साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुकुलन्ठुको कीर्तिपुर-यात्रा

मेरो विद्रूप रूप देखेर एक पटक कोठामा हाँसोको फोहरा छुटयो । त्यसपछि एक जना डा. हुन् कि प्रा. हुन्, उनले पालेलाई बोलाएर बेस्करी हपारे, 'यो हावा फस्केझैं लाग्ने अर्धसिल्लीलाई ढोकाभित्र छिर्न कसरी दिइस् ?'

Nepal Telecom ad

नरनाथ लुइँटेल :

‘बोट गुनाको फल’ भन्ने लोकाेक्ति सुनआएको यो डुकुलन्ठुकाे बल्ल बुद्धिबङ्गारो पलाएछ । बद्धिबङ्गाराे उम्रनु र बुद्धि पलाउनुमा रहेको सामञ्जस्य वा मित्रता खुट्याउने काम बहालवाला दन्त-विशेषज्ञ र बद्धि-विशेषज्ञकै जिम्मा लगाउन मनासिब होला । अथवा उनीहरूमध्येकै आयोगविशेषज्ञ एक जना अनिलको एक-सदस्यीय आयोग गठन गरी यथोचित जाँचबुझ गरे गराए पनि फरक नपर्ला तर बङ्गाराे पलाएपछि खुल्न आएको ब्रह्मज्ञानले आफैलाई दिएको भुक्तमानका बारेमा यहाँ अलिकति चर्चा गर्नु सान्दर्भिक ठानेको छु ।

बुद्धिबङ्गाराे पलाउनुका प्रभावले खुलेको मेरो ब्रह्मज्ञानको सार सिर्फ तीन अक्षरले ओगटेको छ, त्यो हो- ‘सङ्गत’ । सङ्गतको गुढ र अगुढ दुबै अर्थको महत्त्व र महिमा राम्ररी नै बुझेर होला- सङ्गतकै निम्ति स्वयं भैरव अर्याल पनि विघ्नै भौतारिएका थिए। महापुरुषको सङ्गत गर्न उस बेला अर्यालले भोगेको भुक्तमानभन्दा कुनै मूल्यमा यो भुक्तमान घटी छैन भन्ने दावी डुकुलन्ठुकाे छ । महापुरुषका पनि आदिपुरुप यस मुलुकका सर्वोत्तम पुरुष भनेको नामको अगाडि ‘डा’, ‘प्रा.’ या ‘प्रो’ को फुन्द्रो झुन्ड्याएका विद्वान् व्यक्तिविशेष नै हुन् भन्ने कुरा मेरो ब्रह्मज्ञानले मलाई दिएको तत्त्वज्ञान थियो। गधापच्चिसी नाघिसकेको म जस्तो डुकुलन्ठुलाइ समयोचित ज्ञानको गुठुरी दिन सक्ने जीव भनेका उनीहरू नै हुन् भन्ने ठम्याइमा म पुगेँ हुँ ।

अब यताउता कतै नलागी डा. र प्रा.हरूको खोजीमा निस्कनु मेरो निम्ति अति आवश्यक हुने नै भयो । किनभने डुकुलन्ठुको व्यक्तित्व सधैं फुच्चे व्यक्तित्वमै सीमित रहनु बडो दुःखद कुरा थियो । आखिर ‘बोट गुनाको फल’ भन्नु र ‘सङ्गत गुनाको व्यक्तित्व’ भन्नु उस्तै उस्तै न हो । अनि सङ्गतले व्यक्तित्व उठानमा यस्तो शानदार भूमिका खेल्छ भने म चाहिँ किन पछि पर्ने ? गिदीभित्र गुदी नभए पनि आफूलाई बुद्धिजीवी देखाउने औकात निर्माणमा डा. र प्रा.हरूसँगको सङ्गतले राम्रै टेकोपुँडो पुऱ्याउँदै आएको यथार्थतिर मैले आँखा चिम्लनै सकिनँ ।

तर मेरा निम्ति अब समस्याको एउटा सगरमाथा ठडियो- ‘यी डा. र प्रा.हरूलाई भेट्ने चाहिं कहाँ हाे त ?’ हरेक समस्याले समाधान बोकेरै आएको हुन्छ भनेको पनि साँच्चै रहेछ। मेरो समस्याको सगरमाथालाई गर्त्यांमगुर्लम लडाइदियो एउटा सङ्गातीले- ‘ए डुकुलन्ठु, कीर्तिपुर नै यो मुलुकको एउटा यस्तो पुर हो जहाँ डा. र प्रा. हरूको घुइँचो नै लाग्ने गरेको छ । जे जस्ता र जुन रूप-रङ्गका डा. र प्रा. खोजे पनि त्यहाँ भेटिन्छन् । सङ्गतै गर्नु छ भने लागिहाल् त्यतै ।’ कुरा मनासिबै लाग्यो उसको । मलाई एउटा दुइटा होइन, डा. र प्रा.हरूको झुण्ड नै चाहिएको थियो । नगर्नु सङ्गत गरिसकेपछि दर्जन घटी एक-दुई जनासँग मात्रै किन गर्ने ? सङ्गत जति धेरै जनासँग भयो उति धेरै ज्ञान-गुठुरी प्राप्त होला ।

वरिष्ठ र विशिष्ट व्यक्तित्वहरूसँग सङ्गत गर्न जानु चानचुने कुरा थिएन । डिसमिस हुने मुद्दामा एक दुइहप्ते बहसको तयारी गरेझैं यो डुकुलन्ठु व्यापक तयारीमा जुट्यो। जुँगा र कपाल छाँटयो, दारी काट्यो। थोरै भए पनि जुत्तामा चार्ली दल्यो र आफूसँग उपलब्धमध्येको सबैभन्दा सुकिलो बुस्सर्ट अनि पेन्ट लगायो । फस्नर फेल भएर मुख आँ परेको ह्यान्डब्यागको मुख पिनसियोले बन्द गर्यो । एक दशक पुरानो चेस्माको सिसा पुछ्यो र चरीचुच्चे नाकमाथि चढायो । उसलाई कीर्तिपुर लैजाने बस भृकुटीमण्डप बसपार्कबाट छुट्थ्यो । घट्टेकुलोबाट भटभटेले उडाएको धूलो खाँदै यो डुकुलन्ठु डिल्लीबजारदेखि ओरालो झर्यो ।

बागबजारको मुखैमा कन्टेनर समेत पुरेर चुलिएको फोहरको रास र रासबाट उत्पन्न भइरहेको दुर्गन्धित सासले यो डुकुलन्ठुलाई झन्डै बेहोश बनाएथ्यो । नाक-मुख दुवै थुनेर त्यहाँबाट म्याराथुन दौड लगाउँदै बसपार्क पुग्दासम्म दुर्गन्धको त्रासले छोडिसकेको थिएन

‘साँच्चै यो महानगरी कुहिसकेको त होइन ? नत्र यस्तो विधि के गन्हाएको हो यसरी !’ दिमागमा एक झड्‌का हान्यो र नाक रसाउन थाल्यो । ‘लौ कीर्तिपुर ! कीर्तिपुर !! हिंड्नै लाग्यो !’ फुच्चे खलासीको तिखो स्वरले यो डुकुलन्ठुलाई एक पटक झस्कायो । हेर्छु बस आफ्ना असी पुगेर बसी खाने उमेरका हजुरबाभन्दा बूढो थियो । बसभित्र बस्ने ठाउँभन्दा उठ्ने धेरै र उठ्‌नेभन्दा ढोकाको वरपर झुन्डिने अझ धेरै थिए । र, पनि खलासी भने चिच्याउँदै थियो- ‘आउनोस्, आउनोस् ! कीर्तिपुर जानै लाग्यो !’

‘ओ भाइ ! आउन त आउने, तर कहाँ टेक्ने अनि कहाँ समाउने ?’ मेरो सोधाइपछि खलासीले बसको ढोकामा उठेर उभिएका मानिसको हुललाई जोडले भित्र घचेट्यो र दुई अङ्गुल जति टेक्ने ठाउँ तयार पार्यो। जसरी-तसरी कीर्तिपुर त पुग्नै थियाे । अतः त्यही दुई अड्गुल ठाउँमा टेकेर एउटा हातले ढोका कसेको डोरीको फुर्को समातेँ । त्यसरी झुन्डिएको झन्डै आधा घण्टा बितेपछि बल्ल गुरुजीले बस स्टार्ट गर्यो । एक पटक भृकुटीमण्डपको भुईं नै थर्किने गरी त्यो मिनीबस गर्जियो र बाटो लाग्यो ।

बसपार्कबाट बस मूल सडकमा निस्कन मात्र के पाएको थियो, झक्कड ट्राफिक मिस्टरले जोडदार सिटी फुक्यो र ढोकामा उभिने र झुन्डिनेहरू सबैलाई भित्र पसाउन आदेश बजायो । झुन्डिएका बगुन्द्र यात्रीहरू अब भित्र खाँदिन थाले । अँचेटा-अँचेट र घचेटा-घचेटको उपक्रममा पेलिँदा पेलिँदै यो डुकुलन्छु पनि बसको ढोकाछेउबाट साढे दुई हात भित्र छिरिसकेछ । समातेको डोरी त छुटि नै हाल्यो। समाउने हाँगो न टेक्ने डालो भनेझै मेरो हालत बनेको थियो । अब बस हिंडेको पत्तै भएन ।

भद्रकालीको घुम्ती मोडिने क्रममा बसले एक जोल्टिङ खाँदा शरीर आफ्नाे नियन्त्रणभन्दा बाहिर पुग्नु स्वाभाविक थियो । हात कहाँ छ र खुट्टा कहाँनेर टेकिएकाे छ त्यो पनि थाहा थिएन । म बसभित्रका उठन्ते यात्रहरूसँग कताबाट कता हुर्रिन पुगेछ । अडिन खोज्ने प्रयत्नका क्रममा स्वभावतः केही समाउन भेटछु । शहीद गेट कटिसकेपछि मात्र थाहा भो कुन्नि कसको सटको कलर अगाडिपट्टिको टाँकै समेत सरक्क फुक्लिएर  मेरो हातमा झुन्डिरहेको  पाे । सबका सब शरीरमा बर्खे बाढी झैं पसिना उर्लिरहेछ। चिच्याउने चिच्याउँदा छन्, घिच्याउनेले घिच्याइरहेछ । बस बेतोडसँग त्रिपुरेश्वर आइपुग्यो ।

थाेत्रो बसको भुँडीभित्रबाट अपानद्वार हुँदै निस्किएको गन्धले आन्द्रा छट्किन थाल्यो । उता, मल मिसिएको ढलको प्रदूषित वायु अन्त कतै ठाउँ नपाएर शिसा बेगरको भ्यालबाट पस्यो भित्र । नाकको फोन्द्रा औधि चिचिलाएर आयो, रोक्न खोज्दा खोज्दै पनि तुफानी गतिमा फुटिहाल्यो ‘हा छ्युँ !!’  अब के चाहियो र, छ्युँमार्फत् गुजुल्टिएर निस्किएको राल-सिंगान ओइरियो अगाडि उसै गरी अँचेटिएर उभिएकी दिदी हो कि बैनीको सफेद सलभरि । घत्तेरीका ! कस्तो फजिती हो यो ? त्रिपुरेश्वरमा अरू आधा दर्जन यात्रु थपेर बस खटटङ्ग-खटटङ्ग गर्दै अगाडि गुड्यो भनौं कि घिस्रियो भनौं । कसको कुहिनो कसको ढाडमा गडेको छ, कसको च्युँडो कसको तालुमा अडेको छ, कसको घुँडो कसको घुँडोसँगै थुरेको छ, कुनै हिसाब-किताब कसैसँग छैन ।

बृहस्पतिमा सुमेकर लेभी ठोक्किएर एउटा ठूलो चोइटा पृथ्वीमा खस्ने हल्ला केही समयअघि खुब चलेको थियो । मैले सोचेँ त्यो यमानको चोइटा त मेरै पैतालामाथि पो खसेको छ कि के हो ? नत्र यति विघ्न केले थिच्यो होला त । खप्नै नसकेर म न्वारानदेखिको बल लगाई दायाँतर्फ घुमेँ। भूकम्प गई पृथ्वी डोलायमान भएजस्तै मानिसको भीड शिरदेखि तीरसम्म एक पटक चट्पटायो । त्यही मौकामा यो डुकुलन्ठुलाई आफ्नो पैतालातिर एक दृष्टि दिने सुअवसर मिल्यो । आफ्नो खुट्टामाथि कुन चाहिं एउटा धम्मरधुसको चालीस नं. को बुठजुत्ता गजक्क बसेको छ, त्यसमाथि अर्को कसैको छालाको चप्पल लादेको डुँडुला र त्यसमाथि पनि अर्को एक भुस्तिघ्रेकाे  खुट्टा गज्जबसँग बुइ चढेको छ । मेरो भने खुट्टासँगै जुत्ता ढुङ्गामा चेपिएको पाहा भएर दुईतिर फ्याट्ट भुँडी फुटेझैं फुटिरहेको पाे !

‘हैन खुट्टैमाथि खुट्टाको यो अचाक्ली त भएन नि ।’ म चिच्याउँदो स्वरले कराएँ र भएभरको बल लगाएर टेकिएको ठाउँबाट खुट्टा अलिकति पछाडि थुतें । केही बेरलाई अलिकति शान्ति प्राप्त भयो । बस भने कालीमाटीमा आधा घण्टा रोकेर अझ आधा दर्जन यात्रु थपी कीर्तिपुर जान चाहने डेढ दर्जनजतिलाई त्यहीं छाडिराखेर अगाडि बढ्यो ।

‘विद्वानहरूकाे सङ्गत गर्न त बडो गाह्रो पो हुने रहेछ !’ कुलेश्वर हुँदै बस बल्खु आइपुग्दासम्म अनुभवको सार-सङ्ग्रह म डुकुलन्ठु यसरी गरेँ । होइन, यत्रो विधि मानिस कीर्तिपुर नै किन जान्छन् हँ ?” मनमनै आफैले आफैलाई सोधेँ तर जवाफ थिएन ।

बसपार्कबाट बस हिंडेको एक घण्टा बित्नै लाग्यो । भित्रै पनि मानिसहरू सकपकाउन थाले- ‘पहिलो पिरियड आज पनि छुट्यो।’ बोल्ने व्यक्तिको अनुहार देख्न नपाए पनि उसको दिक्दारीले बतायो ऊ पनि म जस्तै विद्वानहरूकाे सङ्गतका निम्ति यो फजिती भोग्दै आएको रहेछ ।

त्रिविवि गेटबाट बस उकालो लागेपछि बसको आवाज विमानको जस्तो सुनिन थाल्यो । कसाे कसो गर्दा म दाहिनेतिर भित्तामा अडेसिन पुगेछु । डुकुलन्ठुले बल्ल देख्यो, बस्ने सिट नपाएर उठ्‌नेहरूकोभन्दा अझ बढ्ता विजोक त सिटमा बस्नेहरूको थियो । सिटछेउमा उभिनेहरूको जिउ विचरा बस्नेहरूले टाउको र पिठ्युँमा बोकिरहेका देखिन्थे ।

कीर्तिपुरको तीनकुनेमा पुगेर एक पटक पाँगाकाे पाखै थर्किने गरी गर्जिदै बस रोकियो । बस नामको त्यो राक्षसी ओढारले मानिसहरू ओकल्न थाल्यो । ओकलिएका तमाम मानिसहरूको हविगत मेरोभन्दा कम थिएन। बसबाट ओर्लन पाइला चाल्नु नपर्ने, कति सजिलो । ओर्लिसकेपछि थाहा भो मेरो हातमा भएको ह्यान्डब्याग चेपाचेपमा कुन बेला कता खसेछ। खलासीलाई उजुर गरेपछि उसले नआत्तिन ढाडस दियो । म केही बेर पर्खेर बसेँ । सबै यात्रु झरिसकेपछि खलासी बसमा चढ्यो र सयौं लात खाँदै सिटमुनि थेचारिन पुगेको मेरो व्यागले त ग्रामीण महिलाले पोल्टोमा घुसार्ने गरेको थैलीको आकार ग्रहण गरिसकेको रहेछ । त्यही भए पनि हातमा च्यापेर म दुई कदम अगाडि बढेँ ।

कीर्तिपुरको स्वच्छ हावा घोक्रोको बाटो भएर जब फोक्सोमा पुग्यो तब पो अलिकति तरान भरिएछ । आफैले आफैलाई एक पटक यसो नियालेर हेरें- सबभन्दा सुकिलो मेरो बुस्सर्ट बाह्र ठाउँ लेघ्रैलेघ्रा बनेको, त्यसमाथि बुस्सर्टको खल्ती पनि जरैसम्म उध्रिएर बाखाको कान झैं लुत्रुक्क लत्रिएको, तलका तीन वटै टाँक गायब् । हिजो मात्रै रामप्यारीले धोएर आइरनसँग जम्काभेट गराएको पेन्टको झन् कन्तबिजोग थियो । जुत्ताको कुरै नगरौँ । चेस्माको एकापट्टिको आँखो आँखीभौँ नाघेर निधारतिर पुगेको त अर्कापट्टिको आँखो भने गालाभन्दा तल ओर्लिएर नाकेडाँडी र चेस्मा त गुणनचिह्न पो बनिराखेको । बसभित्रको प्रदूषण, बाहिरको प्रदूषण र खाँदाखाँदमा निस्किएको पसिना मिसिएर अनुहार रागेपाटे बनेको । जे हुनु त भैगयो, तै बल्ल आइपुगियो डा.प्रा.हरूसँग सङ्गत गर्न । यस्तै सोचेर म सिधै हान्निएँ डा. र प्रा.हरूका अड्डा-अखडातिर ।

ढोकाअगाडि उभिएको पाले मलाई शिरदेखि पाउसम्म नियाल्दै थियो। म भने सटासट भित्र पसेँ । आफूलाई भाग्यमानी ठानेर सर्वप्रथम अड्डाभित्र विराजमान डा. र प्रा.हरूलाई दण्डवत् प्रणाम गरेँ । अनि भूमिका-सुमिका केही नबाँधी बताएँ- ‘यहाँहरूसँगको सङ्गतनिम्ति म हाजिर भएको छु ।’ मेरो विद्रूप रूप देखेर एक पटक कोठामा हाँसोको फोहरा छुटयो । त्यसपछि एक जना डा. हुन् कि प्रा. हुन्, उनले पालेलाई बोलाएर बेस्करी हपारे, ‘यो हावा फुस्केझैं लाग्ने अर्धसिल्लीलाई ढोकाभित्र छिर्न कसरी दिइस् ?’ पालेले पनि चुपचाप मेरो कठालो समात्यो र चाँकचुँक गर्ने नदिई घोक्रेठ्याक लाएर बाहिर निकाल्यो ।

यो डुकुलन्ठु मूल सडक ननिस्कुन्जेल पालेले न त कठालो नै छोड्यो न त घचेट्न नै छोड्यो । म पुनः तीनकुने आइपुगेर थचक्क बसें र पुर्पुरोमा हात लाएर सोचेँ- उद्भट विद्वानहरूसँग  सङ्गत गर्न म कस्तो साइतमा निस्किएछ कुन्नि । यो सब गोलमाल र गडबडी मच्चाउने पनि त आखिर कीर्तिपुरको बसयात्रा न हो नि । तर पनि मैले हरेस खानु हुन्न । पहिलो प्रयास असफल भयो त के भयो ? वरिष्ठ डा. र प्रा. हरूसँग सङ्गत नगरी म छोड्दै छोड्दिन । प्रयत्न जारी राखे लाटाको खुट्टा बाटोमा कसो नपर्ला ?

०००
सिङ न पुच्छर (२०५३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x