साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै स्मार्ट बन्नुभएन ?

बाँदरले आफ्नो घर बनाउँदैन र अरुको घरलाई पनि भत्काउँछ भनेजस्तै हो । बाँदरको जिउमा आएको खटिरालाई कन्याउँदा कन्याउँदै विशाल घाउ बनाउँछ भनेजस्तै कतै केही नपाएर स्मार्ट मानिसको विरोधमा कन्याएको खटिरो मात्र हो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

आजको दुनियाँमा तपाईं अझै स्मार्ट बन्नुभएको छैन भने भोलिको इतिहासले तपाईंलाई गाली गर्ने छ । तपाईंको बोलीमा लोली मिलाउँदै जहिले नि मृदु मुस्कानसहित हरेक बोलीमा ताली पिट्ने सालीले पनि गाली गर्न बेर छैन । स्मार्ट नहुने मानिस पनि भिनाजु हुनसक्छ ? बरु अर्कैलाई भिनाजु भन्छु भन्लिन् साली नानीले । आजभोलि स्मार्ट नहुँदा ससुरालीको अपुताली पनि खाली खाली हुन्छ रे । धेरै चिन्तै लिनु पर्दैन । स्मार्ट बन्न कुनै गाह्रो पनि छैन : जानुस् नजिकको मोबाइल मार्ट किन्नुस् एउटा र बन्नुस् स्मार्ट ।

हो, स्मार्ट बनाउन मोबाइलले स्टार्ट गर्छ । एउटै मोबाइलले भएभरको स्मार्ट बनाइदिनसक्छ । यो दुनियाँको आठौँ आश्चर्य हो । जो यसको सम्पर्कमा पुग्छ स्मार्ट भइहाल्छ, अमृत पिउने अमर भएजस्तै । छोयो कि भयो । दुनियाँमा अहिले जो जो नयाँ स्मार्ट छन्, ती सबै मोबाइलकै कारण सम्भव भएको हो । तपाईंको सहर अथवा गाउँ नै स्मार्ट बनिसकेको तपाईं नाङ्‌गो आँखाले देख्न पाउनुहुन्न, स्मार्ट मोबाइलले नै बताउने छ, गाउँकै गाथा ।

एकदम सही हो, जब तपाईंको हातमा एउटा स्मार्ट मोबाइल पर्छ तब तपाईं आफैँ स्मार्ट । जुन कम्पनीको मोबाइल छ, सोही कम्पनी स्मार्ट हुँदैन । तपाईंलाई कस्तो किसिमको स्मार्ट बन्नु छ, त्यो तपाईंको प्रतिभाले देखाउँछ । तपाईंको प्रतिभा देश र दुनियाँले देख्छन् । तर पहिलो नजरमै स्मार्ट बनिहाल्न सामाजिक सञ्जालमा तपाईंको पहिलो फोटो नै स्मार्ट हुनु अनिवार्य छ । भित्र गिलो हिलो भए पनि माथिबाट पानीदार र चिप्लिने मार्बलले टालेको चमकदार सडक निर्माण भएर टिलिक्क टल्किन्छ, त्यस्तो टिलिक्क टल्किने र आँखा मिलिक्क हुने झिल्के स्मार्ट फोटोको अवतरण गर्नु उपयुक्त हुन्छ । अलि पछिबाहिर हेर्दा खाऊँ खाऊँ लाग्ने चित्ताकर्षक आँप र स्याउ भित्रभित्रै कुहिएर स्याउँ स्याउँ कीरा परेको देख्नु भएकै छ, हो गिदी र गुदी नभए पनि कुनै बेला दार्शनिक बनेको फोटो सामाजिक सञ्जालमा उ‌द्घाटन गर्नुहोला । स्मार्ट मोबाइलले तपाईंलाई स्मार्ट दार्शनिक, स्मार्ट गायक, स्मार्ट कवि सबै बनाइदिन्छ । तपाईंलाई जीवनमा के के बन्न मन लागेको थियो ? ती बन्न वा भन्न नपाएको सारा तिर्सना स्मार्ट बनेपछि पूरा हुन्छ । यसैले स्मार्ट मोबाइललाई मैले स्मार्ट कल्पवृक्ष नामकरण गरेको छु । तपाईं आफूलाई स्मार्ट मोबाइलमा कल्पना गर्नुस्, यसले तत्काल पूरा गरिदिन्छ :

मोबाइल मै छ सबै चिज खोजे पाइन्छ तुरुन्त स्मार्टले मात्र पाउने यो सृष्टिको आदि अन्त । अझै पनि चित्त बुझेको छैन ? तपाईंको चित्तसित मित लगाउने स्मार्ट मोबाइलका केही अद्भूत फाइदा देखेपछि त्यही चित्त तीन चित खान्छ । अहिले नै स्मार्ट बन्नुभएन भनेपछि पछुताउनुपर्ला । हेर्नुहोस् स्मार्टका केही फाइदाहरू :

समयको सदुपयोग
जब तपाईं स्मार्ट बन्नुहुने छ तबबिना काम लखर लखर कतै हिँड्‌नु पर्दैन । तपाईंको समयको पूरापूर उपयोग हुने छ । एक दिनमा चौबिस घन्टा कम लाग्न थाल्ने छ । साथीसँगीका बीच बस्दा पनि एकातिर बोल्दै अर्कोतिर मनको कुरा खोल्दै गर्न पाइन्छ । कुनै पनि बेला खाली बस्न पाइँदैन । कुनै कुनै समय त यस्तो लाग्न थाल्छ कि दशमुख भएको रावणजस्तै दशतिर एकसाथ कुराकानी गर्न सक्छु । दशतिर दशथरिको कुरा गर्न सक्षम बनाउँछ । मैसेन्जरमा चार जनासित एकैसाथ मैसेज लेखेर, धार्मिक सिरियलका भगवानहरूजस्तै ग्रुपमा वा एक्लाएक्लै प्रकट भएर, नम्बरमा सुमधुर आवाजसित आदि जसरी मन लाग्छ बक्न पाइन्छ । अझ एक्लै भएको बेला झन व्यस्त बनाउँछ । दिनको उज्यालोदेखि रातको अँध्यारोसम्म जहाँ जे र जस्तो सामग्री चाहिन्छ, स्मार्ट फोनले दिन्छ । तपाईंको सामग्री ग्रहण गर्छ पनि । कोही कसैसित दशकौं अघि विछोड भएको सम्झना नभए पनि यसले गराउँछ । सम्पर्क पनि गराउँछ । तपाइँको मनमा केही नभए पनि यसले प्रश्न सोधिरहन्छ : हृवाट इज अन योर माइन्ड, ? बस्, यसको उत्तर दिँदै जानुस्, स्मार्ट बन्दै जानुस् । प्रश्नको उत्तर दिनै नसक्ने होइन ! तपाईं जति प्रश्न आउँछ उत्तर दिँदै जानुहोस्, संसारको सबैभन्दा स्मार्ट बन्नुभएन भने मलाई भन्नुहोला । हृवाट इज अन योर माइन्ड, … ? जम्मा एक प्रश्नको निरन्तर उत्तर दिएर यदि यो प्रश्न सकिन्छ भने विश्वका सारा रेकर्ड तपाईंको नाममा आउन बेर छैन ।

अझ मलाई के विश्वास छ भने जति जति स्मार्ट बन्दै जानुहुने छ उति उति समयको अभाव हुँदै जाने छ जसले गर्दा एक दिनमा चौबिस घन्टा निकै कम लाग्न थाल्ने छ र एक दिनको चौबिस घन्टालाई बढाउनको लागि सरकारलाई दबाब दिन थाल्नु हुने छ । उस्तै परे एक दिनको चौबिस घन्टालाई बढाएर कम्तीमा तीस घण्टा पुऱ्याउन सडक आन्दोलन गर्न बेर लाग्ने छैन ।

स्मार्ट मानिसलाई समय नै राक्षस लागिरहेको छ किनभने समय अपुग भइरहेको छ । हरेक मानिसलाई व्यस्त बनाएको छ । वास्तवमा व्यस्तताको अर्को नाम नै स्मार्ट हो । जो जति धेरै स्मार्ट ऊ त्यत्ति धेरै व्यस्त । र, स्मार्ट मोबाइल बोक्ने कस्सैलाई पनि फुर्सद छैन । जो स्मार्ट छ ऊ बेफुर्सदी छ र जो बेफुर्सदी छ ऊ स्मार्ट छ । यसै कारण पहिले जजसले जुन देउतालाई पूजा गरे पनि अहिले स्मार्ट देवता, मोबाइल देवता नै इस्ट देवता, ग्राम देवता र गृह देवता बनेको छ । सबै जात, धर्म, सम्प्रदाय तथा समुदायका मानिसले बिहान सबेरैदेखि राति अबेरसम्म मोबाइलको दर्शन गर्दछन् । स्मार्ट मोबाइलको स्किन हेर्दै निदाउँछन् र त्यही स्किन हेर्दै ब्यूँझन्छन् । कतिपय त जीवनको अन्तिम आँखा चिम्लाइलाई पनि स्मार्ट बनाउँछन् ।

दृष्टिशक्तिको उपयोग
आँखाको दृष्टिशक्ति होओस् चाहे दिमागको दृष्टिकोण शक्ति होओस्, दुवैको असली उपयोग स्मार्ट मोबाइलले गर्दछ । उपयोग नगर्दा दुवै खेर जाने हुन्छन् । आजभोलि बालबालिकाहरूलाई नै हेर्नुहोस् न, स्मार्ट मोबाइलको उपयोग गर्दछन् । समय बितेको पत्तै हुँदैन । दृष्टि र दिमाग दुवैको बाल्यावस्थामै भरपूर उपयोग गर्दछन् । अनि त हजुरबाको अगाडि आँखामा स्मार्ट चस्मा लगाएर झन् स्मार्ट बन्न पाएका छन् । कुनै हिसाब होओस् कि सानोतिनो घरायसी समस्या, हजुरबाले केही सोध्दा तुरुन्त स्मार्ट फोनबाट जबाफ दिइहाल्छन् । हजुरबाको नाम पनि उही स्मार्ट फोनमै पढेर बताउने बालबालिकाहरूमा गज्जबको क्षमताको विकास भएको छ । पहिले पहिले हजुरबा बालख हुँदा र अहिले नाति बालख हुँदामा तुलना गर्नुस् त को कति कसरी स्मार्ट छन् ? स्मार्ट फोनको अत्यधिक उपयोगले आँखालाई पनि स्मार्ट बनाउँछ ।

एक्लै हुन नदिने
स्मार्ट मोबाइल हातमा हुने कहिल्यै एक्लै भएको महशुस गर्न सक्दैनन् । जसरी धार्मिक क्षेत्रका मानिसहरू जहाँ भए पनि ईश्वर साथ हुन्छन् भन्दछन् । बोतलसेवीहरूको प्रोत्साहनको लागि जसरी पहिले लेखिएको हुन्थ्यो : तपाईं जहाँ भए पनि…। यसरी जहाँ र जुनसुकै अवस्थामा स्मार्ट मोबाइलले साथ दिइरहेको हुन्छ । यो स्मार्ट साथी हो, समय कटाउने स्मार्ट सारथी हो ।

यसले सयौँलाई तपाईंलाई लाइक गर्न लगाउँछ । वास्तविक जीवनमा कसैले लाइक नगरे पनि स्मार्ट सञ्जालमा हर दिन सयौँले लाइक गर्छन् । फलो गर्छन् । कमेन्ट गर्छन् । तपाईं जहाँ भए पनि फोटो, स्टेटस र भिडियोले तपाइँको मनलाई र‌ङ्गिन साँझ झै रमाइलो बनाइरहन सक्छ । लाइक र कमेन्ट गरेर कहिल्यै थकान महशुस हुन दिँदैन । कहीं पनि र कहिल्यै पनि एक्लै किन हुन दिँदैन भने स्मार्ट फोनमा जहिले र जहाँ पनि उपस्थित हुन्छन् :

सारीवाललाई दाह्रीवाल र दाह्रीवाललाई सारीवाल तिन धर्के साधु पनि हुन्छन् यहाँ स्मार्ट नारीवाल ।

सबै आफन्त हुने
जब तपाईं स्मार्ट बन्नुहुन्छ तब संसारका सबै स्मार्ट तपाईंको पहुँचमा हुन्छन् । तपाईं सबै स्मार्टको पहुँचमा पुग्नुहुन्छ । तपाईं स्मार्ट संसारमा परिचित हुन पाउनुहुन्छ । आफन्तहरूले अनुरोध पठाइरहन्छन्, तपाईं पनि आफन्त बनाउन पाउनुहुन्छ । आफन्तलोक यति व्यापक हुन्छ कि को कुन ग्रहमा छन्, सबै थाहा हुन पाउँछ । स्मार्ट फोनले सबैलाई स्मार्ट बनाउने भएपछि तपाईं आफू पनि स्मार्ट बन्नु हुने छ । जसरी कोही एक्लै जन्मन्छ तर यसले आफूलाई अनेक नातामा पाउँछ त्यसरी जब तपाईं स्मार्ट बन्नुहुने छ तब तपाईं एकै जना अनेक स्मार्ट बन्नुहुने छ । तपाईं स्मार्ट पिता वा माता, स्मार्ट पत्नी वा पति, स्मार्ट साली वा भिनाजु, स्मार्ट फुपू वा फुपाजु, स्मार्ट छोरा वा छोरी तपाईंलाई जे मन लाग्छ त्यहीँ बन्न पाउनुहुने छ । आफूलाई स्मार्ट दुनियाँको सदस्य भन्न पाउनुहुने छ । जब तपाईं स्मार्ट बन्न पाउनुहुन्छ तब तपाईंको समय स्मार्ट हुन्छ, तपाईंको काम स्मार्ट हुन्छ र तपाईंको नाम पनि स्मार्ट हुन्छ । तपाइँका आफन्त स्मार्ट हुन्छन् । संसारलाई स्मार्ट बनाउन तपाइँको भूमिका पनि स्मार्ट हुन पुग्छ ।

र, जब कुनै चाडपर्व आउँछ तब शुभकामनाको लाइन लाग्छ । एक दुई दिन पहिलेदेखि शुभकामना दिनेहरू हुन्छन् र एक दुई दिन पछिसम्म पनि शुभकामना आइरहन्छ ।

तपाईंको जन्मदिन होस् कि मरण दिन, विवाह दिवस होओस् कि सहिद दिवस, नयाँ वर्ष रहोस् कि खाना दिवस, दिसापिसाब दिवसमा पनि अनेक शुभकामना तथा बधाई पाउनुहुन्छ । घरमा छाना हाले पनि, जिउमा नाना हाले पनि, मनमा गाना फले पनि, थालमा खाना फले पनि, गालामा चड्‌कन परे पनि, दिलमा धड्‌कन बढे पनि सबैको शुभकामना र बधाईको बाढीले तपाइँलाई आनन्दको ग‌‌ङ्गामा बगाउँदै समुद्रसम्म पुऱ्याउँछ । तालुमा आलु फले पनि बधाई र घेरपटे लागेर जिउ गले पनि बधाई ।

र, अन्त्यमा
स्मार्ट फोनले तपाइँलाई नाइटमा, डाइटमा र फाइटमा पनि स्मार्ट बनाउँछ । जहाँ डार्क पुग्छ त्यहाँ स्मार्ट पुग्छ अर्थात् पहिले जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ भन्दथे तर अहिले स्मार्ट म्यान पुगिरहेको छ । तपाईंको नाउँ, गाउँ र ठाउँ स्मार्ट बन्छ । तपाइँको मान र शान बढाउँछ । तपाईंले सुन्नुभएको होला : मानिसले बिगारेको मोबाइल बन्ध तर मोबाइलले बिगारेको मान्छे बन्दैन । स्मार्ट मानिसका विरोधीहरू जो पुरातन संस्कृतिका जडसूत्रवादीहरू हुन्, तिनीहरूले यस प्रकारका बकम्फुसे अफवाह फैलाएका हुन् । बाँदरले आफ्नो घर बनाउँदैन र अरुको घरलाई पनि भत्काउँछ भनेजस्तै हो । बाँदरको जिउमा आएको खटिरालाई कन्याउँदा कन्याउँदै विशाल घाउ बनाउँछ भनेजस्तै कतै केही नपाएर स्मार्ट मानिसको विरोधमा कन्याएको खटिरो मात्र हो ।

मलाई के विश्वास छ भने स्मार्ट मोबाइल नबोके पनि यही लेख पढेर तपाईं स्मार्ट बन्नुभयो । कि अझै पनि स्मार्ट बन्नुभएन ?

०००
व्य‌ङ्ग्यम् (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x