साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीको बुर्कुसी

देशकै शान्तिसुरक्षा, अमनचयन, भोजभतेर किलाकाँटाको जिम्मा लिएका महानायक हातमा टोपी लिएर बुर्कुसी मारेको दृश्यले दर्शकजतिको दृष्टिमा नौलो मोहनी लगाइदिएछ ।

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

स्पेनको बुल फाइट, चितवनको हात्तीपोलो, नुवाकोट तारूकाको गोरूजुधाइ र काठमाण्डूको घोडेजात्राभन्दा पनि तगडा भएछ यसपाला अमुक पार्टी अधिवेशनको कुर्सीजात्रा । यसअघिका पार्टीपिच्छेका मेला, मेला र अधिवेशनमा देखिएका राजनीतिका गौरवशाली जात्रा नाचहरूले नेताहरू कौरव कित्तामा प्रवेश गरेपछि रौरवतिरको यात्रामा लागि परका छन् भन्ने सपष्टै बुझिन आयो। कुनै एक पार्टीको राष्ट्रिय अधिवेशन हुन लागेको हलमा खचाखच भरिदै विभिन्न आयाम बनेर व्यायाम गर्न लागेका साधु कुर्सीहरूको एकाएक असाधु बनेर कहिल्यै देख्नु भोग्नु नपरेको स्वच्छन्द लीला याने डान्सबार र कामुके गतिविधि देख्ता उघुमै रमाइलो त हुने नै भयो। तर विषादको कुर्सीहरू त महिलालाई फेवर गर्ने अरूका छेवर गर्ने कृत्य पो पस्किन थालका रहेछन् ।

मान्छेका टाङमुनि चुपचाप समाधि साधेर बस्नुपर्ने कुर्सीहरू, मान्छेका आङलाई अडेस दिएर म्वाइँ खाँदै अँगालोमा उठाउने कुर्सीहरू- एकाएक बौलाहा पारा झिकेर सबारका शिरमाथि बर्षिन आए भने ? यसलाई पक्कै पनि चानचुने घटनाका रूपमा लिनुहुने छैन। बरू यसो एकछिन गम खाएर, केही सोचेर, कतै घोचेर प्वाक्कै भन्नुहुनेछ- क्रमभङ्गता । सदियौंदेखिका श्रमिक सर्वहारावर्गमा एकाएक उर्लिएको क्रान्ति चेतनाको ज्वारभाटा । भताभुङ्ग देशमा भर्खरै थपिएको गणतन्त्रकालीन अर्को क्रमभङ्गताको प्रसङ्गले कतै कसैलाई भ्रम नपारोस् भन्ने इरादाले अझै सप्रसङ्ग व्याख्या थप्नुहुनेछ-

हो वास्तवमा तपाईं हामी सबैले टाँङ अड्याउने कुर्सीहरू युगौदेखि शोषित थिए । सहस्राद्वीयौदेखि नारीपुरुष दुवै वर्गबाट उत्पीडित थिए । अपान वायुको प्रकोप प्रदूषण समेत खप्तै आएकाले सदियौदेखि दमित थिए । अझ त्यतिमात्र कहाँ हो र ? दशकौदेखि गणतन्त्रात्मक प्रदूषणबाट दुर्गन्धित बन्दै र आआफ्नो अस्मिता लुटाउँदै पनि आएका थिए । पदार्थ विज्ञानको हिसाबले पनि कुर्सी आराम दिने एउटा आश्रय हो। चढ्ने, उक्लने, हल्लाउने र घुमाउने आदिइत्यादि कार्जेकर्तुतको साधन हो। जसरी जनक्रान्तिको लागि शोषित सर्वहारा वर्ग साधन मानिन्छ, त्यसरी नै खलनायकहरूका टाङ अड्याउन कुर्सीलाई खुशीसाथ आङ थाप्ने भाँडो पनि भनिन्छ । भ्रान्तिको खेती गर्ने र त्यसैको बालीको रूपमा सप्रिएको भाँडबाट निर्मित भाङ्ग्रो ओडेर जब नायकहरू लडिबुडी जात्रा देखाउँछन्, तब कुर्सीहरू पनि आफ्नो इमानदार प्रयत्न ओछ्याएर उनीहरूलाई काँधमाथि बोकिरहन्छन् । त्यसरी दासत्व वरण गरेर बोक्दैआएका कुर्सीहरू कुनै दिन एकाएक मालिकलाई नै भुइँमा खन्याएर आकाशमा चै चै गर्दै छाड्तोस कस्न थाले भने के भन्ने यसलाई ? भएन त क्रमभङ्गता ? कुनै पनि महान् क्रान्तिका महान् उद्देश्यहरूले दौराको खल्ती भै फेरमा बोकी ल्याउँदोरहेछ कि क्या हो उदेक लाग्दा कुराहरूलाई ? तब त क्रान्तिचेत भरिएका कुर्सीहरू अतिशय ज्यादती खप्नुपरेपछि एकै स्वरले कौलासेर हाराबारा गीत गाउँदा भएछन्-

चोटा कोठाबाट उठ
कौशी वरन्डाबाट उठ
सभा मञ्चबाट उठ
गोष्ठी सेमिनारवाट उठ
चर्पी भान्साबाट उठ
डाइनिङ इजलासवाट उठ
यो देशमा न्याय खोज्न
आङको भकारो पखाली उठ
सडेगलेको दुर्गन्ध फाली
होस हौसला समाली उठ
जोस जाँगर उराली उठ
यी नेतालाई बाटोमा ल्याउन
टाउका – घुच्चुक ताकी उठ
शिरमाथि ठोकठाक पार्न
तागत जाँगर उमारी उठ
धामी विद्या भट्ट्याएर
प्रेत मसान पुकारी उठ ।

यसरी कुर्सीहरू एकाएक गुञ्जायमान हुँदै अरिङ्गालले आफ्नो गोलो फोर्न आउने दुष्ट मनुवामाथि जाइलागे झै सभाहलमै उत्पात मच्चाउन थालेपछि उधुमकै हल्लीखल्ली नहुने कुरै भएन । जाइलागेका पनि जथाभावी जहाँ पायो त्यहीँ हो र ? देशकै दशा बिगार्न पल्केका अनि अँध्यारोमा रमाउने अघोरी बाबासँग सल्केका भाँडभैले नायकका शिरमाथि पो बर्षिन पुगेछन् पड्केहरू त । कहाँबाट कसरी आयो ती अबोध कुर्सीमा त्यो आँट ? अनि कुन कवि कलाकारको सिर्जना बनेर देखापयो त्यो छाँट ? कुन प्लानरले बनाइदिएछ त्यो खुराफाती योजना ?

हुन पनि आ-आफ्नो काँटकद, छन्दछाँट सबै भुलेर एक भएछन् कुर्सीहरू । कसले भरिदियो उनीहरूमा एकताको त्यो बुलन्दी ? कसले भूत जगाइदियो मिचिएका मलिन मुहार अनि हारैहारमा बाँचेको बबुराहरूलाई ? भूमण्डलमा कसरी दिनहरू फर्किदै रातहरू घर्किदै जाँदा रहेछन् ? पिता पुर्खाको पालादेखि नै धर्तीमा जुकाजस्तै टाँसिएका हुन्थे, थिए कुर्सीहरू । तिनै मूलेहरू एकाएक हावामा उडेर बाँकटे हान्दै मालिकरूपी सर्दारका शिर ताकेर बर्षिन थालेपछि त ऐतिहसिक छलाङ मारेको अनुभव हुनेरहेछ । झनै कुर्सीलीलामा देखिने असली ताण्डवनाच दृष्टिगोचर बन्दोरहेछ । टिभी र जात्रामात्राहुँदो नक्कली ताण्डव नाचमात्र देखिराखेका मनुवाहरू सक्कली नाच देख्तै पहिले त रनभुल्ल पर्ने नै भए। डोरी कि सर्प हो भन्ने भ्रम स्तै सक्कली सवारमाथि सोझा कुर्सीहरू यसरी किन बर्षिए भनेर दर्शकको मनमा खुल्दुलीको खाँडो जाग्नु उति अस्वाभाभिक पनि त होइन ? तर यस्तो बेमौसमी खाँडो जाग्दा सम्मान- सलामले डाँडो काटेर पत्रुको भाडो बनाइदियो भने ? हालखबरले बेहालको रूम लिने पनि पक्कै होला । नभए पनि नहोला । तर भएचै के होला भन्ने खुल्दुली सबैतिर जाग्ने नै भयो पनि ।

टाउका तोकर यता कुर्सीहरू झटारो दौडमा उत्रिदाको रमिता । उता कठालो समातेर हाराबारा खेलाउने भाइसाथी भनाउँदा आहारिसे घामटहरूको तगारो । भागौं कता भागौं । नभागौं कसरी टिकौं भन्दै हडबडीमै गडवडीको शिकार बनेका मुखिया बाजे मुन्टो जोतेर मरून्जेल दौडदा भया। कता गए भनेर अलि बेरमै खोजीटोलीले पीछा गर्दागर्दै पनि छाड्तोस कस्दै गएका मुखिया जी सार्वजनिक शौचालयको अगाडि पुग्दा भया । तहाँबाट कता जाउँ के गरौं भन्दै विलखबन्द पेरका मुखियाजीलाई बल्लतल्ल भेटेपछि खोजी दस्ताका सदस्य बबुराहरू मुखिया उनको पूर्व इतिहासको कहानी सम्झदा भया-

सुन सुन साथी हो म केही भन्छु
हाम्रा सर्दार बाजेको काहानी कहन्छु
वन गए उतै राजा, गाउँ पसे बाघ
मोटामोटा गोरू खान्थे खाँदैनथे साग
ब्रह्माजीकै अस्त्र बोक्थे जहाँ ताक्यो हान्ने
अरू सबलाई मूर्ख ठान्थे, भन्थे आफै जान्ने
आज पुग्यो उफ्रिएर कुर्सी टाउकामाथि
कठालोमा हात लगाई तान्न थाल्यो साथी
कता भागौं भन्दाभन्दै तानातनले गाल्यो ।
किन आजै दुर्दिनले शिरमा धजो हाल्यो ?

उता नानाभाँती गुनासा पसार्दै पसिना पुछ्दै दौड्दै पनि रहेछन् मुखिया बाजे । कठालो समात्ने हात अझ कसिलो हुँदै गएपछि उनी पनि धर्तीमाताको काखमा घरिघरि मुन्टो जोत्न खोज्दै र खुट्टा कमाएर शरीरै बन्दकीमा छाडिदिनेतिर सोच्दै पनि रहेछन् ।

कुर्सी कब्जाका रोचक प्रसङ्गहरू सिनेमाको पर्दातिर पुग्दा रहेछन् । नायक र खलनायक बीचका मल्लयुद्धहरू दृष्टिगोचर हुँदा रहेछन् छिनछिनमा । हिरो नामक नायकले बिठ्याइ गर्न छोडें भन्दै कान समातेर भाग्दै गरेको बेला खलनायक भने पायक पर्ने हिसाबले कतै लुक्न छिप्न खोज्दै गर्दथे । कुर्सीयुद्धमा नायकले नै तिनैको सिको गर्ने रहेछन् । त्यसैले यो जति रमाइलो दृश्यावलोकन शायद कुनै सिनेमामा पनि सम्भव छैनजस्तो लाग्छ । बोक्नुपर्ने कुर्सीहरू सहस्र अरिङाल बनेर सबारलाई नै चिल्न खोज्छन् भने त कुर्सीभार पनि निल्नु न ओकल्नु हुनुपर्ने हो । तर कतै नभइदिँदो रहेछ । साँच्चि भनौ भने यतातिर चाहिँ यो नभइदिँदा जमान इमान भन्ने कुरा पनि छुरीजस्तै डरलाग्दो र घातकसमेत बन्न पुग्दोरहेछ ।

पहिले झलक्क हेर्दा त हात्तीलाई साथी बनाएर खेलेको हिन्दी फिल्मको याद पो आएथ्यो । चल चल मेरे हाथी, मेरे साथी भने झै कुर्सीलाई काँधमा बोकेर हाम्रा जिरोमार्का हिरो कतै विजययात्रामा निस्किन लागे कि भन्ने भान पनि परेछ कसैकसैलाई । चल चल मेरे कुर्सी मेरे साथी भनेको हो कि जस्तो पनि लागेछ कसैकसैलाई । तर एकैछिनपछि त कुहिरो फाटेको इलामजस्तो छ्याङ्गै उघ्रिएछ हेर्नेजतिको दृष्टि पनि । अनि त के चाहियो र ? देशकै शान्तिसुरक्षा, अमनचयन, भोजभतेर किलाकाँटाको जिम्मा लिएका महानायक हातमा टोपी लिएर बुर्कुसी मारेको दृश्यले दर्शकजतिको दृष्टिमा नौलो मोहनी लगाइदिएछ । चस्माभित्रबाट तोरीको फूल हेर्दै हिँडेका ख्वामित्को अनुहार एक युगमा एक पटक आउने एक दिनजस्तै दुर्लभ अनि देख्नयोग्य पनि थियो होला । जसले देखे, पक्कै पनि ती धन्य भए । जसले देखेनन् ती त झन् कुर्सीबिजोग देख्नुनपर्दाको आपतबाट सरक्कै बचे । उसै पनि त धन्य हुने नै भए !

०००
बानेश्वर, काठमाडौं
‘विमोचनको बिगबिगी’ (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x