साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम- विवाह -संकट

आहा ! हा !! हा !! खूब न्याय गर्नुहुन्छ तपाईंहरू पनि । खूब विवेक राख्नुहुन्छ हैन ? आज रातभर हामी पेटीका चीसो खाने हैन ? तपाईंहरूको गिदी पनि क्या हो ?

Nepal Telecom ad

गाेपालराज पन्त :

(झ्वबहालको एक साना गल्लीमा एक युवक र उसको सँगमा एउटी युवती एउटा घरको मूलमा देखा पर्दछन् ।)

विमल- (ढोका घच्घच्याउँदै उच्च स्वरमा) घरपट्टीबा ! ओ घरपट्टीचा ! घरपट्टीबा !!! (एकछिनपछि घरपट्टीले झ्यालबाट हेर्दछ)
घरपट्टी- (भुतभुताउँदै) बेला-न-कुवेला बजीनेला, किन ?
विमल- ढोका खोल्नोहोस्न यही बसिराख्ने ?
घरपट्टी- आउनुपर्छ त वेलामा । तपाई सधै आधा आधा रातमा आउनुहुन्छ त के ढोका उदाङ्गै छाड्ने ? चोरले लट्टीपट्टी पार्यो भने कसले तिर्ने ?
विमल- लौन लौ, छिटो गर्नोस्, जाडोले मर्न ऑटियो ।

कपिला- मेरो त मुटु नै जम्छ कि जस्तो भैसक्यो कस्तो जाडो । (घरपट्टीले ढोका खोल्छ .)

घरपट्टी- हेर्नोस् काजी, तपाईं चाहे रिसाउनोस्, चाहे खुसाउनोस् । यस्तो अवेला अवेला आउने हो भने ….।
विमल- (कुरा काट्तै) अन्तै डेरा खोज् भन्नुभएको होला हैन ? तपाई बाबुजस्तो मानिस भएर पो, नत्र यस्तो वुडवुड गन्हाउने गल्लीमा को वस्थ्यो ? कस्ता कस्ता बंगलाहरु छन् यस शहरमा !
घरपट्टी- भो, भो । धाक नलाउनुस्… वाघले नचिनेको वन, वनले नचिनेको बाघ हैन (आश्चर्य मानेर आँखा फुकाउँदै) यो अर्को को नि ?
विमल- (गमक्क परेर) को होला ? भन्नोस् ।
घरपट्टी- (ठस्केर) हामीले चिनेको छैनौं, जो सुकै होस् यो आधा रातमा, म नचिनेको आइमाईलाई घरभित्र पस्न दिन्नँ ।

विमल- ल, ल, ल । के मेरी श्रीमती । कुरा गर्नुभएको यस्तो ! यिनी त…. ।
घरपट्टी- तपाईकी श्रीमती भए हिजो अस्ती नै आउथिन्, नभए दिउँसो आउँदीहुन्, यो आधा रातमा किन ?
विमल- (आश्चर्यमा) ए बाबा ! तपाई त गजवको मानिस हुनुहुँदो रहेछ । अव आजै माइतीबाट आइन् म के गर्ने ?
घरपट्टी- डेरा लिन आउँदा बाहिं ‘अविवाहित छु कुमार केटो हुँ भन्नुहुन्थ्यो । अहिले श्रीमती कहाँबाट आइन् ?

विमल- हरे ! त्यस बेलामा त हो त नि । अब आजै विवाह भएपछि आजै आउन परेन ? के कुरा गर्नु हुन्छ घरपट्टीबा, तपाईं पनि ।
घरपट्टी-
आजै माइतीबाट, आजै विवाह, त्यो पनि आधा रातमा ! हेर्नोस् काजी, हामीहरु भनेका खानदानी मानिस हौं, यस्तो बदमाशी हाम्रो घरमा हुन सक्तैन बुझ्‌नुभो ?
कपिला-
ओ… हो..! कस्तो बेसोगती मानिस रहेछ, यो बूढो, के बोलेको होला त्यस्तो ? हिंड डार्लिङ कुनै होटलमा जाऊँ बरु ।
विमल- के, केटाकेटी कुरा गछ्‌यौं कपिला, तिमी पनि। आफ्नो डेरामा छाडेर को होटलमा जान्छ ? होटेलमा पनि त पैसा तिर्नै पर्छ, यहाँ महीनैपिच्छे तिर्दैछु ।
घरपट्टी- (झोकिन्छ) मेरो घरलाई होटेलसँग दाँज्छौ ? होटेल र घर एउटै हो ? होटेल त पाटी हो पाटी, पैसा तिर्नुपर्ने धर्मशाला । जो जहाँबाट जति बेला आए पनि खुल्ला राख्ने यो त घर हो, घरमा व्यवहार हुन्छ, होटेलमा व्यपार, बुझ्यौ ?

विमल- तपाईंले पनि त व्यापारै गर्नुभएको छ नि, के म फोकटमा बसेको छु र तपाईंकहाँ ?
कपिला- लौन म त जाडोले कठांग्रिसकें जाऔं न भित्र । कति गन्धन गरिराख्या ?
विमल- पखन बूढाको चित्त बुझाइदिऊँ ।
घरपट्टा- के चित बुभाइदिऊ भन्नुहुन्छ म त मरेकाटे पनि यो नचिनेको आइमाईलाई घरभित्र हुल्दिनँ ।
विमल- तपाईंले नचिन्दैमा म आफ्नो स्वास्नीलाई आफ्नो डेरामा नलैजाऊँ ? के मैले विवाह गर्नु अगाडि नै तपाईंलाई दुलही चिनाउनुपर्ने हो ?
घरपट्टी- साँच्चीको विहेबारी हो भने सबैलाई चिनाउनुपर्छ-तपाईंलाई थाहा छैन भोज, भतेर, जन्ती, वाजा, कन्यादान दुलही अन्माउनु, भित्र्याउनु, सब चिनापर्चीको लागि बनाइएको नियम हो भन्ने कुरा ।

कपिला- (झर्केको स्वरमा) तपाईंले बयान गरेको विवाह सिमसिमे राजाको पालाको हो, बुझ्नु भो ? आजकल यस्तो विवाहलाई फजूल खर्ची विवाह, पुरानो विवाह भन्दछन् ।
घरपट्टी- नयाँ दुलहीले यसरी शरम छाडी बोलेको हामीले सुनेका छैनौं – नानी !
कपिला- तपाईंसँग मैले शरम मान्नुपर्ने के छ ? न तपाईं मेरो ससुरा, न जेठाजु, घरपट्टीसँग लाज मान्नुपर्ने मैले आजै सुने ।
घरपट्टी- (अलि झन्केर) त्यसो भए तिमी इज्जतदार असल स्वास्नी मानिस हैनरहिछौ ।
कपिला- के रे (ककेर) मुख सम्हालेर बोल्नोस् । मलाई कुन कुरामा कमसल देख्नुभो ? भन्नोस् त । मुखै च्यातिदिनु भन्या’ जस्तो ।

विमल- (अधिकारको स्वरमा) तिमी नबोलन, कपिला । बूढा मानिस, यिनी यस्तै छन्… आधुनिक समाजमा भिज्नै सकेका छैनन् ।
कपिला- के भनेको त त्यस्तो ? एउटा थोत्रो घरको मालिक हुँदैमा अर्कालाई मनपरी भन्न पाइन्छ त ?
घरपट्टी- मैले केही मनपरी भनेको छैन… जस्तो देखें, त्यस्तै भनें । बरु मनपरी त तिमीहरू गरिरहेछौ ? लौ जाओ, मैले त थुनें ढोका… ।
विमल- (एक साथ ढोकाको खापा लगाउँछ)
घरपट्टी- हैन मेरो कुरा सुत्नोस्न घरपट्टीवा, तपाईं कुरै नबुझी बम्किनुहुन्छ ।
विमल- (ढोका अलिकति उघारेर) मैले बुझिसकेको छु । अच पनि बुझ्न बाँकी छ र ?
हैन तपाईंले बुझ्नुभएकै छैन, पहिले मेरो कुरा सुन्नोस् । यी केटीसँग मेरो पहिलेदेखि नै लभ थियो । खालि विवाह मात्र हुनसकेको थिएन, त्यसको पनि कारण छ- यिनका पिता परलोक भैदिए, एक वर्षसम्म शुभकार्य गर्नुभएन । अस्ति वरखी फुक्यो, आज गुह्येश्वरीको मन्दिरमा दुवैले फूलको माला लाएर विवाह गर्यो…। एक दुई जनाको भोज पनि गर्यो, तपाईंलाई निम्तो दिने विचार पनि थियो, हतारोमा भ्याइएन । यताउता गर्दा यसै अवेला भयो । आउँदै छौं । कहीं बसेका छैनौं। हाम्रो कुरा यत्ति नै हो यिनी पनि खराव हैनन्, म पनि हैन ।

घरपट्टी- यो मलाई फासलाङ-फुसलुङ पार्ने कुरा नगर्नोस् काजी ! तपाईंले जति लामो कथा हाले पनि म पत्याउन्नँ । अनि आजकलका ठिटाठिटीलाई म विश्वास गर्न सक्तिनँ, किनभने न यिनी भागेर आएकी हुन् कि, न
कसैको ज्यानै मारी लुक्न आएकी हुन् । कसरी थाहा पाउने ? बरू भोलि दश बजे ल्याउनोस् । पंच भला‌द्मीले जसो ठहऱ्याउलान्, त्यसैबेला विचार गरुँला ।
कपिला- बिहे गर्ने हामी, विचार गर्ने तपाईं। अलच्छिनी मानिस ।
विमल- तिमी चूप लागन ।
कपिला- के भनेर चूप लाग्छु म ?
विमल- (घरपट्टीसँग) त्यसो भए आज राती हामी कहाँ बस्ने लौ ? तपाईं नै विचार गर्नोस् ।
घरपट्टी- जहाँ जहाँ वस्नुपर्छ वस्नोस्, तपाईं मात्र बस्ने हो भने ढोका खुला छ ।
विमल- (रन्किन्छ) कस्तो पापी बूढो रहेछ यो ! यस्तो सफासँग कुरा बुझाउँदा पनि जस्ताको तस्तै । आफूले पैसा तिरेको डेरामा बस्न पनि केको खसखस ? लौ त, कसरी ढोका थुन्छ, झन् राम्रो मुखले भन्दा त-तेरो मात्र छ घर ? भोलिदेखि अन्तै सरौंला, कसरी रोक्छस्, लौ रोक् ।

घरपट्टी- (आवेशमा) के गर्छौं त तिमीले के गछौ ? तिम्रो बाबुको घर हो यो ? म आफ्नो घरको ढोका लाउँछु लाउँछु ।
विमल- (क्रोधावेशमा घरपट्टीलाई घचेट्दै) लौ ला ढोका । लौ ला… ।
घरपट्टी- ऐया बाबा ! माओ !! लौन ए ! गुण्डाले मार्यो । बचाओ ! बचाओ ! (एकछिनमा दुई चार जना मानिस
जम्मा हुन्छन्) पहिलो मानिस-ए के भो, हैं ?

दोस्रो मानिस- साइला दाइ के भो ? के भो ?
घरपट्टी- (आत्तिएर) यही हो, यही काजीले ।
तेस्रो मानिस के भो काजी, के गर्नु भो तपाईंले ?
घरपट्टी- मेरो घाँटी थिच्न आएको यसले बुझ्नुभो घाँटी ! कहाँ-कहाँबाट नचिनेको यो आइमाईलाई मेरो घरमा पस्न दिइनँ भनेर झगडा गर्छ, के हाम्रो इज्जत छैन ? यही जस्तो हो हामी ।
विमल- कस्तो ‘कहाँ-कहाँकी आइमाई’ भन्नुहुन्छ, मैले यिनलाई मेरी श्रमिती भनिनँ ?

घरपट्टी- तिमीले श्रीमती भनेर हुन्छ, अर्काकी छोरीलाई !
विमल- तिमी नै भनन आफ्नी छोरीलाई, श्रीमती भनेको अर्काकी छोरीबेटी नभए कसको हुन्छ ?
पहिलो मानिस- हैन, वास्तविक कुरा के हो ?
विमल- वास्तविक कुरा केही पनि हैन, यिनको नाम कपिला एम.ए., आज यिनको र मेरो गुह्येश्वरीमा लभ म्यारेज भएको, बूढाले अर्कै कल्पना गरेर डेरामा पस्नसम्म दिंदैन । एक घण्टा भैसक्यो, यत्तिकै झगडा छ । के यो पनि सभ्यता हो ?

दोस्रो मानिस-तपाईंकी श्रीमती भनेर उसले कसरी थाहा पाउने ?
कपिला- घाँटीमा साइनबोर्ड झुण्ड्याउनु पर्छ ?
विमल- यी रूढी-वादीहरूलाई शायद त्यस्तै गरे विश्वास पर्दो… ।
कपिला- हो ! (रिसमा) डार्लिङ, इट्‌स ए ग्रेट इन्सल्ट, म सहनै सक्तिनँ, सहनै सक्तिनँ ।
घरपट्टी- चाहे सहू, चाहे नसहू ।
कपिला- यू सट अप… तपाईं बाेल्नु पर्दैन ।
घरपट्टी- (सवलाई संकेत गर्दै) लौ देख्नुभो तपाईंहरूले नयाँ दुलहीले यसरी चड्ङ्केर, कड्केर, पड्केर बोलेको सुन्नुभएको छ ?

तेस्रो गानिस- भोलि भित्र्याउनोस् दुलहीलाई । आज भित्र्याए पनि उही हो, भोलि भित्र्याए पनि त्यही ।
विमल- आहा ! हा !! हा !! खूब न्याय गर्नुहुन्छ तपाईंहरू पनि । खूब विवेक राख्नुहुन्छ हैन ? आज रातभर हामी पेटीका चीसो खाने हैन ? तपाईंहरूको गिदी पनि क्या हो ?
पहिलो- मानिस- हेर्नोस् मिष्टर, हामीलाई दोष नदिनोस् । घरपट्टी साइला दाइको भनाइ ठीक छ । राम्रोसँग छ । नबीन नगरी नचिनेको आइमाईलाई कसैले पनि आफ्नो घरमा हुल्दैनन् ।
विमल- यसले जिन्दगीभर नचिन्ला रे, के म जिन्दगीभर राँडो भएर बसूँ ?
तेस्रो मानिस- हाम्रो मतलब त्यो हैन ।
विमल- अनि तपाईंको मतलव के त ?
कपिला- (बीचैमा कुरा काटेर) विमल । म गएँ । यस टोलमा असभ्य मानिस छन् भन्ने मलाई थाहा थिएन ।
(कपिला फन्केर हिंडिदिन्छे)
विमल- (हतारिदै) कपिला ! कहाँ जान्छ्यौ कपिला ? सुन त । नजिकै भएपछि) के गरेको यस्तो तिमीले ?
कपिला- मैले तिमीसँग विवाह गरेर ठूलो भूल गरें ।
विमल- किन त्यस्तो भन्छ्‌यौ कपिला, यसमा मेरो के दोष छ भन त ?
कपिला- दोष मेरै हो। एउटा घरसम्म नभएको मानिससँग विवाह गरें । मेरो जीवनमा यस्तो बेइज्जती त कहिल्यै भएन, कहिल्यै ।
विमल- तिमीलाई थाहै छ । म गरीव छु । गरिवीले कसरी घर बनाउन सक्छ ? डेराको बहाल तिर्न त प्रलय भैसक्यो ।

विमल- त्यसै भएर म बेइज्जतीको पात्र बन्न पुगें ।
कपिला- कपिला ! तिमीलाई के भो ? मलाई केही पनि भएको छैन । यो विवाह मलाई मजूर छैन ।
विमल- ओह ! तिमीलाई थाहा छ, अहिल्यै भरखर हामीले भगवती गुह्येश्वरीको मन्दिरमा आजीवन सँगै रहने प्रण गरेका थियौं ।
कपिला- त्यो मलाई थाहा छ । तर सम्झ, भगवतीले यो विवाह मञ्जूर गरिनन् ।
विमल- कपिला ! यति कठोर नवन । मैले तिमीलाई आफ्नै भैसकेको छ । ठानेको छु । फेरि हाम्रो विवाह सबैलाई थाहा पनि
कपिला- कसले थाहा पाएको छ- पशुपतिका बाँदरहरूले कि गुह्येश्वरीले ? यदि सबैलाई थाहा हुँदो हो त म तिमीलाई यति जवाफ पनि दिन सक्तिनथें ।
विमल- तर तिमीलाई त थाहा छ ?
कपिला- कैले त्यो बिर्सि पनि सकें ।
विमल- के, तिमी मलाई साँच्ची नै छाड्छ्यौ ?
कपिला- त्यस्तै सम्झ । हेर ! उज्यालो पनि भयो अब म आफ्नो घर जान्छु ।

विमल- (गम्भीर भएर) जानुभन्दा अघि त्यो तिम्रो मसिनो औलामा झल्किएको मेरो परिश्रमको प्रेमको चिनो औंठी कृपा गरी फर्काइदेउ, म पनि आफ्नो मूर्खतालाई पुनः दोहोऱ्याउन्नं ।

समाप्त

०००
कर्के आँखा (२०२६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शिष्टाचारको पासो

शिष्टाचारको पासो

गाेपालराज पन्त
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x