नगिता लेप्चा राईनिहुरिनु
निहुराउनु खोज्नेले सधैं नै निहुराउनु खोजिरहेका हुन्छन्। कसैलाई निहाराउनु उनीहरू मज्जा मान्छन्। तर बिना कारण निहुराउनु खोज्नेलाई नै निहुरिनु लाउनुहोस्। अनि हेरोस् निहुरिनुको खास अर्थ के रहेछ।

नगिता लेप्चा राई :
निहुरिनु पनि एउटा अपूर्व कला हो। जो कोई सजिलैसित निहुरिनु सक्दैन। तर निहुरिनेहरू लाज शरम सबै त्यागेर निहुरिन्छन् अऩि आफ्नो दुनो सोझ्याउँछन्। निहुरिनु मात्र होइन तर नाना चलाकी गरी निहुराउनेहरू पनि कम्ति छैन।
ठूला बड़ा सामु निहुरिनु शिष्टाचार र संस्कारको साक्षात् प्रदर्शन हो। तर वैरी, शत्रु, विरोधीहरू सामु निहुरिनु भनेको चाहिँ साह्रै लाजमर्दो हो।
निहुरिनुको महिमा बेग्ला बेग्लै छ। मन्दिर, गुरुजन, सम्माननीय व्यक्ति अघि निहुरिनु उत्तम हो। तर जोसित पायो उसैको अघि निहुरिनु जस्तो लाजमर्दो अरु केही होइन हुँदैन।
मन्दिरमा निहुरिन्छन् सबै भक्तजनहरू। भगवानबाट केही पाइने आशामा निहुरिन्छौं हामी सबै। तर हिजोआज यो निहुरिने कलाले अर्कै मोड़ लिएको देखिन्छ। नेता, मन्त्रीगण अघि निहुरिनेहरू हिजोआज बजारभरि देखिन थालेका छन्। निहुरिनु मात्रै कति त नेता मन्त्रीगणको चरण नै चाटुँला जस्तो गरी निहुरिन्छन्। अनि कसैको निहुराइमा पल्केका मन्त्री वा नेतागण पनि सबैलाई निहुराउन चाहन्छन्। तर मेरो विचारमा जोसुकै अघि, जता पायो उतै निहुरिनु कदापि राम्रो होइन। म त भन्छु कसैअघि निहुरिँदै ननिहुरिनु, निहुरेपछि केही टिपेर उठ्नु। तर निहुरिने बानी लागेकाहरूलाई एकपल्ट ननिहुरि खाएको पच्दैन।
फेरि पनि के भन्न मन लागेको छ भने, ईश्वर सामु निहुरिनु अत्यन्तै असल हो। तर हिजोआज कुनै विशाल मन्दिरतिर ईश्वर दर्शन गर्न जाँदा मन्दिर प्राङ्गणभरि भक्तजनको लम्बेतान लाइन लागेको हुन्छ। तर गतिलो रकम दिन सके शर्टकट बाटोबाट सजिलैसित ईश्वर दर्शन गर्न सकिन्छ। पैसा दिएर वा लिएर ईश्वर दर्शन गराउने यो परम्परा नै एकप्रकारले दुवै पक्ष निहुरिनु हो।
प्राचीनकालमा विद्यार्थीहरू गुरु अघि निहुरिन्थे। यो निहुरिनु नै गुरुलाई सम्मान दिनु हो। अचेलका विद्यार्थीहरू गुरु अघि निहुरिनुपर्छ भनेर आफ्नो बाटो फेर्ने गर्छन्। नेताहरू हतपत्त निहुरिने खालका व्यक्ति होइनन्। तर चुनावको समयमा भने यी नेताहरू जनता अघि निहुरिन्छन्। काम पर्दा मात्र निहुरिनेहरूलाई दूधबाट झिङा निकालेर फ्याँके जस्तै गर्नुपर्ने हो। तर यो कुरा कतिले पो पालन गर्लान् र।
निहुरिनु साँच्चै कतिको निम्ति सञ्जीवनी बुटी बराबर हो। कति निहुरेर नै उच्च पद हासिल गर्छन्। निहुरिनु खुसामदी रगतको सुन्दर असर हो। तर हाम्रा वीर जवानहरू कसैसित वा कसै सामु निहुरिँदैनन्। उनीहरूलाई सलाम छ।
साँच्चै बिना काममा ननिहुरिनू। नदीलाई ढोगेर निहुरिनुहोस्। मन्दिरमा ईश्वरको मूर्तिलाई फूलमाला चढ़ाउँदै निहुरिनुहोस्। तर निहुरिनु पऱ्यो भन्दैमा जताजतै ननिहुरिनुहोस्। निहुरिने ठाउँमा निहुरिनुहोस्। फायदा हुने ठाउँमा निहुरिनुहोस् तर बिना काममा, फायदा नहुने ठाउँमा कदाचित ननिहुरिनुहोस्। इज्जत शान र मानका साथमा निहुरिनुहोस्। तर आफ्नो इज्जत मान र शानको घात हुने गरि ननिहुरिनुहोस्। झण्डीवाल सामु ननिहुरिनुहोस्…. झण्डी फेरेर फेरि उही झण्डी मुनि उभिएर ननिहुरिनुहोस्। पराजित अनुहार लिएर ननिहुरिनुहोस्। निहुरिनु नै परे विजय अनुहार लिएर निहुरिनुहोस्।
निहुरिनुमा एउटा बेग्लै मज्जा छ। तर त्यो मज्जा हुतिहारा भएर खिसीको दलदलमा नपरोस्। बम बन्दुकको आड़मा ननिहुरिनुहोस्। आफ्नै बल बुता र कलाको शान देखाएर निहुरिनुहोस्।
निहुराउनु खोज्नेले सधैं नै निहुराउनु खोजिरहेका हुन्छन्। कसैलाई निहाराउनु उनीहरू मज्जा मान्छन्। तर बिना कारण निहुराउनु खोज्नेलाई नै निहुरिनु लाउनुहोस्। अनि हेरोस् निहुरिनुको खास अर्थ के रहेछ। सोनालाई थिच् होँचोलाई गाड़ भने जस्तो निमुखा, असहायहरूलाई निहुराउन खोज्ने कम्ति छैनन्। यसकारण बिना कारण अर्थ बेगर कहिल्यै कसैअघि पटक्कै ननिहुरिनुहोस्।
000
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































