साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर्कपुराण

वास्तवमा एकैजनाले धेरै विषयमा हात हाल्यो भने त्यो मानिस अर्धज्ञानी हुन्छ त्यसैले तपाईं पनि ज्ञानी तर्कशास्त्री बन्ने हो भने तर्क गर्नुहोस् । तर्क के विषयमा गर्ने तपाईं चिन्ता नगर्नुहोस् । यहाँ तर्कका लागि कुनै विषय चाहिन्छ भन्ने छैन किन कि यो तर्कसाम्राज्य हो ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

हामीले नाट्यसम्राट भनेर बालकृष्ण समको नाम पढेका छौँ, त्यसैगरी स्वरसम्राट भनेर नारायणगोपाललाई पनि चिनेका छौँ । हाम्रो भाग्यले होला आख्यान सम्राट, हास्यसम्राट, गीतसम्राट, मीतसम्राट जस्ता सिजनल सम्राटहरूको नाम पनि कहिलेकाहीँ सुनेका छौँ, तर हाम्रो दुर्भाग्य, हामीले हाम्रै वरिपरिका पिर्कसम्राट, बिर्कसम्राट, रून्चेसम्राट, गालीसम्राट, तालीसम्राट, हालीमुहालीसम्राट, फर्कसम्राट र तर्कसम्राटहरूलाई चिनेका छैनौँ । नचिनेकै कारण औपचारिक रुपमा तिनीहरूको सम्मान गर्न पनि पाएका छैनौँ । त्यतिमात्र कहाँ हो र, यी सम्राटहरूको चिनारी नपाउँदा एकातिर जनताको सुसूचित हुने अधिकार को हनन भएको छ भने अर्कोतिर उनीहरूले त्यत्रो अथक परिश्रमका बाबजुद प्राप्त गरेको उपाधिको गाथा जनताको जिब्रा जिब्रामा नझुण्डिँदा ती सम्राटहरूको अपमान भएको छ । त्यसो त हामी आध्यात्मादी हौँ भने समाजलाई योगदान पुर्‍याएका त्यस्ता साक्षात देवस्मी सम्राटहरूको नाम हाम्रो कानमा नपर्दा हाम्रो कान पवित्र हुनबाट वञ्चित भएको छ । यो पनि त अधिकारको हनन हो नि ।

त्यसो भए अब आजैदेखि आफ्नो अधिकारको उपभोग गरौँ र त्यस्ता देवस्मी सम्राटहरूको गाथा गाउन सुरू गरौँ । पत्रपत्रिकामा कुनै आख्यान प्रकाशित नभए पनि दिमागभित्रै आख्यानको खानी भएको आख्यानसम्राट, अर्कालाई हँसाउन नसके पनि आफू धेरै हाँस्ने हास्यसम्राट, चलचित्रमा गीत लेख्न नसके पनि बाथरूममा गुन्गुनाउने गीतसम्राट र एकजना पनि हितैषी मित्र नभएको मीतसम्राट हुन् । यसो भन्दा तपाईंलाई अचम्म लाग्ला तर अचम्म नमान्नुस्, सिजनल सम्राटहरू यस्तै हुन्छन् ।

यी त अलि अलि सुनिएकै सम्राट हुन् तर अरु यी रून्चेसम्राट, गालीसम्राट, तालीसम्राट, हालीमुहालीसम्राट, फर्कसम्राट र तर्कसम्राट जस्ता कहिल्यै नसुनेका सम्राट’ कहाँबाट आए भन्नुहोला । कुरा के भने यी सम्राटहरू आज मात्र घोषणा भएका हुन् । ल सुन्नुस् जता पुग्दा आफ्नो स्वार्थसिद्ध हुन्छ आफू बसेको पिर्का त्यतै सार्ने पिर्कसम्राट, अरुबेलामा खासै नबोल्ने तर अलिकति खोयाबिर्के लगाएपछि दर्शन छाँट्न सुरू गरिहाल्ने बिर्केसम्राट, सत्ता नपाएर रूने रूञ्चेसम्राट, अरुलाई धेरै गाली गर्ने गालीसम्राट, मञ्चमा आफ्नो नेताले विपक्षी. नेतालाई धेरै गाली गरेको सुनेर आफ्नै हात झम्झमाउने गरी ताली पड्काउने तालीसम्राट, सत्तामा बसेर हालीमुहाली गर्नेहरू हालीमुहालीसम्राट, जो सत्तामा पुग्छ उतैतिर फर्की कम्मरै भाँचिने गरी चाकरीमा जदौ गर्ने फर्कसम्राट र बेतुकका तर्क गरेर आफैं रमाउनेहरू तर्कसम्राट हुन् । त्यसो भए फेरि यतिमात्र सम्राट हुन त भन्नु होला, तर त्यसो भने होइन, यहाँ धेरै सम्राटहरू छन् । यी सबै सम्राटको नाम त हजार जिब्रा भएका शेष नागले त वणर्न गर्न सकेनन् भने म मानवले कसरी गर्न सकुँला र ?

जति सम्राटहरू छन् त्यति नै सम्राट पुराण पनि चाहिन्छ भन्ने मेरो मान्यता छ, तर सबै सम्राटको पुराण लेख्दै जाने हो भने एउटा दुइटा जीन्दगी होइन सयौँ जिन्दगीले पनि पुग्दैन, तैपनि एकबारको जुनीमा एउटा सम्राटको भए पनि पुराण लेखेर व्यास किन नकहलिने त, भन्ने मलाई रहर लाग्यो । आफैँलाई सोधे कुन सम्राटको पुराण लेखौँ । सबै सम्राटका गुणहरू सोच्दै जाँदा सबैभन्दा बढी म तर्कसम्राटबाट प्रभावित भएँ । आहा ! तर्कसम्राट, हृदयदेखि नै फुरुङ्ग भएँ । अनि तुरून्तै निणर्य भइहाल्यो, तर्कसम्राट पुराण लेख्ने । लेख्न सुरू पनि गरिहालेँ ।

श्रीतर्कसम्राटाय नमः बाट सुरू गरेको मेरो तर्क पुराण अगाडि बढ्दैछ । भन्नुहोला तर्कसम्राट कस्तो सम्राट हो । त्यसो भए थाहा पाइहाल्नुस्, यो तर्कसम्राट सम्राटहरूको पनि सम्राट हो । अरु सबै सम्राटहरू तर्कसम्राटलाई महासम्राट पनि मान्छन् । अंग्रेजीमा ‘लजिक’ भन्छन् नि, हो त्यसको ठेक्का नेपालीमा यही तर्कसम्राटले पाएको छ, तर नेपाली तर्कसम्राटलाई तर्क गर्दा के छुट छ भने उसले नेपाली हावा, पानी र माटो सुहाउँदो गरी तर्क गर्न पाउँछ । उसले जनताका दिमाग चाट्न पनि पाउँछ, आँखामा छारो हाल्ने छुट पनि छ, आफ्नो तर्कमा अरु सहमत भएनन् भने सहमत नहुनेहरूको कान निमोठे पनि केही फरक पर्दैन । किन छुट भएको त भन्नुहोला, किनभने यो तर्कसाम्राज्य हो । आफ्नो साम्राज्यमा आफूखुसी गर्न त पाउनु पर्‍यो नि ।

त्यसो त एक्काइसौं शताब्दी तर्कहरूको शताब्दी हो । अब तर्क याने कि लजिक दिनेहरूको जमाना छ । त्यसैले धेरैले यो पेसा अपनाएका छन् । फेरि तर्क गर्न जस्तो सजिलो केही छैन किनभने तर्क कसैले बुझ्नुपर्दैन । यहाँको हावापानी नै यस्तो छ कि तर्क गर्नेहरूलाई एकदमै शक्ति दिन्छ, तर तर्क बुझ्ने शक्ति दिँदैन । अरे नबुझ्ने हावापानी छ त तर्कसम्राटको तर्क कसरी बुझ्दछन् त ? नबुझुन्, केही फरक पर्दैन, दिनभरि सभा, सम्मेलन, बैठकहरूमा तर्क गर्‍यो बेलुका घरको अनि आफ्ना सबै तर्क आफैंले कोटैमा बसेर बुझ्यो । अरुले बुझोस् वा नबुझोस् त्यो त नबुझ्नेको कमजोरी हो, तर्क गर्नेलाई के मतलब !

हुन त तर्कवादीहरूका पनि आ-आफ्नै मत छन् । केही तर्कवादीहरू भन्छन् प्रमाण मुख्य हो तर्क त तथाकथित हो तर्कवादीहरूको यो भनाइमा सहमत हुने हो भने हाम्रा तर्कसम्राटहरूले तर्कशास्त्रको सिद्धान्तलाई अक्षरशः पालना गरेको ठहर्छ किनभने तथाकथित तर्क अरुले बुझेर वा नबुझेर के फरक पर्छ र ? तपाईं भन्नुहोला अरुले नबुझ्ने तर्कहरू बेतर्क हुन्, आफू असहमत भए कुतर्क पनि भन्नुहोला तर म त भन्छु, अरुले नबुझ्ने तर्क गर्नेहरूका तर्क बेतर्क वा कुतर्क होइनन् बरू नबुझ्नेहरू नै बेढङ्गी हुन् । त्यसैले तर्कश्रोतागण हो । तपाईंहरूलाई पनि मेरो एउटा सुझाव छ, सुझाव के भने तपाईंलाई कसैले गरेको तर्क चित्त बुझेन भने वा कसैको तर्क बुझ्नु भएन भने “कस्तो तर्क गरेको ? भनेर आफ्नो बेढङ्गी प्रदर्शन नगर्नु होला, बरू घरमा गएर ऐनामा आफ्नो टाउको हेर्नुहोला ? कतै तपाईंको टाउकोमा तर्क बुझ्न सक्ने दिमाग पो छैन कि ?

हुन त तर्कले विसङ्गतिलाई ठाडो प्रहार गर्नुपर्छ भन्ने तर्कशास्त्रीहरू पनि छन् । त्यसो त तर्क कानले सुन्ने होइन मनले सुन्ने हुनुपर्दछ भन्नेहरू पनि नभएका होइनन् तर यी सबै तर्कमाथि मेरो विमति छ किनभने तर्क गर्नेको काम तर्क गर्ने हो विसङ्गति, विकृति, समाज सुधार, राजनीति जस्ता विषयसँग तर्कको के मतलब । एकले अर्काको काम किन गर्ने ? त्यसो भए तर्कको विषय नि भन्नुहोला, म भन्छु- विषय किन चाहियो ? तर्कशास्त्रले भनेको छ- ‘तर्क विज्ञान होइन, न त यो प्रमाण हो, त्यसैले न विज्ञान हुने न प्रमाण हुने तर्कलाई विषयको पुष्ट्याइँसँग के मतलब ।’

वास्तवमा एकैजनाले धेरै विषयमा हात हाल्यो भने त्यो मानिस अर्धज्ञानी हुन्छ त्यसैले तपाईं पनि ज्ञानी तर्कशास्त्री बन्ने हो भने तर्क गर्नुहोस् । तर्क के विषयमा गर्ने तपाईं चिन्ता नगर्नुहोस् । यहाँ तर्कका लागि कुनै विषय चाहिन्छ भन्ने छैन किन कि यो तर्कसाम्राज्य हो । चाहे कसैले तपाईंका तर्कलाई बेतर्क भनोस् वा कूतर्क केही फरक पर्दैन । तर्क दिइरहनुस्, सडकमा, गल्लीमा, चोकमा, घरमा, किचेनमा, बाथरूममा, बेडरूममा । वा । तपाईं पनि तर्कसम्राट हुनुहुनेछ ।

०००
काठमाडौं
हाइ, हाइ ! नेपाल बन्द (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x