साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अव्ययको कमाल

सबै औला जोडेर सर्वसाधारणसँग माफी माग्न चाहन्छौँ। हामी अक्षरले बनेका अव्यय शब्दको दुरुपयोग गरेर खेल्नेहरुका बिरुद्धमा हाम्रो मत हुँदाहुँदै पनि हामी लाचार बनेर प्रयोग हुनु परेको नम्र निवेदन गर्दछौं।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

नेपाली व्याकरणमा प्रयोग हुने अव्ययहरु बडो बेजोड कमालका हुँदा रहेछन्। अव्ययहरुसँग कानुनी रुपमा समाजका जरा हल्लाउने शक्ति पो हुँदोरहेछ। कानुनमा यिनीहरुको बाहुल्यता पो रहेछ। नेपाली व्याकरणमा जम्मा पाँच प्रकारका अव्ययहरु समाविष्ट भएको पाइयो। नामसँग जोडिएर आउने अव्ययलाई नामयोगी भन्दा रहेछन् भन्ने पनि बाहेक प्रयोगको सरगर्मीले धर्ती तताइरहेकै अवस्थामा यसको शक्ति पत्ता लाग्यो। पत्ता लागेपछि भत्ताको कुरा आउन थाल्यो।

अव्ययको कमाल, भूपू मालमाल। जागिर पुनरप्राप्तिको थोरै समयको क्षयीकरण हुन नदिन अव्ययको रुपमा छपाइ मेसिनमा अदृष्य भूतप्रेतात्माको सहायताले विधिमा परेको देखियो यो बाहेक। विधिमा परेपछि थितिमा बस्ने कुरा थिति नमिच्नेहरुका लागि पक्का भयो। थितिमाथि रजाइँ गर्न जानेकाहरुले यो विधिको धोती लगाएको कसलाई पो थाहा छैन र ! दुई बर्खे शीतल समय निर्धारण गरेर शान्त बसुन्। वर्षौं लामो कामबाट अलिकति फुर्सद मिलोस्। मन, मस्तिष्क र शरीरलाई उर्जा थपेर पुनः ठुला पदमा आसिन हुन पाउन् भन्ने किफायती मनसाय राखेर माननीयहरुले भलो चिताई यस्तो व्यवस्था गरेको कुरा समूहिक तालीबाट बाली फलाउने अभ्यास गराउने  नियतमाथि बन्चराको धारिलो भागले तब बजार्यो जब टुप्लुक्क कुलिङमा बाहेक हुलिङ छिर्यो। नजाने कहाँबाट पस्यो। अत्तोपत्तो नभएको कुरा सबै थान माननीयहरुले जोडबलका साथ घाँटीका नसा तन्काएर सर्वसम्मत रुपमा एकल ध्वनिले सदन र सडक गुन्जयमान गरे।

भूतप्रेतको कुरा आएर मानिसको कुरा किन आएन मितव्ययी त मानिस पो हुन्छ भन्ने कुरा पनि उठ्न सक्छ। अव्ययको कुरा मानिसले पो गर्ने हो भन्ने कुरा उठनुलाई अस्वाभाविक मान्न सकिन्न। विधि विधानमा दस्तखत गर्न विधिले न्यायिक रुपमा अमूल्य बनाउन छनौट प्रक्रियाद्वारा चुनिएका विधायकहरुको बरदबाहुलीबाट दस्तखत भएको हो। दस्तखत भएको उक्त विधिमा व्याकरण अनुसार यो अव्ययमा दर्जिने शब्द बाहेक कसरी टाँसिन आयो खोजबिन गर्दा विधायक रुपी मानिस पत्ता नलागेकोले अदृष्य शक्तिका भूतप्रेत विधायकका रुपमा प्रकट भएको कुरालाई कसरी नकार्नु। नकार्न मिल्दैन। मिलेन। कि समावेशी विधान सभामा अदृष्य शक्तिको लागि छुट्याइएको कोटाको विवरण सार्वजनिक गर्न सक्नु पर्यो । होइन भने भूतप्रेतको संलग्नता बाहेक बाहेकको प्रयोग कसले गर्यो?

व्यय नहुने, खर्च नहुने शब्द विशेषलाई अव्यय भन्नै पर्यो विधिको विधान माने जस्तै यो पनि व्याकरणको विधि नै हो। व्याकरणको विधानले जुनसुकै अवस्थामा पनि परिवर्तन नभै एकै रुपममा प्रयोग हुने अपरिवर्तनीय शब्दलाई अव्यय भनेर परिभाषित गरेपछि नमान्ने हामी को ? परिभाषामा तोकिएको कुनै पनि पुरुष, लिंग, काल र वचनले विकार उत्पन्न गर्न नसक्ने पद वा शब्द जो जुनसुकै परिस्थितिमा पनि आफ्नो रुप परिवर्तन नगरी जस्ताको तस्तै प्रयोग हुन्छ, यसैलाई अव्यय भनिने रहेछ। विकार शब्द पनि अचम्मको अर्थ लिएर देखा पर्यो परिभाषासँगै।

विकार पनि थरीथरीका- मानसिक विकार, वायु विकार, दुःस्वप्न विकार, पृथकता चिन्ता विकार आदि इत्यादि।यसमा कुन विकारले काम फत्ते गर्योक त्यो समान्य मानिसको कलमले पत्ता लगाउने कुरा भएन।अनुमान गर्न सकिन्छ मानसिक विकारको उपज होला।मानिसको सोच विचारमा आउने परिवर्तनीय अवस्थालाई विकारको रुप धारणा गरेको मान्ने होइन जान्नु पर्योक। जान्दाजान्दै यो कुनै पनि प्रकारको विकार उत्पन्न गर्न नसक्ने शब्द कति शक्तिशाली रहेछ जसलाई व्याकरणीय भाषामा अव्यय भन्नु पर्ने रहेछ। विकारको चिफार र सल्यक्रिया गर्न नपरोस् भन्नकै लागि यो अव्ययको सिद्धान्त लागु हुने गरी शब्द निर्माण गरिएको हुनुपर्छ।

अब गरौं कुरा निजामति सेवा विधेयक पास गर्दा प्रयोग भएको शब्द बाहेकको। बाहेकले केहीका मात्र दुई वर्षका लागि सुक्न लागेका ओठ र तालुमा शीतलता प्रदान गर्योर। ओठ र तालुलाई शीतलता प्रदान गर्न घोरताप्रेको काम गर्यो यो बाहेकले। शीतल जल भएर रसिलो र ससाइलो भयो होला तिनीहरुको तिर्खाएको आँत। दुई वर्ष काम विहीन भएर बस्नुको कारणले नुन र चुक दलिएको तिनीहरुको आत्मालाई फ्रेस जुसको काम गर्योु बाहेकले। मनमा ढाडस पैदा गर्यो । आत्मविश्वास उकालो लाग्यो। उमेर कम भएको अनुभूति भयो।एज इज जष्ट ए नमम्बर भन्ने भयो। जोशमा उछाल आयो।होस फर्कायो, कुलिङ् पिरियड पछारियो। घरमा भोज चल्यो।जलेको मनमा मलम लाग्यो आफै । नहोस् पनि किन यसकै लागि कति दौडधूप गरिएको थियो।

तेल र मलम लिएर दृष्य शक्ति केन्द्रमा कति धाइयो। शक्तिशालीको पुजा गरियो तर केही सीप नलागेपछि समातिएको हो यो अदृष्य शक्ति। अदृष्य शक्तिले बाहेक नामको अव्ययिक शाब्दिक क्षेप्यास्र हानेर सुटुक्क दस्तखत युक्त कागत भित्र छिराएपछि कसका बाउको के लाग्यो ? यो अपरिवर्तनीय अव्यय शब्दले तेत्तिसकोटी देउताको प्रभावलाई निष्प्रभावी बनायो। अनि तीन कोटीले चुनेका कति जना हुन् कुन्नी प्रत्यक्ष र समानुपातिक प्रतिनिधि सभाका माननीयलाई ताननीय बनाइ दस्तखतको धज्जी उडायो। ताननीयहरुबिच एक आपसमा दोहोरी खेल्ने वातावरण तयार गर्यो ।आगन दियो रोधी चलाउन ।

संस्कार अनुसारका पौराणिक जात्राहरुमा अव्ययको रुपमा बाहेक जात्रा थपियो नेपालको इतिहासमा- सांसदको उपस्थितिमा संसदले मनाउने गरी । अमिट छाप छोड्यो। परम्परा तोड्यो। विधानका मर्ममा छुरा रोप्यो खस्तखतीका हृदयमा सुइरो घोप्यो। प्रेतात्मालाई हाई हाई मानवात्मालाई बाईबाई। पजनीमा को को मिलेका थिए पत्ता नलाग्ने गरी आयोग गठन हुनुलाई जनताले अन्यथा नमान्ने कुरा जानिएकैले फेरि जान्न आवश्यक भएन।

घम्साघम्सीमा दोहोरी चलेको देखेर पाँचै प्रकारका अव्यय शब्दहरु सबै थोक आफ्नो प्रभावले जोडिन र तोडिन सक्ने अवस्था देखेर प्रफुल्ल मुद्रामा अवस्था अनुसार परिवर्तन हुने अन्य शब्दहरुलाई हँसमुख लगाएर गिज्याउदै होच्याउँदै अव्ययको शक्तिको ध्वाँस देखाउन थाले। विचरा परिवर्तनीय विकारी शब्दहरुलाई आच्छुआच्छु पर्ने गरी छेपारे नाम दियाे अव्ययले। विधायकी सभामा उपस्थित हुन योग्य माननीयहरु र विकारी शब्दहरुको बिचमा तालमेल भएको आरोप पनि लगाएको पाइयो यी उम्दा अव्यय शब्दहरुले। आरोप मात्र लगाएनन् दावा पेश गरे हाम्रो शक्ति स्विकारेर मात्र हुँदैन प्रयोग गर्नु पर्छ भन्दै फुटबल खेलमा दर्शकहरुले ढ्याङ्रो ठटाए जस्तै ठटाउन थाले। जित कसको अव्ययको ! जित कसको बाहेकको !

सामूहिकरुपमा भेला भएर नारा घन्किन थाले। एक्लै बाहेकले सांसदहरुलाई तुरुक्क पार्यो । सदनमा हुर्मत लिन सफल भयो। तिनका कलमका निभ र पातला जिब्राहरुमा खिया लगाइ दियो। एकै चोटी हाँसो र आँसुका फोहरा छुटाउन सफल भयो भने हामी सबै अव्ययहरु एक जुट हुने हो भने हामी हल्लाउने मात्र होइन मृत्यु शैयामा पठाउन सक्छौं। यम लोकबाट यमराज आएर जाबो एकएक गरेरमात्र लान्छ भने हामी त सिङ्गो सदनलाई सोत्तर पार्न सक्छौं। जेल र काल कोठरीमा दफा उपदफा लगाए नमरुन्ज्याल जाक्न सक्छौं। अव्यय एकता जिन्दावाद !

हाम्रै प्रयोगमा सबै कानुन हरु अडेका छन्। धाराहरु बढेका छन् ।धारामा जे लेखिएको भएता पनि उपधारा अनुसार हुने छ।माथिको बाहेकका। कानुनमा लेखिएदेखि बाहेकका भन्न थालियो भने त हाम्रो प्रयोग अनुसार यो कानुन चल्छ। कानुन नै हाम्रो प्रयोगमा हुने भएकोले हामी अव्ययहरु सांसद र सदन मात्र होइन सबैभन्दा बढी त सर्वसाधारणलाई सोत्तर पार्न सक्छौ। प्रयोग गर्ने निर्जीव औजारको रुपमा माननीय महोदयहरुले अव्यय थप्न सहयोगमात्र गरी दिनु पर्छ हामी चुड्कीका भरमा काम फत्ते गर्न सक्छौं। सांसद त आफ्ना हात जगन्नाथ विधि फेर्न अर्को अव्ययको पनि सहायता लिन सक्छन् तर ती निमुखा सर्वसाधारणहरुको त त्यो हैसियत पनि भएन। मर्ने नै निमुखा हुन्।

हामी अव्ययहरुको जमातले निमुखालाई राम्रो गर्न खोज्दा हामी निहत्ताले कसरी गर्ने। हामीलाई चलाउने, डढाउने, लडाउने, फटाउने, जुधाउने, कसाउने, र फसाउन सबै काम गर्ने ब्युरोक्रेसीहरुको तजबिज हुने भएकोले हामी लाचार भएको कुरा हामी अव्ययसँग भएका जति सबै औला जोडेर सर्वसाधारणसँग माफी माग्न चाहन्छौँ। हामी अक्षरले बनेका अव्यय शब्दको दुरुपयोग गरेर खेल्नेहरुका बिरुद्धमा हाम्रो मत हुँदाहुँदै पनि हामी लाचार बनेर प्रयोग हुनु परेको नम्र निवेदन गर्दछौं।

हाम्रो जोडदार माग के छ भने हामी अव्ययहरुको दुरुपयोग हुन नदिन र दुरुपयोगको प्रयोगको डण्डा सर्वसाधारण मानिसको थाप्लोमा बज्रिनबाट रोक्न सबै सर्वसाधारण एकजुट भएर रोक्नु सिवाय अरु के ही उपाय छैन। हामी अव्यय जति सबैको अनुरोध जनता सचेत भएर कानुनका दफामा हाम्रो प्रयोग मिहन ढंगले सुझबुझका साथ अध्ययन मनन गरेर दुरुपयोग गर्नेहरुको मथिङ्गल हल्लाउने र तिनका बाजा बजाउने गरी लाग्नु पर्ने देखियो। दुरुपयोगवादीहरुको डँडाल्नु खुस्किने, हड्डि धुलाउने, हातगोडा मर्काउने गरी लागेमा हामी अव्ययहरुको अप्रचलनबाट हामी अव्यय मुक्ति पाउने थियौं।

०००
कैलाली, हाल : थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x