साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशविकासका लागि पोल्ट्रीफारम खोलौँ

सुखी नेपाली समृद्ध नेपालको सपना छिटो साकार गर्ने हो भने गोल्डहग जातको कुखुरा पालौँ र भर्ना हुन र सुन कोरल्न विदेश पठाइहालौँ । यिनको राम्रो सुरक्षा होस् ।

Nepal Telecom ad

होम सुवेदी :

कुखुराका धेरै जात हुन्छन्, लाइमाउथ रक, ओर्नपिङ्टन, रोड आइल्यान्ड, हाइब्रिड, ब्रोइलर, लेघोर्न र लोकल जातका कुखुराहरुका बारेमा ता धेरथोर थाहा नै छ र पोल्ट्री फारमबाट या कसाईकोबाट ल्याएर आहारा समेत बनाएकै छ यहाँहरुले । यी कतिपय कुखुराका जातका बारेमा यहाँहरुलाई भनिरहनु पर्दैन होला । तर यो गोल्डहग जातको कुखुराका बारेमा यहाँहरुलाई थाहा नहुन सक्छ । यो गोल्डहग भनेको कस्तो हो भनेर माथा चकराइसक्यो होला । माथा नघुमाउनुहोला, यो विशेष जातको कुखुरा हो भन्ने कुरा अहिले फेदमै बुझिराख्नु पर्छ । यसका नामले नै यो कस्तो जातको हो र यसले केकस्तो सुली पार्छ भन्ने कुरा अलिकति ता सङ्केत गरेकै छ अनि यसका कामको कुरा बयान गर्ने काम ता अब मेरो न भयो । यसैले म यसका कामको कुराका बारेमा केही महत्वपूर्ण जानकारी यहाँहरुसमक्ष राख्न लागिरहेको छु ।

यो कुखुरा पनि दुई खुट्टे नै हुन्छ । अरु साधारण कुखुराको सुली ता अति मलिलो भएर देशलाई धरियो पार्न मद्दत गर्छ भने यो गोल्डहगले ता सुन हगेर देशलाई सुनमय बनाउन सघाउँछ ।

अरु कुखुराको भन्दा यसको नाम भने केही फरक छ । यो शब्द नेपाङ्ग्रेजी हो । यो खासमा ठिमाहा हो । ठिमाहा भनेको ता पक्कै थाहा होला जसलाई खैरेहरुको शब्दमा ब्रोइलर भनिन्छ क्यारे । आधी खैरेहरुका भाषाको र आधी वीर गोर्खालीहका भाषाको वर्णसङ्कर भएकोले यसलाई नेपाङ्ग्रेजी भन्न सकिन्छ । गोल्ड भनेको सुन हो भनेर अब कसले नबुझ्ला र । गोल्ड भनेको सुन र हग भनेको हग्ने काम । अङ्कमाल वाला खैरेको हगको अर्थलाई यहाँ लाउन मिल्दैन । यहाँको हग शब्दले नेपाली अर्थ नै बुझाउँछ । गोल्ड भनेको सुन र हग भनेको हग्ने । सुनहग्ने कुखुरा नै गोल्डहग कुखुरा । अब ता बुझ्नु भो नि ।

मान्छेको सन्तान जन्मन पाएको छैन हातखुट्टामा गोल्डका चुरासुरा केकेजाती चाहिन्छ र मर्न लाग्दा पनि गोल्ड खान नसकेपछि पानी खुवाइन्छ र मुक्तिको बाटो खोलिदिने काम गरिन्छ । भनेपछि गोल्ड नबुझ्ने कोही छ जस्तो लाग्दैन । हगलाई ता बुझाइरहुन पर्दैन । नबुझ्ने कोही भए मेरो नम्बर छ फित्कौलीमा फोन गर्नू म बेझिझक । म भनिदिउँला नि ।

यो गोल्डहग कुखुरा पनि दुई खुट्टे नै हुन्छ भनेर माथि भनियो । यसका पखेटा हुन्नन् । यो आफू उड्न नसके पनि मजाले आफू उड्न र अरुलाई उडाउन सक्छ । हामी मान्छेकै आकार बोकेको यो कुखुरा पनि भाले पोथी दुबै हुन्छ । अहिलेलाई गोल्डहगलाई मान्छे भने पनि भो नि । यसलाई मारेर खानु हुन्न मासु चल्दैन यसको यो कुरामा फरक छ । सुनका अन्डा पार्ने भएकोले वा गोल्ड हग्ने भएकोले सुनकै चारो यसलाई चाहिन्छ । सुनबाहेक दालभाल, रोटी, मम, चाउचाउ, छाउछाउ, लगायत आफू भन्दा अरु जातका कुखुरा पनि यसले बिताउँछ । यसको खास विशेषता दालभात, तरकारी, मम, जाउचाउ, जाउजाउ, छाउछाउ नै हो । तर त्यो भन्दा पनि गोल्ड खानमा रमाउँछ । अझ बिस्कुट जस्तो आकारको गोल्ड यसको चारो हो । साधारण वा आममान्छे भन्दा गोल्डहगको यो भिन्नता र विशेषता छ । गोल्डका अन्डा पार्ने, बिस्कुट निकाल्ने भएकोले यो कुखुरा नेपालका लागि औधी कामको छ । यसलाई तौजी पारेर पालनपोषण गरियो भने सुखी नेपाली र समृद्ध नेपाल हुन कुनै बेर लाग्नेवाला छैन ।

यसको खान्की भनेको सुनको बिस्कुट हो भनेर माथि नै भनियो, हो यसले त्यही खान्छ । अघाउँजी खाएपछि ता आची गर्नै पर्‍यो । आची भनेको हग्नु हो । पेटैमा गोल्ड पचाउन ता सजिलो छैन । साधारण रुपमा यसो हिरोइन, ह्यासिस, ब्राउन सुगर, पचाउन ता खानेले सक्ला । जत्ति पचाएकै पनि छन् । तर यो सुन पचाउन नसकिने भएकोले यसले सुन खाएर सुनै हग्ने हो । अनि जति खाएको छ सबै थोक पेटमा ता अट्तैन । इनपुट भएपछिलाई आउटलेट पनि हुने नै भो । यसैले यसले झन् राम्रो रिफाइन्ड गोल्ड हग्ने काम गर्छ । धेरैजसो यस कुखुराले चारोका रुपमा खाने जुन गोल्ड चारो हो त्यो कतार, मलेसिया, चिन जस्ता मुलुकहरुमा खान्छ र हाम्रो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्वाइलेटमा आएर कोरल्छ । पुलिसहरुले कोरल्न लगाउँछन् । अलिक उस्तो भाषामा भन्ने हो भने पुलिसले हगाउँछन् । कुन गोल्डहगले कति गोल्डका अन्डा वा बिस्कुट हग्यो भनेर रुँगेर, चेक जाँच गरेर पत्ता लगाउँछन् । कतिले बिस्कुट रुपी सुनको चारो पचाउन नसकेर सोझै सुनको बिस्कुट नै हग्छ । पाचनशक्ति दरो भएका कसैकसैले पचाएर औँठी रिङ्हरु र सुनका गहना समेत पेटैमा बनाइसकेका हुन्छन् र हग्छन् ।

त्यसैले यो कुखुराले जतासुकै नहगोस् वा सुनको अन्डाको फुर्मास नपारोस् भनेर विमानस्थलको शौचालयमै कोरल्ने वा हगाउने गरिएको छ । मौकामा हगाउन छुटेका कुखुराहरु विमानस्थलमा पुलिसको राम्रो निगरानी भएन र झुक्याउन सके भने बाहिर आएर मजासँग सुन हग्छन् । पाँच किलो, तेत्तिस किलो, साठी किलोसम्म पनि यिनले हग्छन् । यो कुरा ता सुन्नु पनि भएकै होला । यसैले देशलाई चाँडो उन्नत र विकसित पार्ने हो भने गोल्डहग जातका कुखुरा पाल्नुपर्छ पाल्न थालिहाल्नुपर्छ पोल्ट्री फारम खोल्ने पाइला चालिहाल्नुपर्छ । अनि तिनलाई नेपालबाट कतार मलेसिया दुबई चिनतिर भटाभटी पठाउनु पर्छ । उतै भाले पोथी उतै ब्याउने हुन्छन् अघाउँजी सुन खान्छन् र यता आएर ब्याउँछन् । यसो गरियो भने देश विकासका लागि ठुलो भरथेग होला भन्न चान्छु ।

अँ अब यसले गोल्ड कसरी खान्छ भन्ने पनि बुझिहाल्नु भो होला । खानु भनेको पेटमा पुर्‍याउनु ता हो । बिरामीहरुले नाकबाट पनि खान खुवाइन्छ र कतिलाई ता घाँटी छेडेर पनि खाना दिइन्छ । यहाँहरुलाई थाहा भएकै कुरा हो । यो गोल्डहग कुखुराले गोल्ड मुखबाट र तल गुदद्वारतिरबाट खाने गरेको छ । गुदद्वारमा सुन बोकेका कुखुराहरुको कुरा ता सुन्नु नै भएको होला । पोथी जातका गोल्डहग कुखुराले ता दुबै द्वारतिरबाट सुनका अन्डा पारेको कुरा पनि सुन्नु भएकै होला । पोथी जातको कुखुराबाट निकै फाइदो छ । दुईतिरैबाट अन्डा पार्छन् । अब अरु कुरा गोल्डहगका बारेमा के भनिरहनु पर्ला र ।

विकासको गति बढाउने हो भने गोल्डहग जातका कुखुरा विदेश पठाइहालौँ । उतै भर्ना हुन्छन् । उतै ब्याउने होउन् र अन्डा पार्न मात्र यता विमानस्थलमा आउन् । गोल्डहगलाई विमानस्थलमा नयाँ नयाँ शौचालय बनाएर सकेसम्म कनी कनी हगाऔँ । गोटा परेको बहाना पारेर सुन लिएर भाग्लान् नि फेरि । होस पुर्‍याऔँ । धेरै भेला भए भने यिनलाई बास्न पूर्व उज्यालो फाट्नै पर्दैन । फेरि दिउसोमासै बासेर दिक्क लाउँछन्‍ । होस् पुर्‍याऔँ । त्रिफला खुवाएर पेट सफा हुने गरी हगाऔँ । सुनको रासका रास हगून् । यसबाट देशको दिगो विकास हुनेमा सन्देह छैन । सुखी नेपाली समृद्ध नेपालको सपना छिटो साकार गर्ने हो भने गोल्डहग जातको कुखुरा पालौँ र भर्ना हुन र सुन कोरल्न विदेश पठाइहालौँ । यिनको राम्रो सुरक्षा होस् । गोल्डहगमाथि अन्याय नगरौँ न्याउरी मारी पछुतो होला नि ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x