नरनाथ लुइँटेलहास्यव्यङ्ग्यकार श्याम गोतामे : जीवनी तथा व्यक्तित्व (२)
गाेतामे कृतिशेष भएकै दिन स्थापना भएकाे सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ ।

नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाैतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
गाेतामेकाे विवाह/परिवार
श्याम गोतामेले प्रमाणपत्र तहको परीक्षा उत्तीर्ण गरेकै साल अर्थात् वि.सं. साल असार १७ गते वीरगञ्जका कृष्णप्रसाद शर्मा एवम् कमलप्रभा शर्माकी छोरी शर्मासँग विवाह भएको थियो। पद्मा काठमाडौंका दीक्षित परिवारकी भाञ्जी हुँदा उनी मामा अनन्तमणि दीक्षितको घरमा बसेर पढ्दै थिइन् । “हरेराम पार्टी’ को भजन कीर्तनका सिलसिलामा देस्वादेस्व भए पनि आपसमा विवाह हुन्छ भनेर कल्पना नगरेका (श्याम गोतामेकी पत्नी पदमा गौतम ०४६/१०/१८ मा लिइएको अन्तर्वातामा आधारित ।) यी जोडीको विवाह पिता माताहरूको इच्छा अनुसार परम्परागत ढङ्गले सम्पन्न भएको थियो।
गोतामेका २०१४ सालमा जन्मिएका प्रकाश गौतम र २०२२ सालमा जन्मिएका सुनिल गौतम दुई छोराहरू छन्। त्यसैगरी २०१७ सालमा जन्मिएकी नीरा र २०२० सालमा जन्मिएकी रीता दुई छोरीहरू छन्। छोरा र छोरी सबैको विवाह भइसकेको छ। जेठो छोरा प्रकाशतिरका दुई नाति वैभव र रिसभ, कान्छा छोरातिरका एक नाति शुभव बाल्यावस्थामै छन् भने छोरीतर्फ जेठी छोरी नीरातिरका एक नाति रूपक र एक नातिनी रूजा एवम् कान्छी छोरीतिरका दुई नातिनीहरू रूना र हिना छन्। श्याम गोतामेकी पत्नी पद्माले रावावैंकमा स्थायी जागिरमा संलग्न रहेर हालै मात्र अवकाश लिएकी छिन् ।
आर्थिक अवस्था
श्याम गोतामेको पुर्ख्याैली आर्थिक स्थिति त्यति राम्रो देखिन्न। उनका बाजे कृषि पेशामा आश्रित भएर र ज्योतिषी कर्मकाण्डबाट परिवार चलाउँदै आएको देखिन्छ। पिता ज्वालाप्रसाद जागिरमा संलग्न भएपछि अवस्थामा राम्रै सुधार आए पनि २०१३/०१४ सालदेखि नै उनले पिताजीको साथ छोडी आफ्नै किसिमले आफैं आर्जन गरी परिवारको गाडा चलाउन थाले। आय आम्दानीको अरू कुनै स्रोत नहुनु र केवल आफ्नो जागिरमै परिवारको भरणपोषण कार्य निर्भर गर्नुपर्ने स्थिति उनको थियो।
आर्थिक उपार्जनको निम्ति गोतामेले २०१५ सालदेखि नै ग्रामीण विकास, रसियन सूचना केन्द्र, शिक्षा निरीक्षक र वैंकमा जागिरे जीवन बिताउँदै आएको देखिन्छ। तर उनको आर्थिक आधार बलियो कहिल्यै बनेन। त्यो आधार वलियो बनाउन उनले निकै प्रयत्न गरेका थिए। पछिल्लो एउटा प्रयत्नस्वरूप धादिङ जिल्लाको राजमार्ग छेउ मलेखु नजिक पतौरीमा ‘ब्लु ह्याभेन’ नामको होटल सञ्चालन गरेका थिए। पर्यटकीय किसिमको उक्त होटलले राम्रो आमदानी दिन थालेकै बेला २०५० सालमा त्रिशुली नदीको भीषण बाढीको प्रकोप आइलाग्यो। उक्त बाढीले होटलको भौतिक सरसामग्री मात्रै बगाएन, उनका जीवनभरिका साहित्यिक रचना, सङ्कलित पुस्तक, साहित्यकारहरूसँग गरिएका कुराकानीको टेपरेकर्डलगायत धेरै कुरा बगायो। उक्त बाढीको प्रकोपबारे श्याम गोतामे आफैले भनेका थिए- ‘जीवनमरिको कमाइ लग्यो । लालपूर्जा थियो, त्यो पनि गयो। मेरा रचनाहरू सबै गए। नेपालका प्राय सबै कवि लेखकका हस्ताक्षरीय पाण्डुलिपिहरू सङ्कलन गरेको थिएँ, त्यो पनि बगायो। सय जना जति कविहरूको आवाज टेप गरेको क्यासेट थियो त्यो पनि पर्याे । (श्याम गोतामे- अशेष मल्लसँगको कुराकानीमा आधारित, जनमञ्च (साप्ताहिक), २०५०/५/२४, अङ्क २२, पृ.१८।)
यसरी के देखिन्छ भने श्याम गोतामेको आर्थिक अवस्था सुदृढ तथा राम्रो थिएन। अभावग्रस्त परिस्थितिसँग पौँठेजोरी खेल्दै छोराछोरीहरूको लालनपालन गर्दै परिवार चलाएका थिए। अभावग्रस्त आम नेपाली लेखकभन्दा उनको जीवन फरक देखिन्न ।
आजीविका कार्यक्षेत्र र सेवा
पिताजीसँगको खटपटपछि नै श्याम गोतामेले आत्मनिर्भर भएर बाँच्नका निम्ति आजीविकाका रूपमा जागिर समाउन पुगे। सर्वप्रथम २०१५ सालमा ग्राम विकास अन्तर्गत सरकारी सेवामा उनी संलग्न भएको देखिन्छ। उक्त सेवामा दुई वर्ष बिताएपछि २०१७ सालमा तत्कालीन जि.प्र.का. शिक्षा शाखा भक्तपुरको शिक्षा निरीक्षक पदमा नियुक्त भई कार्य गर्न थाले। २०२५ सालसम्म उक्त पद र जिम्मेवारी उनले वहन गरेको देखिन्छ। शिक्षा निरीक्षक पदबाट उनले दिएको स्वेच्छिक राजीनामा २०२५/७/१३ मा शिक्षा विभागबाट स्वीकृत भएको थियो। (शिक्षा मन्त्रालय, शिक्षा विभागको पत्रसङ्ख्या ६३२५/०२५ तथा मिति २०२५/७/२७ को पत्रको प्रतिलिपि अनुसार ।) त्यसको लगतै गोतामे रसियन सूचना केन्द्रमा टाइपिष्ट पदमा बहाल रहेको देखिन्छ। २०२५ सालदेखि २०३३ सालसम्म लगभग ८ वर्ष उनी यो केन्द्रमा कार्यरत रहे र त्यहाँबाट पनि उनले अवकाश लिए। उक्त केन्द्रको सेवा गोतामेले स्वेच्छाले छोडेका थिए।
वि.सं. २०३४ साल वैशाख ५ गतेदेखि श्याम गोतामे राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी नियुक्त भए। गोतामेपत्नी पद्मा गौतमका अनुसार प्रशिद्ध हास्यव्यङ्ग्यकार भैरव अर्यालका बालशखा नवराज चालिसे रा.वा. बैंकको महाप्रवन्धक भएको बेला अर्यालकै प्रयत्नबाट गोतामे बैंक सेवामा प्रवेश गरेका थिए । उक्त बैंकको भरतपुर शाखा खुल्दाखुल्दैको अस्थायी कोषाध्यक्ष पदमा नियुक्त गोतामेको मासिक तलव रू. ४५०।- तोकिएको थियो। (रा.वा. बैंक केन्द्रीय अफिसको पत्र सं. २४५१ क १/१२ तथा च.नं. २८२६, मिति २०३४/१/५ को पत्रको प्रतिलिपि अनुसार ।) २०३५ साल भाद्रमा खजाञ्ची पद तोकिई स्थायी भएका गोतामेलाई भरतपुरबाट फर्पिङ शाखामा सरूवा गरिएको देखिन्छ। तर फर्पिङ शाखामा पनि उनी लामो समय कार्यरत भएनन् । २०३६/७/२७ को सरूवा तथा रवानापत्र लिई उनी सिराहा शाखा खटिए। परिवारसहित गोतामेले सिराहामा लगभग ८ वर्ष व्यतित गरेको देखिन्छ।
त्यसपछि केही समय क्षे.का. र पोखरास्थित महेन्द्रपुल शास्वामा कार्यरत भई २०५० सालमा टेकु क्षेत्रीय कार्यालयमा सरुवा भएका गोतामेलाई २०५४ जेठ १९ गतेका दिनदेखि वैक सेवाबाट अनिवार्य अवकाश दिइयो। रा.वा.बैंक कर्मचारी नियमावली २०५० परिच्छेद ६ नियम ५६ अनुसार मिति २०५४/२/१९ गतेका दिन गोतामेको उमेर ५८ वर्ष पुगेकाले मिति २०५४/४/२३ को निर्णय अनुसार अनिवार्य अवकाश दिइएका (रावा बैंक केन्द्रीय कार्यालयको च.नं. ५०८ मिति २०५४/४/२७ मा खजाञ्जी श्री श्यामप्रसाद गौतमका नाममा लेखिएको पत्रको प्रतिलिपि अनुसार।) गोतामेले जम्मा २० वर्ष ३ महिना १८ दिन बैंक सेवामा समर्पित गरेको देखिन्छ। यसरी अनिवार्य अवकाश लिंदा उनी सुपरिवेक्षण कार्यालय, टेकुमा कार्यरत थिए भने उनको मासिक तलव स्केल रू. ३४४०।- र १७ ग्रेड रहेको थियो । बैंक सेवा छोड्दा उनले पाउनुपर्ने रकममा कल्याणकारी सञ्चयकोप रू. ७,७०१/१९ स्वजाञ्ची जमानत दस्तुर १,६६,६१८/९९, खजाञ्ची जमानत २५००।- देखिन्छ । (रावा बैंक सुपरीवेक्षण कार्यालयको चन ३२७, मिति ०५४/५/१० को पत्रको प्रतिलिपि अनुसार।) गोतामेले बैंकमा सेवा सुरू गर्दा जुन पदमा नियुक्ति लिएका थिए, २० वर्षपछि अवकाश लिंदा पनि विलकुल त्यही पदबाट अवकाश लिएका थिए। आजीविकाको क्रममा गोतामेले सवभन्दा लामो समय समर्पण गरेको सेवा यही बैंक सेवा नै हो।
रा.वा.बैं. बाट अवकाश पाएपछि गोतामेले ०५५ वैशाख १८ गते अघिसम्म हिमालय टाइम्स दैनिक, कान्तिपुर दैनिक र केही साप्ताहिक पत्रपत्रिकामा स्तम्भकारका रूपमा नियमित हास्यव्यङ्ग्य लेखहरू लेख्ने गरेका थिए। त्यो बेला उनको आर्जनको मुख्य मेलो त्यही मात्र देखिन्छ। पछिल्लो चरणमा केही समय राजधानी नजिकैको मलेखुमा राजमार्ग छेउमै पर्यटकीय रेष्टुरेन्ट सञ्चालन गरे पनि बाढीमा परी उक्त व्यवसाय समाप्त भएको देखिन्छ ।
क्रमश : अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)
Subscribe
Login
0 Comments
Oldest





































