साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिलिटेरीको एटेन्सन : मेरो टेन्सन

यो टेन्सनमै जीवन बितिरहेछ जसरी मिलिटेरीको जीवन एटेन्सनमै बित्ने गर्छ । अहिले मलाई यो टेन्सनले मिलिटेरीजस्तै एटेन्सन बनाएको छ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

Nagita Lepcha Rai

प्रथमतः मिलिटेरी (military) भन्नाले आर्मी, सैनिक, सिपाही, लाहुरे भन्ने बुझिन्छ । तर मलाई चाहिँ मिल्ट्री भन्नु नै मज्जा लाग्छ । मिल्ट्री एटेन्सन गर्नमा उस्ताद हुन्छन् । आर्मीमा उनले त्यस्तै प्रकारले तालिम पाएका । आफूभन्दा ठूला अफिसर सामु पुग्यो कि ठ्याक्कै बुट पड्काएर बिजुलीको खम्बाजस्तो ठिङ्ग उभिनू । एनि टाइम एटेन्सन बट नो टेन्सन ।

छाउनीमा एटेन्सन हुँदा हुँदा एटेन्सनको एडिक्टले भेटेका मिलिटेरीकी श्रीमतीसित राति बेडमा एटेन्सन भएरै हल न चल भएर भूस निदाएका कुरा मिलिटेरीनी साथीलाई सुनाएर मरिञ्जले हँसाएकी क । मिलिटेरी साथीको कुरा सुनेर गाउँकी कफतौरी दिदी भन्छन्, तेरा खसमलाई यसरी एटेनसनमा निदाएका बेला सिपाही… कदम ताल भन्दिनू नि ।

अर्की भन्छिन्, कहाँ हौ त्यस्तो भूस निदाएका मान्छेलाई कदमताल भन्नू हौ । यसो पो भन्नुपर्छ… सिपाही… आँखा खोल्… हमको देख् भनेर कराउनू । यस्तो बेलामा किसिम कुरा सुन्नु कम्ति मज्जा आउँदैन । कोही साथी किडिङ् गर्दै भन्छे, हैन तेरा मिलिटेरी बूढा खाँदा पनि एटेन्सन पोजिशनमै खान्छन् कि क्या हो !

कोही सोध्छे, अच्छा भन् न, तेरो मगनी बिहे कि भगनी बिहे । अर्थात् लभ म्यारिज कि एरेञ्ज म्यारेज ।
मिलिटेरी साथी विचरा एकदमै सिधा । सोधेका कुरा विचरा सबै भन्छे – लभ नि हौ ।

अर्को प्रश्न – अन्त डेटिङमा जाँदा अथवा पार्कतिर जाँदा तेरो मिलिटेरी हबी एटेन्सन पोजिशनमै बात मारेर काम तमाम पार्थ्यो होला हगि एई ।
मिलिटेरी खसम एटेन्सनमा बस्ने भएकाले कतिपय मिलिटेरीनीहरू पोइल गएका पनि सुनेकी छु । एटेन्सनको भाइरसले भेटेका यी मिलिटेरी (military) मान्छे फोटो खिँच्दा पनि एटेन्सन पोजिशनमै फोटो खिँचेका याद गर्नु भएको छ कि छैन कुनि ।

गाउँको एउटा बिहेमा गाउँकै हस्ते दाजु पनि छुट्टीबाट भर्खर आएका थिए । यति भयङ्कर नाच्ने नाचेर सबैलाई सिरियस पार्ने नि । उक्ता बिहेमा उनी पनि आएका थिए । सबै हस्ते दाजुको नाच हेर्न तम्सिरहेका थिए । हामी केटीहरू त झन् प्रतिक्षामा । सबैले हस्ते दाजुलाई नाच्नू न हस्ते मामा, नाच्नू न हस्ते बड़ा, नाच्नू न सोल्टी त्यस्ता कति अनुरोध आइरहेको थियो । हस्ते दाजु पनि मान्छे एक नम्बर फुर्के नि । भाउ खोजिरहेका थिए । जबरजस्ती तानेर नाच्न ल्याए गाउँकी तरुणी केटीहरूले । आहा…तरुणीहरूको हात उनको जीउमा पर्दा हस्ते दाजुको रोमान्टिक बोडी हेर्नु लायकको देखियो । एउटा नाच्न खालको गीत बजाए केटीहरूले नै । गीत सुनेर हामीलाई त नाँचु नाँचु लाग्ने झन् हस्ते दाजुलाई के भयो होला । सबै थपडी बजाउन थाले । तरुणीहरू झुत्तातिर हेर्दै उनी नाच्न के एक दुइ स्टेप चलाउनु आँटेक ता थिए यतिबेलै गाउँकै कमल मामा आइपुगे । कमल मामा हस्ते दाजुकै पल्टनका । हस्ते दाजुका पल्टनमा उनी मेजर पदमा । मेजर कमल मामालाई देखेर हस्ते दाजुको नाचको स्टेमा परिवर्तन देखा पऱ्यो । उनी अफिसर सामु एटेन्सन पोजिशनमा नाच्न थाले । हस्ते दाजुको नाचमा पहिले जस्तो मज्जा आएऩ । तर पनि उनी एटेन्सन पोजिशनमा नै नाचिरहेका थिए ।

एकक्षण पछि मेजर कमल मामा नाच्न थाले । वाउ… उनको नाच खै के भन्नु ओ माई गड खुट्टाभरि रोटे कमिला चढेर टोक्दा उफ्रेको जस्तो मेजर कमल मामा उफ्रेका । मानौ उनको खुट्टामा रोटे कमिला चढेर चिलिरहेछ ।

यो मिलिटेरी शब्द ल्याटिन शब्द मिलिटेरि (ल्याटिनमा सोल्जर) बाट आएको हो । यस्को व्युत्पत्ति यस्तो देखिन्छ, मिल-इट- । ल्याटिन शब्दबाट आएको यो मिलिटेरी (military) शब्दको अर्थ सेना, सैनिक वा फौजी हुन्छ । तर यो मिलिटेरी शब्दबाट सिपाही, सेना, फोजीको जीवन हेर्दा मिलेर टेर्नु भन्नु हुन्छ । हो पनि युद्धभूमिमा सेनाहरू एक भइ मिलेर कमाण्डरको एक-एकेकवटा हुकूम टेर्नछन् । युद्धभूमिमा सबै सैनिक मिलेर टेरेका हुनाले नै मिलिटेरी (military) भएको हो भन्ने गाउँका उल्लाह मामाहरू भन्छन् ।

हुन पनि यी सैनिक भन्ने मान्छे, जैले पनि एटेन्सनमा तैनात सैनिकहरू मिलेर नै टेर्ने गर्छन् । एउटा उदाहरण राख्न चाहन्छु, सेनापति नेपोलियन बोनापार्टसित अर्को प्लाटुकमा सेनापतिसित एउटा च्यालेञ्ज भएछ । कसको सिपाहीले सेनापतिको कुरा कतिको टेर्छन् । शुरु भयो कम्पिटिशन ।

एकजना सेनापतिले आफ्ना सेनाहरूलाई तेज् चल् भन्ने । अनि जबसम्म सेनापतिले पिछे मोड भन्दैनन् तबसम्म पछाडि फर्किनु नपाउने । डन । पहिले नेपोलियनका विपक्षी सेनापतिले आफ्नो सेनालाई हुकूम गरे, क्विक मार्च् । शुरु भयो लेफ राइट । निकै पर माथि डिल । त्यहाँबाट खसे भने तल थुप्रिएका चट्टानमा टाउको बजारेर ठहरे मर्ने ठाउँ । ती विपक्षी सेनाहरू डिलमा पुगेपछि भीडबाट खस्छ भन्ने डरले सेनापतिको पिछे मूड शब्द नसुनी फर्के ।

अब पालो आयो नेपालियनका सेनाहरूको । नेपोलियनले मुटु फुट्ने गरेर हुकूम गरे, तेज् चल…क्विक मार्च । शुरु भयो मार्च पाष्ट । उनीहरू डिलमा पुगे । सेनापति नेपालियनको कुनै हुकूम छैन । ती सिपीहरू सेनापतिको पिछे मूड़को आदेश नआएकोले डिल बाट झरे । यसैकारण पनि मिलिटेरीलाई मिलेर टेर्नु भनिएको हुन सक्छ ।

अब रह्यो कुरा, मिलिटेरीको एटेन्सन मेरो टेन्सन । एटेन्सनमा रहने मिलिटेरी अर्कोतिर टेन्स मेरो । मिलिटेरीको एटेन्सन मेरो टेन्सन बारेमा पटक्कै टेन्सन नलिनुहोला । मेरो विन्ति । टेन्सनलाई मैले मेरो भूतपूर्व प्रेमिका ठानेकी छु । जसरी उनको यादले सताउँछन् टाइम टाइममा मेरो टेन्सन प्रति मेरो यति साह्रो लभ छ त्यो बिना म बस्नै सक्दिनँ । यो मेरो टेन्सनलाई भुलुँ बिर्सुँ भन्छु एकदिन दुइ मसित रिसिएर कता जान्छ जान्छ फेरि त टुप्लुक्कै आइहाल्छ यो टेन्सन । जसरी मिलिटेरीलाई एटेन्सनले छोड्दैन यो मेरो टेन्सनले मलाई पटक्कै छाड्दैन । यसैकारण मिलिटेरीको एटेन्सन र मेरो टेन्सनलाई मित लाउँदिउँ कि भन्दैछु ।

कुनि कता हराएको टेन्सन नयाँ नयाँ टेन्सन गिफ्ट लिएर मेरो गिदीभरि पिङ् खेल्न थाल्छ । स्कूल पढ्दा रिजल्टको दिन पास हुने कि फेल हुने टेन्सन, कलेज पढ्दा ब्वाइ फ्रेण्डसित भेटेर कहीँ एकान्तमा गफ गर्दा गाउँका कसैले देखि पो हाल्छन् कि भन्ने टेन्सन । कुनै कार्यक्रमतिर पुरानो एक्स ब्वाइ फ्रेण्डलाई देख्दा उसले श्रीमानको छेउमै आएर बोलाइ पो दिन्छन् कि भन्ने टेन्सन ।

घरमा चामलको भाँडाे रित्तिँदै जाँदा, निकै दिनसम्म चलिरहेको ग्यास रातविरातमा सकि पो हाल्छ कि भन्ने टेन्सनले कहिल्यै छोड्दैन मलाई । यो टेन्सनमै जीवन बितिरहेछ जसरी मिलिटेरीको जीवन एटेन्सनमै बित्ने गर्छ । अहिले मलाई यो टेन्सनले मिलिटेरीजस्तै एटेन्सन बनाएको छ । टेन्सनको सामना गर्न म बिहान बेलुकी एटेन्सनमा छु ।

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x