साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभीपापी जिन्दावाद !

कामचोर, लोभी, पापी जतिलाई पाहा झै पछारेर जनताको तन्त्र लागू गर्ने वलिष्ठ र इमानदार प्राणी तत्कालै चाहिएको रहेछ त्यहाँ । पाटीपौवा, ओडार सबैतिर लुते हन्तकाली परेछन् रे अहिले कार्यरत नेता कार्यकर्ता जति !

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

परापूर्व कालदेखि नै मान्छेमात्र होइन, अरू जीवजन्तुका समेत प्रथम सृष्टिकर्ता मानिन्थे रे ब्रह्माजी । अनि तीन लोक, चौधै भुवनभरी एकैसाथ नौला, नयाँ खबर पुर्‍याउनमा खप्पीस थिए रे नारद मुनि पनि । मानिलिउँ- उति बेलाको टिभी रेडियो पत्रपत्रिका र फेसबुक जे जे भने नि खबरजगत्का एकछत्र सञ्चारनायक रहेछन् नारदजी । यता उता के के गर्दागर्दै निकै दिन भएछ दुई जनाको भेट नभाको पनि । एक दिन समय मिलाएर ब्रह्माजीलाई भेट गर्न नारद बाजे ब्रह्मलोक पुगेछन् । हुन त दुवै जनाबीच राम्रो साथसम्बन्ध सङ्गति चल्दै हजारौं वर्ष बितिसकेको थियो रे ! तर यसपालि अलि ढिलाएर जाँदा नयाँ नौलो लोकमा पुगेको अनुभव भएछ नारदजीलाई । पहिले धेरैजसो फुर्सदमै देखिने उमेरले निकै वृद्ध ब्रह्माजीलाई त्यस दिन निवासमा नभेट्ता अलि नराम्रो कुराको कल्पना भएछ । अनि हडबडाउँदै वरपर खोज खबर गर्दा प्रयोगशालामा अस्तव्यस्त अवस्थामा भेटेर नारदजी अलमल्ल परेछन् ।

“के गर्दैछन् यी लहडी बड्ढा प्रयोगशालामा ! कि रकेटै प्रक्षेपण गर्न लाग्या हुन् ? कति जाँगर चलेको हो त्यो उमेरमा पनि ! मनमनै गुनेछन् नारद बाजेले ।

हुन पनि निकै अस्तव्यस्त देखिन्थ्यो ब्रह्मलोक त्यस दिन ! प्रयोगशालाको बाहिरी चउरमा चारपाँच जना बटुहरू असाधारण किसिमले हृष्टपुष्ट देखिने अर्ना नामधारी जनावरलाई शिरदेखि खुरसम्म माडीमाडी दूधले नुहाइदिँदै थिए । नारदजी देख्तै जिल्ल परेर एक छिन त्यतै लर्वरिएछन् ।

चङ्ख आँखा यसो यतउता लाग्न नपाउँदै अर्को सुरम्य दृश्य दृष्टिगोचर हुन पुगेछ । खाइलाग्दो, हृष्टपुष्ट कालो बङ्गुरलाई कोही चेलाचपेटाहरूले पङ्खा हम्किएर झिँगा भुसुना धपाउँदै रहेछन् । कोही चमर डोलाएर डाँठ, मच्छड धपाउँदै थिए । अर्कोतिर कोही तातोपानी र स्याम्पुले मिचीमिची गैडाको मांसल कायामाथि दिवास्नान सम्पन्न गराउनमा तल्लीन देखिए । कोही म्यागडोयलले तयार पारेका मीठामीठा परिकारका दाना, खोले, कुँडो खुवाएर गर्दभ बाबा याने गधाजीमा सेवासत्कार पुर्‍याउँदै थिए । अर्कातिर विडालवंशकै उत्कृष्ट उत्पादन भन्न सुहाउने उर्मुट्ट ज्यान परेको चितुवाको शिरदेखि पाउसम्म मालिस र नङ पालिश गरेर दिलोज्यानले सेवासत्कार गरिरहेका थिए ।

बूढा ब्रह्माजी भने नाकको डाँडीमाथि अडिएको चश्मालाई घरीघरी समाल्दै घरी यताको प्रयोगशालाबाट उताको ल्यावतिर दौडधूप गर्न गराउनमै व्यस्त देखिन्थे । नानाथरी सिसी, बोतल, पुङ, ट्वाक, रिकापी र बाटाहरूमा । थरिथरी यन्त्र सिरिन्जले विभिन्न प्रकारका पदार्थहरूको सम्मिश्रण, उच्छेद, विच्छेद र विपर्यासका क्रियाहरू सम्पन्न गर्न तल्लीन भइरहेका थिए ।

“हैन केको सृष्टि गर्न लाग्नुभो यो फेरि पितामह ? यसै त जीवजीवातहरूले पृथ्वी अटाई नअटाई भा’छ । त्यसमाथि अरू प्राणीको भार थप्दा कतै अनर्थ हुने त होइन प्रभो ?

एकाएक कानमा बज्रिएको नारदजीको प्रश्नले ब्रह्मे बड्ढा एकाएक झसङ्ग भए । अलिबेर त झनक्क रिस पनि उठ्यो । आँखीभौमाथि देखिएको रिसको भुमरी नारदजीको मनोरम अनुहारको स्पर्शले उतिबेरै साटसुट्ट हरायो पनि । एक पटक हल्का खोकेर घाँटी सफा गर्दै ब्रह्माजीले भने-

“नयाँ जीन तयार गर्दैछु । क्लोनिङ गरेर नौलो जीवात सृष्टि गर्नेपर्ने खण्ड आइलाग्यो यत्तिबेर । पाखण्ड लोकमा आइपरेको समस्याले गर्दा जटिल काममा भिड्दै छु त्यही उद्देश्यले ।

किन नौलो प्राणीको आवश्यकता पर्‍यो यतिबेर प्रभो ? दिनरात तपस्यारत हुनुपर्ने यो सङ्क्रमण कालमा कति दुःख गर्नुभएको नारदजीको छुच्चो मुख, प्वाक्क बोली पो हाले ।

“म पनि त्यसै भन्दै त थिएँ । तर सुख दिएनन् यी अधर्मी मोरामोरीहरूले । अहिलेसम्म कहीँ नभएको नयाँ शक्तिशाली प्राणीको मैले नै उत्पादन गर्नुपर्‍यो रे । डाइनोसर मम्मथ जस्ता जन्तुजनावर पनि दिएकै हो पहिले । कहाँ हाले यिनीहरूले ? अहिले फेरि अर्को सुपर जनावरको माग गर्दैछन् । धोद्रो स्वरमा चिन्ताग्रस्त ब्रह्माजीको मद्रवाणी फुर्‍यो ।

“कुन लोक, कुन प्रदेशबाट माग भएको ?” नारदजीले नम्रतापूर्वक सुध्याए ।

“त्यही क्या मर्त्यलोकको नेपाल भन्ने देशबाट ।” अलि झर्किएको भाँती पारेर ब्रह्मवाक्य फुर्दो भएछ ।

किन त्यस्तो नयाँ प्राणी चाहिएछ त्यहाँ ? राम्रा नेता, शासक, अनेकथरी जीवजन्तु र प्राकृतिक विविधताले परापूर्व कालदेखि नै टनाटन भरिएको ठाउँ थियो त्यो त ! संसारकै दुर्लभ प्राणी, वनस्पति, कीटपतङ्गको शान्तसुन्दर वासस्थान भनेर चिनिन्थ्यो । अनि कहिल्यै पराधीन, परनिर्भर नहुनु पनि त्यो देशको विशेषता नै रहिआएको थियो । नारदजी सुध्याउँदै थिए ।

“तिम्रो इन्फर्मेशनले हावा खायो बाजे ! अहिले त्यहाँ नयाँ गणतन्त्रसँगै लुतो लागेर गनगनतन्त्र पनि आएको छ रे ! गलगाँड बनेर गोलमालतन्त्र पनि सँगसँगै भित्रिएको छ रे ! त्यही तन्त्रको मन्त्र जप्ने खातेपाते खालका नयाँ पार्टी, नयाँ सरकार, नयाँ संविधान, नयाँ शान्ति, नौलो मेलमिलाप, नयाँ तात्विक निष्कर्ष, नयाँ कुर्सीपलङ, नयाँ भोर्जुवा, नयाँ खोल, नयाँ बिप्पा अनि नेता जतिले लूटपाट मच्चाएर भान्सा गर्ने नयाँ खाले राजनीतिक लाप्पा पनि चल्दै के के पो भइसक्यो रे त्यहाँ त ! तिमीलाई पत्तै रहेनछ मुनिजी ।” ब्रह्माजी बताउँदै थिए । एकछिन ध्यानमग्न बनेर नारदजी पनि नेपाल सरहदको जायजा लिन थाले ।

हो प्रभो, म उता देवलोकतिर निकै समय भुलेछु । यता मर्त्यलोकको नेपालनामक सुरम्य देश भने मर्कटलोकमा परिणत भइसकेछ । कहिल्यै सोचाइमा नआएको कस्तो अचम्मको कुरा ! आफूलाई भने पत्तै थिएन । अनि तत्काल कुन प्रकारको हस्तक्षेप हुँदैछ ब्रह्मलोकबाट ? नारद बाजेको जिज्ञासापूणर् प्रश्न थियो ।

“अहिलेको समस्या भनेको त्यहाँका राजनितिकर्मी भनाउँदा अधर्मी मनुवाहरू बिनानियम, बिनाकानून बिनासंविधान जथाभावी लूटतन्त्र चलाउन थालेका छन रे ! कोही लाटलूट प्रणाली त कोही काटकुट प्रणलीमा जानुपर्छ भनेर नयाँ संविधान नबन्दै आआफ्नै विचारको अचार साँध्न सपना खेलाउन थालेका छन् रे । प्रणाली जुन भए पनि तिमेरूको बुद्धि, विवेक, मन सप्रिनुपयो भन्ने सन्देश दिन यो पशुवर्गबाट नौलो प्राणी तयार गरेर पठाउन आँटेको । जनतालाई न्याय सुशासनको प्रत्याभूति दिन सक्ने एउटा सुपरम्यानको रूपमा यसले डाँमाडोल स्थिति समाल्नेछ भन्ने आशा गरेको । त्यसैमा व्यस्त छु बाजे म । ब्रह्माजीको स्पष्टोक्ति ।

“कस्तो सुपरम्यान हो प्रभो ?” नारदजीको जिज्ञासा ।

“अहिले खाइखेली गरेका नायव नाउका मनुवाहरूभन्दा उत्कृष्ट । अर्थात् मान्छेको रूप लिएर नेपाल देशमा जन्मिएका नेतानामक पगरीधारी प्राणीजति सबै देश चलाउन बढ्ता लायक परेछन् कि के हो । तिनकै हरामी चालाले आर्यावर्तमा पर्ने सुरम्य देश भीरबाट गार्लामगुर्लुम खँगारिएर घुमाउने दहमा चुर्लुम्मै डुब्न आँटिसकेछ । तिनै अधमहरूलाई प्रतिस्थापित गर्न विशेष प्रकारले बाँदर बनेल चितुवा गर्दभ गैँडामध्येबाटै क्लोनिङ गरेर ठिमाहा दुईचार प्राणीहरू तयार गर्नुपयो । अनि जुन उत्कृष्ट ठहर्छ- त्यसैलाई छानेर नेपालको राजपाठ समाल्ने गरी नियुक्ति दिएर पठाउन लागेको । बरू यो नौलो जीवात गएर त्यहाँको राजपाठ समाल्न सक्छ जस्तो लागेको छ । हेरौ यो पनि एउटा प्रयोगै सही ?” ब्रह्माजीको कार्ययोजना- प्रस्तुति ।

“यी सबैलाई मिलिजुली काम गर्ने कार्यादेश दिँदै संयुक्तरूपमा शासनाधिकारी बनाएर पठाउँदा कसो होला प्रभो ?” नारदजीको संशययुक्त सुझाव ।

फेरि उही ताल भयो भने नि ? अहिले तत्कालै चाहिँ बुद्धिबङ्गारा उम्रिसकेको जबर्स्वांठ खाइलाग्दो एउटै प्राणी भए पुग्छजस्तो छ रे नेपालमा ! कामचोर, लोभी, पापी जतिलाई पाहा झै पछारेर जनताको तन्त्र लागू गर्ने वलिष्ठ र इमानदार प्राणी तत्कालै चाहिएको रहेछ त्यहाँ । पाटीपौवा, ओडार सबैतिर लुते हन्तकाली परेछन् रे अहिले कार्यरत नेता कार्यकर्ता जति ! आपसमा मिलिबस्न नचाहने र अरूलाई देख्नै न सक्ने अन्धा अपाहिज नायकहरूको ठाउँमा एउटा इमानदार, वलिष्ठ जीवलाई नियुक्ति दिएर पठाउन लागेको । बानर, चितुवा, गैँडा आदिमा रहेका विशिष्ट गुणहरू एकै जीवातभित्र प्रविष्ट गराउने इरादाले यी विभिन्नखाले प्राणीहरू भेला गरेर मेला लगाउनुपरेको हो । चिन्ताले सँगारिए जस्ता शोकमग्न देखिने ब्रम्हाजी वरपरका गधा, बाँदर, श्याल, चितुवा, बङ्गुरतिर देखाउँदै भन्दै थिए । नारदजी सुन्दै थिए र कुरा पत्याएको अभिनय गर्दै पनि थिए । बश ।

०००
काठमाडौं
‘विमोचनको तयारी’ (२०७३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x