
‘देश डुब्यो !’ साँच्चै डुबेकै हाे ?
बहुदलीय व्यवस्थामा पनि नेताहरूले देश डुबाएको आरोप लाग्यो। लेखकले ती सबै आरोप र गुनासाहरूलाई व्यङ्ग्य गर्दै वास्तविकता प्रस्तुत गरेका छन्।

झरना चौहान :
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीकाे खाइराइड कृति काठमाडाैं स्थित डियरवाक सिफल स्कुलले अतिरिक्त पाठ्यक्रममा समावेश गरी कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएकाे थियाे । यस शैक्षिक सत्रमा २ सय जना छात्रछात्राले याे हास्यव्यङ्ग्य कृतिकाे व्यवस्थित अध्ययन गरेका छन् । त्यसै गरी नयाँ शैक्षिक सत्रमा भाेजपुरकाे सिद्येश्वर उच्च मा.वि., दाँवाले पनि कक्षा १० र ११ काे अतिरिक्त पाठ्यक्रमका रूपमा पठनपाठन गराउन थालेकाे छ । पठनपाठनकाे क्रममा छात्रछात्राले याे कृति पढ्दा के कस्ताे अनुभूति गरे ? फित्काैलीलाई प्राप्त भएका उनीहरूका लिपिबद्ध अनुभूतिहरू समीक्षात्मक टिप्पणीका रूपमा क्रमश: फित्काैलीमा प्रविष्ट गर्दै आएकाे छ । – सम्पादक
राजेन्द्र कार्कीद्वारा लेखिएकाे हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ मा सङ्किलत एउटा निबन्धकाे शीर्षक हाे ‘देश डुब्याे’ । ‘देश डुब्यो’ निबन्धमा राजनीतिमा मौलाएको भ्रष्टाचार, कुशासन र जनचेतनाको कमीकमजोरी मुख्य विषयवस्तु छन्।
कार्कीको यो व्यङ्ग्य निबन्धमा पञ्चायत, बहुदल, गणतन्त्र सबै कालखण्डमा “देश डुब्यो” भनेर चलाइने हल्लालाई मुख्य विषय बनाइएको छ। नेता-मन्त्रीको भ्रष्टाचार, गुटबन्दी र जनतालाई झुक्याउने प्रवृत्तिप्रति लेखकले व्यङ्ग्य गरेका छन्।
लेखकले यस निबन्धमा नेपाली समाजको प्रवृत्तिप्रति पनि गम्भीर आलोचना गरेका छन्। निजी स्कुल, अस्पताल र व्यापारले नाफा कमाइरहेको स्थितिमा “देश डुब्यो” भन्ने गुनासोलाई लेखकले व्यङ्ग्य गरेका छन्। लेखकले छत्तीस सालदेखि गणतन्त्रसम्मका विभिन्न चरणलाई समेट्दै “देश डुब्यो” भन्ने व्यर्थको हल्ला हो भन्दै कमाउ धन्दा गर्ने नेता, कमिसनखोर र गफको भरमा दुनाे सोझ्याउनेहरूको चरित्र उदाङ्गो पारेका छन्।
पञ्चायतदेखि बहुदल, माओवादी जनयुद्ध, गणतन्त्र र संविधान सभासम्मका कालखण्डमा आएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र असफलताहरूको चर्चा गर्दै लेखकले देश कहिल्यै डुबेको छैन भन्दै हाँसीमजाकको रूपमा खिल्ली उडाएका छन्। देशको विकासका नाममा भएको राजनीतिक परिवर्तन, सिंहदरबारको विकेन्द्रीकरण, जनताको हातहातमा मोबाइल, गाडी र आर्थिक क्रियाकलापका उदाहरण दिएर लेखकले व्यङ्ग्यपूर्वक “देश डुबेको छैन” भन्ने निष्कर्ष निकालेका छन्।
उनको मुख्य तर्क स्वार्थका लागि प्रयोग गरिने एउटा हतियार मात्र हो। यसको पछाडि कुनै ठोस आधार छैन। लेखकले देशमा भएका विकास, परिवर्तन र जनजीवनको स्तरलाई प्रस्तुत गर्दै यो तर्कलाई बलियो बनाएका छन्।
“देश डुब्यो” भन्ने भनाइको पछाडिका घटनाहरूको वास्तविकता के हो भन्ने पक्षमा चर्चा गरिएको छ। विभिन्न कालखण्डमा राजनीतिक घटना—पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र, जनआन्दोलन, माओवादी युद्ध र गणतन्त्रको आगमनसम्म आइपुग्दा देश निरन्तर बदलिँदै आएको देखिन्छ। तर, प्रत्येक समय र अवस्थामा जनताले “देश डुब्यो” भनेर दोष थुपार्ने प्रचलन जारी रह्यो। पञ्चायती व्यवस्थामा राणाले देश डुबाए भन्ने गुनासो थियो; बहुदलीय व्यवस्थामा पनि नेताहरूले देश डुबाएको आरोप लाग्यो। लेखकले ती सबै आरोप र गुनासाहरूलाई व्यङ्ग्य गर्दै वास्तविकता प्रस्तुत गरेका छन्।
देश कहिल्यै डुबेको छैन; बरु मानिसको सोच, व्यर्थका अपेक्षा र सन्देहले गर्दा यस्तो भनाइ प्रचलित भएको हो। राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेताहरूको लालच, भ्रष्टाचार र व्यक्तिगत स्वार्थका कारण देशको वास्तविक प्रगति रोकिएको हो भनी निबन्धमा लेखकले व्यक्त गरेका छन्।
लेखकले व्यङ्ग्यात्मक शैलीमा भनेका छन्: “देश डुबेको भए नेता-मन्त्रीहरू कसरी सत्तामा बसिरहन्थे ? व्यापार र शिक्षा कसरी फस्टाउँथ्यो ? मोबाइल र सामाजिक सञ्जालमा युवाहरूले कसरी रमाइलो गर्थे ?” यसरी लेखकले आफ्ना तर्कहरूलाई पुष्टि गर्न विभिन्न तथ्य र उदाहरणहरू प्रस्तुत गरेका छन्, जसले निबन्धलाई अझ विश्वसनीय र राेचक बनाएको छ।
०००
कक्षा ११, सिद्येश्वर मा.वि. दाँवाँ भाेजपुर
वाह, समय सापेक्ष सटिक लेख !