सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुन्ने समय

आजकाल त जसका मुखमा पनि समाजवाद छ, सुन्ने कुरा पनि समाजवादै छ, भन्ने हो भने सुन्ने समयमा सुन्ने पनि समाजवादै हो । सुन्ने समयलाई अर्को भाषामा फुर्सदको क्षण भन्न पनि सकिन्छ ।

Nepal Telecom ad

ज्याे. रत्ननिधि रेग्मी :

नेपाली शब्दकोशअनुसार सुन्ने शब्दको अर्थ विशेषणमा सुन्ने काम तथा नाममा सुन्ना, संस्कृतमा शून्य हो । सुन्नालाई जिरो पनि भनिन्छ । सुन्ने समयलाई जिरो आवर् पनि भन्ने गरिन्छ । तसर्थ जिरो समयमा जिरो कुरा गर्न सकिन्छ, जिरो समयमा गरिएका कुरा वा काम जिरो मूल्यका पनि बन्न सक्छन् । सुन्नालाई चलनचल्तीको भाषामा आलु पनि भन्छन् । शब्दकोशले पनि जिरोका अर्थमध्ये गोलो घेरा पनि एक मानेको छ । शैक्षिक क्षेत्रमा गोलो घेरालाई आलु पनि भन्छन् । यो आलु दिने काम गुरुबा वा गरुआमाले गर्छन् र लिने काम छात्र वा छात्राले गर्छन् । आलु अर्थात् जिरो खाएपछि कतिपय विद्यार्थीले कहिलेकाहीँ सिलटिम्बुर पनि खान्छन् । जसले खाँदैन त्यसले पछि गएर देश हाँक्न थाल्छ । तसर्थ जिरो शब्दको नेपालीमा महिमामय महत्व छ ।

जिरो अर्थात् आलुलाई कसैले नराम्रो अर्थमा हेरे पनि खाइने वस्तुमा यो सर्वप्रिय छ । आलु भनेपछि को खाँदैन ? कसले मन पराउँदैन ? कतिपयले उसिनेको भेटे भने बोक्रा ताछ्नसमेत भ्याउँदैनन् । तात्तातो आलु खुर्सानीसहितको नुनमा चोपलेर खाँदा यति स्वादिलो हुन्छ कि, खाने मान्छेले स्वर्गैमा पुगेको अनुभव गर्न थाल्छ । यसो अलि सेलाएर खाउँभन्दा जिब्रोले पिसाब फेरेर उत्पात मच्चाउँछ । अझ भन्सार संसारमा पर्‍यो भने राम्ररी पकाउनै पर्दैन । खपाखप सिङ्गै गेडा उदरतिर जान थाल्छ । तसर्थ जिरो भनौँ वा आलु यति प्रिय छ कि, बरु मान्छेले श्रीमती छाड्ला, घरबार छाड्ला, तर उसिनेको आलु पायो भने छाड्दै छाड्दैन । आलु मात्र होइन, आलुका छोक्रा, बोक्रासमेत छाड्दैन । तसर्थ शून्य याने आलु (जिरो) को महिमा वा सुन्ने समयबारे लेख्न मलाई पनि उत्प्रेरित गर्‍यो र लेख्न बसेँ ।

यो जिरो यस्तो शब्द हो अगाडि वा पछाडि लाग्दा पनि बढ्छ । जस्तो जिरोको अगाडि पा थपिदिनोस् त पाजिरो तर अगाडि जिरो थप्नोस् त जिरोपा हुन्छ । जिरोको अगाडि थपिँदा चढ्ने गाडी बन्छ, पछाडि थप्दा अर्थ न बर्थको शब्द बन्छ । आजकाल अग्रगामी पनि भन्छन् क्यारे । अहिलेको भाषामा त्यसलाई छलाङ भन्ने गरिएको छ । छलाङ् मार्न पनि पाजिरो चढ्नै पर्छ । कसैले पाजिरो देखेकै छैन भने त्यो कसरी दौडिन्छ ? आजको भौतिकवादी युगमा पाजिरोको महिमा ठूलो छ । अझ कतिपयको भाषामा दुइटा पाजिरो गुडिरहेको वेला जुधे भने त्यो द्वन्द्वात्मक भौतिकवाद हुन्छ । द्वन्द्व शब्दको अर्थ नै टकराव हो, टकराव कुनै एउटा पक्षबाट मात्र हुँदैन ।

फेरि भन्नु होला, कुस्ती खेल्नु वा भीरतिर ठेल्नु पनि टकराव हो ? होइन टकराव भनेको दुई पक्षबीचमा जुध्दा आउने आवाज हो । जस्तो गाडी जुध्दा आवाज आउँछ । उसो भए भाले पोथी जुध्दा पनि आवाज त आउँछ, के त्यो पनि द्वन्द्वात्मक भौतिकवाद हो ? भन्ने प्रश्न उठ्न सक्छ । एक हिसाबले हो पनि, किन कि भाले पोथी घर्षणबाट अर्को चल्ला उत्पादन जो हुन्छ सो त्यो पनि द्वन्द्वात्मक भौतिकवाद नै हो । चल्ला निस्केन भने द्वन्द्वात्मक होइन । द्वन्द्वात्मक भौतिकवादले त पदार्थको घर्षणलाई भनेको हो । भाले पोथीको घर्षणलाई नभने पनि यस्तो घर्षणमा पदार्थको प्रयोग हुने हुनाले यो पनि द्वन्द्वात्मक भौतिकवादकै नमुना हो भन्ने मलाई लाग्छ ।

भौतिकवादविना भौतिक उन्नति असम्भव छ, भौतिक उन्नतिविना देश विकास पनि सम्भव छैन । त्यसैले जिरो वा आलुको अधिक महत्व भएको हो । अहिले त आलुको महिमा यति व्यापक छ कि पढाइ लेखाइमा आलु खाए पनि दलको झन्डासहित डन्डा बोकेर हिँडेपछि सिधै अड्डाको हाकिम । मन्त्री, सांसद्समेत बन्न सकिनेछ । पिएको वेला भए मन्त्रीकै पिए बन्न सकिन्छ । तसर्थ विद्यार्थीले पढाइमा जति बढी आलु अर्थात् शून्य ल्याउँछन्, त्यसको त्यति नै महत्व हुन्छ । अहिलेको युग नै जिरो अर्थात् आलुको हो भन्ने मेरो पनि ठम्याइ छ ।

आलु अर्थात् जिरोको यही महŒवले गर्दा हाम्रो देशको संसद्ले पनि संसद्मा शून्य समय अर्थात् जिरो आवर्को व्यवस्था गरेको छ । बोलचालको भाषामा शून्य समयलाई सुन्ने समय पनि भन्छन् । यो समयमा सभामुख वा सम्बन्धित मन्त्रीले सांसद्हरूले भनेजति कुरा सबै सुन्छन् । कसैले उङेर सुन्छन्, कसैले सुङेर सुन्छन्, कोही मस्त निदाएर सुन्छन्, कोही गाडी कुदाएर सुन्छन् । कसैले हाई काढेर त कसैले र्‍याल सिँगान बगाएर पनि सुन्ने समयको उपयोग गर्छन् । अब त्यो गजेटजस्तो लाग्ने बजेट अपरिवर्तनीय भए पनि त्यसमा पनि सुन्ने समय राखिएको छ । विना अर्थका अर्थमन्त्रीले भाषण गरेपछि सुन्ने समयको प्रबन्ध गरिन्छ । सके मन्त्रीले, नसके सभामुखले ध्यानपूर्वक सुन्छन् । अरू वेला मन्त्री र सांसद्को र्‍याङ्ठ्याङ् नमिले पनि सुन्ने समयमा कुरा सुन्दिन्छन्, यो कम ठूलो उपलब्धि होइन । यस्ता उपलब्धि हाम्रो संसद्ले यति गर्‍यो कि न त्यो भनिसाध्य छ, न गनिसाध्य छ ।

ल हेर्नोस् त त्यत्रो धनी देश चाइनाको राष्ट्रपतिले मासिक तलब ३५ हजार मात्र पाउँछन्, हाम्रा मन्त्रीले लाख र राष्ट्रपतिले भत्ता र सुविधाबाहेक १ लाख ३० हजार पाउँछन् । अझ त्यो घुस र कमिसनको त हिसाब जोडेकै छैन । फेरि हाम्रो संसद्ले देशमा सम्वृद्धि ल्याउन कम्मर कसेको कस्यै छ । माथि कम्मर कस्दा तल कन्धनी चुँडिएर लगौँटी खुस्किँदासम्म पनि कम्मर कसेका कस्यै छन् । बाहिरबाट कस्दा देखिएला भनेर भित्रपट्टि कम्मर कस्छन् हाम्रा नेता, मन्त्री र सांसद्हरू । हाम्रो गाउँघरतिर पटुकाले कम्मर कसेपछि खुर्पेटो, खुकुरी वा हँसिया भिरेर मेलापात जान्छन्, ठीक यसरी नै हाम्रा सांसद् वा मन्त्रीहरू कम्मर कसेपछि पेस्तोल, छुरी र कसै कसैले रड पनि घुसार्छन् ।

देशमा सम्वृद्धि ल्याउन यसरी अहोरात्र खटिरहेका छन् हाम्रा माननीयहरू । पहिले पहिलेजस्तो सडक आन्दोलन गर्दा झोलामा ढुङ्गा, इँटा हालेर हिँड्नुपर्ने अवस्था अहिले छैन, यसमा पनि हाम्रा नेताजीहरूले छलाङ् मारिसकेका छन् । देश गरिब भए पनि, जनता भोकै मरे पनि सांसद्, मन्त्रीहरूको बन्दोबस्तीमा कमी नआओस् भनेर हाम्रो संसद्ले राम्रो व्यवस्था गरेको छ । यसो भत्तासत्ता पचाउनै भए पनि सुन्ने समयको व्यवस्था गरेको छ । कार्यान्वयन नै नहुने कुराको व्यवस्था गरेको हुँदा यसलाई जिरो आवर् भनिएको हुन सक्छ । भनेका कुरा सुन्ने र जुरुक्क उठेर हिँड्ने भएकाले यसलाई जिरो आवर् भनिएको होला भन्ने मेरो अनुमान छ । जे भए पनि जिरो आवर्को मान्यता जिरोभन्दा कम छैन । जिरो भनेको मसलाचाहिँ होइन, सुन्ना हो, सुन्नालाई नेपालीमा आलु भन्छन्, आलु हाम्रो देशको सरकारी पक्षले मानेको मुख्य तरकारी हो ।

अब जिरो र आलु कसरी एउटै हुन सक्छ भनेर प्रश्न गर्नसक्नु हुन्छ, शब्दमा भिन्न भिन्न देखिए पनि गुणमा उस्तै उस्तै छन् । जसरी देशमा आलु राष्ट्रिय तरकारी छ, अहिले यति महँगो छ कि, आलु खाएको भन्यो कि भीआइपी भइन्छ, त्यसरी नै सांसद् र मन्त्री भन्नेबित्तिकै देशको सर्वोच्च व्यक्ति भन्ने बुझिन्छ । कानुनभन्दा माथि कोही छ भने उनीहरू नै छन् । हाम्रो देशमा ईश्वरलाई पनि कानुन लाग्छ । तर सांसद्लाई लाग्दैन, मन्त्रीलाई लाग्दैन । लाग्यो कि त्यो रहँदा पनि रहँदैन । संविधान पनि उनीहरूका लागि आलुबराबर हो ।

आलु बोक्रा ताछेर खाए पनि हुन्छ, नताछी बुत्याए पनि हुन्छ । हो माननीयहरूका लागि कानुन त्यस्तै कुरा हो । इँटाभट्टामा मान्छे पोले पनि, कसैलाई सेरेर मारे पनि, कसैलाई खेदी खेदी मारे पनि, कसैलाई गोदी गोदी मारे पनि खतबात लाग्दैन । जस्तै कसैले आलु चोरिहाले पनि उसलाई चोरको दोष लाग्दैन, जाबो आलु भनिन्छ, हो, त्यस्तै माननीयभन्दा माथि रहेका कसैलाई पनि कानुन लाग्दैन, लौ लागिहालेछ भने पनि राष्ट्रपिताले छेकिदिने चलन छ । अब चाइञ्जो राष्ट्रपिता भनेपछि उनीहरूका पनि पिता हुन्, पिताले पुत्रलाई कानुन नलाउने हाम्रो राष्ट्रिय संस्कार वा पद्धति पनि हो । कसैले आफ्ना छोराछोरी थुनाएको तपाईंलाई थाहा छ ? अहँ छैन । फेरि ती मार्ने, कुट्ने, काट्ने नेपाली नै हुन्, उनीहरूले पनि देश विकासमा महत्वपूर्ण योगदान दिएका छन् । खसी काटिरहेको बगरेले पनि छ्याप्लाक्कै मान्छे ढाल्न सक्तैन गाँठे, त्यस्तो शूरवीर र साहसी मान्छेलाई कानुन लाउन पनि त भएन नि, हाम्रा राष्ट्रपिताले यस्तोमा जोशका साथ होस् पुर्‍याउने गरेका छन् ।

अब त्यो सुन्ने समयमा माननीयहरूको महत्वपूर्ण काम भनेको छेउछाउमा बसेका भए यसो संवेदनशील अङ्गतिर हात लैजानु, कोट्ट्याउनु, दूरी छोट्ट्याउनु पनि हो । गणतन्त्र आउँदाआउँदै त माननीयहरू बोका नै थिए, पछि दलहरूले खुइल्याएर खसी भए । खसी भएपछि सबै बसीबसी गर्ने बानी बस्यो । अहिले त सुन्ने समयमा रिसोर्टतिर धाइरहनु नपर्ने भएको छ, बसी बसी नै सबै कामकला फत्ते हुने प्रबन्ध गरिएको छ । सुन्ने समयको व्यवस्था भएपछि अरू वेला नाकमुखै नदेखिने माननीयको पनि नाक मुख देखिन्छ, रोस्टममा उभिएर बोल्दा भित्री कट्टुको बिजोग हुने गरेको पनि चर्चा चल्ने गर्छ । देश सम्वृद्ध गर्ने अभियानमा लाग्दा कट्टु त के सुरवाल नै फुस्किए पनि पर्वाह गर्न हुँदैन भन्ने माननीयहरूलाई राम्रो थाहा छ । यस्तो अवस्था नआओस् भनेर महिला माननीयले चाहिँ प्याड झोलामा हालेर बोक्छन् रे ! पहिले पहिलेजस्तो आजकाल लगौँटी लाउने चलन छैन । सायद यसले विकासको छलाङ् मार्न बाधा दिएकाले होला, लाउनै छाडिदिए । हुन सक्छ, विकासमा बाधा नआओस् भनेर भित्री कट्टु पनि लाउन छाडे कि जस्तो पनि लाग्छ । अब यो भित्रको कुरा बाहिरकालाई थाहा हुने कुरो पनि भएन ।

त्यसो हुँदा भित्रका कुरा भित्रै छाडिदिएँ मैले । बाहिरचाहिँ दिनभरि सभाको काम सकेर साँझतिर भूतपूर्व प्रेमिकाको घरतिर पस्ने पनि चलन छ । प्रेमिकाको पोइ भनाउँदो जिल्लातिर गएको छ भने सभामुख प्रेमिकाकै घरतिर बस्ने पनि प्रचलन छ । अँ, भन्नु होला, प्रेम पनि भूतपूर्व हुन्छ र ? अभूतपूर्व हुने बाहेकका सबै कुरा भूतपूर्व हुन् । ल हेर्नोस् त, भूतपूर्व प्रधानमन्त्री, भूतपूर्व माननीय वा सभामुख, अब पूर्व भनेको पहिले र भूत भनेको ठ्याक्कै तर्साउने हो । पहिलेका तर्साउने अहिलेका मन्त्री हुन् भन्ने भूतपूर्वको अर्थ हो । प्रज्ञामा हेर्नोस्, परज्ञा भनेजस्तो छ, सञ्चारभन्दा भन्सारजस्तो सुनिन्छ, स्वास्थ्य मन्त्रालय भन्दा स्वास्नी मन्त्रालयजस्तो बुझिन्छ, सांसद् भन्यो भने खाम्सद् र मन्त्री भन्यो भने हन्त्री भनेजस्तो लाग्छ ।

आजकाल त सञ्जालमा हेर्नु भो भने खतरालाई खत्रा लेखिएको भेटिन्छ, नलेखे पनि युनिकोडले बनाइदिन्छ । महले त माननीयलाई ताननीय नै बनाइदिएका छन् । गाउँले भाषामा मान्नेज्यू पनि भनिन्छ । सबैले मान्ने भएकाले मान्ने भनिएको होला । यो मेरो ठम्याइ हो ।

कन्दै र भन्दै जाँदा गन्थन ज्यादा भएछ । तर मैले यो सबै सुन्ने समयको उपयोग गरेको हुँ, मैले नसुन्ने समयको चर्चा गरेकै छैन । सबै सुन्ने र सुनेर छाडिदिने कुरा हुन् । गोष्ठीमा गयो कविता सुन्यो हिँड्यो, रेडियोमा मन्त्रीको भाषण आउँछ, सुन्यो छोड्यो । अहिले सबैका मुखबाट समाजवाद सुनिन्छ, पहिले पहिले हर मान्छे जनवादको कुरा गर्थे, सायद जनवाद आएर हो कि भन्नै छाडिदिए ।

आजकाल त जसका मुखमा पनि समाजवाद छ, सुन्ने कुरा पनि समाजवादै छ, भन्ने हो भने सुन्ने समयमा सुन्ने पनि समाजवादै हो । सुन्ने समयलाई अर्को भाषामा फुर्सदको क्षण भन्न पनि सकिन्छ । मैले त्यही फुर्सदको समयलाई गन्थनको रूपमा यति लेख्ने जमर्को गरें, मलाई आशा छ तपाईंहरूले पनि सुन्ने समयको उपयोग गरेर यसलाई सुन्ने कोसिस गर्नु हुनेछ । सुन्नेलाई सू उनको माला भन्नेलाई भाउन्नेको माला, यो लेख सिधै बानेश्वरको संसद् भवनभित्र जाला, सक्नेले खाला, नसक्नेचाहिँ मरेर जाला । यत्रैसित् । जदौ ।

०००
महाकवि आश्रम, हाल बेघर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी