस्टर रङ नम्बरसँग त्यहीँ नै सरी भन्न लगाउँला । साँझमा सिनेमा हलअगाडिको रेलिङमा अडेस लगाएर उभिएका एक बेचैन पुतलालाई देखेपछि मैले सोधेँ- “सुरेन्द्रजी तपाईं नै हो ?”
जवाफ- “हजुर । भन्नुस् ।”
मैले भनेँ- “आज तपाईंकी मेमसाहेबनी यहाँ आउनुहुन्न ।”
उनले रिसाएर भने- “तपाईं को हो ?”
मैले भनेँ- “रङ नम्बर । अरु को ? यति सजिलो कुरो पनि बुझ्नुभएन ? दिउँसो तपाईंले आफ्नी श्रीमतीका लागि जुन सिनेमा समाचार दिनुभएको थियो, त्यो मैले पाएको थिएँ । र, म त्यति टाढाबाट तपाईंले रङ कल गर्नु भएकोमा माफी माग्न लगाउनका लागि मात्रै यहाँ आएको हुँ ।”
उसले रनक्क रन्किएर दुईवटा टिकट मेरो हातमा दियो र भन्यो-“आई एम सरी ।” त्यसपछि ऊ गयो । म र मेरा एक जना साथी सिनेमा हलभित्र पस्यौं ।
तर फिल्म यति घटिया थियो कि मैले नै मेरा साथीसँग झुर फिल्म हेर्न कर गरेकोमा माफी माग्नुपर्यो ।
एक पटक त रातको एक बजे फोनको घण्टी टन्टनायो । मैले गहिरो निद्राबाट उठ्दै फोन उठाएँ । अर्कोतिरबाट बडो डरलाग्दो भिलेनी आवाज आयो- “मसँग समय एकदम कम छ । म काउलीको फूल बोल्दैछु । हाम्रो ट्रक बिहान ठीक पाँच बजे बस पार्कको ठीकअगाडि रहेको निमको रुख तल दुई मिनेटको लागि रोकिने छ । तपाईंले आफ्नो भागको चरेस त्यहीँबाट नै उठाउन सक्नुहुनेछ । नभए नोक्सान तपाईंलाई नै हुन्छ ।”
म केही भन्न खोज्दै थिएँ- उतातिरबाट फोनको लाइन काटियो । यो खतरनाक फोन सुनेपछि मेरो आँखामा फेरि निद्रा आउनै सकेन । मैले सोचेँ दिउँसो त कुनै न कुनै किसिमबाट मैले देश सेवा गर्दै आएको छु नै । आज मध्यरातमा पनि देश सेवा गर्नुपर्यो । घडी हेरेँ, तोकिएको स्थानमा ट्रक पुग्न अझै चार घण्टा बाँकी थियो । मैले नजिकैको प्रहरी चौकीमा फोन गरेर खतरनाक ट्रकको बारेमा सूचना दिने विचार गरेँ । तर देशको दुर्भाग्य, हेर्नुस्- बल्लतल्ल एउटा चौकीको नम्बर खोजेर फोन लगाएँ । तर उताबाट आवाज आयो- “सरी रङ नम्बर ।”
मलाई लाग्यो- यो फोन उठाउनेले गहिरो निद्रामा देशलाई नै बिर्सिदिएको छ ।
एकपटक दिउँसो फोनको घण्टी बज्यो । अर्कोतर्फबाट एकजना महिलाको सारै नै सुरिलो आवाज गुञ्जियो । वास्तवमा त्यस्तो सुरिलो, मिठासपूणर् आवाज मेरो कानले कहिले सुनेकै थिएन । मैले सोचेँ- रङ नम्बर भनेर यति सुरिलो आवाजको घाँटी निमोठ्नु राम्रो हुँदैन । त्यसैले मैले जानाजानी केही पनि बोलिनँ ।
टेलिफोनबाट आएको सुरिलो आवाज धाराप्रवाह अगाडि बढ्न सुरु गर्यो- “के हो ! तिमी मुखमा दही जमाएर बसेका छौ कि कसो ? केही त बोल । मसँग किन नबोलेको ? आज बिहान डाइनिङ टेबुलमा भएको झगडाको रिस अहिलेसम्म मरेको छैन ? तिमीलाई सरम लाग्नु पर्ने हो नि । तिमीलाई थाहा छ, तिम्रो कोटको कलरबाट मैले तिम्रो अफिस सेक्रेटरीको छ वटा कपालको रौं फेला पारिसकेकी छु । अब अलिकति मेरो रौंको बारेमा पनि त सोच । मेरो कपालको रौं पनि त कसैको कोटको कलरमा झर्न चाहँदो होला । आखिर यो रौंले कहाँ झर्ने ? तिमी आफै भन त ? एउटा कुरो साँचोसाँचो भन त, तिम्रो त्यो सेक्रेटरी तिम्रो अगाडि कपाल खोलेर त बसेकी छैन ? मिल्ने भएदेखि म फोनबाटै तिम्रो त्यो सेक्रेटरीको कपाल लुछिदिन्थेँ । तर के गर्ने । हेलो….हेलो…। हैन, तिमी किन बोलिरहेका छैनौ ? …त्यसो भए मेरो अन्तिम फैसला पनि सुन, यदि तिमीले आफ्नो चालचलनमा परिवर्तन गरेनौ भने म बच्चाहरू र अलिकति बचेको केस लिएर माइती हिँडिदिन्छु ।”
“हेलो…। किन केही जवाफ दिइरहेका छैनौ तिमी ? …त्यसो भए कान खोलेर सुन, म माइती जानुभन्दा अगाडि अहिले नै, यसैबेला तिम्रो अफिसमा आउँछु । र, तिमीलाई र तिम्रो त्यो सेक्रेटरीलाई त्यहीँ नै हेर्छु । …म पनि सरिफ बाउकी छोरी हुँ ।”
लगत्तै फोन राखियो । मैले रङ नम्बर भन्नै पाइनँ, ती सरिफ बाउकी छोरीलाई ।
कहिले काहीँ त रङ नम्बरले मेरो सानो घर पनि फाइभ स्टार होटल बन्छ । जहाँ विभिन्न खानेकुराका अर्डरहरू आउँछन् । र, पाहुनाहरूका लागि कोठा बुक गरिन्छ । कहिलेकाहीँ यो घर ग्याँस एजेन्सी पनि बन्न पुग्छ । र, ममाथि भरपूर गालीको प्रयोग हुन्छ । एक पटक त ग्याँस चोरेको अभियोग पनि लाग्यो !
एकदिन मेरो घर केन्द्रीय कारागार पनि भयो । मैले फोन गर्ने व्यक्तिलाई बिस्तारै सम्झाएँ- “भाइ, हेर्नुस् । यो जेल त पक्कै हो । तर केन्द्रीय बनिसकेको छैन । यहाँ त बस्, म मात्र एउटा कैदी छु । बाँकी सबै स्वतन्त्र छन् ।”
एकदिन एकजना भद्रपुरुषले फोन गरेर मलाई सोधे- “के तपाईं प्रधानमन्त्रीको निवासस्थानबाट बोल्दै हुनुहुन्छ ?”
भद्रपुरुषले गरेको यो प्रश्न मलाई ज्यादै राम्रो लाग्यो । आफ्नो घरलाई कसैले प्रधानमन्त्रीको निवासस्थान भनेर सोध्दा कसलाई आनन्द लाग्दैन र ! त्यसैले मैले भनेँ- “तपाईंको आवाज सुनिएन । अलि बेस्सरी बोल्नुस् ।”
उसले बेस्सरी भन्यो- “के तपाईं प्रधानमन्त्रीको निवासस्थानबाट बोल्दै हुनुहुन्छ ?”
मैले हाँस्दै जवाफ दिएँ- “भाइ । तपाईंको मुखमा दूधभात जाओस् । तपाईं बोल्दै जानुस् । पटकपटक बोल्दै जानुस् । हुन सक्छ, आगामी चुनावमा यो घर प्रधानमन्त्रीको निवासस्थानका रुपमा परिणत होस् ।”
अर्को तर्फबाट आवाज आयो- “त्यसो भए के यो प्रधानमन्त्रीको निवासस्थान होइन ?”
मैले फेरि भनेँ- “भाइ । मैले अघि नै भनेँ, अलि धैर्य गर्नुस् । यतिखेर त हैन, तर कुनै पनि बेला यो घर प्रधानमन्त्रीको निवास बन्न सक्छ । हेर्नुस्, विश्वासमा नै यो संसार अडेको छ । तपाईंलाई धन्यवाद छ- तपाईंले मेरो यो सानो घरलाई प्रधानमन्त्रीको निवासस्थान भनेर मेरो इज्जत बढाइदिनुभएको छ । मान्नुस्, आउँदो चुनावमा म उठेँ भने र तपाईजस्ता मेरा शुभचिन्तकहरूले मलाई भोट दिनुभएको खण्डमा हामी दुवैको यो इच्छा पूरा हुन सक्छ । त्यै पनि भन्दिऊँ- अहिले तपाईंले गर्नु भएको फोन नम्बर गलत पर्यो । वास्तवमा तपाईंले फोन गर्न अलि हतार गर्नुभयो ।”
तर उताबाट आवाज आयो- “अरे मित्र, मार्नुस् गोली रङ नम्बरलाई ! यदि साँच्चिकै प्रधानमन्त्रीको निवासस्थानमा फोन परेको भए के नै हुन्थ्यो र ! तपाईंले त दुई मीठा शब्दहरू बोलिदिनुभयो । यही नै मेरो लागि पर्याप्त भएको छ । वास्तवमा सही नम्बर र गलत नम्बर सब बेकार हुन् । जुन फोन नम्बरमा श्रवण गर्नका लागि मायालु, मीठो बोली र मीठो सपना पाइन्छ- मेरा लागि त्यही नै सही नम्बर हो । तपाईंलाई धेरैधेरै बधाई तथा धन्यवाद् श्रीमान रङ नम्बर ! ओह्, माफ गर्नुस् ‘राइट नम्बर’ ।”
०००
‘सिन्दबादके सफरनामा’बाट अनुदित
Subscribe
Login
0 Comments
Oldest







































