नरनाथ लुइँटेलहास्यव्यङ्ग्यकार श्याम गोतामे : जीवनी तथा व्यक्तित्व (३)
परीक्षामा अनियमित कार्य गरिरहेको (चिट चोरेर लेखिरहेको) फेला पारेपछि गोतामेले एकजना परीक्षार्थीलाई हलबाट बाहिर मात्रै निकालेनन्, तीन वर्षका निम्ति रेष्टिकेट नै गरेका थिए।ती परीक्षार्थी अरू कोही नभएर नाताले उनका आफ्नै भाइ थिए।

नरनाथ लुइँटेल :
वि.सं. १९९६ भदौ २७ गते काठमाडाैंमा जन्मिएका श्याम गाेतामे नेपाली हास्यव्यङ्ग्य निबन्धका अविस्मरणीय व्यक्तित्व हुन् । गाैतामेकाे पहिलाे प्रकाशित हास्यव्यङ्ग्य निबन्ध ‘मैले पनि पिउन सिकेँ’ हाे, याे २०२५ सालमा प्रकाशित भएकाे थियाे । उनकाे पहिलो कृति चाहिँ ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह हाे । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यिव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । झण्डै २ सय जति विभिन्न पत्रपत्रिकामा छापिएर रहेका फुटकर निबन्धहरू रहेका भेटिन्छन् । २०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे । उनी कृतिशेष भएकै दिन स्थापना भएकाे हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपाललद्वारा ‘हास्यव्यङ्ग्यकार श्याम गोतामे’ (२०५८) जीवनी र व्यक्तित्वमा आधारित कृति प्रकाशित भएकाे थियाे । नरनाथ लुइँटेलकाे यस कृतिबाट गाेतामेकाे जीवनी र व्यक्तित्वबारे मूलअंश क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानिएकाे छ । – सम्पादक
श्याम गाेतामे : व्यक्तिगत रुचि र स्वभाव
श्याम गोतामेलाई कोरा औपचारिकता पटक्कै मन पर्दैनथ्यो। बाटोमा हिँडिरहेको बेला कसैले भेट्यो र दाइ आराम हुनुहुन्छ ?’ या ‘श्यामजी सञ्चै ?’ भनेर सोध्यो भने श्याम यस्ताे शब्दमा जवाफ दिनेगर्थे “मलाई सञ्चै नभएको भए अथवा म बिरामी भएको भए कि ओछ्यानमा कनिरहेको हुन्थेँ कि हस्पिटलको वेडमा लडिरहेको हुन्थेँ। सञ्चो नभए यसरी ठम्ठम्ती हिँड्न सक्थेँ त ? श्यामको यस्तो जवाफ सुनेर साेध्ने व्यक्ति अवाक हुन्थ्याे। समकालीन मानिसहरू हन् या पछिल्लो पुस्ताका लेखक कविहरू हुन् धेरैले त्यसखाले औपचारिकता वापत गोतामेको खप्की स्वाएका छन्। उनको यो स्वभाव देखेर कतिपय मानिसहरू उनलाई कस्तो सनकी र झडङ्गे रहेछ समेत भन्थे।
नबिराउनु नडराउनु भन्ने उखान गोतामेमा ठ्याम्मै चरितार्थ भएको थियो। उनी कसैसँग डराउँदैनथे, आफूलाई चित नबुझेको कुरा प्वाक्क भनिहाल्ने उनको बानी थियो। यसो भन्दा त्यसको परिणाम के निस्कन्छ भन्नेतर्फ उनले कहिल्यै ध्यान दिएनन्। परिणाम जेसुकै निस्कियोस् तर आफूलाई बेठीक लागेको कुरा यो बेठीक हो भन्न रत्तिभर नहिचकिचाउने स्वभावले उनलाई अलोकप्रिय पनि बनाएको थियो। आफ्नो अलोकप्रियताबारे उनी आफै भन्ने गर्थे- ‘मेराे मुख अति नै छुच्चो र लेखन चोटपरक हुने गरेकोले म बाहिर मात्र होइन स्वयम् आफ्नै घरमासमेत अलोकप्रिय छु। तर अलोकप्रिय भएकोमा मलाई कुनै सुर्ता छैन। (श्याम गोतामे भैरव पुरस्कार २०५० ग्रहण गरेपछि मन्तव्यको क्रममा, जनमञ्च (साप्ताहिक) २०५०/८/१६, अङ्क ३०.पृ. १५।) उनको यो अभिव्यक्तिले उनीभित्रको खरो प्रवृत्तिलाई अभिव्यक्त गरेको छ।
कोही कसैप्रति लोलोपोतो र मोलाहिजा गर्ने वानी उनको थिएन। लोकाचार र शिष्टाचारबाट धेरै पर रहेका गोतामे छेउ लुकाएर कुरा गर्दैनथे। लालोपोतोले जतिसुकै छोपे पनि खाेट खाेट नै हो, भन्ने सोचले उनलाई हर्दम् डोऱ्याइ रहन्थ्यो। त्यसैले त उनी भन्ने गर्थे- ‘मलाई कसैले खान बोलायो भने बेस्सरी खाने कुरो गुतार्छु अनि आफ्नो प्रतिक्रिया स्पष्ट शब्दमा भन्छु “अरू थोक त ठीक छ तर दालमा भने नून भसक्कै चर्को छ। यस्तो झुर दाल पनि कोही खाओस् ।” एक त अरुकहाँ सित्तैँ खानु र त्यसमाथि अनेक थरिको खाेट लगाउनु एउटा अशिष्ट प्रवृत्ति हो भन्ने मलाई पनि थाह छ तर म खाेट देखाउन बिर्सन्न, उद्देश्य के भने अर्को पटकको निम्ति ऊ सतर्क होस् जसले गर्दा भविष्यमा कुनै पाहुनाले उसकहाँ खाँदा मजस्तै नून चर्को दाल खानु नपरोस्। (श्याम गोतामे, पूर्ववत्।) मनमा एउटा कुरा लिएर मुखले अर्कै कुरो भन्दै हिंड्ने प्रवृत्तिका मान्छेहरू बीच गोतामेको यो स्वभाव नितान्त फरक छ।
हास्यव्यङ्ग्यात्मक कविगोष्ठी तथा कार्यक्रमहरूमा गोतामे प्रायजसो उपस्थित हुने गर्थे। प्राय दर्शकदीर्घामा उनलाई देखिन्थ्यो। कार्यक्रमका उद्घोषकले कुनै कविलाई कविता भन्न बोलाएपछि मञ्चमा पुगेको कवि कविता वाचन गर्नुपूर्व भूमिका बाँध्दै भन्थ्यो- ‘म कुनै हास्यव्यङ्ग्य कवि त होइन, तर पनि एउटा कविता लिएर आएको छु’ आदि। दर्शक तथा स्रोतादीर्घाबाट गोतामे कविलाई फटकार्थे ‘महाशय, तपाईं हास्यव्यङ्ग्य कवि होइन भने यो हास्यव्यङ्ग्य कविगोष्ठीमा कुन् रून्चे कविता लिएर मञ्चमा जाने आँट गर्नुभयो ?’ स्रोताहरू गलल्ल हाँस्थे, कविको अनुहार भने रातो हुन्थ्यो।
श्याम गोतामे निर्भीक थिए त्यसै भएर कसैको अगाडि झुकेनन् । उनी विलकुल निर्लोभी थिए त्यसैले आफ्नै पसीनामा बाँच्न चाहन्थे, कसैको ढोकामा ढुकेनन् । उनी कसैको भनाइ बहकाउमा बग्ने गर्दैनथे, आफ्नै अडान, आफ्नै विचारमा दृढ थिए, त्यसै भएर उनी कसैसँग कहिल्यै लुकेनन् । (सूवसेन ओली- गोतामेको तेही पुण्य तिथिमा हाँसनेद्वारा ०५५ वैशाख ३१ गते आयोजित श्रद्धान्जलि सभामा व्यक्त मन्तव्यका क्रममा, शोधकर्तासँग रहेको उक्त कार्यक्रमको टेप रेकर्डमा आधारित।) यसरी झुक्ने, ढुक्ने र लुक्ने स्वभाव नभएका गोतामे साँच्चै नै खरो, प्रष्टवक्ता र पारदर्शी व्यक्ति थिए। (रमेश विकल- पूर्ववत्, श्रद्धाञ्जलि सभामा व्यक्त मन्तव्यका क्रममा।) उनी यतिसम्म कठोर थिए कि भन्नुपर्ने स्थिति आयो भने जो कसैलाई पनि भित्तो पुऱ्याएर भनिहाल्थे। जे जस्तो लेख्थे त्यस्तै बोल्थे अनि जे जस्तो बाेल्थे, त्यस्तै लेख्थे। यही नै उत्नको स्वभावगत विशेषता हो, शैली हो। (श्रीधर खनाल- पूर्ववत्, श्रद्धाञ्जलि सभामा व्यक्त मन्तव्यका क्रममा।) आर्थिक, भौतिक, मानसिक वा शारीरिक स्थितिमा परिवर्तन आउनासाथ कतिपय मानिसका चिन्तन र स्वभावमा परिवर्तन आउने गर्दछ। तर गोतामेमा यस्तो परिवर्तन देखिएन। ‘पच्चीस वर्षसम्म निरन्तर गोतामेसँग सम्पर्क र सम्वन्ध कायम रहयो। समयको यति लामो अन्तरालमा पनि उनको स्वभाव र व्यवहारमा कुनै परिवर्तन देखिएन। उनलाई प्रशंसा कहिल्यै मन पर्दैनथ्यो। खरो र दह्रो स्वभाव गोतामेको पर्याय हो, विशेषता हो। (रामकुमार पाँडे- पूर्ववत्, श्रद्धाञ्जति समामा व्यक्त मन्तव्यका क्रममा।) गोतामेका समकालीन व्यक्तिहरू मध्येका हास्यव्यङ्ग्यकार रामकुमार पाँडेको यो कथनले पनि गोतामेका स्वभावमा रहेको दृढता र स्थिरतालाई प्रकट गरेको पाइन्छ।
स्वाभिमानी र आत्मविश्वासीपन गोतामेका विद्यमान स्वभावको अर्को पाटो हो। स्वाभिमानी प्रवृत्ति भएकोले नै गोतामे चाकडी चाप्लुसीजस्ता वृत्तिहरूलाई घृणा गर्दथे। बीस वर्ष लामो जागिरे जीवनभरि एउटै पदमा कार्यरत रहेर सोही पदबाट अवकाश प्राप्त गर्ने गोतामेजस्ता जागिरदार विरलै पाइन्छन् । चाकडी र चाप्लुसी व्याप्त हाम्रो देशको कर्मचारी सेवामा गोतामेको उपस्थिति सर्वथा भिन्न रहेको देखिन्छ। न उनी आफू चाकडी गर्दै आफूभन्दा माथिकालाई खुशी पार्न खोज्थे, न अरू कसैले चाकडी गरेको मन पराउँथे। घूस लिने दिने क्रियालाई उनी औधी घृणा गर्थे। उनको यो प्रचण्ड घृणा व्यङ्ग्यका रूपमा कलमद्वारा मात्रै विस्फोट हुँदैनथ्यो, व्यवहारमा पनि घूसको विरोधमा विद्रोह प्रकट गर्दथे। अरू त परै जावस् स्वयम् आफ्ना पिताको घुस्याहा प्रवृत्तिको विरूद्धसमेत उनले विद्रोह छेडेका थिए। यो विद्रोहका वारेमा एकपटक गोतामेले भनेका थिए- ‘उहाँ (पिता ज्वालाप्रसाद गौतम) अधिक घूस ख्वाएर पैसा कमाउनुहुन्थ्यो तर मलाई पढ्नका निम्ति पर्याप्त स्वर्च दिन इन्कार गर्नुहुन्थ्यो। ममा उहाँप्रति एकदम घृणा र विद्रोह जागेर आयो। त्यसै बखत् देशव्यापी दौडाहामा गएका तत्कालीन प्रशासन सुधार आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री टंकप्रसाद आचार्यसमक्ष यो कुरा भनिदिएँ, यसैकारणले पिताजीलाई गौरबाट हुम्ला सरुवा गरियो। (श्याम गोतामे- अमृत दाहालसँगको कुराकानी, पूर्ववत् ।) यसरी आफ्नै पिताजीको घुस्याहा कार्यकलापको विरूद्धसमेत उजुर गरी कारवाही गराउन उद्यत हुने गोतामेको मनोवृत्ति विकृति विरूद्ध लक्षित थियो। यो पनि उनको स्वभावजन्य विशेषता अन्तर्गत नै पर्दछ।
खस्रो मिजासका गोतामे जहिलेसुकै पनि गम्भीर मुद्रामा देखिन्थे। हास्यव्यङ्ग्य रचना लेखी आफ्ना पाठकहरूलाई हँसाउने गोतामे आफू भने बिरलै हाँस्थे। सकेसम्म कम बोल्ने स्वभावका गोतामेले स्वयम् भनेका छन्- ‘म बिरलै हाँस्छु, जति बेला मलाई कुनै व्यक्तिले खाेतल्छ। (श्याम गोतामे- अशेष मल्लसँगको कुराकानीमा आधारित, जनमञ्च (साप्ताहिक), २०५०/५/२४ को अड्क २२ ।) समकालीन हास्यव्यङ्ग्यकार मित्रहरूसँग बसेर गफगाफ गर्दा पनि उनी सबैलाई हसाउँथे, उनको कुरा सुनेर सबै पेट मिचीमिची हाँस्थे तर आफू हाँस्दैनथे। उनमा गम्भीरता आवश्यकताभन्दा वढी नै थियो। घरमा बसेका बेला पनि गम्भीर मुदा धारण गरी कि त केही लेखिरहेका हुन्थे कि केही पढिरहेका हुन्थे। सिनेमा हेर्ने, पिक्निक जाने वा त्यस्तै कुनै किसिमका रामरमितातिर उनको मन रमाउँदैनथ्यो। (गोतामको पत्नी पद्मा गौतमसँग ०५६/११/१८ मा लिइएको अन्तर्वातामा आधारित ।) उनको शोख र मनोरञ्जन भनेकै हास्यव्यङ्ग्य रचना लेख्नु, अरूले लेखेका हास्यव्यङ्ग्य कृक्ति एवम् रचनाहरू अध्ययन गर्नु रहेको थियो। गोतामेका मनपर्ने हास्यव्यङ्ग्य लेखक भारतका प्रसिद्ध हास्यव्यङ्ग्यकार हरिशंकर परसाई हुन्। परसाईंको “सदाचारका तावीज” कृति उनको मनपर्ने कृति मध्येको एक हो। (सं. माणिकरत्न शाक्य, हास्यव्यङ्ग्यकार नालीबेली सिस्नुपानी नेपाल, २०५६, पृ.१९६ ।)
गोतामेको स्वभाव नैतिक जिम्मेवारीप्रति पनि उत्तिकै दृढ थियो। गोतामे भक्तपुरमा जिल्ला शिक्षा निरीक्षक भएको बेला एस.एल.सी. परीक्षाको एउटा केन्द्रबाट परीक्षामा अनियमित कार्य गरिरहेको (चिट चोरेर लेखिरहेको) फेला पारेपछि गोतामेले एकजना परीक्षार्थीलाई हलबाट बाहिर मात्रै निकालेनन्, तीन वर्षका निम्ति रेष्टिकेट नै गरेका थिए। (डा. राजेश गौतमले ०५६/१०/२५ मा दिएको जानकारी अनुसार।) ती परीक्षार्थी अरू कोही नभएर नाताले उनका आफ्नै भाइ थिए। यस किसिमकाे नैतिक जिम्मवारीवाेध र व्यवहार आजकाे स्वार्थी वातावरणमा विरलै पाइने गुण एवम् स्वभाव हाे, जाे श्याम गाेतामेमा विद्यमान थियाे ।
क्रमश: अर्काे शनिवार
०००
हास्यव्यङ्ग्यकार श्याम गोतामे (२०५८)
Subscribe
Login
0 Comments
Oldest








































