रामप्रसाद पन्थीहुलिङ अफ पिरियड
गच्छेअनुसार जसले जति सक्छ उति हुल्न सकाेस् । जति हुले पनि फुक्काफाल भएर डुल्न सकाेस् । तब पाे संघीय लाेकतान्त्रिक गणतन्त्र फुल्न सक्ला । याे मन पनि भुल्न सक्ला । सबैका मनमा सन्तुष्टिकाे झुमर झुल्न सक्ला ।

रामप्रसाद पन्थी :
गाँठी कुरा गराैं भने कसकाे घाँटी कहाँ जाेडिएकाे हुन्छ ? थाहा हुँदैन । जिउकाे सार घाँटी , कुराकाे सार गाँठी भन्दछन् । उमेर साठी कटेपछि किन कुरा चबाउनु र ? त्यसै भनेकाे हाेइन ; कुरा खर्सा मिठा अर्सा चिल्ला मिठा ।
भुरूङ्लाेले जे बाेल्छ सत्य बाेल्छ । जनजनकाे मनकाे कुरा खाेल्छ । थाहा छैन भुरूङ्लाेकाे कतिलाई पाेल्छ ? कताकता डाेल्छ ? फाटेकाे झाेला जे त हाेला । भुरूङ्लाेले कसैलाई भुरूङ बनाउनु छैन । न पहाड खनेर सुरूङ बनाउनु छ । सुरूङ खनेर पाे के गर्ने ? खाेदा पहाड निकला चुवा हुन बेर लाग्दैन ।
आगन्तुक शब्दको आगमनले पार्नु अप्ठ्यारोमा पाराेकाे छ भुरूङ्लाेलाई । कहिले त लाग्छ सलाई काेरेर शब्दकोश नै डढाइदिउँ । सडकदेखि सदनसम्मकाे कुलिङ पिरियडले तिरिमिरी गराइदियाे गाँठे ! के रहेछ भनेर यताउता खाेजें । …च्याउ खाओस् न स्वाद पाओस् भनेझैं भयाे । शब्दकाेशमा हेर्दा कुलिङ्ग र कुर्लिङ जस्ता शब्द भेटिए । जहाँ कुलिङ्गकाे अर्थ भँगाेराे, गाैथली जस्तै चराे र कुर्लिङकाे अर्थ घुम्रिएकाे वा गुडुल्किएकाे भन्ने भेटियाे । कुलिङ भन्ने शब्द ठ्याक्कै भेटिएन । तर पनि कुलिङकाे अर्थ जान्ने चाहाना मेटिएन ।
खसखस लाग्याे र एकजना सज्जनलाई साेधें । उनले भने “ताताेपनालाई चिस्याउने प्रकिया या अवधि नै कुलिङ अफ परियड हाे । ” यस भनाइसँग पटक्कै सहमत हुन सकिएन ।
तपाईं कन्फ्युज नहुनु हाेला । जुन दस्तावेजमा कुलिङ शब्दकाे प्रयाेग भएकाे छ । त्याे कुलिङ अफ पिरियड नभएर हुलिङ अफ परियड हाे । हु लेख्दा कु भएकाे । यदि कसकाे कुमतिले जानीजानी हुलिङलाई कुलिङ बनाएकाे भए ; तपाईंले जान्नुहाेस् त्यसका दिन गए ।
कुलिङबाट कहाँ हुलिङमा पुग्याे भन्नुहाेला । हामीजस्ता विद्वानले अर्थकाे यथार्थ व्याख्या नगरी भएन । किनभने कुलिङ शब्दले वर्तमान समय र सन्दर्भसँग बिलकुलै निकटता राख्दैन । जति हुलिङले राख्दछ ।
भन्नुहाेला हुलिङ पनि त शब्दकोशमा छैन । कुलिङ नभएपछि हुलिङ पनि शब्दकोशमा हुनुपर्छ भन्ने छैन । याे हुलिङ नितान्त नेपाली माैलिक शब्द हाे । कुलिङजस्ताे आगन्तुक शब्द हाेइन । हुलिङलाई तपाईंले आफ्नै काेडका रूपमा मान्न सक्नुहुन्छ ।
ज्याेतिषकहाँ चिना हेराउँदा हुलिङ शब्दकाे विकास हुल्नुबाट भएकाे थाहा लाग्याे। जहाँ हुल्नुकाे अर्थ काेच्नु ; घुसार्नु ; भित्र पसाउनु ; घचेट्नु ; अँचेट्नु आदि हुन्छ ।
हामीले जतिसक्दो आफूले काेच्न मिल्ने आफैले काेचेका छाैं । हाम्राे आँखा छलेर काेच्न खाेज्नेलाई जेलमा काेचेका छाैं। वचन वाणले मुटु फुट्ने गरी घाेचेका छाैं । काेच्ने र घाेच्ने कुरा हामीले गम्भीरतापूर्वक साेचेका छाैं ।
घुसार्नुकाे पनि अर्थ उही हाे । के, कहाँ, कसरी घुसार्ने भन्ने कुरा कसैले नसिकाए हुन्छ । पानी टङ्कीमा लक्कु लुकाएकाे अनुभव हामीसँगै छ । घुसार्ने कुरामा धक्कु नलाएकै राम्रो ।
भित्र के पसाउने र कसरी पसाउने भन्ने कुरा पनि साेध्ने विषय हाे ? कस्ताे कुरा गरेकाे ? हामी कुखुरा , बाख्रा किसान पाे त । खाेरभित्र कसरी पसाउने हामीलाई थाहा छ ! कस्ता कस्ता मै हूँ भन्नेहरूलाई आराेप लगाई लगाई खाेरभित्र हुल्नेमा हामीलाई कसले भेटाउँछ ? तपाईं आफै भन्नुहाेस् हाम्राे हर्कत, हाम्राे इतिहास कसले मेटाउँछ ?
जहाँसम्म घचेट्ने र अँचेट्नेकाे प्रश्न छ । यस कुरामा पनि हामी छुरा नै छाैं । नपत्याए तल्लाघरे लुरा र पल्लाघरे भुरालाई साेधे हुन्छ । यति जाबाे कुरा त बाटाघरे चुरालाई पनि थाहा छ ।
अब तपाईंको घैंटामा घाम अवश्य लागेकाे हुनुपर्छ । विनासित्तै अरूका पछाडि लागेर हुलिङलाई त्यसै कुलिङ बनाउन खाेज्ने ? कुराे नबुझी, कान नछामी कागका पछाडि कुद्ने ?
हाे हामीले गरेकाे पनि यहीँ हाे । जानेकाे, छानेकाे मानेकाे, झानेकाे, तानेकाे, हानेकाे, बानेकाे पनि यहीँ हाे । म अर्थात् हामी हुलिङ अफ पिरियडका अनुयायी हाैं । हामीलाई बुलिङ नगरियोस् ।
हुलिङ भएपछि त्यस्ता नाथे कुलिङकाे आवश्यकता नै पर्दैन । हुलिङकाे खाेप पाएपछि तातिएकाहरू सेलाएकाे यिनै आँखाले देखेका छन् । यिनै कानले सुनेका छन् । यिनै मनले गुनेका छन् । थप कुनै प्रमाणकाे खाँचो छैन । यहाँभन्दा अर्काे कुनै साँचाे छैन । पत्याउने नपत्याउने तपाईंको कुरा । आफू त गरिन्छ सुरा कुरा ।
दस्तावेज बनाउनेहरूले चर्काे नुन खाएकाे बेला परेछ कि कुन्नि ? हुलिङ लेख्ने बेला कुलिङ भएछ । त्यसैमाथि `बाहेक´ले भूकम्प गएछ । जे नहुनु थियाे भयाे । बाहेक कहाँबाट गुडुल्किएर आयाे ? छानबिन आयाेगबाट छानबिन गराैंला । त्यताबाट सल्टिन नसकी अखल्टिएर गयाे भने पनि नआत्तीनुहाेला । मेसाे परेससम्म ठेसाे लाएर तल्लारेहरूकाे अल्लारेपनलाई उपल्लारेहरूले सच्याइदिने कुरा भएकाे छ ।
हुलिङ आफैमा एउटा बृहत् अवस्था हाे । यसकाे सम्बन्ध व्युराेक्रेसी (कर्मचारीतन्त्र), पाेलिटिक्रेसी (राजनीतिज्ञकाे वर्चस्व भएकाे शासन व्यवस्था), क्रेटाेकेसी (शक्ति जसकाे हातमा छ उसकै हातमा शासन हुने) प्लुटाेक्रेसी (धनीद्वारा चलाइने राजनीतितन्त्र), पार्टीक्रेसी (राजनीतिक पार्टीको अत्यधिक नियन्त्रणमा भएकाे शासन व्यवस्था) यत्रतत्र सर्वत्र छ। अटाेक्रेसी हाेस् वा डेमोक्रेसी नहुल्ने काेही छैन । आखिर नहुली सुखै छैन । यसर्थ यहाँ कुलिङ हाेइन हुलिङ नै उपयुक्त शब्द हाे ।
आफ्नो खुट्टामा आफै बन्चरो कसैले हान्छ ? जानीजानी कसैले हान्दैन । झुक्किएर लाग्नु भनेकाे दुर्घटना हाे । दुर्घटना बाजा बजाएर आउदैन । तसर्थ कुलिङ अफ पिरियड हाेइन हुलिङ अफ पिरियड लागू गर्नु सबैभन्दा उपयुक्त उपाय हाे । यसले सबैकाे कल्याण गर्छ । गाेजाे भर्छ । गर्जाे टर्छ ।
एकआपसमा हिलाे छ्यापेर कसैलाई फाइदा हुँदैन । एकले अर्कोतर्फ चाेर ओैंला ठड्याउनुभन्दा एउटै मिलबिन्दुमा कुरा अड्याउँ । कुलिङकाे हाेइन हुलिङकाे सहमति राेजाैं । हुल्ने अनेक उपाय खाेजाैं । अनि पाे काले काले मिलेर भाले खाइन्छ । स्थायी सरकार र सरकार मिलेपछि कसैकाे केही लाग्दैन । खै कुरा बुझेकाे ?
हुलिङ अफ पिरियडकाे कुनै खास सीमा वा बन्देज हुँदैन । जसले जतिबेला जे फेला पार्छ त्याे हुलिहाल्नु पर्छ । यहीँ नै हुलिङकाे सिद्धान्त हाे । आदर्शवादी दार्शनिक मान्यता हाे ।
हुलिङ अफ पिरियडमा रहुञ्जेल कसले, किन, के, कसरी र कति हुल्याे भन्ने सवाल रहँदैन । अख्तियार हाेस् या अदालत कतै बबाल हुने कुरै भएन । विशेषगरी उच्च पदस्थ र भि. आइ.पी.हरूकाे झुट र लुटलाई छुट हुनुपर्छ । निम्न पदस्थ र निम्छराहरू बम्किनु हुँदैन । बम्किनेहरू कानुनकाे दायराबाट उम्किनु हुँदैन । किनभने हामी कानुनी राज्यको पक्षमा छाैं । सुशासनकाे लक्ष्यमा छाैं ।
दस्तावेजकाे दफादफामा छलफल गरिए पनि हुलिङकाे विषयमा चिप्लिएर अन्यथा भएकाे हाे । त्यसबाहेक `बाहेक´सित असन्तुष्ट भएर रुष्ट हुनु पर्दैन । कुलिङ सच्चिएर हुलिङ भएन भने त्यसकाे दीर्घकालीन असर पर्न जानेछ । राजीनामा वा अवकाश लगत्तै नियुक्ति लिन नपाएपछि अख्तियारमा काे जाने, राजदूत कसले खाने ? अप्ठ्यारो पर्दैन ? हामी अप्ठ्यारोमा परेपछि तपाईं सजिलाेमा पर्नुहाेला ? तपाईं आफै विचार गर्नुहाेला । सरकारी ढुकुटीबाट सुकुटी लुछ्न नपाएपछि पानीबिनाकाे माछाेझैं तड्पिएर मर्नुहाेला ।
कुलिङकाे प्रावधान कायमै राख्ने हाे भने निर्वाचनमा प्रभाव पार्दछ । खासखास जनप्रतिनिधिले हार्दछ । जसले गर्दा प्रत्यक्ष रूपमा दिगाे विकासका संभावनाहरू टार्दछ । तसर्थ कुलिङ अफ पिरियडका सट्टा हुलिङ अफ पिरियड कायम गरियोस् भन्नू हाम्राे माग हाे ।
गच्छेअनुसार जसले जति सक्छ उति हुल्न सकाेस् । जति हुले पनि फुक्काफाल भएर डुल्न सकाेस् । तब पाे संघीय लाेकतान्त्रिक गणतन्त्र फुल्न सक्ला । याे मन पनि भुल्न सक्ला । सबैका मनमा सन्तुष्टिकाे झुमर झुल्न सक्ला ।
हुलिङ अफ पिरियडकाे अभावमा आइपर्ने विपतकाे बारेमा बेलैमा साेचेकाे राम्राे । भाेलि भ्रष्टाचारका सबै फाइल खाेलिए भने ; अदालततिर सबै डाेलिए भने कसले देला गुहार ? सबैलाई चेतना भया ।
०००
रेसुङ्गा न पा २ , गुल्मी
२०८२। ०३।२६ गुरूपूर्णिमा
Subscribe
Login
0 Comments
Oldest








































